विचार

लुटतन्त्रका पर्यायहरू कुर्सीमा रहिरहने अनि श्रीलंका नबनेर के बन्‍ने ?

सुशीला कार्की |
चैत २५, २०७८ ९:४ बजे

यतिखेर अत्यासलाग्दो आर्थिक मन्दीका अनगन्ती समाचार पढ्दै या सुन्दै गर्दा केही वर्षअघिको श्रीलंकाको भ्रमणको याद आयो । जतिखेर श्रीलंकामा तामिल टाइगर्सको हिंसात्मक द्वन्द्व जारी थियो । उसले सन् १९८३ बाटै त्यसरी द्वन्द्व सुरु गरेको थियो । यदाकदा द्वन्द्वकारी तमिलहरूबाट हमला र हत्या–हिंसाका घटना बराबर भइरहेका थिए । हामीलाई यदि सहरको वरिपरि घुम्‍न मन लागेमा स्वयं आफ्नो जिम्मेवारीमा जाऊँ भनी सम्मेलनका आयोजकको सचेत गराए ।

कोलोम्बो हवाई फिल्डमा साँझमा हामी उत्रेपछि क्यान्डी भन्‍ने सहरमा पुग्दा करिब आधा रात भएको थियो । क्यान्डी जाने सडक सुनसान, एकान्त र जंगलको बाटो हुँदै गुडिरहँदा हामी चढेको गाडीभित्र बत्ती निभाएर सुरक्षाकर्मीको घेरासहित होटेलमा पुर्‍याइएको थियो । श्रीलंकाका मित्रहरूसँग तमिल विद्रोहबारे सोधपुछ गर्दा द्वन्द्वको प्रभाव बढी त्यहाँको दक्षिणी क्षेत्र जहाँ तमिलहरू बढी बसोबास गरेका छन्, उक्त स्थानमा भएको भनी जानकारी गराएका थिए । 


क्यान्डी सहरमा बसेको होटलबाट बाहिर देखिएका घना जंगलले भरिएको पहाड हेर्दा कुनै ठूलो फोटोमा भएको सुन्दर दृश्यझैँ देखिएको थियो । मैले स्थानीय मित्रहरूसँग उक्त बनको प्रशंसा गर्दै भनेको थिए, ‘ओहो, तपाईंहरू त मुलुकमा वन–जंगल जोगाउन सफल हुनु हुँदो रहेछ । हामीकहाँको जंगल वन तस्कर र भूमाफियाले सखाफ पारिसकेका छन् ।’ मेरो कुरा सुनिसकेपछि उनीहरूको जवाफ आयो, ‘त्यो रोग हामीकहाँ पनि सुरु भएको छ ।’

श्रीलंकामा जहाजबाट हुँदा राति भएकाले त्यहाँ केही देख्न पाइएको थिएन । तर फर्किंदा दिउँसो थियो । जहाज उड्दा जब केही माथिसम्म पुगेको थियो, त्यो टापु समुद्रबीच एउटा दियो जस्तो आकारको देखियो । प्रकृतिले नै निर्माण गरेको अति सुन्दर मुलुक, हाम्रो भन्दा कता कता धेरै शिक्षित दर भएको र परिश्रमी श्रीलंकावासीहरू । सुनै सुनले छाएको पौराणिक किंवदन्ती बोकेको रावणको श्रीलंका । हामी हाम्रा धार्मिक पुस्तक रामायणका माध्यमबाट त्यही बुझेका थियौं । 

मैले जिज्ञासावश रावण र पुरातन श्रीलंका जहाँ हनुमानले सुनै सुनको लंकालाई जलाएको र भष्म पारेको, रामले बाँदर सेनाद्वारा सेतु बाँध निर्माण गरी रावणविरुद्ध घनघोर युद्ध गरी परास्त गरेको सन्दर्भ खोतले, श्रीलंकाली मित्रहरूसँग । तर उनीहरूबाट हाँसो आयो । उनीहरूले हाँसेर भने, ‘खै, त्यसो त भनिन्छ, तर हामीलाई पनि त्यसबारे यकिन जानकारी भने छैन ।’

तर कुनै समयमा त्यहाँ बौद्ध धर्मको ठूलो प्रचार–प्रसार सुरु भएको रहेछ । क्याण्डी सहरमा भगवान् बुद्धको दाँत रहेको मन्दिर छ । श्रीलंकामा अझै पनि ७०.२ प्रतिशत जनता बुद्ध धर्म मान्छन् भने हिन्दूको प्रतिशत १२.६ प्रतिशत छ । अनि ९.७ प्रतिशत मुसलमान र ६.१ प्रतिशत क्रिस्चियन रहेका छन् ।

त्यसैले नेपालीहरू भनेपछि त्यहाँका जनता आदर यस अर्थमा पनि गर्छन् कि नेपालमा बुद्ध जन्मेका कारण । एक जना सिङ्गाली महिलाले मसँग भनेकी थिइन्, ‘बुद्ध धर्मको प्रचार–प्रसारको सिलसिलामा यहाँ १७ औँ शताब्दीकालमा नेपाली मूलका भन्‍नेहरू आएर बसेका थिए ।’ उनको दाबीअनुसार उनका पुर्खा तिनै नेपालबाट आएको कुनै शाक्य जातको पुरुष नै हुन्, जो सिङ्गाली महिलासँग घरजम गरिबसेका थिए ।

श्रीलंकामा मलाई त्यहाँको स्थानीय फूल कपुर्काले धेरै आकर्षित गराएको थियो । कारण, यत्रतत्र यही फूल बाटो घाटोमा प्रशस्त फुलिरहेका थिए । मानौँ कपुर्का नै हो श्रीलंङका त्यति नै आकर्षक र सुन्दर एउटा मुलुक । 

आज त्यो मुलुकमा आर्थिक मन्दीमा यति धेरै धसिन पुगेको छ कि कागज आयात गर्ने मुद्राको अभावमा बालबालिकाले परीक्षा दिन पाएका छैनन् । प्रतिकप चियाको मूल्य नै नेपाली मुद्रामा एक सय साठ्ठी, एक लिटर दूधको तीन सय रुपैयाँ । एक लिटर खाने तेलको मूल्य आठ सय पुगेको छ । त्यो पनि सजिलै पाउन मुस्किल छ । बजार र त्यहाँका पसल बन्द हुँदैछन् । मानिसहरू भोकभोकै छन् । नारा जुलुस सरकारविरुद्ध लगाइरहेका छन् ।

यो दुर्दिन आउने प्रथम कारक तत्व हो, राजनीतिक र सरकारी उच्च पदमा बहाल पात्रहरूमा व्यापक भष्टाचार रहनु, दोस्रो प्रत्येक वस्तु आयात गरिँदा चाहिने डलर रकमको अभाव हुनु । केही समययता श्रीलंकाको उत्पादन माछा तथा सुख्खा फलफूल काजु, बदाम, दालचिनी, चियापत्ती जस्ता वस्तु निर्यात हुन छाडे । त्यस्तै पर्यटकहरूको पनि भ्रमणमा आउने संख्यामा कमी हुँदा डलर संकलन हुने बाटो हराएको छ । यो स्थितिलाई देखेर यस मुलुकका आसपासका छिमेकी राष्ट्रहरू सतर्क भएको देखिन्छ । त्यस्तै वर्षौंदेखिको द्वन्द्वलाई अन्त्य गरी यसो सम्हालिन मात्र खोजेको बखत कोरोना भाइरसले ठूलो आर्थिक मन्दी संसारभरि ल्याउँदा श्रीलंका पनि त्यस माहामारीबाट अछुतो रहेन । अब यो दुःखद् अवस्थामा बेहोर्न विवश छ, श्रीलंका ।

श्रीलंकामा जसरी गुज्रिइरहेको छ, त्यो अवस्था हामी कहाँ पनि नआउला भन्‍न सकिन्‍न । हाम्रो मुलुकमा पनि २०५२ देखि सुरु भएको माओवादी द्वन्द्वकालबाट निरन्तर पीडित भई २०६२ सम्ममा थिलथिलो हुन पुगेको हो । उक्त द्वन्द्वकालको अन्त्य हुँदासम्ममा नेपालमा अठार हजार मानिसले ज्यान गुमाए । हज्जारौँको संख्यामा बेपत्ता भए । कैयौंका घरबार लुटिएर सुकुम्बासी बनेका छन् । कैयौंले थातथलो छाड्नुपर्‍यो ।

त्यस्तै आर्थिक रूपमा सबल र सक्षम भएका परिवारहरू पनि सामन्ती भएको दोषारोपणबाट विस्थापित हुँदै गरिबीको रेखामुनि पुगे । अभिभावकविहीन वालबालिकाहरू कति त बेचिए वा विदेशिए, त्यसको लेखाजोखा कतै छैन । द्वन्द्वको परिणामले समग्र मुलुकलाई दिएको नाफा घाटाको मूल्यांङ्कन गर्ने हो भने घाटैघाटा देखिएको छ ।

२०६३ सालमा द्वन्द्वको अन्त्य जसै भएको थियो, द्वन्द्व सञ्चालन गर्ने अग्रज पंक्तिकाहरू नै कोही मान्छे बिक्री गर्ने दलाल देखिए, कोही भूमि बिक्री गर्ने भू–माफिया । कोही मेडिकल माफिया त बिचौलियामा परिणत भए । तिनीहरू करोडौको गाडी, बंगलाहरू जोड्दै भौतिक सुविधामा लिप्त भएका छन् । द्वन्द्वकालमा जुत्ता लगाउन नपाउने, पेटभरि चामलको भात खान दसैँ कुर्नुपर्ने ती माओवादी कार्यकर्ताहरू जो अकालमा मरे । ती मरी हाले जो बाँचेका छन् ती पनि शरीरमा गोली बोकेर रोगाएर बाचेका छन् ।

बाह्र वर्षे द्वन्द्वकालले राष्ट्रलाई दिएको परिणाम हो, आपसी लुट, खसोट, घृणा, द्वेष, हत्या, हिंसा, अनि समाजमा कुसंस्कार र असभ्यताको विकास । यदि परिवर्तनको नै अपेक्षा गर्ने हो भने अहिंसाको मार्ग अपनाउँदा पनि सम्भव हुन्छ । 

२०६३ पछि पनि निरन्तर देखिएको दबाब, प्रभाव वा मत किनबेचको आधारमा खडा गरिने सरकार जस्तो कुसंस्कारलाई कायम गरिने हो र त्यसको परिचालन निम्ति भ्रष्टाचारको रकम संकलन गरी खर्च गर्ने हो भने अठार हज्जार निमुखालाई बली दिने आवश्यकता पो के थियो र ? जनता त हिजो पनि गरिबै थिए, पञ्चले एक हातमा नोट हाली दिन्थे अर्को हातले जनताले पैसा दिने पञ्चलाई भोट दिन्थे ।

आजको पद्धतिलाई लोकतन्त्र भनी नामकरण गरे तापनि पुरानै संस्कारले निरन्तता दिएको वा पाएको छ– उही जनतालाई सदैव अशिक्षित र गरिब बनाउने अनि जनताको हातमा नोट हाली दिने र बदलामा जनताले भोट किनबेच गर्ने । २०४८ पछि मुलुकमा यस्तो लोकतन्त्रको स्थापना भयो जहाँ नेतृत्वपंक्तिले मत माग्छ, जनताले मत दिन्छ, त्यसपछि भने जनप्रतिनिधि र जनताबीचको सम्बन्धको तत्कालै अन्त्य हुन्छ । त्यसपछि निर्वाचित जनप्रतिनिधिहरू पद र पैसा प्राप्तिको खेलतिर लुँछाचुँडी गर्नेतिर लाग्छन् भने जनता त्यही हेरेर पुर्पुरोमा हात सदैव लगाइरहन्छन् ।

नेपालमा पहुँच हुनेले पनि भ्रष्टाचार व्यापक गर्न छाडेका छैनन् । मानौं, तिनको आदर्श नै भ्रष्टाचार हो । भ्रष्टाचार केका निम्ति भन्दा आजीवन सत्तामा बहाल रहन, सरकारी सुविधा निरन्तर भोगिरहन, सेना प्रहरीको स्याल्युट र सुरक्षा पाउन, अथाह सम्पत्ति कमाउन । नेपाली आमजनताहरू कर्मठ छन् । मेहनती र परिश्रमी छन् । तिनले हत्तपत्ती विरोध पनि गरेको देखिन्‍न । नेपालमा बेला बखतमा अनिकाल अकाल द्वन्द्व र अभाव नभएको होइन । 

तर नेपाली स्वयं संघर्ष गर्छन्, बरु परदेश गएर दुःख नै मोल्छन् । सरकारले नोकरी किन दिएन ? किन पक्षपात गर्‍यो ? त्यसको खोजी गर्ने पनि गरेको देखिँदैन । बरु भाग्यलाई लिएर पुर्पुरोमा हात लगाउँछन् । अनि सरकारलाई हत्तपत्ती दोष दिएको देखिँदैन । त्यसैको परिणम हो, यहाँका राजनीतिज्ञले गर्ने गरेको मनोमानी । अहिले कस्तोसम्म देखिएको छ भने जो बाठो टाठो छ तिनीहरू रकम कलम मिलाएर वैदैशिक रोजगारमा गएका छन् कारण नेपालको कष्टकर कृषी पेशा गर्न नसकेर ।

किनकि यसमा सरकारले कुनै सुविधा प्रदान नगरी बरु शोषण गरेको देखिन्छ । हुन त वैदेशिक रोजगारमा पनि आधा भन्दा बढी मानिस असफल छन् । आर्जन गर्नु भन्दा बढी गुमाएका छन् । कति त अकालमा मरेका छन्, कति बँधुवा मजदुर भएर वेपत्ता भएका छन् । कति मरेका छन् कि बाँचेका छन्, परिवारलाई जानकारी नै छैन । मुलुकको प्रमुख पेशा खेती हो तर खेतीको सञ्चालनमा अहिलेको भन्दा राम्रो व्यवस्था जिमदारी पद्धति मुलुकमा कायम हुँदा पनि केही हदसम्म थियो होला ।

हिजो–अस्ती काठमाडौंको बसस्टप नजिक भएको माछा पोखरीमा नुवाकोटबाट थोक बिक्रेताले बेच्न ल्याएको वस्तुको मूल्य एक किलो काउलीको ३५ थियो । एक किलो मुलाको ९ थियो । तिनै वस्तुको दाम बसुन्धारामा सोही दिन एक किलो काउलीको दाम ८० थियो भने मूलाको दाम ६० रुपैयाँ थियो । मलाई आश्चर्य कहाँनेर लाग्यो भने थोक बिक्रेताले ३५ मा बेचेको काउलीको मूल्य खेती गर्न मल जल गरी दिन रात पानि पटाउने र माटोसँग पौठेजोरी खेल्ने किसान कहाँ कति रकम पुग्यो होला ? त्यस्तै १५ देखि २० सम्म हुनुपर्छ । 

त्यस्तै मूलाको ४ देखि ५ रुपैयाँसम्म । यसबाट के देखिन्छ भने वस्तुको उपभोग गर्ने सेवाग्राही जनता, र खेती गर्ने किसान नै  पनि जनता हुन् । दुवै यस मुलुकमा शोषणको शिकार भएका छन् । तिनको परिश्रमको रकम कुन बिचौलियाको पेटमा परेको छ ? यस्ता समस्याहरूको सामाजिक, आर्थिक न्याय राज्यले प्रदान गर्दैन भने जनताले त्यो सहने पनि एउटा समय सीमा हुन्छ, सीमा नाघेपछि द्वन्द्व हुनु स्वाभाविक हो ।

सुशीला कार्कीका लेखहरू


Author

सुशीला कार्की

कार्की पूर्वप्रधान न्यायाधीश तथा ‘न्याय’ एवं ‘कारा’ पुस्तककी लेखक हुन् ।


थप समाचार
ad
x