विचार

संस्मरण र अनुभूति- १३

सरस्वती सदन कसरी बन्यो ?

वसन्त लोहनी |
बैशाख १७, २०७९ ६:४९ बजे

कसरी बन्यो ‘सरस्वती सदन’? जति रमाइलो छ त्यति नै हिम्मतको कथा छ, जुन वेदप्रसादले मलाई सुनाएका थिए । यो कथा भन्दा पहिले नेपालको भवन निर्माणको इतिहासिक कथा अलिकति हेर्नुपर्ने हुन्छ । ‘सरस्वती सदन’को कथाको मर्म बुझ्नको लागि यो आवश्यक छ । सिमेन्ट ढलान प्रविधि नेपालमा भित्र्याउने पहिलो नेपाली वेदप्रसाद जरुर बने । कठोर राणा कालको समय सापेक्षिक हेराइबाट बुझ्ने हो भने उनले निश्चित रूपमा ठूलो आँट र साहस देखाएका हुन् । र, उनको काम युगान्तकारी हो सिमेन्ट ढलान प्रविधि चाडै नेपालमा सुरु गरिदिएर । तर भवन निर्माण त पहिले नै उत्कृष्ट थियो यहाँ ।

कलात्मक मन्दिर, भवन र दरबार निर्माण त धेरै पहिलेदेखि नै विकास भइसकेको हो नेपालमा । नेपालको सबभन्दा पुरानो मन्दिर हो भक्तपुरको चाँगुनारायण । पुरातत्वविद्हरू भन्छन् यसको नितान्त आफ्नै शैली छ जुन अरु कसैसँग मिल्दैन । न शिखर शैलीसँग, न प्यागोडा शैलीसँग । त्यसैले उनीहरूको ठहर छ यो नै नेपाली शैली हो । दोस्रो शताब्दीमा नै यस्तो मन्दिर बनाउने प्रविधि काठमाडौँ उपत्यकामा आइसकेको थियो । कालिगड र मिस्त्रीहरू यहीँ थिए ।


छैटौँ शताब्दीमा लिच्छवी राजा मानदेवले उनको दरबार मानगृह बनाएका थिए भने सातौँ शताब्दीमा राजा अंशुवर्माले कैलाशकूट दरबार । र, नरेन्द्रदेवले भद्राधिवास । नरेन्द्रदेवले नै ठूलो स्वागत सत्कार गरेका थिए चीनको प्रतिनिधि मण्डललाई यो कैलाशकूट दरबारमा । राजदूत वाङ हुएन त्सेको वर्णनमा नै आधारित छ यो दरबारको भव्यता जसलाई पछि आउने चिनियाँ भिक्षुहरूले पुष्टि गरेका छन् । लिच्छवि कालको यो कैलाशकूट दरबार वैदिक मान्यतालाई अङ्गीकार गरेर बनाइएको अद्वितीय कलात्मक स्वर्ण दरबार मानिन्छ ।

हाडिगाउँ र मालिगाउँको बीचमा १२८ वर्षसम्म ठडिएको यो सात तले दरबार करिब २३० फिट अग्लो र ९०० फिट फैलिएको तलामा १० हजार मान्छे अटाउने भनी वर्णन गरिएको पाइन्छ । कल्पना गरौँ अहिलेको २३६ फिटको धरहरा जत्तिकै अग्लो त्यो ९०० फिटको चौडाइको कैलाशकूट दरबार कस्तो देखिन्थ्यो होला । माथिल्लो तलाबाट प्रत्येक तलामा पानीको फौवारा झर्दै आएको वर्णनले पानीको प्रयोग प्रविधिमा पनि विकास भएको देखिन्छ । वर्षाको पानी सङ्कलन गरेर झरना निकालेको अनुमान छ ।

मिथक र यथार्थको दोसाँधमा ढाकिएको यो दरबार धरतीमा विलुप्त भए पनि इतिहासमा चाहिँ स्वर्ण दरबार नै भनिन्छ । हुनत करिब ३५० वर्षको लिच्छवी युगलाई नै स्वर्णिम युग भनिन्छ नेपालको इतिहासमा । कुनै युग स्वर्णिम युग तब बन्दछ जब विकास हुन्छ, सुधार हुन्छ, सिर्जना फस्ट्याउँछ, देशको इज्जत बढेको हुन्छ र समग्रमा जनता सुखी हुन्छन् । त्यतापट्टि हाम्रो छलफल होइन आजको । तर एउटा कुरा चाहिँ उठेको छ । त्यस्तो दरबार किन चाहिएको ? यसको सरल उत्तर हो राजाको शक्ति र इज्जत दरबार र त्यसको वैभवसँग विश्व इतिहासमा सधैँ गाँसिएर नै आएको छ । उत्तर तिब्बतको स्रोङ्चन गम्पोको पोटाला दरबार र दक्षिण मगधको राजा हर्षवर्धनको दरबारकै समयको र अझ यीभन्दा राम्रो कैलाशकूट दरबारले सायद शक्ति प्रदर्शनीको यही निरन्तरता बोकेको थियो । 

यहाँनिर छोटो विषयांतर गरेर नेपालको सन्तुलन र स्थायित्वसँग जोडिएको एउटा कुरा भनिहालौँ । नेपालको राष्ट्रिय विभूति मानिएका अंशुवर्माले भारतको सम्राट् हर्षवर्धनसँग आफ्नी बहिनीको विवाह गरिदिएका थिए । त्यसै गरी तिब्बतको स्रोङ्चन गम्पोसँग आफ्नी छोरी भृकुटीको । यसलाई कसरी वर्णन गर्ने ? मलाई लाग्छ सायद यसलाई नै भन्नु पर्दछ होला ‘संलग्नताको असंलग्न परराष्ट्र नीति’ । अर्थात् दुवै राष्ट्रसँग उच्च सम्बन्ध राख्ने र उनीहरूको स्वार्थको हिफाजत गर्ने तर नेपालको हितलाई सर्वोपरि राखेर।

त्यति सोच हिजो थियो । तर आज भट्टयाइने अग्रगमनमा छैन । अहिलेको जस्तो सत्तामा पुग्न र टिक्नका लागि प्रत्येक शासकले कहिले कुन छिमेकी त कहिले कुनसँग व्यक्तिगत अपारदर्शी सम्बन्ध बनाएर राष्ट्रको हितसँग बार्टर अर्थात् अरूको स्वार्थ परिपूर्ति गर्न राष्ट्रको स्वार्थ त्यागेर सौदाबाजी गर्ने परराष्ट्र नीति थिएन । वास्तवमा यो कहिले पनि थिएन । राणा कालमा पनि थिएन । तर दुर्भाग्य मुलुकको अनि हाम्रो, अहिलेको नेपालमा यो ‘सौदाबाजी स्वरूप’को बढ्दो प्रगाढतामा मुलुकको स्वरूप धमिलो परिँदै लागिएको छ ।

करिब ६०० वर्ष लामो मल्ल कालमा भवन निर्माण शिल्प उल्लेखनीय थियो । काठमाडौँ उपत्यका तीन सहरमा विभाजित भएपछिको काठमाडौँ, पाटन र भक्तपुरको दरबार र दरबार परिसरका मन्दिरहरू यसको जिउँदो साक्षी छन् । नेवारहरू किसान, तान्त्रिक, प्रशासक मात्र होइनन् अत्यन्त राम्रो मिस्त्री, कालिगड र शिल्पजीवी पनि हुन् । त्यसैले उनीहरूको बाहुल्य भएको तीन सहरमा आफ्नै कला र संस्कृति अभिव्यक्त हुने गरी भवन निर्माण भएका छन् ।

बस्ती बसाउँदा निर्माण मापदण्ड त्यतिखेर थियो– गाह्रो, इँटाका लोड लिने भित्ताहरू, घरको उचाइ, घरका लहर, साझा चोक, बहालहरू, ढुड्गेधारा र पोखरी । आज तामझाम धेरै छ तर यथार्थमा केही पनि छैन । छ सिर्फ पैसा । कानुन मिलाएर नक्सा पास गर्ने तर बनाउने आफूखुसी । हेर्ने कोही छैन । यसले गर्दा नै ‘कङ्क्रिट जङ्गल’ बनेका छन् हाम्रा सहरहरू । हिमाल र ताल देखाएर खाने पर्यटकीय नगरी पोखरामा ताल मिच्न पाइँदैन अनि हिमाल छोप्न पाइँदैन भन्ने छ । तर काठमाडौँपछिको जथाभावी निर्माण त्यही देखिन्छ । राजा वीरेन्द्रले फेवा तालबाट दुई सय फिट छोडेर घर बनाउनुपर्नेमा सो मापदण्ड पूरा नगरेर बनाएको हुँदा आफ्नै मन्त्रीको त्यो घर भत्काउन लगाइदिएका थिएँ । अहिले तालले छोडेको तालकै जमिनमा तालसँगै जोडेर ठूला होटेल बनेका छन् । कागत मिलाएका छन् । होटल मालिक भन्छन्– मलाई त लालपुर्जासँग मात्र मतलब छ । 

पृथ्वीनारायण शाहले सन् १७६९ मा नेपाल एकीकरण गर्ने अगाडि काठमाडौँ उपत्यकालाई दस वर्ष नाकाबन्दी गरेर बसेका थिए, मूलतः काठमाडौँ उपत्यकाका मल्ल राजाहरूको तिब्बतबाट आउने सुनको टकमरी गरेर हुने आम्दानी रोक्न । त्यही अवधिमा उनले सन् १७६२ मा नौ तले नुवाकोट दरबार बनाए । भुइँचालोले भत्किएर जुन अहिले सात तले छ । भवन निर्माणमा, होइन, दरबार निर्माणमा उल्लेखनीय प्रगति भएको चाहिँ जङ्गबहादुरले सत्ता हत्याएपछि हो । आमोदप्रमोद र सानसौकतसँग जनताको शोषण गरेर बस्ने राणा शासकीय संस्कृतिले गर्दा उनीहरूको भाइ छोराहरूका लागि भटाभट दरबार बन्न थाले । त्यो पनि युरोपेली शैलीमा । जङ्गबहादुरले थापाथलीमा दरबारहरू बनाए नामुद नेपाली वास्तुकलाविद् रणशूर विष्टबाट ।

सायद दरबार बनाउने सोखिन चाहिँ वीर शमशेर थिए । उनले नारायणहिटी दरबार बनाए । र, श्री ५ पृथ्वीवीर विक्रम शाहलाई ल्याएर राखे । वीरको नारायणहिटीसँग प्रगाढ सम्बन्ध रह्यो । आफ्ना लागि सन् १८९३ मा बनाएको वीर शमशेरको सेतो दरबार अति दिव्य र सुन्दर भएको वर्णन छ । यति सुन्दर कि विदेशीहरू पनि हेर्न आउँथे र चकित खान्थे त्यो ठूलो बैठक देखेपछि जो बेल्जियमबाट ल्याएका क्रिस्टल, झार–पानस र ऐनाहरूबाट सुसज्जित थियो । यी दरबार बनाए अर्को घागडान वास्तुकलाविद् जोगवीर स्थापितले ।

सन् १९३४ मा आगो लागेर ध्वस्त भयो सेतो दरबार । सन् १९७३ मा नजलेको सिंह दरबारको भाग सेनाले ब्लास्ट गरेर बचाएको जस्तो गरेर जुद्ध शमशेरले त्यति बेला सेतो दरबार बचाउन चाहेनन् । वीरका नाति लीला शमशेरले अनेक अनुनय विनय गर्दा पनि किन बचाउन चाहेनन् त्यसको पनि आफ्नै कथा होला । शासकलाई यसले ज्ञान चाहिँ दियो दमकल चाहिँदो रहेछ भन्ने । र, जुद्ध वारुण यन्त्रको सुरुवात भयो तीन वर्षपछि । दरबार निर्माणको यो प्रविधि काठमाडौँ बाहिर पनि गयो जब देव शमशेर, खड्ग शमशेर र रुद्र शमशेरलाई डाँडा कटाइयो । यसरी नै बने पाल्पाको तानसेनमा दरबार र काली गण्डकी नदीको तीरमा कलात्मक रानी महल ।

जे हो शासकको इच्छा हो । त्यो पनि हुकुम लिएर बसेको शासकले मुलुक हाँकेको बेला । वीर शमशेरको दरबार देखेर कुण्ठित अभिलाषा बोकेका चन्द्रशमशेर जब सत्तामा आए उनले वीर शमशेरको भन्दा राम्रो दरबार बनाएर थापाथलीबाट सर्न चाहे । यति बेलासम्ममा गजबका दरबार मात्र होइन, पूर्वाधार निर्माण गर्ने सोच र सो अनुरूपको प्रविधि पनि केही हदसम्म आइसकेको थियो । मलाई लाग्छ यस्तो प्रविधि प्रयोग गर्ने श्रेय नर्सिङ बन्धुलाई जान्छ । अर्थात् कुमार नर्सिङ राणा र उनको भाइ किशोर नर्सिङ राणालाई । 

चन्द्र शमशेरले यी नर्सिङ बन्धुलाई विश्वास गरे आफ्नो कल्पनाको दरबार बनाउनका लागि । यी दुवै चन्द्र शमशेरको काकाको छोरा थिए । चन्द्रको पिता धीर शमशेर, नर्सिङ बन्धुको पिता बद्री नर्सिङको भाइ थिए । दुवै जङ्गबहादुरको भाइहरू । सन् १८५० मा बद्री नर्सिङलाई सेनाको कार्यवाहक प्रधान सेनापति बनाएर जङ्गबहादुर बेलायत गएका थिए । तर बेलायतबाट फर्केलगत्तै त्यही आफ्नो भाइ बद्री नर्सिङलाई जङ्गबहादुरले भारतको इलाहाबाद जेल चलान गरे । यदि त्यसो नभएको भए बद्री रणोद्वीपभन्दा अगाडि श्री ३ हुन्थे । 

यो अलि लामो कथा छ । अहिलेको हाम्रो छलफलसँग मेल खाँदैन । कुरा चन्द्र शमशेरले बनाउन लागेको दरबारको छ । त्यति बेला रोलवाला राणाबाट साधारण बनेका छन् यी नर्सिङ बन्धु । दुवै रुड्कीबाट फर्केका हुन्छन् त्यहाँस्थित सन् १८४७ मा ब्रिटिसले स्थापना गरेको ब्रिटिस इन्डियाको सबभन्दा पुरानो सिभिल इन्जिनियरिङ कलेजमा पढेर । अहिलेको आइआइटी रुड्की जुन बनेको छ त्यति बेला थोम्सन कलेज अफ सिभिल इन्जिनियरिङको नामबाट चिनिन्थ्यो, यी दुईले पढ्दा ।

यी दुईको कुरा म अलीकता अधिक गरिरहेको छु किनकि यी पनि जोडिन्छन् सरस्वती सदनसँग एउटा प्रश्नवाहक भएर । चन्द्र शमशेरले सन् १९०८ को आफ्नो बेलायत भ्रमणमा किशोर नर्सिङलाई साथ लिएर गएका थिए । त्यतिबेला नर्सिङ बन्धुले सिंह दरबारको निर्माण करिब सकिसकेका थिए । बेलायत लैजानुको उद्देश्य त्यहाँका दरबारहरू देखेर अनि त्यहाँका इन्जिनियरसँगको छलफलबाट दरबार बनाउने अन्तर्दृष्टि किशोरको बढोस् भन्ने रहेको थियो । किनकि चन्द्र शमशेरलाई अरू दरबार पनि बनाउनु थियो । 

एसियाकै ठूलो मानिने करिब ४०० रोपनी जमिनभित्र ३००० कोठा, भव्य सजावट, सात चोक र सुन्दर बगैँचा भएको, जुन दरबार बनाए नर्सिङ बन्धुले, त्यो नै सिंह दरबार थियो । ५० लाखको अनुमानित खर्च लागेकामा राज्यलाई त्यति बेलाको दुई करोडमा बेचे चन्द्र शमशेरले । नर्सिङ बन्धुले बबर महल, केशर महल, श्री दरबार, शीतल निवास, हरिहर भवन लगायतका अरू दरबारहरू पनि बनाए । नेपालको फर्पिङस्थित पहिलो जल विद्युत् केन्द्रको डिजाइन र निर्माण सम्पन्न गरे सन् १९११ मा । र, चन्द्र शमशेरको जेठी रानी लोकभक्त लक्ष्मीको चाहनाअनुसार पाटनमा खाने पानीको योजना समेत सम्पन्न गरे यी बन्धुले । यसरी नै हो बढ्दै आएको यस्तो निर्माण र त्योसँग आबद्ध प्रविधिको ज्ञान पनि ।

अब प्रश्न उठ्छ रणशूर विष्ट, जोगवीर स्थापित र नर्सिङ बन्धुले त्यस्तो उत्कृष्ट दरबारहरू बनाएर निर्माण शिल्प देखाएको काठमाडौँमा वेदप्रसादले बनाएको ‘सरस्वती सदन’को किन चर्चा ? कुरा ठीक हो । निर्माणको काया हेर्ने हो भने सिंहदरबारको अगाडि सरस्वती सदन त हात्तीको अगाडिको भुसुना देखिएजस्तै हो । कुमार नर्सिङ र किशोर नर्सिङले त्यति बेलाको यो क्षेत्रको उत्कृष्ट कलेजबाट इन्जिनियरिङमा डिग्री हासिल गरेका थिए । प्रविधिको ज्ञान मात्रै होइन सुन्दर प्रयोग उनीहरूले गरिसकेका हुन् । एउटा साधारण डिप्लोमा लिएका वेदप्रसादको चर्चा गर्नुपर्ने किन आवश्यक भयो र ? अहिलेसम्मको हाम्रो छलफलपश्चात् जुन प्रश्न उठेको छ त्यसको उत्तर नै वेदप्रसाद बनेका छन् नेपालको आधुनिक भवन निर्माणमा । अब त्यसलाई हेरौँ अलिकति ।

सत्रौँ शताब्दीमा ताजमहल बनाउन सक्ने भारतमा सिमेन्ट ढलान निर्माण प्रविधि भने बिसौँ शताब्दीको सुरुबाट मात्र थालनी भएको हो । अभिलेखमा भेटिएअनुसार पहिलो सिमेन्ट ढलानबाट निर्माण गरिएको हो एउटा सानो पुल सन् १९०१ मा । विश्वकै पहिलो १६ तले सिमेन्ट ढलान भवन, जुन अझै चालु हालतमा छ, त्यो हो सन् १९०३ मा अमेरिकाको सिनसिनाटी सहरमा बनेको ‘दि इङ्गल बिल्डिङ’ । भारतमा पहिलो सिमेन्ट फ्याक्ट्री बन्यो सन् १९१४ मा गुजरातको पोरबन्दरमा । त्यसैले जुन वेला वेदप्रसाद सिमेन्ट ढलान प्रविधि पढ्दै थिए त्यति नै बेलतिर हो भारतमा यो प्रविधिको प्रयोग अलि राम्ररी हुन थालेको । भारतमा सिमेन्ट ढलान प्रविधिको प्रयोगबाट निर्माण गरिएको भवनको कुरा गर्दा चण्डिगढ सहरलाई लिइन्छ जुन सहर बसाउने काम नै सन् १९५० मा यस्ता भवनहरूको निर्माणबाट सुरु भयो ।

त्यसैले सन् १८६० को दशकमा जन्मेका नर्सिङ बन्धुले सायद सिमेन्ट कङ्क्रिटको निर्माणबारे अध्ययन गर्ने र यस्तो निर्माणको सीप हासिल गर्ने मौका नै पाएनन् रुड्कीको उत्कृष्ट थम्पसन कलेजमा पढेको भए पनि । नर्सिङ बन्धुसँग वेदप्रसादको भेट भयो कि भएन भन्ने यकिन छैन । तर उनले पढाइ सकेकै वर्ष मात्र कुमार नर्सिङको भाइ किशोर नर्सिङको देहान्त भएको थियो ७१ वर्षको उमेरमा । कुमार नर्सिङभन्दा २९ वर्षपछि सन् १८९४ मा जन्मेका डिल्ली जङ्ग थापा । उनी नर्सिङ बन्धुले पढेको रुड्कीको त्यही थम्पसन कलेजमा नै पढ्न पुगे । उनलाई भने यो नयाँ प्रविधिको ज्ञान निश्चित रूपमा भएको हुनु पर्दछ । तर उनले प्रयोग गरेको देखिएन जबकि उनले भीम शमशेरको रानीका लागि सीता भवन जस्तो दरबार मात्र बनाएनन् अझ अगाडि नै चन्द्र शमशेरको आदेशअनुसार चुरेको टनेल, चन्द्र नहर, रोप वे र जुद्ध शमशेरको पालामा राजविराजको नगर विकास योजनासमेत पूरा गरेका थिए । सिभिल इन्जिनियरिङको प्रयोग डिल्ली जङ्गले अझ फराकिलोसँग गर्न सकेको देखिन्छ । 

यति हुँदा पनि सिमेन्ट ढलानको प्रयोग उनले किन गर्न सकेनन् ? नजानेर त होइन होला । यसको जवाफ फेला पार्न सकिएको छैन । र, सायद यहाँनिर नै हो आफूले पढेको कुरामा आत्मविश्वास र आँट चाहिने । सायद वेदप्रसादको आत्मविश्वास र आँटले गर्दा यो प्रविधि प्रयोग गर्ने मौका डिल्ली जङ्गभन्दा १९ वर्ष कान्छो लखनउ पोलिटेक्निकबाट डिप्लोमा मात्र गरेका वेदप्रसादले पाउन सके सन् १९४४ मा । र, अर्को कुरा भर्खर भारतमा चालु भएको प्रविधि लगत्तै उनले नेपालमा ल्याए ।

सर्वाधिक महत्त्वपूर्ण कुरा यो हो । सिभिल इन्जिनियरिङ कलेजमा नै गएर इन्जिनियरिङमा डिग्री गरेका अघिल्लो पुस्ताका र आफ्नो पुस्ताका पनि इन्जिनियरहरू थिए त्यतिखेर नेपालमा । त्यसमध्ये एक त नेपालको पहिलो इन्जिनियरिङ स्कूलमा सँगै पढाउने र त्यसको हेड मास्टर नै थिए कुलरत्न तुलाधर जो पछि सार्वजनिक निर्माण विभागको चीफ इन्जिनियर पनि बने । अर्को थिए ज्यानबहादुर प्रधान जो पछि हवाई विभागको महानिर्देशक बने । यस्तो हुँदा पनि यो निर्माण प्रविधि सुरु गर्ने काम वेदप्रसादका लागि नियति र समयले तोकिदियो ।

१२ वर्षदेखि जुद्ध शमशेर श्री ३ थिए । कहाँ देखें या के सुने, किन र कसरी हो उनको मनमा एउटा चाहना जागृत भयो । त्यो चाहना थियो सिमेन्ट ढलानको घर बनाउने । शासकले जे चाह्यो त्यो हुन सक्ने बेला थियो । कसले बनाउन सक्छ भन्ने प्रश्नको उत्तर खोजे पहिले उनले । यसका लागि जति थिए इन्जिनियर नेपालमा तिनीहरू सबैलाई बोलाहट भयो सिंह दरबारमा । त्यति बेलाको श्री ३ बस्ने सिंहदरबारभित्र सर्वसाधारणले छिर्न पाउनु त्यो अहोभाग्य ठानिन्थ्यो । सिंहदरबार अगाडिको सडकसम्ममा सर्वसाधारणले हिँड्न पाउँदैनथे । मुन्तिर हिँड्ने बाटो छुट्टै थियो तिनको लागि । करिब आधा दर्जनभन्दा बढी इन्जिनियर जो थिए त्यति बेला तिनीहरूले मौका पाए सिंहदरबार भित्र छिर्ने । त्यसमध्ये सबभन्दा पाको इन्जिनियर डिल्ली जङ्ग थापा । उनी सेनामा कर्णेल थिए ।

बार्दलीमुनि अलि टाढा ती सबैलाई उभ्याइयो । ती सब डराएका छन् । वातावरण नै त्यस्तो थियो । बार्दलीमा बसेका महाराजबाट तल उभिएकाहरूलाई सोधनी भयो– ल भन, कसले बनाउन सक्छ एउटा सिमन्टीको घर ? सब नाजवाफ । एउटा अलि लामो नै निस्तब्धता छायो । अधैर्य भए जुद्ध शमशेर । अनि भने– होइन किन बोल्न नसकेको ? के तिमीहरूमध्ये कसैले पनि गर्न सक्दैनौ ? फेरि अर्को निस्तब्धता । सानो गल्ती भएमा या महाराजलाई सनक चढेमा सर्वस्वहरण र डाँडा कटाइदिने त मामुली कुरा थियो त्यति बेलाको समयमा । डराउनुपर्ने नै थियो काल ।

अन्ततः एउटा दुब्लो–पातलो श्याम वर्णको केटोले झुकेर भन्यो– सरकारको निगाह भए म गर्न सक्छु । जुद्ध शमशेरले पत्याएनन् र भने– यो बाहुनले के गर्न सक्ला र ? यसपछि छायो तेस्रो पटकको घना निस्तब्धता । विकल्परहित जस्तो बने जुद्ध शमशेर यस अर्थमा कि बनाउन कोही अगाडि नै आएनन् । हुनत उनले चाहेको भए एक वचनमा भारतबाट पनि इन्जिनियर बोलाउन सक्थे । त्यो निस्तब्धतालाई फेरि पनि जुद्ध शमशेरले नै चिरेर सोधे वेदप्रसादलाई हेरेर– सक्छौ तिमीले ? त्यो केटाले झुकेर फेरि बिन्ती चढायो– सक्छु सरकार । हो, आत्मविश्वासले भरिएको त्यो केटो थिए– वेदप्रसाद लोहनी । उमेर २९ वर्ष । 

घरमा बेलुका फेरि निस्तब्धता, लालटिनीको धमिलो उज्यालोमा । तर यो बेग्लै खालको थियो । महाराजको अगाडि भएको कुरा सुनेपछि वेदप्रसादको बाबु रुद्रप्रसाद सन्न भए । चिन्तित भए के बित्यास आउने हो भनेर । भर्खर पढेर आएको छोरो जसको अनुभव नै छैन यस्तो काम गरेको । डिल्ली जङ्गले आँट्न नसकेको काम यसले कसरी बनाउला सिमन्टीको घर ? संस्कृत मात्र पढेका रुद्रप्रसादले न के हो सिमन्टीको घर भनेको बुझेको थिए, न देखेका थिए कतै बनारस तीर्थ गर्न जाँदा पनि । त्यहाँ त ढुङ्गाका ठूला ठूला घरहरू थिए जसलाई कोठी भन्थे । गुरुज्यूको थियो यस्तो कोठी । र, राणाजीहरूको पनि । त्यो बनारस सहर जहाँ बसेर पृथ्वीनारायणले नेपाल एकीकरणको परिकल्पना गरेका थिए । 

निकै बेर घोरिएपछि रुद्रप्रसादले सोधे छोरा वेदप्रसादलाई– नानी, सक्छस् त गर्न यत्रो ठूलो राजाको काम । अनि भन्दै गए– हेर, तँमाथि मेरो भरोसा छ । आशीर्वाद सधैँ दिएको छु । तर खै ! कसैले आँट नगरेको काम गर्छु भनेर आइस् । राजाको हुकुम पनि भइसक्यो गर्नु भनेर । मनमा डर लागेको छ । काम त गर्ने पर्यो । विघ्न बाधा नपरोस् भनेर पूजापाठ लगाउँछु । वात्सल्यले भरिएको बाबुको कुरा चुपचाप सुनिरहेका वेदप्रसादले अब बाबु सँगको अदबसहित बिस्तारै बोले– बाउ, हजुरले चिन्तै लिनु पर्दैन । सक्छु म गर्न । त्यो ज्ञान छ ममा । मैले हासिल गरेको छु । हो, पहिलो चोटि गर्न लागेको तर कसरी गर्ने भन्ने मलाई राम्ररी आउँछ । छोराको आत्मविश्वासले भरिएको कुरा सुनेपछि गहिरो सास लिएर भने रुद्रप्रसादले– जा नानी सुत्न अब । अबेला भइसक्यो । यसपछि वेदप्रसाद भरेङतिर लाग्छन् आफ्नो कोठा भएतिर झर्न । 

बाबुलाई विश्वास दिलाएर आएका वेदप्रसाद ओछ्यानमा त आएर लडे तर सुत्न सकेनन् । ६० वर्ष काटिसकेको बूढो बाबुको चिन्तित अनुहारदेखि रहे त्यो अँध्यारोमा आफ्नो आँखा अगाडि । लालटिनको धमिलो उज्यालोमा उनले पहिलो पटक बाबुको आँखामा प्रस्ट देखेका थिए एउटा अचम्मको स्निग्धता । बाबु ज्यादै कडा तर आफूलाई मनग्य माया गर्ने कुरा उनलाई थाहा थियो । तर त्यो स्निग्धतामा मायाको विश्वरूप देखे उनले । अनन्त सूक्ष्म संवेदनाहरूले बनेको थियो त्यो । उनको मनले एकै पटक भन्यो– सिमन्टीको घर त अब बनि नै सक्यो । मनको त्यो प्रवाहले अझ भन्यो– मेरो बाबुको ती स्निग्ध आँखाहरूले हेरिरहेका हुन्छन् मेरा कामहरूलाई, मेरो सीपलाई, मेरो जाँगर र विवेकलाई । फत्ते नहुने त कुरै भएन ।

वेदप्रसादले कति इन्जिनियरिङ जानेका थिए त्यसमा छलफल हुन सक्ला । तर जति जानेका थिए त्यो अति राम्रोसँग जानेका थिए । आत्मविश्वासको साथ जानेका थिए, आफ्नै दुई हातले गर्न सक्ने गरी जानेका थिए । अरूलाई पनि सिकाउन सक्ने गरी जानेका थिए । आलोकाँचो थिएन उनको सिभिल इन्जनियरिङको ज्ञान । जान्ने मात्र होइन आफैँ काम गरेर सिक्ने उनको आदत थियो । उनी भन्थे– ‘मैले पहिले सिकाए कालिगड र मिस्त्रीहरू जम्मा पारेर, जसले न गिट्टी देखेका थिए, न डन्डी, न सिमेन्ट । विभिन्न व्यक्तिहरूलाई विभिन्न साजहरू बजाउन सिकाएर सिम्फोनीको सिर्जना गर्नु परेको जस्तो अवस्था थियो त्यो । यस क्रममा मैले निकै प्रयोग गरे, अजमाए पनि । आफैँ सिक्दै पनि गए । सिकाउने र सिक्ने क्रमसँग आबद्ध भएर बनेको हो सरस्वती सदन ।’ 

(आगामी शृङ्खलामा सरस्वती सदनको निर्माण पक्षसँग जोडिएका सिकाउने, सिक्ने, प्रयोग, परीक्षणका कुराहरूबारे छलफल गरौंला ।)

वेदप्रसादबारे वसन्तका लेख



Author

थप समाचार
ad
x