विचार

महिला, त्यसमाथि अपांगता : समस्यै समस्याको सगरमाथा

संगीता माझी |
चैत १२, २०७७ ८:२८ बजे

महिला यो धर्तीका सुन्दर उपहार हुन् । देवी सम्मानको रूप हो । महिलालाई सृष्टिको सुन्दर सिर्जनाका रूपमा पनि हेर्ने गरिन्छ । त्यसैले महिलालाई सुन्दर फूलसँग पनि दाँज्‍ने गरिन्छ ।कतिपय साहित्यकारले महिला भनेको गुलाबको फूल र त्यसमा भएको काँडालाई चाहिँ पुरुषको संज्ञा दिएका छन् । धेरैले भन्‍ने गरेका पनि छन्, महिला र पुरुष एकै रथका दुई पांग्रा हुन् । 

तर, वर्तमान समाजमा महिलाले व्यावहारिक रूपमा त्यो रूपको सम्मान पाएका छैनन् । समाजले त अझै पनि महिलालाई सन्तान जन्माउने साधन, घरायसी काम गर्ने सेवक तथा व्यक्तिगत सहयोगीका रूपमा बुझ्‍ने मात्र गरेर पक्षपातपूर्ण व्यवहार गरिरहेको छ । 


यस भनाइअनुसार साँच्चै भन्‍ने हो भने महिला पनि पुरुषजस्तै एउटा प्राणी हो जसले स्वतन्त्र रूपमा बाँच्‍ने अधिकार पाउनुपर्ने हो तर पनि उनीहरूले आजको वर्तमान समयमा पनि विभिन्‍न प्रकारका समस्या भोग्दै आइरहेका छन् । यहाँ हाम्रो समाजमा महिला र पुरुषलाई गर्ने व्यवहारमा झनै आकाश-पातालको फरक छ । 

नेपालमा महिलाको अवस्था देख्दा मेरो मनमा विभिन्‍न प्रकारका प्रश्न उठ्ने गर्छन् । आखिर महिला चाहिँ प्राणी हैन र ? महिला र पुरुषमाथि किन समान व्यवहार गरिँदैन ? महिलालाई किन संरक्षणको आवश्यकता पर्छ ? महिला किन घरायसी चुलोचौकोमा मात्र सीमित हुनुपर्ने ? आखिर महिला पनि त पुरुषजस्तै मानव हुन् । तर, किन उनीहरू सबैसामु झुक्नुपर्ने ? त्यति मात्र कहाँ हो र ? अझ परिवारको इज्जत पनि महिलासँग नै अडेको हुन्छ । 

महिलाको इज्जतको प्रसंगमा भन्‍ने हो भने उनीहरूको तुलना केवल त्यो माटोको भाँडासँग गरिएको छ । जब त्यो भाँडा फुट्न त के अलिकति चिरा परे पनि त्यो केही काम नलाग्ने हुन्छ, हो त्यस्तै महिलाको सानो कमजोरी भएमा समाजले तल्लो स्तरमा झारिदिन्छ । उनीहरूलाई स्वतन्त्र भएर जिउन पाउने अधिकार भने कहिल्यै दिएको देखिँदैन । समग्रमा भन्‍ने हो भने नेपाली महिलाको ठूलो जमात रोजगारी, शिक्षा, सामाजिक, आर्थिक, जनचेतनाको अभावमा प्रताडित जीवन बाँच्‍न बाध्य भएका छन् । 

झन् यो स्पाइनल कर्ड इन्जुरी भएका महिला अपांगतालाई चाहिने डायपर, प्याड, युरिन ब्याग, सीआईसी पाइप आदि किन्‍न पैसा नहुँदा र पैसा भए पनि पसलसम्म गएर किन्‍न नसक्दा झन् अवस्था जटिल हुँदै गएको छ ।

वास्तवमा भन्‍नुपर्दा सामान्य अवस्थामा त महिलाले पुरुषको तुलनामा धेरै पीडा, दुःख र सकस भोग्नु परिरहेको छ् भने झन् विभिन्‍न रोगले महिलालाई सताइरहेको छ । समयको विभिन्‍न कालखण्डमा विभिन्‍न प्राणघातक रोगको उत्पत्ति भयो र कैयौँको उपचार पनि भयो भने कैयौँको उपचार हुन सकेको छैन । मानिस विभिन्‍न रोग जस्तै, एचआईभी, इबोला भाइरस र अन्य प्राणघातक रोगसँगै लड्ने क्रममा अर्को एउटा कोरोना भाइरसको उत्पत्ति चीनको वुहान भन्‍ने ठाउँबाट भई आजसम्म पनि महामारीको रूपमा फैलिरहेको छ ।

कोरोना भाइरस एउटा नयाँ प्रजातिको भाइरस हो । जसले सामान्य रूपमा रुघाखोकी, ज्वरोदेखि श्वासप्रश्वाससम्बन्धी गम्भीर असर पुर्‍याई मृत्यु हुनसक्छ । कोभिड-१९ एक देशमा मात्र नभई अनेक देशमा फैलिरहेको छ र लाखौँलाख मानवको मृत्यु पनि भइसकेको छ र यसको उपचार आजसम्म पनि हुन सकेको छैन । झन् नेपालको सन्दर्भमा कोरोना संक्रमणका कारण एक वर्षअघिदेखि झन्‍नै आधा वर्ष लामो बन्दाबन्दीको सामना गर्नुपर्‍यो । जसका कारण लाखौँले रोजगारी गुमाउनुपर्‍यो । उद्योगधन्दा, व्यापार, शैक्षिक क्षेत्र, पर्यटन क्षेत्र माथि उठ्न नसक्ने गरी थला परेको छ । 

कोरोना भाइरसले सिंगो संसारलाई त ठूलो क्षति पुर्‍यायो । यसले समग्र रूपमा सबैलाई प्रभाव त पारेकै थियो र पारिरहेको छ त्यसका साथै अपांगता भएका व्यक्तिलाई बढी प्रभाव पारेको देखिन्छ । तुलनात्मक रूपमा भन्‍ने हो भने झन् अपांगता भएका महिलालाई बढी पीडित तुल्याएको छ । उनीहरू एक त आफू महिला भएकै कारण धेरै दुःखकष्ट भोग्दै आइरहेका छन् । उनीहरू हरेक क्रियाकलाप जस्तैः महिला हिंसा, शिक्षाबाट वञ्चित, घरपरिवारबाट दबाबजस्ता समस्या भोग्दै आइरहेका छन् । 

सोचौँ त, महिला अनि त्यसमाथि पनि अपांगताको समस्याकै कारण उनीहरूलाई महामारी हुनुअघि पनि रोजगारीका साथसाथै हिँडडुल गर्न, शिक्षा प्रदान गर्न र आफूलाई आवश्यक परेका स्वास्थ्य सामग्री पनि परिपूर्ति गर्न गाह्रो नै थियो । त्यसै त अपांगता भएकै कारण कतिपय महिला एक्लै पनि बस्दै आएका छन् । जेजस्तो भए पनि सरकार र विभिन्‍न संघसंस्थाले गरेको सेवा-सुविधाले गर्दा पनि आशावादी हँुदै गएका थिए । कतिपय अपांगता भएका महिलाले पहिला जेनतेन सामान्य रोजगार जस्तैः नाङ्लो पसल, रेस्टुरेन्टमा गीत गाउने, धूप बनाएर बेच्‍ने, थांका पेन्टिङ गर्ने, सडकमा गएर गीत गाउने गरेर आफ्नो जीवनयापन गर्दै आएका थिए । तर, यो महामारीका कारण उनीहरू जटिल अवस्थामा जीवन जिउन बाध्य छन् । किनकि यो महामारीले उनीहरूको सानोतिनो रोजगारी पनि खोसिएको छ । उनीहरू गरिबीले घेरिएका छन् । मनोसामाजिक समस्याले पनि पीडित देखिन्छन् । 

त्यसका साथै यो लकडाउनले गर्दा उनीहरूमा भएको सीप, ज्ञान वा शिक्षालाई समेत आफैँमा सीमित गरेर बस्नुपरेको छ । झन् यो स्पाइनल कर्ड इन्जुरी भएका महिला अपांगतालाई चाहिने स्वास्थ्य सामग्री जस्तै, डायपर, प्याड, युरिन ब्याग, सीआईसी पाइप आदि किन्‍न पैसा नहँुदा र पैसा भए पनि पसलसम्म गएर किन्‍न नसक्दा झन् अवस्था जटिल हुँदै गएको छ । 

सरकारका साथै अन्य संघसंस्थाले एक/दुईपटक त राहत वितरण गरेको थियो तर पछि त त्यो सेवासुविधा पनि रोकियो । यस राहतले पनि सहरमा बसोबास गर्ने अपांगता भएका महिलालाई त केही सहयोग हुनपुग्यो तर ती अविकसित गाउँमा बस्‍ने महिलाले के गर्लान् र सूचना पाए पनि सहरमा गएर ल्याउन नसकेपछि उनीहरू त समस्यामा पर्ने नै भए । 

चोट अचानोलाई मात्र थाहा हुन्छ भनेझैँ जसलाई दुःखकष्ट पर्छ उनीहरूलाई मात्र त्यो पीडा थाहा हुन्छ । हुन त अपांगता भएका महिलाको पीडा कसले बुझिदिन्छ र ? आफ्नै परिवारका लागि त बोझ भइसकेका हुन्छन् भने झन् अरूको त के कुरा !

खुकुरीले लागेको चोट अचानोलाई मात्र थाहा हुन्छ भनेझैँ जसलाई दुःखकष्ट पर्छ उनीहरूलाई मात्र त्यो पीडा थाहा हुन्छ । हुन त अपांगता भएका महिलाको पीडा कसले बुझिदिन्छ र ? आफ्नै परिवारका लागि त बोझ भइसकेका हुन्छन् भने झन् अरूको त के कुरा ! जुन सेवासुविधा लकडाउनअघि पाइरहेका थिए, महामारीपछि भने ती अवसरबाट पनि वञ्चित भइसकेका छन् । उनीहरूले चाहेर पनि केही गर्न सकिरहेका छैनन् । यो कोभिड-१९ ले सामान्य मानवलाई जति प्रभाव पारेको छ, त्योभन्दा सयौँ गुणा प्रभाव अपांगता भएका महिलालाई पारेको देखिन्छ । 

अपांगता भएका व्यक्तिलाई कोरोना भाइरसले संक्रमण गरे पनि उनीहरूका लागि ह्विलचेयरमैत्री क्वारेन्टिनको व्यवस्था हुन सकेको छैन । महामारीका कारण अपांगता भएका महिलालाई गाँस, बास, कपासदेखि चाहिने स्वास्थ्य सामग्रीको समेत आवश्यकता परिरहेको छ । उनीहरूले यो समस्याको समाधान गर्ने माध्यम भने अझै पनि भेटेका छैनन् । 

अहिले जे जस्तो समस्या भए पनि आगामी दिनमा चाहिँ यस्तो समस्या भोग्नु नपरोस् र सामान्य मानव र अपांगता भएका मानवबीच कुनै भिन्‍नता नहोस् । अझै भन्‍नुपर्दा विशेष त अपांगता भएका महिलालाई सहयोग हुने गरी चाहिने स्वास्थ्य सामग्रीका साथै अन्य साधन पनि सरकारले राहतको व्यवस्था गरिदिओस् । 

विभिन्‍न सीपमूलक तालिम केन्द्रको पनि स्थापना होस्, महत्‍वपूर्ण ठाउँ जस्तै, विद्यालय, बैंक, अस्पतालमा पनि शौचालयको राम्रो व्यवस्था होस् । सबै मानवलाई हेर्ने दृष्टिकोण पनि समान र सम्मान रूपमा होस् । यो सरकारले राम्रो नियम-कानुन लागू गरे पनि दैनिक जीवनमा भने लागू भइरहेको पाइँदैन । तर, अब चाहिँ राम्रो ढंगले लागू होस् । उनीहरूले पाउनुपर्ने अधिकार बिनाझन्झट प्राप्त गर्न सकून् । त्यसका साथै सरकारले यो महामारीको समयमा मात्र नभई भविष्यसम्म पनि अपांगता भएका व्यक्तिलाई चाहिँ विशेष ध्यानाकर्षणमा राख्‍न जोड दिएको होस् । अनि आफू बस्ने समाजतिर पनि जसरी अपांगता भएका पुरुषहरू स्वतन्त्र रूपमा बसोबास गर्दै आएका छन्, त्यसरी नै अपांगता भएका महिला पनि स्वतन्त्र रूपमा बसोबास गर्ने वातावरण मिलोस् ।
(भुम्लुटार-६, काभ्रेकी माझी शारीरिक अपांगता भएकी महिला हुन् । ‘कोरोनाले अपांगता भएका महिलामा पारेको प्रभाव’ शीर्षकको प्रतियोगितामा सहभागी यो निबन्ध प्रयत्न नेपालबाट प्राप्त भएको हो ।) 


Author

थप समाचार
ad
x