अरूको जीवनको न्यायाधीश बन्न खोज्दा आफैँ अपराधी !
गायिका समिक्षाले अरू केही गरेकी हैनिन् जम्मा आफूलाई अन्याय महसुस भयो अनि न्यायिक निकायले न्याय गरोस् भनेर जाहेरी मात्र दिएकी हुन् । के सही के गलत ? कानुनले छुट्याउला । पीडित जो हो उसैलाई न्याय मिल्ला । तर यति धेरै टिप्पणी भए कि म यो लेख लेख्न बाध्य भएँ ।
म मेरै प्रसंगबाट भनूँ । यो समाचार आउँदा म तरकारी पसलमा थिएँ । खबर आइपुग्यो । अनि त्यहाँ सुरु भइसक्यो भएभरको टिप्पणी, तरकारी किन्ने र बेच्नेबीच । हामीलाई फरेन्सिक टेस्ट गर्नु परेन । लख काट्न सुरु गरिहाल्यौँ । त्यसको कारण खोतल्न थाल्यौँ । उसै दिन बेलुका फेसबुक खोलेको त, न्युज फिड भरिएको रैछ यही तर्क–वितर्कले । उसको पहिले को–को सँग लसपस थियो । त्यसकै आधारमा शंका हैन, दाबी सुरु भइसक्यो । उनको चरित्रमाथि प्रहार गर्न ।
कुनै घटना घटेपछि त्यस कुराको वास्तविकता नबुझी टीका–टिप्पणी गर्ने हाम्रो परम्परागत प्रचलन चलिआएको छ । पहिले–पहिले चौतारी र पँधेरामा हुने यो टिप्पणी अहिले चिया पसल र तरकारी पसल हुँदै सामाजिक सञ्जालमा सुरु भएको छ ।
कुनै किसिमको घटना भएको थाहा हुन्छ तब सबै काम छाडी त्यो घटनाको टिप्पणी सुरु हुन्छ । जब कुनै पुरुष वा महिलाले आत्महत्या गर्छ । महिला भए कुनै केटासँग सम्बन्ध थियो कि ? पेटमा बच्चा थियो कि ? केटाले विवाह गर्न मानेन कि ? त्यसैले इज्जत गयो र आत्महत्या गरी भनेर साधारणतया टिप्पणी गरिहाल्छौँ । हामी कसैसँग फोनमा कुराकानी गर्दा होस् वा चौतारीमा साथीहरुसँग गफ गर्दा कुनै एक पक्षलाई दोषी ठहर गरेका हुन्छौँ ।
घटनाको वास्तविकता के होला त्यो जानकारी लिन कोही चाहँदैनौँ । कल्पना गरी सिधै दाबी–विरोधविना निर्णय गरिदिन्छौँ । यो सोचिँदैन कि आत्महत्या गर्नुको कारण पेटमा बच्चा हुनु मात्र हुन्छ र ? मानिसका अरु व्यक्तिगत समस्याको कारणले पनि त त्यस्तो बाटो रोजेको हुन्छ ।
पल–समीक्षा बीचको अहिलेको करणीको मुद्दामा यस्तै झल्को आयो । अदालतमा प्रमाणित नहुँदासम्म अपराधी भन्न मिल्दैन । तर पटक–पटकका अडियो प्रकरणले सामाजिक सञ्जालको बहस तात्यो । अदालतले बल्ल कस्टडीमा राखेर मुद्दामा प्रारम्भिक अनुसन्धान गर्न भनेको छ । तर यहाँ राम्रा–नराम्रा दुवै पक्षका बहस भइसके । सुरुमा एउटा वेबसाइटले गोप्य अडियो बाहिर ल्याउँदा पललाई अपराधी करार गरिसकियो । अनि विभिन्न युट्युब र फेसबुक ट्यालबाट समीक्षा ।
अहिले समीक्षाविरुद्ध चरित्रमाथि यसरी प्रहार भएको छ कि सुन्दा हाम्रो समाजको चेतना स्तर देखेर दया लाग्छ । पललाई षड्यन्त्र गरी फसाइयो भनेर एकोहोरो निर्णय दिनेको कमी छैन ।
सामाजिक सञ्जालमार्फत समीक्षाले आफ्नो कुरा राखेअनुसार विवाह गर्ने प्रलोभनमा पारी शाहले जबर्जस्ती करणी गरेको हुन सक्ने सामान्य आकलन गर्न सकिन्छ । नाबालिग भएकाले उनको शारीरिक विकास र मानसिक स्वास्थ्यमा पक्कै कमी थियो होला । यही कारण आफूले गरेको सहमति नै भए पनि उक्त कार्यप्रति पश्चात्ताप होला वा जेसुकै होस् तर उनले न्यायको ढोका ढकढकाएको मात्रै त हुन् नि । हैन र ? न्यायको ढोकामा पुग्न पनि निरुत्साहित गर्न मिल्ला र ? किन यति धेरै टिप्पणी ?
मुद्दाको अर्को पाटोमा पलले बाहिर ल्याएको अडियोमा भनिएअनुसार षड्यन्त्र गरी शाहलाई फसाएको पनि हुनसक्ला । जे सुकै होस् तर त्यसकै आधारमा लख काटेर चरित्रमाथि मनलागी बोल्नु भनेको चाहिँ अत्यन्तै घिनलाग्दो कुरा हो । अहिलेको प्रविधिको समयमा जुनसुकै कुरा हुनु सम्भव छ । घटनाको वास्तविकता थाहा नहुदै निर्णय गर्न हामी न्यायाधीश हैन नि ।
नेपालको संविधान २०७२ को धारा २० को उपधारा ५ अनुसार कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसूर प्रमाणित नभएसम्म कसूरदार मानिनेछैन भनी व्यवस्था गरिएको छ । जसअनुसार कुनै पनि अभियोग लागेको व्यक्ति प्रहरीको हिरासतमा रहेको भए तापनि अदालतमा प्रमाणित नहुँदासम्म अपराधी भन्न मिल्दैन । यसरी सामाजिक सञ्जालले अपराधीभन्दा पछि व्यक्तिगत जीवनमा समस्या आउने जोखिम रहन्छ । समाजमा पुनस्थापित हुन गाह्रो हुन्छ । तर यो कसले सुनिदियोस् हामी जथाभावी बोलिहाल्छौँ ।
लाइक र भ्युजको खोजीमा युट्युबमा जथाभावी दुई पक्षको मञ्जुरीविना ब्यानरसहितको फोटो राख्ने र यो दोषी हो भनी आफ्नो धारणा राखेको पाइन्छ । जाहेरी दिने पीडितलाई झन् पीडा थप्न अपशब्द प्रयोग गरी गाली बेइज्जती टिप्पणी गरेका पाइन्छ ।
अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ६ मा जबर्जस्ती करणी मुद्दामा पीडितलाई गोपनीयताको हक हुनेछ भनी व्यवस्था गरिएको छ । सोही दफा ६ उपदफा ३ मा पीडितले चाहेमा जबर्जस्ती करणी कसुरमा अनुसन्धान, तहकिकात र अदालती कारबाहीको सिलसिलामा कुनै कागज गराउनु, बयान लिनु वा बकपत्र गराउनु परेमा देहाय बमोजिम गर्नु पर्नेछ भनी व्याख्या गरेको छ:
(क) पीडितलाई निजको पहिचान नखुल्ने गरी प्रस्तुत गरेर (ख) पीडितको वास्तविक स्वर बदल्न दिएर (ग) अभियुक्तले देख्न सुन्न नपाउने किसिमले श्रव्यदृश्य संवाद प्रविधि प्रयोग गरेर (घ) अभियुक्तले देख्न वा सुन्न नपाउने गरी वा सुन्न मात्र पाउने व्यवस्था मिलाएर पीडितको गोपनीयता कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । शाह र अधिकारी मुद्दामा यो व्यवस्था लागू भएको पाइँदैन । जसको कारण पीडितलाई भविष्यमा धेरै समस्याको सामना गर्नुपर्ने हुनसक्छ । तर हाम्रो टिप्पणी कति सस्ता ? हामी नाम किटेरै फलानो दोषी र फलानो निर्दोष भनेर भनिहाल्छौँ ।
यो त एक प्रतिनिधिमूलक घटना हो । यहाँ यस्ता सस्ता टिप्पणी कति धेरै हुन्छन् कति । जब कुनै व्यक्तिले मिहिनेतले परिश्रम गरी सफलता प्राप्त गर्छ, कपोकल्पित कथावस्तु बनाई त्यस व्यक्तिमाथि टिप्पणी गरिन्छ ? जब कुनै महिला र पुरुषले जागिर पाउँछन् । महिला भए माथिल्लो पदमा रहेको व्यक्तिसँग शारीरिक सम्बन्ध राखी जागिर पाएको हो । पुरुषले जागिर खाए घुस खुवाएर जागिर पायो । कुनै व्यक्ति हुने खाने भयो भष्टाचार, चोरी, अरूलाई लुटेर हुने खाने भयो । जब श्रीमान्–श्रीमतीबीच सम्बन्ध विच्छेद हुन्छ । श्रीमती परपुरुषसँग शारीरिक सम्बन्ध राखेकाले सम्बन्ध विच्छेद भयो । श्रीमान्ले अन्य महिलासँग सम्बन्ध राखेकाले सम्बन्ध विच्छेद भयो । घरमा सासू–बुहारीको झगडा हुन्छ । अनि भनिन्छ, सासू राक्षस जस्तो छ । बुहारी खत्तम छ । अझ सिधै चरित्र माथि प्रश्नचिन्ह खडा गरिन्छ । विवादको आगो निभ्न लाग्यो भन्दा पानी राखी आगो पूरा निभाउनेको सट्टा तेल राखी अझ ठूलो आगो बाल्न प्रोत्साहन गर्ने परिपाटी छ । महिला र पुरुषले जागिर आफ्नो योग्यता भएका कारण पाउन नसक्ने नै हुन् त ? श्रीमान्–श्रीमतीबीच सम्बन्ध विच्छेद गर्नुका कारण नाजायज सम्बन्धबाहेक अरु हुन सक्दैन त ? मानिसले आफ्नो परिश्रमबाट धनी हुन सक्दैन त ?
एउटा प्रख्यात लाइन छ, ‘हावा नचली पात हल्लिँदैन ।’ तर यो युक्ति सधैँ मिल्दैन । जब कोही व्यक्तिले अझ भन्नुपर्दा घटनासँग सम्बन्धित व्यक्ति स्वंयले नै वास्तविकता यस्तो होइन भन्दा यही लाइनको सहाराले मलजल गरिन्छ । तर अहिलेको प्रविधिको यो युगमा पात हल्लिन हावा लाग्नुपर्ने हुँदैन । एक कान दुई कान मैदान भएर सामाजिक सञ्जालमा तर्कबिना पनि भाइरल हुँदोरहेछ । चौतारीमा साथीहरूसँग गफ गर्दा भनिएको, फोनमा कुरा गर्दा भनिएको, अरुले यस्तो हो रे भनेको आधारमा अरुको व्यक्तिगत जीवनमा टिप्पणी गरी गाली बेइज्जती गरेर कसैलाई समाजमा बाँच्नै गाह्रो हुने अवस्था सिर्जना गर्ने काम नगरौँ । आफ्नोसहित अरुको पनि इज्जत गरौँ सम्मान गरौँ ।
राम्रो काम गर्नेलाई हातमा हात राखी अझ राम्रो काम गर्न प्रोत्साहन गर्ने र नराम्रो काम गर्नेलाई सही बाटो देखाउने गरौँ । कसैको जीवन घटेको घटनाको वास्तविकता नबुझी प्रमाण नबुझी अरुलाई दोषी नठहराऊँ । कसैको व्यक्तिगत जीवनको न्यायाधीश नबनौँ । चाहे कसैले अपराध नै गरेको किन नहोस् आफ्नो व्यक्तिगत फाइदा मनोरञ्जनका लागि अरूको नाम प्रयोग नगरौँ । कसैलाई समाजमा पुनःस्थापना हुन नसक्ने अवस्था सिर्जना गर्ने काम अपराध हो ।
अरुको जीवनको टिप्पणी गरी न्यायाधीश बन्छु भन्दा आफैँ अपराधी नहुनू । अपराधीलाई अपराध के हो ? दोषी को हो ? अनि त्यसको निर्णय गर्न हामीलाई सुहाउँदैन । कसैको पनि कुरा काट्ने पात्र नबनी एउटा राम्रो व्यक्ति र सभ्य मानव बनौँ । संविधानले प्रत्याभूत गरेको गोपनीयताको हकलाई सम्मान गरौँ ।
(विद्यार्थी, मध्य पश्चिमाञ्चल विश्वविद्यालय, स्कुल अफ ल ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया