विचार

सृजन गियर बदल्दै

लिलाराज खतिवडा |
फागुन २७, २०७७ १७:२५ बजे

गत माघ १८ गते जन्मस्थानमा कारणवश ओझेल परेको एउटा वास्तविक कथा पस्केर मैले आफूभित्रको लेखकलाई गहिरो निद्रा सुताइदिएँ । कारण, आफूभित्र सुतिरहेको कलाकारलाई जगाउनु थियो । सृजनाको गियर यस्तरी बदल्नु थियो कि -यसबीच मैले कुनै कथा लेखिनँ । कथा लेख्‍ने बारे सोचिनँ पनि । लेख्‍ने सिक्दा नलेख्‍ने सिक्नु पनि जरुरी हुन्छ ।

गत साल यसैबेला मुम्बईमा मैले आफूभित्रको कलाकारलाई गहिरो निद्रा सुताइदिएर घर फर्किएको थिएँ । कलाकार निकै खर्चिलो हुने हुँदा उसलाई हमेशा अफोर्ड गर्न कठिन । यसको विपरीत लेखक निकै सस्तो भाउमा गुजारा गर्न खप्पिस हुने गर्दछ । फलस्वरूप यसपालि कोरोना महामारी र लकडाउनको बहानामा पूरै एक वर्ष मेरो लेखकले किबोर्डमा आफ्ना राजक र अराजक दुवै भाव ठोक्न भ्यायो । रातरातभर जागा बस्‍ने निशाचर लेखक मस्त सुत्न थालेपछि र कम खाने मान्छे ज्यादा खान थालेपछि घरमा प्रश्न सोधियो, ‘आजकल किन लेख्दैनौ ?’


स्वस्फूर्त जवाफ पस्किएँ, ‘मेरा लागि नलेख्नु पनि एक किसिमले लेख्नु नै हो । लेखिरहँदा म जति खुसी हुन्छु, नलेख्दा पनि म त्यस्तै खुसी हुन्छु ।’ प्रधान सम्पादकले फोनमा सोधे, ‘के भयो ? कथा किन आउन छाडे ? यता पाठकहरूले खोजेको खोज्यै छन् ।’ लगभग पत्रकारिता गर्नकै लागि जन्म लिएका प्रधान सम्पादकलाई मैले भनेँ, ‘मलाई ग्याप चाहिन्छ, दाजु । इनारबाट एक्कै पटक ज्यादा पानी निकाल्न सकिँदैन । आराम पाएन भने इनारबाट पानी होइन, बालुवा निस्किन थाल्छ ।’

प्रधान सम्पादकले अलिक जिद्दी गर्ने जमर्को गरे । उनले भने, ‘छोटा कथा भए पनि हुन्छ । लामोलामो लेख्‍ने तिम्रो आदतका अगाडि हजार वा एघार सय शब्द त एक घान मकै भुटे जस्तै होइन र ?’ अनि उनी दिल खोलेर हाँसे । हाँसोमा उनलाई साथ दिनुको विकल्प थिएन । एकफेरा प्रदर्शनीमार्गस्थित रत्नराज्य कलेजका चालिसको दशकका अन्तिम र पचासको दशकका सुरुका वर्षहरूको तीखो यादले नाभि आरपार गर्यो । उनी हाम्रो ब्याचका जुझारु क्याप्टेन !

मैले नाइँ भन्‍न सकिनँ । दुनियाँमा एकदमै कम सम्पादक छन् जो मलाई यसरी लेख्‍ने उकास्छन् । ऊर्जा भेटे म रातमा एउटा कथा लेख्‍ने सक्छु, यो मेरा लागि कुनै आश्चर्य भएन । तर यसपटक मैले आफूभित्रको कलाकार वा अभिनेतालाई अलिक बढी नै न्याय गर्न चाहेँ । तसर्थ आफ्नो वरिपरि कैयौँ तीतामीठा कथाहरूको आहत र अतिरेक महसुस गर्दा गर्दै पनि यो पाँच हप्ता मैले ल्यापटप ठोकिनँ । 

यद्यपि अहिले यो कथा लेखिरहँदा पनि मेरो लेखक जागेको छैन । र, मभित्रको कलाकार यहाँ कलम चलाउन ताम्सिएको छ । लेखकलाई अहिले म गहिरो सुत्न नै दिन्छु । किनभने ऊ गलेको छ । धूजाधूजा भएको छ । मेरो लेखक रकबटम चुमेर आएको चोटैचोटको पुलिन्दा हो । उसलाई भरपूर आरामको जरुरत छ । 

तर अझै प्रस्ट भाषामा भन्‍नु पर्दा मेरो लेखक त एक घमाशान युद्ध लडेर आएको । हार्यो कि जित्यो ? यस्ता कुराको पनि वास्ता नगर्ने त्यो लेखक त्यसो त एक भीमकाय चट्टान सदृश पनि हो । एक अतिशय कठोर चट्टान ! 

अहिले एक महिनामा लेखकलाई सुताएर अभिनेतालाई जगाएपछि मैले एक दर्जन जति सिनेमा हेरेँ । जस्तो कि मेरो लेखक आफ्नो ग्रन्थ लेखिरहँदा सिनेमा हेर्दैन थियो । हाइभोल्युममा संगीत सुन्थ्यो । रातभर जागा बस्थ्यो । दिनमा केही घण्टा सुत्थ्यो । अत्यधिक सिगार तान्थ्यो । कम खान्थ्यो । गफ ज्यादा हान्थ्यो । विवादास्पद, शंकालु र सनकी कुरा गर्थ्यो । रिसाउँथ्यो, झनक्क झन्किन्थ्यो । लामालामा पैदल यात्रा गर्थ्यो । लामो समय खाली पेट राख्थ्यो अनि ठोक्थ्यो त्यही पुरानो ल्यापटप !

उता कलाकार वा अभिनेताका स्वभावहरू नितान्त फरक । छानीछानी सिनेमा हेर्नु, मस्त खानु र सुत्नु, बिहान सबेरै वा साँझमा कम्तीमा एक किलोमिटर दौड लगाउनु, फुटबल खेल्नु, गीत गाउनु, नाच्नु, समय लगाएर नुहाउनु, कपाल कोरिबाटी गर्नु गराउनु, प्रेमिल र करुणामय रहनु, कम बोल्नु र मुस्कुराइरहनु उसका स्वभाव हुन् । कलाकार सफासिनिक्क रहन रुचाउँछ । कलाकार काम र व्यवहार दुबै अवस्थामा लतपत गर्न रुचाउँदैन । कलाकारको जीवन ‘वान टेक ओके’ हुनु नितान्त जरुरी हुन्छ ।

त्यसो त मलाई कलाकार वा अभिनेताका स्वभावहरू नै बढी प्रिय लाग्छन् । तर लेखक हुँदा यी स्वाभावहरू खासै काम लाग्दैनन् । लेखक अलिक अरिमठ्ठे र रुखो हुन्छ भने अभिनेता सरल र सरस । लेखकमा प्रतिशोधको भावना हुनसक्छ । तर एउटा अभिनेताले क्षमाशीलताको अभ्यास गर्न जान्नु पर्दछ । रिभेन्ज अर्थात् प्रतिशोधको भावना नहुने मान्छे लेखक हुँदैन । वा भए पनि बजारमा चल्दैन । उता रिभेन्जको भावना भएको अभिनेता पनि टिक्दैन । अभिनेताको हृदय निकै चौडा हुनु जरुरी छ । तर लेखक ? लेखक त एउटा साँगुरो गल्लीमा पनि सुतिदिन सक्छ !

अभिनेताको हृदय निकै चौडा हुनु जरुरी छ । तर लेखक ? लेखक त एउटा साँघुरो गल्लीमा पनि सुतिदिन सक्छ !

लेखक रफ हिँड्न सक्छ । तर अभिनेता सादगीमा रहनु जरुरी छ । अभिनेता रफ भएको अभिनय गर्न सक्छ । तर रफ रहन सक्दैन । अभिनेताले आफूमा कैयौँ कुराहरूको प्लट र सिक्वेन्स मिलाउनु जरुरी छ । स्वास्थ्य र सादगी त एउटा अभिनेताका गहना नै हुन् । एक किसिमको निखारले अभिनेता ओतप्रोत हुनु जरुरी हुन्छ । अभिनेताले कुनै पनि काम पर्फेक्ट तरिकाले गर्न सिकेको हुनुपर्छ । ‘वान टेक ओके’! अनि र्यालसिँगान चुहाएर रुँदा पनि ऊ सुन्दर देखिनु जरुरी छ ।

धेरै कुरा मैले सिक्न वा अभ्यास गर्न बाँकि नै छन् । तर ’लर्निंग बाइ डुइङ’ नै जिन्दगी हो जस्तो लाग्छ । गहिरिएर हेर्दा जिन्दगी कुनै निर्मित घटना होइन । जिन्दगीलाई अर्जित गर्नु अनिवार्य छ । मूढोलाई ताछेर हलो बनाएपश्चात खेत जोतेर अनाज उमारेजस्तो!

हर बच्चा संसारमा एउटा नयाँ साम्राज्य स्थापना गर्न सक्षम छ । तर ...? के जीवन सोचेजस्तै सरल छ त ?  यसको एउटै जवाफ ः जहाँ फूल फुल्छन् त्यहाँ काँडा पनि हुन्छन् । हेर्ने दृष्टिकोणको भेद हो कि हामी काँडा देख्छौँ वा हामी देख्छौँ केवल फूल ? वा दुबै ?

यसर्थ, मलाई भन्‍न मन लाग्छ, जिन्दगी दुःखको रजतपटमा पाइला टेकेर निरन्तर अघि बढिरहने सुखको पानीथोपा जस्तै हो । 

मेरो विचारमा यहाँ काँडाको चोटलाई पनि पर्वाह नगरी फूल फुलाउने हात पूज्य छन् । जिन्दगीको सुन्दर फूल फुलाउने कुरा यहाँ गरिएको हो । तर यहाँ त जिन्दगीका कृत्रिम फूलहरू विभिन्न मेकअप वा शृंगार गरेर फ्रन्टलाइनर भएका छन् । स्मरण रहोस्, जुन समाजमा अत्याधिक आभूषण र शृंगारका सामग्री हुन्छन् त्यो समाज त्यति नै बढी कुरूप हुने गर्दछ । यसको विपरीत सुन्दर समाज प्राकृतिक र वास्तविक सुन्दरतालाई निखार्छ र आभूषण एवम् शृंगार सामग्रीहरूको परित्याग गर्दछ । मनोवैज्ञानिकहरू भन्छन्, वास्तविक सौन्दर्यको अभावले नै शृंगार र आभूषणको आविष्कार गरेको हो ।

तर यथार्थमा मानिस अति सुन्दर प्राणी हो । अस्तित्वले उसलाई जन्मजात अथाह सुन्दरता दिएको छ । तर यहाँ अस्तित्वले केही सर्त लागू गरेको छ । प्रकृतिले प्रदत्त गरेको सौन्दर्यमा निखार जरुरी छ । यद्यपि आज मनुष्य जताततै कुरुप हुँदै गइरहेको छ । कुन आडम्बर, कुन शृंगार वा कुन लेपनले मानिस आज आफ्नो नैसर्गिक सुन्दरतालाई खाल्डो खनेर पुर्न बाध्य भएको छ ?

एउटा अबोध बालकलाई हेरौँ । के उसको सुन्दरतामा दिव्यताको सम्पूर्ण झलक पाउन सकिँदैन ? एउटा बालसुलभ जिन्दगी के कुनै ईश्वरीय अनुकम्पाले ओतप्रोत छैन ? तर त्यही बालक पछि किन कुरुप हुँदै जान्छ ? के अस्तित्वको तातो तावामा अण्डा फ्राई गरे जस्तै मात्रै हो त हाम्रो जिन्दगी ?

त्यसैले सुन्दरतालाई जगेर्ना र निखार चाहिन्छ । अनि साधना पनि ! किनभने,

रेल कुद्ने लिकहरू चाँदीझैँ चम्किन्छन् 
रेल नकुद्‍‍ने लिकहरू खियाले पुरिन्छन् !

उमेर बढ्दै गएपछि त व्यक्तिले आफ्नो सुन्दरता मेन्टेन गर्न अत्यधिक समय खर्चिनु जरुरी छ । सुन्दर रहन मेकअप वा आभूषण होइन, कविता लेखन, नृत्य, संगीत, पेन्टिङ, खेलकुद, पाककला, बगैँचा निर्माण जस्ता कुराहरूको जरुरी पर्दछ । जंगलमा नाँच्‍ने मयुरलाई शृंगार वा आभूषण चाहिन्छ ?

अन्त्यमा महान् योगी, लेखक, दार्शनिक, संगीतज्ञ, कलाकार रवीन्द्रनाथ ठाकुरको जीवनको एउटा प्रेरक प्रसंग उल्लेख गर्न चाहन्छु । 

एकपटक महात्मा गान्धी ठाकुर साहेबलाई भेट्न कलकत्ता पुगे । ठाकुर साहेबको विशाल बंगलामा गान्धीजी केही दिन बसे । सन्ध्या यात्रा गर्न जाने क्रममा एक दिन बडा अचम्मको घटना भयो । कपडा लगाइवरी दुबै जना बंगलाको मूलद्वारबाट सडकमा प्रवेश गर्दै थिए । अचानक ठाकुर साहेबका पाइला रोकिए । 

उनले गान्धीजीलाई भने, ‘प्रभु, एकैछिन पर्खिनु होला । कपाल कोर्नै बिर्सेछु । यहाँ उभिँदै गर्नू, म मिलिक्कै आइहाल्छु !’

गान्धीजीले भने, ‘ठाकुर साहेब, यो बुढेसकालमा के कपाल कोरिरहनु पर्छ, हौ ? एस्सो हातैले मिलाउनु न !’

मुसुमुसु हाँस्दै ठाकुर साहेबले जवाफ दिए, ‘त्यसो भनेर कहाँ हुन्छ र हजुर ? केवल दुई मिनेट पर्खिनुहोस् न । म आइहाल्छु !’

ठाकुर साहेब फटाफट आफ्नो कक्षमा पुगे र बडेमानको ऐनाअघिल्तिर उभिएर कपाल कोर्न थाले । उता गान्धीजी मूलद्वारमा उनलाई कुर्न थाले । पाँच हुँदै दस मिनेट बिते । तर ठाकुर साहेब आएनन् । दुई मिनेट भनेर कपाल कोर्न गएका बूढा पन्ध्र मिनेट बित्दासमेत नआएपछि गान्धीजी ठाकुर साहेबको कक्षको झ्यालमा पुगेर भित्र चियाउन थाले । 

भित्र त ...
ठाकुर साहेब अझै ऐनाअघिल्तिर उभिएर कपाल कोरिरहेका थिए । टाउको मर्काइमर्काइ बडो उत्साहित पारामा उनी जुल्फी बनाइरहेका थिए । कहिले उनी जुल्फी दाहिनेतिर कोर्थे । ऐनामा नियालेर हेर्थे । अनि चित्त नबुझेको भावमा जुल्फी फेरि देब्रे फर्काउँथे । कहिले उनी पूरै जुल्फी उँभो लग्थे ।

यो देखेर गान्धीजी छक्क परे । अनि झ्यालबाटै चिच्याए, ‘ए प्रभु ? यो बुढेसकालमा पनि यस्तो चाला ? लौ, न छिटो सवारी होस् । सन्ध्या यात्रा त आज रात्रियात्रा पो होला जस्तो छ !’ 

उता ठाकुर साहेबले झ्यालतर्फ नहेरी फटाफट कपाल कोर्दै जवाफ दिए, ‘आइहालेँ प्रभु ! दुई मिनेट अरु !’

ठाकुर साहेबबाहिर आएपछि उनको भर्खरै कोरिएको कपाल नियाल्दै गान्धीजीले आलोचनात्मक प्रतिक्रिया दिए, ‘मलाई त अचम्मै लाग्यो तपाईंले यो बुढेसकालमा पनि यसरी समय लगाएर कपाल कोरेको देखेर ! होइन केको जोस हो, यो ?’

ठाकुरसाहेबको जवाफ थियो, ‘पहिले युवा हुँदा यो सब जरुरी थिएन । कपाल हातैले मिलाउँदा पनि हुन्थ्यो । कहिलेकाहीँ नकोर्दा पनि हुन्थ्यो । तर अहिले बूढेसकालमा त यो झन् धेरै आवश्यक छ । तपाईंलाई थाहै छ, बूढो मान्छेलाई प्रायः सबैले अलिक भेदभाव र अवहेलना नै गर्छन् । त्यसैले बाहिरफेर जाँदा पहिलेभन्दा बढी स्वच्छ र चुस्तदुरुस्त रहनु अति जरुरी छ !’

थाहा छैन, यो जवाफ सुनेर गान्धीजीको अनुहारमा कस्तो प्रतिक्रिया उब्जियो । तर साहित्यमा नोबेल पुरस्कार बिजेता ठाकुर साहेबको उक्त जवाफबाट उमेर बढ्दै गएको मलाई चाहिँ अथाह प्रेरणा मिलेको छ । 
तपाईंलाई नि ?


Author

थप समाचार
ad
x