विचार

कथा एक, राष्ट्र तीन

विनोद सिजापती |
चैत २२, २०७८ ७:१३ बजे

लेबनान, अरब भूमिको सुन्दर राष्ट्र । बेरुत, लेबनानको राजधानीलाई एसियाको प्यारिस भनी वर्णन गरिन्थ्यो । श्रीलंका मोतीको हार आकारको समुद्रले घेरिएको देश । समुद्रको किनारमा अवस्थित राजधानी कोलोम्बोबाट ५/६ घण्टामै पुगिने ८ हजार फिट उचाइमा रहेको नुरेलियाको वर्णन कसले मात्र गर्दैनन् र ?

स्कुले जीवनकालमै लेबनानप्रति आकर्षण बढेको हो । मेरो समकालीन विद्यार्थीकालमा उच्च शिक्षाका निमित्त लालायित हुने मुलुकहरू थिए, भारत, रुस, चीन, अमेरिका, ब्रिटेन, जर्मनीका अतिरिक्त पोल्यान्ड, चेकेस्लोभाकिया, युगोस्लाभिया, लेबनान तथा फिलिपिन्स । सन् १८६६ मा स्थापित अमेरिकन युनिभर्सिटी अफ बेरुतलाई मध्यपूर्व तथा अफ्रिका उच्चकोटिका विश्वविद्यालय ठहर गरिन्थ्यो । 


त्यसैगरी युरोपेली मुलुकको हाराहारीमै विकसित भन्‍ने प्रचलन पनि थियो । त्यहाँ अध्ययन गर्ने अग्रजहरूबाट धेरै बयान सुनेको हुनाले पनि लेबनानका विषयमा अध्ययन गर्न उत्साहित हुने क्रम बढेको हो । लेबनानको बखान सुने पनि एयर अरेबियाको विमान अवतरण हुँदा बेरुत विमानस्थल देख्नसम्म पाइएको हो । खासै व्यवसायिक तथा शैक्षिक अभिरुचि नभए पनि एक प्रकारको बौद्धिक चासो हुँदै आएको छ, लेबनानका विषयमा ।

लेबनानको गाथा दर्दनाक थियो र छ । भू–राजनीतिक तथा सामरिक हिसाबले अत्यन्त महत्वपूर्ण देश आजकल पश्चिमा राष्ट्रहरूका निम्ति ‘बाँस्केट केस’मा परिणत भएको छ । कुनै समय लेबनानलाई अत्यन्त महत्व दिने विश्वका नेताहरू आजका दिनसम्म आइपुग्दा त्यस देशको नाम उचारण गर्न गाह्रो मान्छन् । विश्व सञ्चार माध्यमहरूले बिरलै लेबनानका विषयमा समाचार प्रसारण गर्छन् । विगतमा लेबनानसम्बन्धी समाचारहरू गृहयुद्ध, जातीय हिंसा, आतंकवादी आक्रमण तथा सरकार गठन र विघटनका समाचार आउने गथ्र्याे, लेबनानबाट केही दिन पूर्वसम्म । आजकल त्यहाँको आर्थिक संकटका विषयमा समाचार प्रसारण हुन थालेका छन् ।

अर्थशास्त्र विषयको विद्यार्थी जीवनको सुरुवातदेखि श्रीलंकाप्रति आकर्षण बढेको हो । त्यस कालखण्डमा दक्षिण एसियाको सबैभन्दा उन्‍नत मुलुक दर्ज भएको थियो, श्रीलंका । सिंगापुर मलेसियाबाट अलग हुँदा साथै सिंगापुरका प्रधानमन्त्री ली क्वान युले ‘श्रीलंका जस्तै उन्‍नतशील राष्ट्र’ निर्माण गर्ने उद्देश्यको खुलासा गरेका थिए ।

कृषि आयोजना सेवा केन्द्र (एप्रोक्स) मा कार्यरत हुँदा सन् १९८२ मा ‘मार्ग इन्स्टिच्युसन’ले आयोजना गरेको ‘विकासशील मुलुकमा रोजगरी समस्या’सम्बन्धी गोष्ठीमा सहभागी हुने अवसर पाएको थिए । उक्त गोष्ठीमा डा. राजेन्द्र सुवाल र मैले नेपालको कार्यपत्र प्रस्तुत गरेका थियौं । एक दशकपूर्वको ‘जनता विमुक्त परिपुना’ (जेभीपी) सञ्चालित सशस्त्र द्वन्द्व मत्थर भएको तथा जातीय हिंसा मौलाउने संकेतहरू देखापर्न थालेको अवस्थामा त्यहाँ पुगेको थिए । 

दुई साता लामो बसाइँमा त्यहाँ हुँदै गरेको आर्थिक विकासबाट अत्यन्त प्रभावित भएको थिए । त्यसको ६ वर्षपश्चात् श्रीलंका पुगे अर्को चार वर्ष लामो अवधि संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगको कर्मचारीको हैसियतमा । श्रीलंकाबाट अन्यत्र खटिए पनि त्यहाँ हुँदै गरेका घटनाहरूप्रतिको अभिरुचि कायम रह्यो । 

तामिल पृथकतावादीमाथि काबु जमाएपछि श्रीलंकाको विषयमा समाचार प्रसारण न्यून हुँदै थिए । आक्कलझुक्कल त्यहाँ हुने हिंंसात्मक घटनाबाहेक विश्व सञ्चार माध्यमको राडरबाट श्रीलंका विलीन हुँदै थियो । चिनियाँ राष्ट्रपति सी चिङ फिङले सुरु गरेका ‘बेल्ट एन्ड रोड’को सक्रिय सहभागी थियो, श्रीलंका । 

उक्त परियोजना अनुरुप चिनियाँ ऋण सहयोगमा निर्माण गरिएको थियो, हामबानटोटा बन्दरगाहा । श्रीलंकाले समयमा चिनियाँ सरकारलाई समयमा साहुँ/ब्याज तिर्न असमर्थता जाहेर गर्दै उक्त बन्दरगाह चाइना मर्चेन्ट पोर्ट कम्पनीलाई ९९ वर्षका निमित्त उपभोग गर्न सुम्पिन बाध्य भयो ।

हिजो लेबनान आज श्रीलंकामा जस्तै यदि नम्हालिने हो भने भोलि हाम्रो पालो आउने निश्चित छ ।

यो घटना उदाहरणका निमित्त घरि–घरि प्रसारण गर्छन्, पश्चिमा संचार माध्यम । अन्यथा श्रीलंका पनि उनीहरूको राडरमा देखापर्न छाडिसकेको थियो । हाल चरम आर्थिक संकटमा फँसेको श्रीलंका प्रत्येक दिन विश्व संचार माध्यममा देखापर्न थालेको छ । राष्ट्रपति तथा तिनका सहोदर दाजु एवं प्रधानमन्त्रीबाहेक मन्त्रिमण्डलका सबै सदस्यहरूले राजीनामा दिएको समाचार प्रसारण गरिएको छ ।          

अर्थशास्त्र विषय अध्ययनको शुरुवात गर्दा (१९७०) विश्वको गरीब राष्ट्रको पहिचान थियो, आफ्नो मातृभूमि । ‘अर्थशास्त्री’को उपाधि पाएर पेशा शुरु गर्दा ‘नेपाल एक गरीब देश हो, जुन प्रत्येक दिन झन् गरीब हुँदैछ’ भन्‍ने पढ्दा अत्यन्त दुःखी भएको थिए । विभिन्‍न कारणले गर्दा २०/३० वर्षको अन्तरालपछि विगतमा एप्रोक्सको सौजन्यमा स्थलगत अध्ययन गरेकामध्ये सीमित क्षेत्रहरूको भ्रमण गर्ने अवसर पाइयो ।

देश चिन्‍न नसकिने गरी परिवर्तन भएको छ । विगतमा देखिने खर र फुसका छानाहरू वर्तमान कालखण्डमा तराईमा बाहेक अन्यत्र देख्न सहरी क्षेत्रमा भएका सुकुमबासी टोल धाउनुपर्छ । लाज छोपेका शरीर तथा खाली खुट्टामा भौँतारिएका नागरिक हम्मेसी देखा पर्दैन । तर, समग्रमा देश अझै विश्वको सबैभन्दा कम विकसित मुलुकहरूको अग्रसूचीमा पर्छ । वर्तमान कालखण्डमा देखापरेका आर्थिक सूचकहरूलाई मध्यनजर गर्ने हो भने देश द्रूत गतिमा ओरालो उन्मुख भएको पाइन्छ ।

लेबनान, श्रीलंका तथा नेपाल तिनै मुलुकले भौतिक तथा मानव निर्मित प्रकोपहरू झेल्दै आएका हुन् । तिनै राष्ट्रहरू पीडित छन् बाहिरी हस्तेक्षपबाट । प्राकृतिक प्रकोप तथा बाहिरी हस्तक्षेपले जति यी देशहरूलाई थला परेको थियो र छ । त्यो भन्दा कैयांै गुणा बढी खति शासकहरूले गर्दा भएको छ । अयोग्य तथा भ्रष्ट शासक, निहित स्वार्थ रक्षाप्रेरित उद्यमी तथा उपभोगउन्मुख जन मानसिकता जस्ता कारणहरूले गर्दा तिनै मुलुक धेरै अर्थमा ‘बास्केट केस’मा परिणत भएका हुन् । 

लेबनानबाट पलायन भएका उद्यमीहरू विशेष गरी व्यापारीहरूले वर्चस्व कायम गरेका छन्, अन्तरर्राष्ट्रिय जगत्मा । अफ्रिका र एसिया महाद्वीपमा लेबनानी व्यापारीहरूले खनिज पदार्थ व्यापारमा आधिपत्य जमाएका छन् । अन्यत्र उनीहरूले गरगहना तथा निर्माण व्यवसाय फैलाएका छन् । त्यसैगरी श्रीलंकाबाट पलायन भएका बौद्धिक एवं प्राज्ञिक, अर्धदक्ष श्रम अन्तर्राष्ट्रिय संघ संस्था, विश्वविद्यालय तथा श्रम बजारमा हाबी छन् ।

नेपालबाट पलायन भएका नेपालीहरू पनि अर्ध वा गैरशिल्प श्रमिक तथा बहादुरी कमाएका युवाहरू मात्र होइन, व्यावसायिकहरू पनि विश्व बौद्धिक मन्दीमा मौलाउन थालेका छन् । विडम्बना तिनै राष्ट्रमा दक्ष, सक्षम तथा लगनशील मानव शक्तिको चरम अभाव छ, जसलाई उनीहरू निर्यात गर्दैछन् । राजनीतिक वृत्त खुसी छ, उनीहरूले आर्जन गरी घर पठाएको ‘रेमिट्यान्स’बाट मुलुक सञ्चालित छ । तिनै देशमा चरम नैराश्य छाएको छ । सत्ता प्राप्तिका निमित्त मनगढन्ते सपना देखाउने यथार्थमा भने त्यसको ठीक विपरीत कार्य गर्छन्, राजनीतिक वृत्तका पात्रहरू । हिजो लेबनान आज श्रीलंकामा जस्तै यदि नम्हालिने हो भने भोलि हाम्रो पालो आउने निश्चित छ ।

सिजापतीका यसअघिका लेखहरू


Author

विनोद सिजापती

सिजापती संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगका पूर्ववरिष्ठ आर्थिक सल्लाहकार हुन् ।


थप समाचार
ad
x