विचार

सम्मुन्नत नेपाल

मन्त्रीजीको भ्रष्टाचार चर्तिकला !

सूर्यनाथ उपाध्याय |
चैत २०, २०७८ आइतबार ७:३० बजे

केही समय भयो, म बैठक कोठामा टेलिभिजन हेरिरहेको थिएँ । एकजना व्यक्ति रिपोटर्स क्लबको मञ्चमा आँखामा पट्टी बाँधेर माइकमा बोलिरहेका थिए । उनी भन्दै थिए, मैले भ्रष्टाचार गरेको छु । नेपाल आमाको मानमर्दन गरेको छु, क्षति पुर्‍याएको छु । मैले घुस ख्वाएको छु । मलाई भ्रष्टाचार गरेकोमा समातियोस् । मेरो अनुसन्धान गरियोस र म जस्तो नेपाल आमालाई क्षति पुर्‍याउने व्यक्तिलाई कारबाही होस् । म प्रायश्चित गर्न चाहन्छु । 

त्यसो भनिरहँदा बडो ठूलो काम गरी गौरवको अनुभूति उनलाई भएको पनि देखिइरहेको थियो उनको अनुहारमा । उनी भन्दै थिए, मैले अख्तियारमा पनि गएर मेरो अनुसन्धान गरी मलाई सजाय दिइयोस् भनी निवेदन दिएको थिएँ । तर त्यतिखेर मेरो फाइल नै मुल्तबीमा राखियो, राम्ररी अनुसन्धान गरिएन । त्यो फाइल फेरि ब्युँताएर अनुसन्धान होस् पनि भने । 


उनले यस्तै यस्तै कुरा गर्दै आफ्नो भाषण सके अनि सो क्लबबाट बाहिर आँखामा पट्टी बाँधेकै अवस्थामा कसैको भर लिई ओर्लिए र कसैले चलाएको मोटरसाइकलमा पछाडि बसेर कतै गए । यी दृश्य हेरिरहँदाका ती व्यक्ति त २०५२ सालतिर मन्त्री भएका पो रहेछन् । यी २०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहेको क्याबिनेटका जलस्रोत मन्त्री थिए र म त्यसबेला जलस्रोत मन्त्रालयको सचिव थिएँ । 

टेलिभिजन कार्यक्रमले मलाई मेरो त्यो बेलाको अवस्थालाई सम्झायो । एक पटक हाँसो पनि लाग्यो र यी मन्त्रीको चर्तिकलाबारे त्यो टेलिभिजन दर्शकहरूलाई जानकारी गराऔं भन्ने लाग्यो । दुई दशकभन्दा बढीको अन्तरालमा धेरै परिवर्तन भए तर मा. मन्त्रीजी चाहिँ भ्रष्टाचार निवारण गर्न फूर्तिलो भई लागिरहेकै रहेछन् । 
यी मन्त्री अचम्मका व्यक्ति हुन् । उनी जलस्रोत मन्त्री मात्र हैन, उद्योग वाणिज्य मन्त्रालयको पनि सँगसँगै मन्त्री भएका थिए । नेपालको राजनैतिक इतिहासमा त्यो बेला पहिलो पल्ट कम्युनिस्ट सरकार वनेको थियो । त्यतिखेरको कम्युनिस्ट सरकारलाई निकै ठूलो चूनौती पश्चिमा मुलुकहरूले सहयोग गर्दैनन् कि भन्ने थियो । कम्युनिस्ट सरकार भनेर प्रजातन्त्र अनि खुला समाज र अर्थतन्त्र अँगाल्ने व्यक्तिगत स्वतन्त्रता र पुँजीवादी अर्थ व्यवस्थाका पक्ष लिनेले स्वीकार्दैनन् कि भन्ने डर थियो । सके मन्त्रिपरिषद्कै त्यही निर्देशन थियो कि के हो, ती मन्त्री जो कोही विदेशी मन्त्रालयमा भेट्न आए पनि भेट गर्न आएको विषय–वस्तुबाट कुरा थाल्नुभन्दा पनि सबैभन्दा पहिले आफ्नो तर्फबाट प्रस्टीकरण दिँदै भन्थे, हामी खुला अर्थतन्त्र र व्यक्तिगत स्वतन्त्रताको विरोधी होइनौं, हामी सबैसित मिलेर काम गर्न चाहन्छौं, इत्यादि इत्यादि । 

उहाँ निवेदन लिएर अख्तियार पुग्नुभयो र मलाई तुरुन्त हिरासतमा लिइयोस् भनी अर्कोलाई घुस खुवाएकामा मलाई कारबाही गरियोस् भन्दै निवेदनसहित उपस्थित हुनुभयो । मन्त्रालयमा र अख्तियारमा पनि दुईजना सामुन्ने भयौं । पूर्वमन्त्रीको इच्छा कसरी पूरा गर्नु मैले ? 

 

यस्ता कुराकोे सुगा रटाइ सुन्न बाध्य थिए पाहुना । त्यतिमात्र हैन, हामी घुस खाँदैनौं र तपाईंले पनि मेरो मन्त्रालयअन्तर्गतका कर्मचारीले घुस मागेमा मलाई खबर गर्नुहोला भनी उनी भन्थे । उनलाई भेट्न आउने मानिस को हो ? शिष्टाचारका लागि मात्र आएको विदेशी राजदूत हो, वा काम पाउनका लागि विदेशी ठेकेदार कम्पनीको मालिक हो, वा कुनै काम गराउन आउने मानिस हो, मन्त्रीजीलाई विदेशी भए पुग्यो । उनलाई जे कुरा भन्नु नै थियो, भनिहाल्थे । कहिलेकाहीँ मेरो उपस्थितिमा यस्ता कुरा हुँदा मलाई बडो संकोच र अप्ठ्यारो भइरहन्थ्यो । एक–दुई पटक सम्झाउँदा पनि मन्त्रीजी आफ्नै धुनमा हुन्थे, सुगा रटाइका वाक्य वर्षिरहन्थे । 

त्यति मात्रै कहाँ हो र ! उनलाई मैसित काम गर्ने मेरो मन्त्रालयको सचिव घुस खान्थ्यो कि क्या हो भनी लाग्दैथ्यो । मन्त्रीजी बडो अप्ठ्यारोमा थिए । उनलाई छटपटी थियो, कतै म घुस्याहा सचिवको चंगुलमा पर्ने त हैन ? घुस खानुहुन्छ कि हुन्न भनेर सिधै पनि कसरी सोध्ने ? नसोधौँ मनमा चैन छैन । उनले उपाय निकाले । एक दिन आफ्नो मन्त्रालयको सहसचिवको छोरीको बिहे थियो । बिहेको निम्तो आयो, मलाई मन्त्रीजीले भन्नुभयो, सह–सचिवको छोरीको बिहेमा म तपाईंको घर आउँछु सँगै जाउँला । मन्त्रीजी आउने भनेपछि घरमा पहिले नै खबर गर्नु स्वाभाविक थियो र मैले गरें । बिहेमा साँझपख जानुपर्ने थियो । समय छँदै मन्त्रालयबाट निस्की घरमा आई बसें मन्त्रीजीलाई कुरेर । मन्त्रीजी सुरक्षा–गार्डसहित आइपुग्नु भयो । मेरो सानो घरमा मन्त्रीजी पस्नुभयो । पसेर मसित कुराकानी गर्न मात्रै के लाग्नुभएको थियो, म तपाईंको घर, कोठा हेर्छु भन्नुभयो । त्यतिले मात्र नपुगेर तपाईंको श्रीमतीसित कुरा गर्छु भन्नुभयो । मैले परिचय गराएर मन्त्रीज्यूलाई घर देखाइदिन उनलाई भने । मन्त्रीजीले घर, कोठा, भान्सा–भण्डार केही बाँकी राख्नुभएन, सबै हेर्नुभयो । 

एक कप चिया मात्र खान्छु भन्नुभयो । त्यो पनि फिका चिया । चिया खायौं र सह–सचिवको छोरीको बिहेमा सँगै गयौं र बिहेमा सामेल भयौं । भोलिपल्ट सदाझै अफिसमा पुगेको केही बेरपछि मन्त्रीजीले बोलाउनु भयो । उहाँको कक्षमा गएँ । उहाँले भन्नुभयो, तपाईं घुस खाने मान्छे रैनछ । सबै चाहिने हेरे मैले, तपाई ठीकै हुनुुहुँदो रहेछ । उहाँबाट ठूलो सर्टिफिकेट पाएर म आनन्दित नै भएँ । 

मन्त्रीजीको विगत पछि थाहा पाएँ । सानो तिनो निर्माणसम्बन्धी ठेक्कापट्टाबाट सुरु भै चाउचाउ फ्याक्ट्री हुँदै व्यापार झाङ्गिएको रहेछ । मन्त्रीजीले आफ्नो व्यापारको सिलसिलामा कसैलाई घुस खुवाउनु भएको भएर हो कि किन हो उहाँमा आत्मग्लानि भएर मन फेरिएको हो कि बुझ्न सकिएन । अरुलाई घुस खाने नै देख्नु हुँदो रहेछ । उहाँ भने आफ्नो व्यापार र नाफा कमाउने काममा प्रवीण नै हुनुहुन्थ्यो र त्यसका लागि गर्नुपर्ने सबै काम गर्नु नै हुन्थ्यो जस्तो लाग्छ । 

मन्त्रीजीको कार्यकालमै अरुण–३ जलविद्युत् परियोजनाबारे विश्व बैंकसितको ऋण सम्झौता टुंगो लगाउनुपर्ने थियो । मन्त्रीजीलाई ठूलो भार परियोजनाको थियो । उहाँ सोच्नुहुन्थ्यो– यस्तो ठूलो परियोजनामा कतै ठूलै घुसको जालो त छैन ? सानो–तिनो निर्माणका कामबाट प्राप्त भएको ज्ञानले हो वा उहाँका सल्लाहकार मित्रहरूको सल्लाहले हो– उहाँ अरुण–३ जलविद्युत् परियोजनाको लागत धेरै भयो, अरुण–३ को पहुँच मार्ग ज्यादै खर्चिलो भयो भन्ने चिन्ता उहाँमा थियो । त्यस आयोजनाको लागत खर्च कसरी घटाउने भनी आफैं क्याल्कुलेटर लिएर हिसाब गर्न थाल्नुहुन्थ्यो । विश्व बैंक र उहाँको हिसाब नमिल्ने । विश्व बैंकको इस्टिमेट ज्यादै चर्को छ, उहाँको आत्माले कसरी मानोस् । यो सबै घुसै खानका लागि गरिएको प्रपञ्च जस्तो लाग्छ उहाँलाई । उहाँलाई भोक, निन्द्रा छैन, बिहान उठेदेखि नसुतेसम्म अरुण–३ ले छोप्छ । र सपनामा पनि त्यै देख्नुहुन्छ र अफिसमा दैनिक सचिवसित यही विषयमा कुरा हुन्छ र खर्च घटाउने मात्रै भन्नुहुन्छ ।

हामी कम्युनिस्ट हौं कहाँ घुस खुवाउँछौँ र ! यसमा घुस खाने ठाउँ राख्नु भएन, लागत घटाउनु पर्‍यो, विश्व बैंकसित पुनः कुरा गरौं भन्नुहुन्छ मन्त्रीज्यू । एकातिर भर्खरैजसो अर्थ मन्त्रालय, जलस्रोत मन्त्रालय, कानुन मन्त्रालय र अरुण परियोजनामा तत्कालीन प्राविधिक प्रमुख र विद्युत् प्राधिकरणका प्रमुख लगायतको टोलीले ऋण सम्झौतामा सही गरेको १–२ महिना मात्र बितेको छ । अर्कोतिर मन्त्रीजी विश्व बैंकमा पुनः छलफल गरौं भन्नुहुन्छ । म तिनीहरूलाई हिसाव क्याल्कुलेटरमा देखाएर घटाउँछु भन्नुहुन्छ । त्यति मात्र कहाँ हो र संसद्मा पनि त्यै क्याल्कुलेटरको हिसाब देखाउँदै अरुण–३ को लागत घटाउनुपर्छ भन्नुहुन्छ । आफ्नो मन्त्रालयमा प्राविधिक/प्रशासनिक व्यक्तिहरूको क्षमताभन्दा बढी मन्त्रीजीको भित्री क्षमता क्याल्कुलेटरमा परिणत भएछ । उहाँ विश्वस्त हुनुहुन्छ, क्याल्कुलेटर ठीक बोल्छ । मन्त्रालय हैरान छ, मन्त्रीजी पनि दृढ हुनुहुन्छ । उहाँ पुनः नेगोसिएसन गर्न जानु पनि भयो र विश्व बैंकले भइसकेको सम्झौतामा कुनै परिवर्तन गर्दैन भन्ने खालको जवाफ लिएर फर्कनुभयो ।  

समयकाल परिवर्तन भयो तर मन्त्रीजीमा रहेको भ्रष्टाचार विरोधी बिउ बेला बखत पलाउने रहेछ । फेरि यो केही समयपछि २०६१–२०६२ तिर प्रष्फुटित भयो र उहाँ नेपाल आमालाई मैले घात गरेको छु, घुस खुवाएको छु भनी आफूले आफैलाई आफ्नै घरमा कैदमा राख्नुभयो, छुट्टै बस्नुभयो, आफैं पकाइ खानुभयो, भाँडा माझ्नुभयो र एक डेढ महिनापछि प्रायश्चित भएको ठानी पुनः आफैं मुक्त भएको स्वघोषणा गरी साबिकझैं नाफा कमाउने आफ्नो व्यापारमा फर्किनुभयो । 

उहाँलाई कहीँ कतै भ्रष्टाचार गर्नु त थिएन तर नाफा चाहिँ जसरी पनि कमाउनु थियो । यत्तिमा चित्त बुझेन र निवेदन लिएर अख्तियार पुग्नुभयो र मलाई तुरुन्त हिरासतमा लिइयोस् भनी अर्कोलाई घुस खुवाएकामा मलाई कारबाही गरियोस् भन्दै निवेदनसहित उपस्थित हुनुभयो । मेरो विडम्बना ! यी मन्त्रीले मलाई जलस्रोत मन्त्रालयमा पनि छोडेनन् र अख्तियारमा पनि छोडेनन् । मन्त्रालयमा र अख्तियारमा पनि दुईजना सामुन्ने भयौं । अख्तियारमा भ्रष्टाचार गरेकामा र आफू भ्रष्टाचारी भएकाले कारबाहीको माग गर्ने मन्त्रीजी, कारबाही गर्नुपर्ने मैले । पूर्वमन्त्रीको इच्छा कसरी पूरा गर्नु मैले ? कसलाई खुवाउनु भो, कति खुवाउनु भो, कसरी खुवाउनु भो, के कामका लागि खुवाउनु भो, यो सोध्दा आफैं पत्ता लगाउनु भन्नुहुन्छ । ब्रम्हाजी मसित छैनन्, न त्रिलोक देख्ने नारद नै म हुँ ! कसरी पत्तो लगाउनु ? त्यतिखेरका अख्तियारका कर्मचारीले २–४ दिन बयान त लिए तर ती भ्रष्टाचार विरोधी असाधारण व्यक्तिलाई औषधि गर्न पठाउन पनि भएन, उनको रटान कायमै छ– तपाईं आफैँ पत्ता लगाउनु भन्ने । 

उहाँ नै थाक्नुभयो वा त्यसको खोज गर्न सक्ने ब्रम्हा पत्ता लागेनन् फाइल तामेलीमा बस्यो । मन्त्रीजीमा भ्रष्टाचार विरोधी दृढताको बीउ केही केही वर्षको फरकमा फेरि उम्रिहाल्ने रहेछ । उनी पनि के गरुन् भ्रष्टाचारको आगो मनमा सल्केपछि; मान्नैपर्‍यो अनि भन्दै रहनुपर्‍यो । भ्रष्टाचार विरोधी आगो बखत बखतमा सल्किरहने भयो, टेलिभिजनका पर्दा र अखबारका पानामा भ्रष्टाचार प्रकट भइरहने भयो । गजब छ मन्त्रीजीको भ्रष्टाचार चर्तिकला ! 

८समुन्नत नेपाल गुठी एउटा सार्वजनिक गुठी हो । यस गुठीले क० राष्ट्रिय एकता, सुरक्षा र आत्मनिर्भरता ख० सदाचार स्थापना र भ्रष्टाचार नियन्त्रण ग० साँस्कृतिक तथा प्राकृतिक विविधताको संरक्षण घ० परराष्ट्र सम्बन्ध का क्षेत्रमा अनुसन्धात्मक र विश्लेषण, नीति(निर्माण र कार्यान्वयनमा सहयोग र सल्लाह तथा पैरवी, जागरण र उत्प्रेरणा जस्ता कार्य गर्दछ । 

समुन्नत नेपाल शृंखलाका लेख: 

युक्रेन, नेपाल र स्वतन्त्र अस्तित्व

धनी बन्न चाहनुहुन्छ ? निर्वाचन आयोगमा 'कम्पनी' दर्ता गर्नुस्

नेपालको ‘परराष्ट्र नीति’ले किन राष्ट्रहित गर्दैन ?

संविधानमा रहेका आयोगहरूको उपयोग र औचित्य

प्रतिक्रियाका लागि: [email protected]

*समुन्नत नेपाल गुठी एउटा सार्वजनिक गुठी हो । यस गुठीले क) राष्ट्रिय एकता, सुरक्षा र आत्मनिर्भरता ख) सदाचार स्थापना र भ्रष्टाचार नियन्त्रण ग) साँस्कृतिक तथा प्राकृतिक विविधताको संरक्षण घ) परराष्ट्र सम्बन्ध का क्षेत्रमा अनुसन्धात्मक र विश्लेषण, नीति-निर्माण र कार्यान्वयनमा सहयोग र सल्लाह तथा पैरवी, जागरण र उत्प्रेरणा जस्ता कार्य गर्दछ 


    


Author

थप समाचार
x