विचार

जलसरोकार

पटक–पटक उद्घाटन, तर मेलम्ची अधुरै

विकास थापा |
बैशाख १२, २०७९ सोमबार १८:१५ बजे

नेताहरूलाई उद्घाटन गर्न निकै हतारो हुन्छ । उनीहरूलाई लाग्दो हो– उद्घाटन गरेपछि मैले नै बनाएको, त्यो पनि जनताका लागि । माधवकुमार नेपाल पहिलोपटक प्रधानमन्त्री हुँदा उनलाई चमेलिया जलविद्युत् आयोजना (३० मेगावाट) शिलान्यास गर्न निकै हतार भयो । नेपाललाई चमेलिया निर्माण भइरहेको छ भन्ने पत्तो थिएन, तर आसोपासे र सुसारेहरूले उनलाई खुसी पार्न शिलान्यास गर्ने ठाउँ देखाइदिए । चमेलिया निर्माण सुरु गर्दा औपचारिक रूपमा कुनै ठूलो नेता गएर कुनै तामझामका साथ शिलान्यास गरिएको थिएन । 

माओवादीको चरम द्वन्द्वका बेला सुरु भएकाले यसको शिलान्यास भएन । जब माओवादी शान्ति प्रक्रियामा आयो (संसद् र सरकारमा समेत), तब नेताहरूको ‘साहस’ पलायो । अनि आसेपासेहरूले खुसी पार्ने माध्यमका रूपमा उपयोग गर्ने सोच आयो । तत्कालीन प्रधानमन्त्री नेपाल शिलान्यास गर्न तयार भए । आयोजनास्थल दार्चुलामा खसीसमेत काट्दै धुमधाम तयारी भयो । त्यही बेला ३० प्रतिशत काम सुरु भइसकेको चमेलिया उद्घाटन गर्न खोजेको समाचार सार्वजनिक भएपछि नेपाल पछि हटे । नेपाल पछि हट्नुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले के कति कारणले शिलान्यास गर्न लागेको हो भनी नेपाल विद्युत् प्राधिकरणलाई स्पष्टीकरणसमेत सोधेको थियो ।


कुन आयोजना उद्घाटन गर्ने भनी नेताहरूले कुरेर र पर्खेर बसेका हुँदैनन् । चाटुकारहरूले नै देखाउँछन् । तर अघिल्ला प्रधानमन्त्री केपी ओली चाहिँ अलि फरक थिए । उनी कहाँ–कहाँ कुन–कुन चीज छ उद्घाटन गर्नुपर्ने भनी आफैँ टाठो हुन्थे । ओलीबाट उद्घाटन गराउन पाए त्यो ‘आफ्नो काम बन्ने’ अचूक अस्त्र हुन्छ भन्ने भेउ पाएकाहरूले पनि उद्घाटन सूची ओलीलाई बुझाउँथे । जस्तो कि आधा मात्र तयार भएको म्याग्दीको दानादेखि बुटवलसम्म जोड्ने कालीगण्डकी कोरिडर प्रसारण लाइनको ओलीबाट उद्घाटन गराइयो । पर्वतको कुश्मासम्म मात्र तयार भएको उक्त कोरिडरको आधा काम हुन बाँकी नै थियो, ५० प्रतिशत मात्र पूरा भएको थियो ।

त्यस्तै माथिल्लो तामाकोसी (४५६ मेगावाट) को उद्घाटन गर्ने बेलै भएको थिएन । ओलीलाई उद्घाटन गर्न हतारो भइसकेको थियो । ओलीले प्राधिकरणका कार्यकारी निर्देशकलाई निकै दबाब दिने गर्थे, माथिल्लो तामाकोसी छिटो सक्नुपर्‍यो भन्दै । कार्यकारी निर्देशकले तामाकोसी आयोजनाका कर्मचारीलाई दबाब दिन्थे । ‘टेस्टिङ कमिसनिङ’पछि मात्र उद्घाटन हुने जलविद्युत् आयोजना कमिसनिङकै बेला उद्घाटन भयो । कालीगण्डकी ए कमिसनिङ भएको एक वर्षपछि मात्रै उद्घान गरिएको थियो । अर्थात् सबै युनिटहरूपूर्ण रूपमा परीक्षण गरेर निर्वाध रूपमा बिजुली उत्पादन गर्न सक्ने भएपछि मात्र उद्घाटन भएको थियो । माथिल्लो तामाकोसीको एउटा युनिट बल्ल तयार भयो, त्यो पनि निकै दबाबका बीचमा । गत असार २१ गते ओलीले एउटा युनिटको उद्घाटन गरे । ६ वटा युनिट रहेको माथिल्लो तामाकोसीको बाँकी युनिटहरू १५, १५ दिनको अन्तरालमा सञ्चालनमा आए । 

मेलम्ची आयोजनामा दर्जनभन्दा बढी उद्घाटन, शिलान्यासहरू भइरहे । कहिले सुरुङ शिलान्यास, कहिले प्रवेश मार्ग, कहिले हेडवक्र्स (मुहान संरचना), कहिले खानेपानी प्रशोधन केन्द्र ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि गत चैत २५ गते (मध्यरात) देखि आचार–संहिता लागू गर्‍यो । यो लागू हुनुअघिसम्म ऊर्जा मन्त्री पम्फा भुसाल मन्त्रालय र प्राधिकरणको टोलीसहित विभिन्न टुक्रे प्रसारण लाइन र सवस्टेसन, फिडरहरूको उद्घाटन गर्न देश दौडाहामा हिँडिन् । उनीभन्दा कयौंअघिका ऊर्जा मन्त्रीका कार्यकालमा शिलान्यास भएका तर समयमा पूरा नभएका यस्ता संरचनाको सूची नै मगाएर उद्घाटन गरिरहिन् । सचिव, कार्यकारी निर्देशक, सहसचिव र प्राधिकरणका अरु निर्देशकहरूको टोलीसहित उद्घाटनमा व्यस्त हुँदा यता दैनिक कार्य भने प्रभावित भइरहे । सँगै उद्घाटन खर्च पनि आयोजनाका नाममा जोडिने नै भयो ।

यस्तै सिलसिला रह्यो– राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको पनि । मेलम्ची आयोजनामा दर्जनभन्दा बढी उद्घाटन, शिलान्यासहरू भइरहे । कहिले सुरुङ शिलान्यास, कहिले प्रवेश मार्ग, कहिले हेडवक्र्स (मुहान संरचना), कहिले खानेपानी प्रशोधन केन्द्र । फेरि यी संरचनाहरूको ठेक्का रद्द हुने, नयाँ ठेक्का लाग्ने । नयाँ ठेक्का लाग्यो कि फेरि शिलान्यास हुने । यो क्रम चलिरह्यो । वास्तवमा मेलम्चीको अध्ययन सुरु भएको २०२९ सालमा हो । २०४१ सालमा आएर विकल्पसहित यसको पहिचान भयो । २०४९ मा याङ्ग्री र लार्कैसहित दैनिक ५७ करोड लिटर पानी ल्याउन ठहर भयो ।

त्यसबेला नै अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर सडक धुने कुरा गरेका थिए । त्यतिबेला उनले सही कुरा बोलेका थिए । २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन हुँदा काठमाडौं उपत्यकाको जनसंख्या ११ लाख थियो भने खानेपानीको माग १४ करोड लिटर थियो ।  उपत्यकाभित्र संभाव्य स्रोतको अधिकतम परिचालन गर्दा वर्षायाममा करिब १२ करोड लिटर र हिउँदयाममा ८ करोड लिटर ।

भट्टराईले २०४७ सालमै मेलम्चीको उद्घोष गरेका थिए । त्यो बेलाको आँकडा हेर्दा मेलम्ची आएपछि पानीको छेलोखेलो हुने अनुमान सहज गर्न सकिन्थ्यो । भट्टराईले ५० वर्षपछिको काठमाडौंको आवश्यकता सम्बोधन हुने गरी परिकल्पना गरिएको मेलम्चीको कुरा गरेका थिए । भट्टराईको यो उद्घोषलाई २०४७ सालको संसदीय चुनावमा एमालले मुख्य नारा बनाएको थियो– ‘मुख धुने पानी छैन, सडक धुने फूर्ति, के–को सन्त तन्त्र मन्त्र, जनता ढाँढ्ने जुक्ति ।’

मेलम्ची यिनै शासकहरूको खराब नियतका कारण निकै दुःख पाएको आयोजनामध्ये पहिलो नम्बरमा पर्छ । ४६ करोडको ठेक्का रद्द गरेर ९६ करोडको ठेक्कापट्टा (प्रवेश मार्गको) गरियो । १७ किलोमिटरको प्रवेश मार्ग बन्नै महाभारत भयो । सुरुङमा तीन, तीनपटक ठेक्का गर्नुप¥यो । जापानी सहुलियतपूर्ण ऋण भएकाले यसको पानी प्रशोधन केन्द्रमा त्यस्तै किचलो प¥यो । २२ वर्ष लाग्दा पनि मेलम्ची अझै पूर्ण रूपमा निर्माण भइसकेको छैन । तर यसको उद्घाटन भने पटक–पटक भयो । उद्घाटनका शृंखला हेर्दा हाम्रा नेताहरूले जनतालाई कति मूर्ख बनाइरहेका छन् भन्ने छर्लंग हुन्छ । 

मेलम्ची खानेपानी आयोजना केपी ओली दोस्रोपटक प्रधानमन्त्री भएको पहिलो वर्ष अर्थात् २०७५ को अन्त्यतिर पूरा भइसक्ने थियो । स्वयं त्यतबेलका प्रधानमन्त्री ओलीले नै पटक–पटक मेलम्ची यो महिना आउँछ, त्यो महिना आउँछ, अब आउँछ भनेर दर्जनौं ठाउँमा फलाक्दै हिंडेका थिए । त्यतिबेलाकी खानेपानी मन्त्री अर्थात् पुष्पकमल दाहालकी बुहारी बिना मगरले पनि ओलीकै समानान्तरमा गएर मेलम्ची आउँछ कि आउँछ भनेर भाषण गरेकी थिइन् । 

जब मेलम्चीको ९७ प्रतिशत काम पूरा भयो, खानेपानी मन्त्री मगर र तत्कालीन खानेपानी सचिव गजेन्द्र ठाकुरले मेलम्चीको ठेकेदार सीएमसीको भुक्तानी रोकिदिए । भुक्तानी रोक्नुपर्ने कारण केही थिएन । ठेकेदारले दाबी गरेको भन्दा निकै कम अर्थात् ३६ करोड रुपैयाँ आयोजनाले भुक्तानी दिनुपर्ने निर्णय विवाद समाधान गर्ने संयन्त्र (डीआरबी) ले गरेको थियो । ठेकेदारले त्यही भए पनि लेऊ भनेर माग गरिरह्यो ।

सचिव र मन्त्रीलाई कमिसन दिन ठेकेदार तयार थिएन । उसले भुक्तानी नपाए एकतर्फी रूपमा ठेक्का रद्द गर्छे लिखित चेतावनी नै दिएको थियो । यति गर्दा पनि मन्त्री र सचिवको कमिसनमोह हटेन, अन्ततः ठेक्का रद्द भएरै छाड्यो । मन्त्रीले ठेकेदारका प्रतिनिधिलाई पक्राउ गर्न लगाइन् । थुनामा परे । अन्तर्राष्ट्रिय रूपमै होहल्ला भयो, देशको बेइज्जत भयो । यति गर्दा पनि ओलीले खानेपानी मन्त्रीलाई बर्खास्त गर्न सकेनन्— दाहालसँगको ‘समीकरण’ बिग्रेला भन्ने डरले । काम नगर्ने र अनेकन् लालचमा ५० लाखभन्दा बढी जनताले पिउने पानीमा अत्तो थाप्ने मन्त्रीलाई बर्खास्त गर्नु प्रधानमन्त्रीको धर्म थियो । सुशासन र सेवा प्रवाहको ग्यारेन्टी गर्नु थियो । ओली पनि चुके । 

मेलम्चीको मुख्यदाता एसियाली विकास बैंक (एडीबी) ले यस्तो पाराले उद्घाटन नगर्न सरकारलाई आग्रह गरेको थियो । उसको आग्रह विशुद्ध प्राविधिक जोखिमसँग सम्बन्धित थियो । वैशाखदेखि जतिबेला पनि पानी पर्न सक्छ ।

ठेकेदारलाई भगाएपछि मन्त्रिपरिषद्मा लगेर बिनाप्रतिस्पर्धा ठेकेदार तोकियो । त्यस्तो ठेक्का पनि पूर्व माओवादीले नै पाए । बाँकी रहेको मुख्य संरचना (हेडवक्र्स) का लागि मात्र प्रतिस्पर्धा गरियो, सिनो हाइड्रोले पायो । चिनियाँ ठेकेदार सिनो हाइड्रोले काम पूरा गर्नुअघि नै उसलाई दबाब पर्न थाल्यो— छिटो सक्न र उद्घाटन गर्न । यो कुरा थियो २०७७ सालको । खानेपानी मन्त्री मगरलाई पनि उद्घाटन गर्न निकै रहर थियो । उनको त्यो रहर पूरा गर्दा दुई जनाले आफ्नो ज्यानै दिनुपर्‍यो । अर्थात् २०७७ असार २१ गते मन्त्री मगर र त्यतिबेलाका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले मेलम्चीको पानी सुरुङमा हुल्ने कार्यको शुभारम्भ गरे । सुरुङभित्र हुलिएको पानीको वेग सुरुङको ढोका (अडिट) फुटेर इन्जिनियरसहित दुई जनाको मृत्यु भयो । राम्रोसँग चेक जाँच नगरी, उद्घाटन गर्न हतारिँदा अनाहकमा कर्मचारीले ज्यान गुमाउन पुगे । 

२०७७ असार २१ मा फुटेको सुरुङको ढोका मर्मत गर्न र अस्थायी रूपले पानी पुनः सुरुङमा हुल्न २०७८ फागुन पहिलो साता लाग्यो । ओलीले २०७७ पुस ५ मा पहिलोपटक प्रतिनिधि सभा विघटन गरेपछि माओवादीका तर्फबाट मन्त्री बनेकी मगरसहित केहीले राजीनामा दिएपछि ओलीले माओवादीकै मणिचन्द्र थापालाई खानेपानी मन्त्री बनाए । ओलीमा उद्घाटनको भोक त पहिले नै थियो, थापाले त्यसमा झन् तदारुकता देखाए । थापा र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले दोस्रोपटक पानी सुरुङमा हुल्ने कार्यको उद्घाटन गरे । 

अब उद्घाटनको सिलसिला सुरु भयो । ओलीका मन्त्रीहरूले साइटमै गएर उद्घाटन गरे । सिन्धुपाल्चोकदेखि सुरुङ भरिंदै भरिंदै आउन १५ दिन लाग्यो । ओलीले २०७७ फागुन २२ गते सुरुङदेखि आएको मेलम्चीको पानी प्रशोधन केन्द्रमा हुल्ने कार्यको उद्घाटन गरे । अब भने पानी प्रशोधन केन्द्रमा जम्मा हुने भयो । केन्द्रबाट थोक वितरण केन्द्रमा पुग्न केही दिन लाग्यो । थोक वितरण केन्द्रबाट उपभोक्ताको धारामा पानी जाने पक्का भयो । अब फेरि अर्काे उद्घाटन हुने भयो । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते भृकृटीमण्डपमा बनाइएको सार्वजनिक धाराको टुटी खोलेर उद्घाटन गरिन् । 
 

राष्ट्रपतिबाटै जनताकै घरमा पुग्ने धाराको औपचारिक सुरुवात गरेपछि त यो शृंखला पूरा हुनुपर्ने हो नि । उता मेलम्ची डाइभर्सनको हेडवक्र्स (मुहान) पूर्ण रूपमा बनिसकेको थिएन । त्यो बन्न त्यतिबेला एक वर्ष लाग्ने अनुमान थियो । मेलम्ची आयोजनाले जबर्जस्ती जेठ १५ पछि पनि पानी खुवाएकै थियो । तर वर्षायाम लाग्नुअघि नै मेलम्चीको सुरुङ बन्द गर्नुपर्ने प्राविधिक बाध्यता थियो । किनभने सुरुङमा अनियन्त्रित (अनरेगुलेटेड) पानी तथा बाढी छिरेमा त्यसले विनाश ल्याउँथ्यो । पानीलाई नियन्त्रण गर्न स्थायी बाँध अनिवार्य थियो । उद्घाटन मोहले गर्दा अस्थायी बाँध बनाई सुरुङमा हुलिएको थियो ।

२०७८ को जेठ मसान्तमा आयोजनाले सुरुङको मुख बन्द ग¥यो, जुन बन्द गर्न ढिलो भइसकेको थियो । त्यसको भोलिपल्टै मेलम्चीको उद्गमस्थल भेमाथाङमा परेको पानी र त्यसले ल्याएको बाढीका कारण मेलम्चीको मुहान क्षेत्रका संरचना ध्वस्त तुल्यायो । बाढीले ल्याएका लेदो, गेग्रान, ढुंगा आदि (डेब्रिस) हटाउन तीन महिना लाग्यो । खानेपानी मन्त्रालय पुस महिनासम्म सुतेर बस्यो । माघ लागेपछि उद्घाटन मोहले सतायो वैशाखमा पानी खुवाउने हुटहुटी चल्यो, त्यो पनि आगामी जेठ १५ गतेसम्मका लागि मात्र ।

स्थानीय चुनाव वैशाख ३० मा घोषणा भइसकेको छ । त्योअघि नै मेलम्चीको पानी ल्याउन पाए उपत्यकावासीको भोट आइहाल्छ कि भन्ने सरकारलाई आश पनि रह्यो । यता अस्थायी रूपले (पहिलेको जस्तै) मेलम्चीको पानी सुरुङमा हुल्न तयार भयो । खानेपानी मन्त्री उमाकान्त चौधरीले गत चैत १९ गते मणिचन्द्र थापाले जस्तै मेलम्चीको पानी सुरुङमा हुल्ने कार्यको उद्घाटन गरे ।

सुरुङमा हुलिएको पानी प्रशोधन केन्द्रसम्म आइपुग्न २२ दिन लाग्यो । अब भने मेलम्चीको पानी पुनः जनतालाई खुवाउने स्थिति बन्यो । अब अर्काे उद्घाटनको शृंखला सुरु भयो । उनै खानेपानी मन्त्री चौधरीले वैशाख ११ मा मीनभवनस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को पानी ट्यांकीमा पुगेर भल्भ खोली पुनः उद्घाटन गरे । धन्न यसकाे उद्‍घाटन पुन: राष्ट्रपति वा प्रधानमन्त्रीबाट गराएनन् ।  अब मेलम्चीको पानी आगामी जेठ १५ सम्म उपत्यकावासीले आलोपालो खान पाउनेछन् । त्यसपछि सुरुङको अस्थायी ढोका र अस्थायी बाँध बन्द हुनेछ ।

मेलम्चीको मुख्यदाता एसियाली विकास बैंक (एडीबी) ले यस्तो पाराले उद्घाटन नगर्न सरकारलाई आग्रह गरेको थियो । उसको आग्रह विशुद्ध प्राविधिक जोखिमसँग सम्बन्धित थियो । वैशाखदेखि जतिबेला पनि पानी पर्न सक्छ । गत असार १ गते पनि भीषण पानी परेको थिएन । भेमाथाङ एउटा तुषार क्षेत्र (पर्माफ्रोस्ट) हो । विश्वव्यापाी मौसम परिवर्तनका कारण पृथ्वीको तापक्रम बढेको छ । तुषार क्षेत्रमा जमेर बसेका पहाड तापक्रम बढ्दा खुकुलो हुन पुगेका छन् । अनि हल्का वर्षा हुँदा पनि ती पहाड ढिको भएर लेदोसहित बग्ने गर्छ । वैश्विक मौसम परिवर्तनको यो एउटा डरलाग्दो क्रम हो, जुन नेपाललगायत विश्वमा सुरु भइसकेको छ । यसैलाई मध्यनजर गर्दै यति धेरै जोखिम नलिन एडीबीले आग्रह गरेको हो । 

आगामी जेठ १५ पछि उपत्यकामा खानेपानीको अवस्था त उही हुनेछ । गत असार १ गतेको बाढीले मेलम्चीको हेडवक्र्समा पुनः बनाउन नपर्ने गरी क्षति पुर्‍याएको रहनेछ भने मात्र अबको एक वर्षमा मेलम्चीको डाइभर्सन योजना पूरा हुनेछ । बनेका ती संरचनालाई ध्वस्त पारे त्यो पूरा बनाउन अर्काे दुई वर्ष लाग्नेछ । त्यतिबेला पनि यसैगरी उदघाटन हुनेछ । अहिलेलाई मेलम्ची अधुरै छ । अधुरो आयोजनाको उद्घाटन गरेर नेता र मन्त्रीहरूले जनतालाई पटक पटक मूर्ख बनाइरहेका छन्।
 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x