विचार

भोट कसलाई  : ‘ठगेन्द्र सर’, ‘ठगेश्वर’ वा हिंसेस्वरलाई

जगदीशराज बराल |
बैशाख ४, २०७९ आइतबार १३:१ बजे

जब चुनावी सत्ताले राजनीतिमा लोकतन्त्रको परिभाषा गर्छ । आफ्नो प्रभाव जमाएर चुनावमा विजयी हुन हिंसा वा सामाजिक फासिज्मको सहारा लिन्छ, तब लोकतन्त्र ‘निर्वाचित तानाशाही’मा बदलिन्छ । त्यसका लागि अमेरिकाको ‘फ्रिडम हाउस’ वा स्वीडेनको ‘भी-डेम’ अर्थात् ‘भेराइटिज अफ डेमोक्रेसी’को प्रतिवेदन पर्खिरहनु पर्दैन । तानाशाहीले हिंसा आफैं निम्त्याउँछ । जेहोस्, नेपाल यस मामिलामा भारतभन्दा पछि नै रहेछ ।  

चक्रे, घैँटे, चरीलगायत धेरैको नाम नाम नेपालका राजनीतिक दलसँग जोडिन्छ । यसपालि उत्तर-प्रदेशको चुनावमा अनेकन् आपराधिक कान्डमा जोडिएका धेरै उम्मेदवार विजयी भए । भाजपाका सबभन्दा बढी अनि त्यसपछि अरु समाजवादी दलहरूका परेछन् । 


डा. बाबुराम भट्टराईको तस्बिरसहितको २०५५ फागुन २७ मा रोल्पाको हारजङ-३ कभरा रोकायाको घरमा माओवादी छापामारले आगो लगाउँदा एउटै घरमा एमाले समर्थक ८ जना मारिएको र एमाले सांसद उम्मेदवार यदु गौतमको हत्यारालाई पनि प्रहरीले मूठभेडमा मारेको सहित १६ जना त्यही दिन रुकुम रोल्पाको हिंसामा मारिएको भन्ने जे. पाण्डेको समाचार प्रतिवेदन भएको फागुन २८ गतेको नाम नखुलेको (सारथी पत्रिका हुन सक्छ) पत्रिकाको सानो कटिङ सामाजिक सञ्जालमा हिजो-आज देखिएको छ । 

गौरको सुनियोजित हत्याकाण्ड एवं अनेकोटमा कलाकारहरूलाई घरमा थुनेर आगो लाएर विगतमा राज्यले हत्या गरेको सर्वविदितै छ । माथिको २४ वर्षअघिको समाचारले भर्खरै बङ्गालको आगोले जलाएर मरेका ८ जनाको सम्झना गराउँछ ।

भारतमा फेरि रामनवमीको निहुँमा भएको हिंसा होस् या नेहरू विश्वविद्यालयको छात्र झडप होस् सबैमा प्रत्यक्षसहित घुमाउरो पारामा समेत राजनीति नै हाबी भएको पाइन्छ । चुनावको मुखमा नेपाल-भारत दुवै देशमा चुनावको मुखमा झडप हुनु स्वाभाविक मानिन्छ  । 

मार्च ७ ई.सं. २०११ मा पश्चिम मेदीनीपुर नेताईमा भएको ९ जनाको हत्यापछि फेरि पश्चिम बङ्गाल र विश्वमै चर्चा बटुलेर हत्यामय भएको छ । त्यहाँको वीरभूमि जिल्लामा पर्ने एकसय घरधुरी भएको बागुटी गाउँमा तृणमूल कांगे्रस सम्बद्ध गाउँ पञ्चायतका उपप्रधान भादु शेखको गत २१ मार्च चैत्र ७ गते साँझमा बम हानेर घाइते भएकालाई रामपुरघाट अस्पतालले मृतक घोषित गरेपछि एक घण्टाभित्रै त्यसको प्रतिशोधी हत्यामा संलग्न भनिएका फतिक शेख र सोना शेखको घरसहित गाँउको आठ दश घरमा गरिएको आगजनीमा परेर २ बच्चा फतिक शेखकी श्रीमती मीना बीबीसहित ३ महिला समेत ८जना जसमा एकै घरबाट ७ जनाको जलेर मृत्यु हुनाको साथै कैयौ घाइते भएका थिए ।  

प्रशासनले पनि भादुको हत्याको छानबिन भइरहेको जनाएपनि भाजपा, वाम दलले घटनाको जिम्मेबार तृणमूल सरकारमाथि लगाउँदै गर्दा तृणमूलले भने आरोपको प्रतिवाद गर्दै गाँऊमा लोकप्रिय भादु शेखको हत्या आपसी व्यक्तिगत रीस इवीको कारण भएको भए पनि उहाँका केही समर्थक उत्तेजनामा आएर आगजन्य घटना घटेको भनेर प्रष्ट पार्न खोजेको थियो । महाभारत टीभी सिरीयलकी द्रौपदी भाजपा राज्यसभा सांसद रुपा गङ्गुलीले रुँदै पश्चिम बङ्गालमा राष्ट्रपति शासन लागू गर्न माग समेत गरेकी थिइन् । 

अरु राज्यभन्दा बङ्गालसँग डराउने अंग्रेजको विरोधमा सुवासचन्द्र बोशले सशस्त्र आन्दोलन गरे र सफल भएमा त्यसले अन्तर्राष्ट्रिय रुपमा प्रभावको एउटा विशेष सन्देश छाडने डरले इष्ट-इण्डिया सरकार सतर्क भएतापनि पश्चिम बङ्गाल र त्यहाँको हिंसाको सम्बन्धको अनौठो इतिहास पाइन्छ । 

भारतको विभाजन हुँदा बङ्गालमा यति व्यापक हिंसा भयो कि महात्मा गान्धीले भारत स्वतन्त्र भएको बङ्गालमा आयोजित खुशियाली उत्सव छाडेर अर्को स्थान नवाखोली जानुपरेको थियो । इतिहासको हिन्दू मुसलमानको त्यस आपसी घृणाको प्रेतले अहिले पनि बङ्गालबासीलाई दुःखद सम्झना दिलाएर हतास पार्ने गरेको छ । तर यसबारे कुनै उल्लेखनीय कथा, कविता, तथा आलेख वा विस्तृत इतिहास लेखिएको छैन । हुन सक्छ विगतका तीता कुराहरूलाई बिर्सनै ठीक मानेका पनि त हुन सुक्छन् ।  

झापाका गाँऊका भित्तामा लेखिने कमरेड चारु मजुमदार जिन्दाबाद ! चेयरमैन माओ जिन्दाबाद ! जस्ता नाराहरू पश्चिम बङ्गालको नक्सलबारीका गाँऊका भित्ताबाट सापटी लिइन्थ्यो । ७० को दशकमा चारु मजुमदारको नेतृत्वमा बङ्गालमा भएको किसान आन्दोलनको प्रभाव झापाका किसान धर्मनाथ ढकालमाथि ज्यान लिने गरी भएको आन्दोलनमा देखिएको थियो । 

नेपालमा मूलधारका वाम दलहरूबाट नेकपा चौम, माले, माओवादी लगायत अरु हाङ्गाबिङ्गा निस्कनुको पछाडि सिद्धान्त तथा मूल्य मान्यताको रक्षा गर्ने जस्ता विषयहरूमा बहश हुने गरेको छ । नेपाली कांग्रेसले संसदीय व्यवस्थाको सदुपयोग गरेको भए न त ३६ से न त प्रजातान्त्रिक न त सुरासुन्दरी न त माओवादी न त वीरगञ्जको दूतावास, न त महाकाली सन्धि नै अस्तित्वमा आउने थियो ।

एमालेले ‘कामरेड हुतराज’ (डा. ऋषिराज बरालको चर्चित उपन्यास ‘कामरेड हुतराज राजधानी प्रस्थान’को प्रमुख पात्र)हरूलाई राजधानी प्रस्थान नगराएको भए दलभित्रका ‘आर्जन समूह’हरूको देखिने गरी तामझाम मात्रै हैन सिद्धान्तवादी अरु बामको सुराकी पनि गर्नुपर्ने थिएन । 

सिद्धान्त र विचारको मूल्य मान्यताबाट विचलन भएपछि त्यसको प्रष्ट प्रतिविम्ब व्यवहारमा देखिन्छ नै । तर समयअनुसार सुधार र सही तरिका अवलम्बन गरेर पनि विचलनलाई ‘सही र जनपक्षीय विचलन’मा रूपान्तरण गरेर जनपक्ष धर बनाउन सकिन्छ । भारतमा ज्योति बशुको दल नम्बर एक वामदल थियो । माओ विचारधाराको चारु मजुमदारको अर्को नक्सलवादी दल किन देखिनुपर्थ्यो र ? 

बङ्गालमा कांग्रेसका मुख्यमन्त्रीले ७० को दशकमा चलाएका नक्शलवादीविरुद्धको दमनमा कति युवाहरूको कत्लेआम गरे, कतिलाई जागिर दिन्छु भनेर बोलाएर गायब गर्दै गरेको बर्बर प्रहरी राज्यलाई विचलित भएको ज्योति बशुले सहयोग पुर्‍याएकै हुन । बशुका पूर्णकालीन कार्यकर्ताले राज्य सरकारसँग मिलेर दमनमा सहभागी भएकै हुन् । 

बशुको राज्यशासन बङ्गालमा स्थापित भएपछि पनि हिंसामा कमी आएन । नेताको स्तुति गर्दै स्वार्थ पूरा गर्ने समूहले सीपीएममा कब्जा जमायो । बुथ कब्जा, चुनावमा मारपिट, घर जलाउने लगायत सबै हत्कण्डा अपनायो । पोखरीमा बस्नेले गोहीलाई शत्रु बनाउन हुन्न भनेर सीपीएमको अराजकताको सही कुरा गर्न समेत विपक्षीहरू डराउँथे । त्यसको प्रतिरोध बिस्तारै हुँदै हिंसा प्रति हिंसाको शृंखला झन्झन् जोडिँदै गयो । 

प्रधानमन्त्री दिँदा पनि खाएनन् बशुले । वामले व्यवस्था बदल्न तत्काल नसके पनि प्रचलित प्रविधिलाई जनताको हितमा प्रयोग गर्दै शासन चलाउनु पथ्र्यो । प्रम भएपछि नैतिक बन्धनले बाँधिएर सिर्जना हुने व्यवहारले पार्टीको धमिलिएको छवि सुधार्ने सकिने मिलेको त्यो अवसर पनि बशुले गुमाए । यसको कारण पनि दलभित्र कब्जा जमाएर नेताहरूलाई आफ्नो अनुकूल उपयोग गर्दै बसेका स्तुतिबाज भिजिलान्ते अराजक र आर्जनमुखी हुक्के बैठकेको समूह नै थियो ।

अरुको घरमा आगो लगाउँदा त्यो आगोको लप्का आफ्नो घरसम्म पनि आउँछ भन्ने हेक्का राख्नुपर्छ र भयो त्यही नै । ममताले पनि कांग्रेस आई छाडेर तृणमूल कांग्रेस दल खोलिन् । के-के न हुन्छ भनेर नयाँ दलप्रति जनसाधारणको चासो बढ्यो । बशूका अराजक नेतासहित तलबी कार्यकर्ता र अरु दलका पनि ठूला नेताहरू धमाधम ममताका हुन थाले । बशुको दलको अहिले प्राणहीन अस्तित्व मात्र छ । 

तृणमूलका स्वार्थी नेता तथा अराजक कार्यकर्ताहरू भित्र्याएर खेल त अमितशाहले पनि अघिल्लो विधानसभाको चुनावमा खेलेका थिए । तर ममताको अघिल्तिर उनको कार्यनीति प्रभावकारी नदेखिएपछि दलबदलु नेता कार्यकर्ता फेरि ममताकै तृणमूलमा फर्किए । र, पनि भाजपाले हार मानेको छैन । फेरि पनि नेता कार्यकर्ता खरिद-बिक्री आवत-जावत हुन्छ । 

समाज, संस्कार, कला साहित्य सर्वत्र देखिएको यही विचार र सिद्धान्तहीनताको चलखेलले जसरी पनि चुनाव जित्ने, पैसा कमाउने, स्तुति अर्पण गर्दै नेताको चाकरी गर्ने कार्यनीति अनुरुप हिंसा हुन्छ । हरेक कुरामा सिर्जना देखाउने उदाहरणीय कलकत्ता राजधानी भएको पश्चिम बङ्गालमा देखिएको हिंसाका अझै अन्त्य हुने छाँटकाँट देखिँदैन किनकि कुनै दलहरू सबै मिलेर समाधान खोज्नतर्फ लागौं भन्नेतिर भन्दा ‘खेला होवे’को छोटो र चुस्त तरिका अवलम्बन मै व्यस्त छन् । 

रुकुम र रोल्पामा तत्कालीन प्रहरी राज्यको हैकमी शासनलाई समयमै निगरानी गरिएको भए र संसद्वादीहरूले आफ्नो आचरण र बङ्गाल प्रवृत्ति नदेखाएको भए राजनीतिक कोर्स अलि बेग्लै हुनेथियो । राजा वीरेन्द्रले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पत्र लेखिरहनु पर्दैनथ्यो । 

माओवादी आन्दोलनको मध्यमा र उत्तराद्र्धमा एमालेहरूको भूमिका सीपीएमको भन्दा कम थिएन भन्ने माओवादीहरूको तत्कालीन प्रतिक्रिया आएको चर्चा पनि चलेको थियो । सुराकी र जनकारबाहीको नाममा माओवादीले पनि हिंसाका चरम दुरुपयोग गरेकै हुन् ।

नेपालमा स्थानीय चुनावको सरगर्मीसँगै हिंसा सुरु भइसकेको छ । प्रचण्डले कार्यकर्तालाई मुठभेडमा उत्रिन पनि तयार हुने आशयका निर्देशन दिएको खबरहरूको चर्चा चलेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका-६ बयलबास बजारमा बाटो ओगटेको फुलजोर युवा क्लब अन्यत्र सार्न युवाहरूले नमानेपछि भएको विवादमा झडप भएर लठैत लिएर हिँडेका जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य, दलका प्रमुख सचेतक एवं संघीय सांसद प्रमोद साह गम्भीर चोट लागेर घाइते हुनुका साथै जसपाका दर्जनौं कार्यकर्ताहरू समेत घाइते भएका थिए । जसपाले यसको लागि एमालेलाई दोष लगाएको थियो । 

सामाजिक युवा क्लबहरू कहिलेकाहीँ राजनीतिज्ञहरूको हाहु कार्यकर्ता दस्ता भएर अराजकता सिर्जना गर्ने र राजनीति गर्न एवं चुनावमा प्रयोग हुने औजार पनि हुने गरेका छन् । हिंसाको सुरुवात यसैगरी हुने त हो । 
स्थानीय तहको निर्वाचनमा गोरखाको पालुङटार नगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाउने विषयमा जनता समाजवादी पार्टी (जसपा)को २०७८ फागुन ११ गते राति बसेको बैठकमा आपसमै ढुंगामुढा र तोडफोड भएको थियो ।

झुठ बोल्नु-ठगी गर्नु पनि एक प्रकारको हिंसा हो । गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक युवराज गौतमले यही चैत्र २८ गते सामाजिक सञ्जालमा गर्नु भएको ‘भोट कसलाई ठगेन्द्र सरलाई...’ भन्ने व्यङ्गात्मक प्रविष्टिले नेपाली जनतालाई राजनीतिको नाममा ठगी गर्ने नेताहरूले प्रजातन्त्रको पुर्नस्थापनापछि बोलेका र लेखेका कुरा भन्दा विपरीत क्रियान्वयन गरेर ठगेको कारणले पनि देशको स्वाधीनता स्वाभिमान र आत्मनिर्भरता खस्किएर लुटपाटको अर्को हिंसा हुन सक्ने सम्भावना भएकाले यीनै नेतालाई भोट दिनुको अर्थ ‘ठगेन्द्र सर’ अर्थात ‘ठगेश्वर’ वा हिंसेस्वरलाई भोट दिनु नै हो ।  

जनमत संग्रहमा पञ्चायतको विजयसँगै पञ्चहरू पनि सिद्धान्त र मूल्य-मान्यताबाट स्खलित हुन थालेपछि भरत गुरुङको कथा र भूमिगत गिरोहका चर्चा-परिचर्चा सुरुमात्र भएनन् । आखिरमा पञ्चायत नै सकियो । इतिहासमा चौतरिया भारदारको काटमार जस्तै वर्तमानको जनमनको मूलभूत समश्या भन्दा गफ, मजाक गर्दै गरिने गरेको विचार, सिद्धान्त र मूल्य-मान्यताहीन राजनीतिले हिंसाको जोखिममात्र निम्त्याउम्दैन एकदिन आफैं नै सकिन्छ  ।


Author

जगदीशराज बराल

(लेखक नेपाल सरकारका पूर्व सहसचिव तथा पूर्वसिडिओ हुन् ।)


थप समाचार
x