विचार

संस्मरण र अनुभूति

साँघुरो मन, काँचो रोटी

वसन्त लोहनी |
बैशाख ३, २०७९ ६:४१ बजे

हिजो विद्यावान र शिक्षितबीच जति फरक थियो अर्थात् फासला थियो त्यो आज निश्चित रूपमा बढेको छ । हिजो विद्यावान कति नै थिए र ? यो कुरो सही हो । तर त्यस अर्थमा आज त झन् कम छन् । विद्यावान भनेको विद्या आर्जनको त्यो उन्‍नयनको अवस्था हो जहाँ पुगेपछि मान्छे विद्वानभन्दा बढी विवेकी बन्‍न सकेको हुन्छ । यो अवस्थामा पुग्नको लागि विद्याले पहिले विनय दिन सक्नु पर्दछ । जसरी भनिन्छ- विद्यां ददाति विनयमं । विनम्रताले नै मान्छेको योग्यता बढाउने हो । यस क्रममा उसमा विवेक अभ्युदय हुँदै जान्छ । यो कुरा अर्थ्याउन रावण र हनुमानको प्रसङ्ग सान्दर्भिक हुनसक्छ ।

रावण बराबरको विद्वान को थियो र त्रेता युगमा ? कोही पनि थिएन । रावण चार वेद र छ शास्त्रमा पराङ्गत थियो । त्यसैले त युद्धभूमिमा अन्तिम अवस्थामा रहेको रावणसँग ज्ञान सिक्न रामले भाइ लक्ष्मणलाई पठाउनु परेको थियो । र, उसले दिएको ज्ञान हो - मान्छेले खराब कर्मलाई पर सार्दै जानु पर्दछ र असल कर्मलाई तत्काल गर्न सक्नु पर्दछ । तर उसले पन्छ्याउनु पर्ने खराब कर्म गर्‍यो । स्वर्गसम्म जाने सुनको सिँढी बनाउने काम चाहिँ पन्छ्याएर मात्र राख्यो । रावणमा विवेक नभएको कारणले यस्तो हुन गयो । त्यसैले उ विद्वान मात्र बन्‍न सक्यो । विद्यावान बन्‍न सकेन  । विद्याावान त हनुमान थिए । अपूर्व विद्वान भएर होइन । विवेक भएर उनी विद्यावान बनेका हुन् ।


वेदप्रसादलाई छुन आएको समय प्रवाह विवेकी बन्‍नु पर्दछ भन्‍ने निरन्तरताको थियो । कन्चन थियो यो निरन्तरता । दरबार केन्द्रित राजनीति जस्तोसुकै षडयन्त्रमूलक किन नहोस्, त्यहाँबाट निसृत डरत्रासको वातावरणमा आम नेपालीले जसरी बाँच्नु परेको किन नहोस् र शासकमुखी अर्थतन्त्रको सेरोफेरोभित्र साँघुरिएर बस्न परेको किन नहोस् । जङ्गबहादुरले सत्ता हत्याएको ठीक १० वर्षमा उनको परिवारलाई अङ्ग्रेजी पढाउन खोलिएको दरबार स्कूल । यसको ५ वर्षपछि शिक्षा राम्रो पार्न आफ्नो ठाइँलो छोरा जनरल बबरजङगलाई शिक्षाको डाइरेक्टर नियुक्त- त्यति वेला भनिने डाइरेक्टरेट अफ पब्लिक इन्सट्रक्सन्समा । यो अड्डा निकै महत्त्वपूर्ण ठानिन्थ्यो जसले गर्दा पछिसम्म पनि श्री ३ को रोलमा परेकाहरू नियुक्त भएका छन् । 

विदेशसँगको सरकारी लेखापढीको लागि फारसी, अङ्ग्रेजी र बङ्गाली जान्‍ने मुस्ताफिर ख्वाजालाई नियुक्त गरे जङ्गबहादुरले मुन्सीखानामा । त्यति वेला सरकारी लेखापढीको भाषा फारसी हुन्थ्यो र यो भाषा जान्‍नेलाई मात्र वकिल बनाएर पठाइन्थ्यो । वकिल भनेको मुलुकको प्रतिनिधि, अहिलेको राजदूत जस्तै । त्यतिवेलाको जत्तिको सोच अहिले छैन ।

आजको नेपालको अग्रगमन भनिने सोच त आफ्नो भागको हुनुपर्‍यो, नातागोता वा नगद नारायणसँग मेल खाएको हुनुपर्‍यो । जो, जे जस्तो भए पनि हुन्छ । अङ्ग्रेजी शिक्षाको महत्त्व बढ्दै गएकोले स्थापनाको ३२ वर्ष पछि दरबार स्कूलमा जनताको छोराले पनि पढ्न पाएका थिए । अर्थात् वेदप्रसाद जन्मिने भन्दा ३० वर्ष अगाडिदेखि । कलकत्ता विश्वविद्यालयबाट सम्बन्धन लिएको हुनाले दरबार स्कूलको आखिरी जाँच, अर्थात् १० कक्षाको जाँच जसलाई ‘इन्ट्रान्स’ भनिन्थ्यो, त्यसको लागि कलकत्ता जानु पर्थ्यो । 

अङ्ग्रेजीको अपार महिमा थियो त्यति वेला । ‘इन्ट्रान्स’ पास गरेका आफ्ना दाजु लेखनाथले अङ्ग्रेजी ‘ट्युयसनगिरी’बाट गरेको चमत्कारलाई लिएर ८ वर्षका लक्ष्मीप्रसादको त्यो अनुभव महाकवि भएपछि लेखेको ‘हाइ हाइ अङ्ग्रेजी’ निबन्धमा समेटेका छन् । उनी आफ्नो पालाको कुरा यसरी लेख्छन् - ‘म अङ्ग्रेजीमा विचार गर्दथे र म अङ्ग्रेजीमै बोल्दथे । नेपाली बोल्दा लाटो-लाटो हुन्थे, अङ्ग्रेजी बोल्दा मलाई प्रशंसाको नजरले मुख ताक्थे ।’ वास्तवमा यो सामाजिक मानसिकता अझै विद्यमान छ ।

सन् १९७० को दशकसम्म त अमेरिकाबाट पढेर आएको भनेपछि वैकुण्ठबाट ज्ञानको मुहान लिएर आएको सरह ठानिन्थे । शासकले यो मिथकमय भुलभुलैयामा डुल्दा अमेरिकाबाट फर्केकाले मुलुकमा पदीय शिखरत्व पनि पाए । जड्गवहादुरको पालादेखि अङ्ग्रेजीको महिमा अपार भए पनि वेदप्रसादको समयको समाजमा त्यसको प्रभाव अहिलेको भन्दा कम भएको अनुमान गर्न सकिन्छ । कारण संस्कृत वाङ्मयको प्रभाव समाजमा बलियो थियो । यो संस्कारगत रूपबाट नै जीवनमा सञ्चारित थियो । राज्यले पनि प्रोत्साहन गरको शासकहरूको लामो शासकीय निरन्तरताको लागि । र, धर्म, संस्कृति र साहित्यसँग पनि आबद्ध भएको कारणले गर्दा पनि ।

जब मोहन शमशेरले सत्ता लिए ‘रुन्चे महाराजा’ पद्म शमशेरले भारतको राँचीबाट पठाएको राजीनामाबाट, जुद्ध शमशेर सुइँको नदिएर देहरादून हिँडे । उनले असुरक्षित अवस्था महसुस गरे । आफूपछि श्री ३ बन्‍ने रुद्र शमशेरलाई चन्द्र शमशेरको सन्तानको दबाबको कारण निष्कासन गरेका थिए ।

मूलत: नेपाली साहित्य निसृत भएकै संस्कृत वाङ्मयबाट हो । रामायण नै त्यही हो, भक्ति साहित्यबाट सुरु भएको । तर वेदप्रसाद जन्मिनु भन्दा १०१ वर्ष अगाडि जन्मिएका भानुभक्तको देन असीमित ठान्छु म । यस अर्थमा कि उनले नेपालीहरूलाई भावनात्मक सम्मिलनको थलो दिए । मैले पहिले पनि लेखिसकेको हु - ‘छरिएका नेपालीहरूबीच भावनात्मक सम्बन्ध गाँस्ने या सम्मिलन गराउने काम रामायणबाट जुन भानुभक्तले गरे त्यसबाट ठूलो गुन लगाएका छन् हामी नेपालीहरूलाई उनले ।’ र, देवकोटाले भनेजस्तै, ‘यत्तिको प्रभावकारी र सर्वप्रिय रचनाहरू अरू जँच्दैन । …साहित्यमा सर्वश्रेष्ठ पुरुष त्यही हो, जो राष्ट्रको हृदयमा सबभन्दा तीव्र भएर बस्छ । भानुभक्त सदाचारी मात्र होइनन् नेपाली हृदयको श्रद्धालु थिए ।’

संस्कृत जन मानसले कति बुझ्ने भन्दा त्यसबाट उद्गम भएका असल भावहरू, जुन विभिन्‍न कथाहरूमा मुखरित भएका छन्, ती भावहरूले जनजीवनलाई कतै न कतैबाट राम्ररी स्पर्श गरेको थियो । त्यसैले आम मान्छेहरू पठित र विद्वान नभए पनि विवेकी थिए । यासद यसले पनि वर्णन गर्दछ होला वेदप्रसादको पिताले उनलाई संस्कृत किन पठाउन चाहेको थिए भन्‍ने कुरा । आम मान्छेको लागि, फेरि अर्को कुरा, त्यति वेलाको नेपालमा दरबार स्कूलमा अङ्ग्रेजी पढ्न जान भर्ना पाउन कठिन थियो ।

त्यत्तिकै कठिन आर्थिक अवस्था पनि हुन्थ्यो धेरै काठमाडौँवासीको । पारिवारिक श्रमबाट जीविकोपार्जन हुन्थ्यो । अनि लामो पठन पाठनको समय सबैलाई प्राप्त थिएन । त्यसैले कति स्रेस्ता पाठशाला जान्थे चारपासे हुन - लेख, स्रेस्ता, हिसाब र औँठा छाप पढेर । लेखनदास, बैदारको निजामती जागीर पाइन्थ्यो । आम जनता खेती किसानीमा थिए । शासकहरूको सुख सयलको लागि आम्दानी जमीन र जङ्गलबाट प्राप्त हुन्थ्यो  । मूलतः परिवेश यही नै थियो । शिक्षा यसैको सेरोफेरोमा । 

आम जनतामा पाप धर्मको डर थियो । अहिलेको जस्तो कानुन भनेको पुतलीको खेल जस्तो र पापको डर नै नभएको अवस्था थिएन । पाप गर्दथे शासकहरू तर पापको डर पनि त्यत्तिकै थियो । जुद्ध शमशेरले सन् १९४१ मा प्रजातन्त्र दबाउन जुन हत्या गराएका थिए र चार शहीद बने त्यो पापमोचन गर्न राजपाट नै त्यागेर स्वामी महाराज भएर पाल्पाको अर्गेलीमा दरबार बनाएर बसे । तर उनको कन्या मोह भने स्वामी भएर सबै त्याग गर्दा पनि गएन । काठमाडौँबाट नै लगेका थिए एउटा आफ्नै नेवार कोतेको छोरी । उसैबाट बच्चा जन्माए उनले अर्गेलीमा । सायद आफूले आफूलाई महर्षि घोषणा गरिसकेको कारणले होला त्यो बच्चालाई उनले छोराको दर्जा दिएनन् ।

जब मोहन शमशेरले सत्ता लिए ‘रुन्चे महाराजा’ पद्म शमशेरले भारतको राँचीबाट पठाएको राजीनामाबाट, जुद्ध शमशेर सुइँको नदिएर देहरादून हिँडे । उनले असुरक्षित अवस्था महसुस गरे । आफूपछि श्री ३ बन्‍ने रुद्र शमशेरलाई चन्द्र शमशेरको सन्तानको दबाबको कारण निष्कासन गरेका थिए उनले । ती रुद्र शमशेर नै वडा हाकिम थिए पाल्पाको । आफैले श्रीपेच लगाइ दिँदा ‘म त जनताको मान्छे’ भन्दै क्वाँक्व रोएका पद्म शमशेर उनको मान्छे थिए । मोहन शमशेर थिएनन् । रुद्र शमशेर भने कसरी बदला लिउ भन्‍नेमा थिए ।

नेपालमा टङ्क प्रसाद आचार्यले प्रजापरिषद मार्फत संगठित रुपमा सुरु गरेको प्रजातान्त्रिक आन्दोलनबाटअलि सुरक्षित हुन सन् १९५० को सन्धि गर्न दिल्ली पुगेका मोहन शमशेर देहरादुन पनि पुगे जुद्ध शमशेरलाई सोध्न - अब के गर्ने? उनले भने - तिमीहरूले केही लछारपटार लगाउन सक्तैनौ अब । मलाई देउ, म ठीक पारिदिन्छु र तिमीहरूलाई फिर्ता बुझाइदिन्छु । त्यसपछि नाजवाफ भएर फर्के मोहन शमशेर  । प्रजातन्त्र नेपालमा आयो । करिब दुई वर्ष पछि उनी देहरादूनमा बिते । उनी बितेको निकै पछि कुस्ले कन्याबाट जन्मिएकोले लामो कानुनी लडाइ लड्नु पर्‍यो जुद्ध शमशेरको छोरा बन्‍न । बल्ल अदालतले बोलिदियो छोरा नै हो भनेर । जुद्ध शमशेरको त्यो कन्या मोहको प्रतिफल नै आबद्ध छ गणतान्त्रिक नेपालको अहिलेको राजकाज पनि । निर्णायक रूपमा नै प्रभावित छ । 

जुद्ध शमशेर जस्तो खुँखार मान्छे जसले श्री ५ त्रिभुवनलाई करिब त्यसै गरी ‘त्यो पर्दैन’ भन्‍न सक्थे जसरी आफूलाई प्रधानमन्त्री बनाउन शपथ ख्याउने गणतान्त्रिक नेपालको राष्ट्रपतिलाई केपी ओलीले भन्‍न सकेका थिए । त्यो हुकुम र सुख सयल चटक्क कसरी त्याग्न सके उनले ? मूलतः कारण पापमोचन नै हो । तर यसलाई निर्णायक रूपमा उजागर गरिदिने काम रेसुङ्गा महाप्रभुले गरे । रेसुङ्गा गुल्मी जिल्लाको एउटा ठाउँ जुन देवभूमि हो, ऋृष्यशृङ्ग ऋृषिले तपस्या गरेको ।

यी रेसुङ्गामा बस्ने साधु जोसमनी सम्प्रदायका थिए र रेसुङ्गा महाप्रभु भनिन्थे । यसबारे भएको मेरो कुराकानीमा संस्कृतिवीद् शताब्दी पुरुष सत्य मोहन जोशीले भने - जोसमनी सम्प्रदायको प्रभाव नेपालमा पृथ्वी नारायण शाह भन्दा अगाडिदेखि हो । रण बहादुरलाई कट्टु मात्र लगाएर बस्ने पारेको पनि यो सम्प्रदायको प्रभावले हो । त्यसैका हुन रेसुङ्गा महाप्रभु । उनी काठमाडौँ आएपछि हलचल मच्चियो, केशर शमशेर बाहेक सबै उनको प्रभावमा परे । जुद्ध शमशेरलाई तिमी खत्तम हुन्छौ बरु महर्षि भएर पापमोचन गर भनेपछि पाप धर्मको डर मान्‍ने जुद्ध शमशेरले त्यसै गरे ।’ 

जोशीले प्रतिप्रश्न गरे - त्यतिका स्वास्नी राखेर मोज गरेर सिंहदरबार मा बसेको मान्छेले नत्र यसै छोडेर जान्छ?’ । त्यो देख्दा लाग्छ ज्योतिष र जोगीहरू कति प्रभावशाली छन् राजनीतिमा । आजको दिनमा हेर्दा पनि गत आम चुनावमा सर्मनाक हार खाएको नेपाली काङ्ग्रेसका सभापति शेर बहादुरले त्यसमा कुनै चिन्ता लिएनन् विगत चार वर्षको अवधिमा ।

उनको चिन्ता भनेको ज्योतिषले सात पटक प्रधानमन्त्री हुन्छस् भने अनुसार किन ढिलो भएको भन्‍नेमा मात्र रह्यो । र, प्रधानमन्त्री पनि भएरै छाडे चाहे झन्डै दुई तिहाइको सरकार बनेको किन नहोस् र आफूले हातभरि औँठी लगाउन परेको किन नहोस् । क्रूरताभित्र पनि जुन डर थियो पापको त्यो आज जनताको लागि विकास र समृद्धिको लचकदार गफ छाँट्नेहरूमा छैन । जुद्ध शमशेरले जस्तो कसले सक्छ त्याग्ने अहिले ? 

नेपालमा र अझ नेपालको राजनीतिमा त्यस्तो प्रभावकारी पकड राख्न सक्ने जोसमनी सम्प्रदायमा अलिकति सरसर्ती हेरौँ । यसबारे जनक लाल शर्माले किताब नै लेखेका छन् । उनी भन्छन् - नेपालको आफ्नो कुरा जोसमनी सन्त परम्परा हो ।’ मूल कुरो चाहिँ यो नेपालभित्रबाट नै उत्पन्‍न भएको सम्प्रदाय हो र यसको प्रभाव भारतको विभिन्‍न ठाउँमा समेत पुगेको छ । जोसमनी नाउको सन्तले सुर गरेको हुनाले उनको नाममा रहेको छ । वैदिक युगमा मानिसहरू सब बराबर थिए । यो सम्प्रदायको दर्शन पनि वेदबाटै प्रवाहित भएर आएको छ । जन जीवन र जन जीविकासँग घुलमिल भएर आनन्दसँग जीवन बिताउने यसको लक्ष हो ।

त्यसैले यसको आदर्श ‘परलोक सुधार्ने मात्र होइन इहलोक सुधार्ने’ हो । मूर्ति पूजा, छुवाछुत र भेदभाव मान्दैन त्यसैले । भनिन्छ, पृथ्बीनारायणको समकालीन थिए हरिभक्त जो पन्ध्रौँ सन्त थिए यस सम्प्रदायका । यसका साहित्य रचना पनि आफ्नै समाजबाट निसृत भएको देखिन्छ  । एक उदाहरण -
“काम र किसान धन्दा धेरै गर्छ
लाउन खान नपाई अकालैमा मर्छ  ।” 

भनिन्छ, रण बहादुर शाह यसबाट दीक्षित थिए । हाम्रो पालामा केही वर्ष अगाडि नाम चलेका सन्त थिए- थानेश्वर महाप्रभु । उनी यसै सम्प्रदायका थिए । यो सम्प्रदायले पनि पाप धर्मको डरको तराजुमा सामाजिक सन्तुलनलाई हेरेको देखिन्छ, एउटा फराकिलो परिभाषाभित्र । 

जोसमनी सम्प्रदायको रेसुङ्गा महाप्रभुको कुरामा विश्वास गरेर हत्याको पापबाट मुक्त हुन राजपाट त्यागे जुद्ध शमशेरले । डराएका त अगाडिका वीर शमशेर पनि थिए आफूले गरेको पापसँग । जङ्गबहादुरले नरसंहार गरेर हत्याएको सत्ताबाट गोत्र हत्ता गरेर सत्तालाई १७ भाइको मात्र पारिवारिक एकाधिकार बनाएका वीर शमशेरले त्यो गोत्र हत्याको पापमोचन कसरी गर्ने भनेर सोच्न थाले । राजपाट त्याग्ने होइन गुठी राख्ने कुरा फुर्‍यो उनीलाई । त्यसैले गुठी राखेका थिए । त्यो गुठीले दरबार स्कूलमा विद्यार्थीहरूलाई खाजा ख्वाउँथ्यो । जब वेदप्रसाद दरबार स्कूल पुगे उनले पनि अरू सरह यो गुठीले ख्वाएको खाजा खाएका थिए । खाजा मात्र होइन लट्ठी पनि खाएका थिए ।

दरबार स्कूलमा सुरुमा ब्रिटिस शिक्षक रहेको भए पनि सर्वसाधारणको वेलामा बङ्गाली शिक्षकको बाहुल्यता थियो । सन् १८७७ मा पहिलो बङ्गाली हेडमास्टर केदार नाथ चट्टोपाध्याय नियुक्त भएका थिए । वेदप्रसादको आठ ९ क्लासमा पुग्दा बङ्गालीहरू शारदाप्रसाद मुखर्जी र ईश्वरी दत्त रदटौरीहरूले पढाएका रुद्रराज पाण्डे सन् १९२५ मा पहिलो नेपाली हेडमास्टर नियुक्त भएका थिए ।

स्कूलको अनुशासन कडा थियो । असाध्यै तेज तर किताबमा घोटिएर नबस्ने स्वभावका वेदप्रसादले आफूले लट्ठी खाइको घटना यसरी सुनाएका थिए - एक जना बङ्गाली टिचर थिए रतुरी नाम गरेका । डवल पावरको चस्मा लगाउँदा पनि आँखा राम्ररी नदेख्ने । क्लासमा सोध्दा भन्‍न नसक्नेलाई वेतको लट्ठीले पिट्थे, हिर्काएको हिर्काइ गरेर ।

मैले उनको लट्ठी खाए एक पटक । पछि अरूले गरे जस्तै गरै मैले पनि । कस्मिराको बाक्लो कोट थियो । त्यही लगेर राखिदियो । खुब वेतको लट्ठी हिर्काउँथे त्यसैलाई । संस्कृत अनिवार्य थियो र सानो क्लासमा तीर्थ प्रसाद ढुङ्गानाले पढाउने । पछि भाटभटेनीको पार्थमणिले संस्कृत पढाउँथे । छ क्लासमा पुगे पछि संस्कृत पनि अङ्ग्रेजीमा लेख्नु पर्दथ्यो । इतिहास मेरै उमेरका केशव भट्टराईका पिता वासुदेव भट्टराईले । अमर बाबुले भूगोल । सबै विषयको पढाइ हुन्थ्यो र अङ्ग्रेजीमा नै लेख्नु पर्थ्यो । अनुशासन जति कडा थियो पढाइ पनि त्यस्तै कडा । विद्यार्थीलाई लोड बढी हुन्थ्यो । पढाइमा राम्रो गरेर पुरस्कार जित्ने प्रतिस्पर्धाले गर्दा पढाइ राम्रो हुन्थ्यो ।

पढ्ने भनेको असल मान्छे हुने भन्‍ने भावना हामी भित्र सबैले हालिदिएका थिए - घरमा, स्कूलमा र समाजमा । साथीहरू असल थिए भन्दै उनले तिनको नाम लिए - गङ्गा लाल, गणेश मान, टङ्क प्रसाद, अमृत प्रसाद र कुलनाथ । उनको भाइ जीवनाथ पनि साथी बने जब बिफर आएर एक वर्ष पढाइ बिग्रियो । डिल्ली रमण एक क्लास माथि थिए तर राम्रो दोस्ती थियो । वेदप्रसादले देखेको र अनुभव गरेको त्यति वेलाको उनी विद्यार्थी हुँदाको परिवेशमा पढेर असल हुनु पर्दछ र राम्रो काम गरेर पैसा कमाउनु पर्दछ भन्‍ने देखिन्छ । समग्रमा, सोच विद्यावान् हुने तर्फको, अर्थात् विवेकी हुने पट्टी । त्यत्तिकै शिक्षामा तागत पनि थियो निर्दिष्ट सीप आर्जनगर्ने तर्फ ।

हिजो यी दुवै कसरी सम्भव भए - पढाइको गुणस्तर राम्रो अनि शिक्षित पनि । विद्यावान् र शिक्षित दुवै । आज झन् यत्रो प्रविधिमा विकास भएर दुवैमा किन तुलनात्मक रूपमा ह्रास आएको? यो प्रश्न अत्यन्त सन्दर्भिक छ । वेदप्रसादको समयमा स्कूलको पढाइ सकेकाले पछि एमए पढ्नेलाई ट्युसन पढाइरहेका देखिन्थे । जस्तो बिन्दुनाथ प्याकुरेल थिए अङ्ग्रेजी पढाउने । विए पास गरेकाले पछि विए कै उत्तर पुस्तिका जाँचिरहेका पनि थिए । त्यति वेला विए पास गरेकाले त आफ्नो नाम पछाडि अहिलेकाले पिएचडी लेखे जस्तो गरी लेख्थे । सन् १९६० अगाडिसम्म मैले आफैले देखेको थिए यसरी लेखेको । एक जना थिए मुकुन्द पाणि गौतम जो नामपछि विए भनेर लेख्थे ।

आज भने विदेशको राम्रो विश्वविद्यालयबाट विद्यावारिधि गरेका र लामो समय प्राध्यापक भएकाहरू नै भन्छन् - शिक्षाको कुनै स्तर नै छैन । केही राम्रा पनि छन् तर घाँस पराल पिएचडी निस्किरहेका छन् । आफ्नै बलबुताबाट केही राम्रा पनि निस्किन सकेका छन् तर विश्वविद्यालय सिस्टम, अझ मूलतः त्रिभुवन विश्वविद्यालय सिस्टम, चाहिँ खत्तम नै भयो । नक्कल गरेको थिसिस, शब्द शब्द हुबहु सारेको र त्यो बुझाएर शिक्षित भएका मान्छेबारेको प्रकाशित विवरण नै हामी सबैले देख्यौ । तर उनी नै उपकुलपति भए ।

जोसमनी सम्प्रदायको रेसुङ्गा महाप्रभुको कुरामा विश्वास गरेर हत्याको पापबाट मुक्त हुन राजपाट त्यागे जुद्ध शमशेरले । डराएका त अगाडिका वीर शमशेर पनि थिए आफूले गरेको पापसँग । जङ्गबहादुरले नरसंहार गरेर हत्याएको सत्ताबाट गोत्र हत्ता गरेर सत्तालाई १७ भाइको मात्र पारिवारिक एकाधिकार बनाएका वीर शमशेरले त्यो गोत्र हत्याको पापमोचन कसरी गर्ने भनेर सोच्न थाले ।

एमए को अनुसन्धानात्मक लेखमा विद्यार्थीले भनेको विशिष्ट नम्बर दिनु पर्ने नत्र भौतिक कारबाहीको चेतावनी विद्यार्थीले शिक्षकलाई दिइरहेको अवस्थाको पठन पाठन छ । अनि क्याम्पसमा राजनीतिक दलका विद्यार्थीहरू एक आपसमा खुकुरी हानाहान गर्दछन् क्याम्पसको ठेक्कापट्टा आदि रकम बढी आफूले खान पाउनु पर्दछ भनेर । २०५९ साल फागुनमा आफै पढ्ने ठाउँमा आफैले आगो लगाए, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अङ्ग्रेजी विभाग ।

विश्वविद्यालयको ढोकामा होस् या विभागमा, ताल्चा मार्ने त मामुली कुरा भएको छ राजनीतिक हाकिमको निर्देशनमा । र, ती विद्यार्थी नेताहरू मन्त्रीको स्वरूपमा नैतिकताको, विकासको र समृद्धिको भाषण दिनहुँ ठटाइरहेका छन् । कहिले ‘यति’, कहिले ‘ओम्नी’ त कहिले नारायणहिटी भित्र कफी सप बनाउन ‘बतास’ बनेर । 

त्यो वेला थियो जब सिमेन्ट कुन अनुपातमा र कसरी मिसाएर सिमेन्ट मिक्स्चर बनाउने ज्ञान थिएन, डन्डी कहाँनिर कसरी बङ्ग्याउने कसैलाई थाहा थिएन, फर्मा हाल्ने त के कुरा कसैले देखेकै थिएन । प्रश्न डिजाइनको मात्र पनि थिएन । सबै आफैले गरेका थिए वेदप्रसादले । कामदारहरू जम्मा गरी तिनीहरूलाई सिमेन्ट भवन निर्माणका विभिन्‍न विषयमा सिकाए उनले । तिनीहरूसँगै काम गरे अहोरात्र खटिएर ।

डिजाइन र सुपरिवेक्षण त उनकै काम नै भयो । यसरी निर्माण गरेका थिए उनले ‘सरस्वती सदन’, जुद्ध शमशेर श्री ३ भएको वेला । सानो कमी कमजोरी भयो भने मुखले बोल्दिने बित्तिकै सर्वस्व हरण र डाँडो कटाइदिन सक्थे । भर्खर पढेर आएको वेदप्रसादले ठूलो आँट गरेर एउटा नेपालीले सिमेन्ट ढलान युगमा नेपाललाई पुर्‍याए । 

यो यथार्थताको मनन गरेर त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङले एम.एस्सी. स्ट्रक्चरल इन्जिनियरिङमा सर्वोच्च अङ्क प्राप्तगर्ने विद्यार्थीलाई प्रदानगर्ने गरी वेदप्रसादको नाममा एउटा स्वर्ण पदक राख्यो । र, पदक पनि वितरण भयो । अहिले त्यो रोकिएको छ । किन भन्दा पिएचडी निकाल्ने संस्थाले कहाँ डिप्लोमा होल्डरको नाममा पदक वितरणगर्ने भन्‍ने कुनै बुज्रुकले गर्दा । 

मानसिकता यस्तो छ सङ्कीर्णताको । यो झन् वर्णन गर्न नसकिने छ । ४ हजार ५०० वर्ष अगाडि इजिप्टको पिरामिड बनाउने मान्छे केही पनि थिएन । एउटा गुमनाम व्यक्ति । तर त्यो पिरामिडको इन्जिनियरिङ बुझ्न सक्ने क्षमता भएको इन्जिनियर आजको २१ औ शताब्दीमा पनि अझै जन्मिन सकेको छैन । करिब ४०० वर्ष अगाडिको ताज महलको नै कुरा पनि सातौँ अचम्मको छ ।

आखिर के हो शिक्षा । गुरुकुलमा जुन शिक्षा दिइन्थ्यो त्यसमा तागत थियो । त्यो तागत भनेको असल मान्छे बन्‍नु पर्दछ भन्‍ने हो । यसैबाट निस्केको थियो फराकिलो सोच्ने सक्ने क्षमता । विद्यावान् थिए अर्थात् विवेकी थिए । अहिले पनि कुराकानी गर्दा भन्छन् - शिक्षा भनेको डिग्रीहरूको चाङ होइन, फराकिलो रूपमा सोच्न सक्ने क्षमता हो । अझ थप्छन् - शिक्षामा आमूल परिवर्तन हुनु पर्‍यो भनेर । 

वेदप्रसादको समय प्रवाहले असल मान्छे बनेर सोच्न सक्ने निरन्तरता घटेर गएकै अवस्थामा भए पनि बोकेको थियो । अहिले त्यो पुरै साँघुरियो । अर्थात् विद्यावान् र शिक्षितबीचको फासला बेपत्तासँग बढेर गयो । समग्रमा, त्यसैले काँचो रोटी जस्तो भयो । बाँदर को पुच्छर लौरो न हतियार जस्तो भयो ।
 

वेदप्रसादबारे वसन्तका लेख


Author

थप समाचार
ad
x