विचार

रेड कार्ड दिनुपर्नेलाई रेड कार्पेट कहिलेसम्म ?

स्खलितहरूलाई जिताएर उत्तेजित नबनाऔँ

विमल आचार्य |
बैशाख २०, २०७९ मंगलबार १६:१८ बजे

राजनीतिबारे लेख्न मलाई सबैभन्दा अल्छी लाग्छ । 

यत्रा राजनीतिशास्त्री छन्, यत्रा राजनीतिक विश्लेषक छन्, यत्रा राजनीतिक टिप्पणीकार छन्, अनि राजनीतिबारे मठ्ठ मै किन अघि सर्नु ! मलाई सधैँ यस्तै लाग्छ । 
उसो त म राजनीतिबारे सबैभन्दा धेरै बोल्दो हुँ । र, सबैभन्दा कम लेख्छु । 


अस्ति बिहेको पार्टीमा पनि पार्टीहरूकै गफ चल्यो । लाग्छ, सुहागरातमा पनि दलहरूको तीव्र शीघ्र स्खलनबारे नै खासखुस चल्यो । 

चियापसलदेखि ट्याक्सीसम्म ‘कृपया, यहाँ राजनीतिक विश्लेषण नगरिदिनुहोला’ भनेर मेरै कारणले लेखिएको हुनुपर्छ । आँखा खुल्दादेखि आँखा चिम्लिँदासम्म, घरदेखि घाटसम्मका हर भेटघाटमा चल्ने भनेकै राजनीतिक गसिप । 

जता जाऊँ जे गरुँ सुनिने साझा निष्कर्ष– देश त बर्बादै भयो । नेताहरूले देश बर्बाद पारे । 

राजनीतिबारे पढ्न–लेख्न–बोल्न थालेपछि म धेरै दिनसम्म बहकिन्छु । अनावश्यक आक्रोशित हुन्छु । सहकर्मीहरूबीच उसैउसै कड्किन्छु । चर्काचर्की पनि चर्कै पर्छ । राजनीति नदी हो भने म त्यसको जहिल्यै किनारामा छु । राजनीति यस्तो नदी हो त्यो घोरिएर हेर्दाहेर्दै घरीघरी म त्यसैमा बग्न थाल्छु, कयौँ दिन त्यसैमा डुब्छु । 
मलाई दलहरूको, दलजीवीहरूको पारा देखेर पारो तातेर आउँछ । नारा र व्यवहारबीच अक्कास–पातालको अन्तर देखेर रिस उठिरहन्छ । ‘रिस’ उठिरहनु वरिपरिकासँग ‘सरी’ भनिरहनुपर्ने झ्याउलो काम रहेछ । 

राजनीतिसँग म उसै निरपेक्ष रिसाइरहने पनि होइन । राजनीतिको शक्ति र सीमा हल्फाफुल्का बुझेकै छु भन्ठान्छु । थाहा छ, राजनीति भनेको शक्ति र सत्ताको खेल हो । पद कसैलाई उसै मिल्दैन । पैसा चाहिन्छ । पैसाका लागि हुने–नहुने काम गर्नैपर्छ । यो गेममा नियमसिमय, मूल्यसूल्य, आदर्शसादर्श, विचारसिचारका धर्का मिचिन्छ पनि । सत्य आदर्श हो । यथार्थ त छलकपट र ढाँट नै हो ।

धमिलो राजनीति मात्र छ, अरु चाहिँ सङ्लो छन्, यसो भन्नु मिल्दैन । यति त म नि बुझ्छु त । 

तर । तर, पदको हद दुरुपयोग गरेको देखेपछि मलाई औडाहा हुन्छ । गरिब नागरिकको कर आफू र आफ्नाहरूको विलासितामा मात्र खर्च गरेको देखेपछि कन्सिरी तातेर आउँछ । संविधानमा समाजवाद लेख्ने अनि व्यवहारमा शिक्षा र स्वास्थ्यजस्ता विषयमा सीमाहीन व्यापार गर्ने सरकार देखेपछि मलाई भाउन्न हुन्छ । 
गरिबको कर लिएर उपचारका नाममा विदेशमा खर्बाैं सक्ने तर देशमा गोविन्द केसीहरूलाई प्रधान शत्रु तोक्ने दलेहरू देखेपछि म आफूलाई जिउँदो लास पाउँछु। निर्धा, निमुखा, निरक्षर, निःसहाय नागरिकहरूलाई झन्झन् निरीह बनाउनेलाई शासक भन्ने हो भने शोषक चाहिँ कसलाई भन्ने ? 

गठबन्धन शतप्रतिशत चिटिङ हो । उम्मेदवारहरू गठबन्धनमा त्यतिबेला गर्व गरिरहेका छन्, जतिबेला एसईई दिइरहेका उम्मेदवारहरू चिटिङको केसमा निकालिएको समाचार म पढिरहेछु ।

सर्वहाराको नाममा राजनीति गर्ने सर्वहारीहरू देखेपछि मलाई सहिनसक्नु हुन्छ । साझा नीति–कार्यक्रम केही छैन, ‘मिलेर खाऊँ’लाई फूलबुट्टा भरेर ‘गठबन्धन गठबन्धन’ भनेको सुनेर चड्काइदिऊँ जस्तो पनि हुन्छ ।

चुनाव परीक्षा हो । गठबन्धन शतप्रतिशत चिटिङ हो । उम्मेदवारहरू गठबन्धनमा त्यतिबेला गर्व गरिरहेका छन्, जतिबेला एसईई दिइरहेका उम्मेदवारहरू चिटिङको केसमा निकालिएको समाचार म पढिरहेछु । के हो यो सब नौटंकी ? चिटिङको नेपाली अनुवाद नै गठबन्धन हो । हाकाहाकी चिटिङ गर्छौं भन्नेलाई परीक्षाका निरीक्षक, पर्यवक्षेक, नियन्त्रकले टुलुटुलु हेरिरहनुपर्ने, के पारा हो यो ? के बाध्यता हो यो ?

फेयर एक्जाम दिन्छु भन्नेहरूलाई चिटेहरू अनुशासनको कारबाही गरेँ भन्छन् । यो भन्दा हाँसोलाग्दो, रुँरुँलाग्दो कुरो दुनियाँमा के छ ? 

दुनियाँले बुझेको छ, एक्लाएक्लै भिड्न नसक्नेले ग्याङ बनाउँछ । यस्तो लुते आपराधिक राजनीति कहिलेसम्म ? यिनीहरूको पारा देख्दा मेरो ओठमा अश्लील शब्द मात्र फुल्छ । (गफगाफमा खुलेर गाली गर्न सकिन्छ, लिखितममा मिल्दैन । त्यही भएर म राजनीतिबारे कम लेख्छु, अश्लील राजनीतिलाई न्याय गर्न आलोचनाका अश्लील अक्षरले मात्र सक्छन् । अश्लील अक्षर एउटै पनि प्रयोग नभएको यो लेख आलोचनाका लागि आलोचना गरिएको कृत्रिम लेख हो । मन फुकाएर गरिएका अश्लील गालीगलौज, श्राप, भर्त्सना प्रचलित ओपन सेक्रेट शब्दविहीन यो आत्माविहीन आलोचनाका लागि म क्षमाप्रार्थी छु ।)

‘राजनीतिमा सोझो औँलाले घिउ निस्किँदैन, यो डर्टी गेम हो, कति चिन्ता लिएको ?’ साथीहरू मलाई यसरी नै सामान्य रूपमा लिन सुझाउँछन् । 

‘तिमीहरूको यो कुरा मैले राजनीतिशास्त्रको पहिलो कक्षामै गुरु रामशंकर बर्माबाट पटकपटक सुनेको हुँ, नागरिक हुनुअघि नै ।’ म यसरी भन्छु । १६ वर्षकै किशोर उमेरमा आईए प्रथम वर्षको प्रथम कक्षामा सुनेका कुरामा मलाई विश्वास त छ । तर, राजनीतिमा भ्रष्टआचरण जायज छ भन्ने दर्शन कक्षामा कति जायज छ ? यथार्थ यही हो भने यथार्थको अतिक्रमणतिर अघि बढ्नुपर्दैन ? किन कोही राजनीतिज्ञ म डर्टी प्लेयर हुइनँ भन्दैन ?

उसो त राजनीति जति निर्मम खेल अर्काे हुँदैन, यो त मैले बालखैमा परिवारबाट पनि बुझेको हुँ । बा नेपाली कांग्रेस, ठूलोबा एमाले । बाहरूको झगडाका बाछिटाले बालखैमा भिजाउनु भिजाएको हो । एक बारको जवानी पूरा राजनीतिमा बिताएर कुनै अवसर नपाएका बाको दुःख र आमाको झन् ठूलो दुःख मैले बाल्यकालमै महसुस गरेको हुँ । कहिल्यै शक्तिमा नपुगेका बाको अहिलेको स्वाभिमानी स्वर, भ्रष्टाचारविरुद्ध आफ्नै पूर्वसहयात्रीप्रतिको ठाड्ठाडो औँला ठड्याइको शक्ति म राम्ररी बुझ्छु । राजनीतिमा लागेर पद र पैसा कमाएका बाका साथीहरू मेरा बाको डाकोका अघिल्तिर लुसुक्क परेको मैले धेरैपल्ट देखेको छु । राजनीतिमा लागेर परिवारलाई दुःख दिएँ, गरिबीमा फसाएँ, ऋण बोकाएँ भन्ने भाव चाउरी पर्दै गएका अनुहारमा पोतिएको म देख्छु तर अनुहारमा उज्यालो आभा उस्तै छ । 

निर्धा, निमुखा, निरक्षर, निःसहाय नागरिकहरूलाई झन्झन् निरीह बनाउनेलाई शासक भन्ने हो भने शोषक चाहिँ कसलाई भन्ने ? 

घर मेरो राजनीतिक भट्टी थियो, म चाहेर पनि नपोलिन–नपिरिन सम्भव थिएन ।

‘राज्य भनेको शोषक हो, हिंस्रक हो, दमनकारी नै हो । राज्य भनेको वैध अपराधी हो । राज्य चलाउनेले शक्तिको दुरुपयोग गरेन भने मात्र त्यो अनौठो हुन्छ ।’
अनुभव भइरहेको यस्तो कुरो कालान्तरमा पढियो पनि । 

‘ए यस्तो रहेछ’ बेक्कारमा चिन्ता लिँदो रहेछु भनेर चित्त पनि बुझाइयो । चित्त कुँडिनुपर्नेमा मेरो चित्त कसरी बुझ्यो ? मैलाई थाहा छैन । यस्तो छ थाहा छ, तर यस्तो हुनु सही छ त ? यो फेर्नुपर्दैन ? कसरी फेरिन्छ ? कसले फेर्छ ? फेर्छु भन्नेहरू स्वयं फेरिन्छन् । 

—    म पदमा छु, अब केही फेर्नुपर्दैन । 
—    म पदमा छ, अब कोही फेरिनुपर्दैन । 
 

पदलोलुपको आरोप लगाउँदै उदाएका उनीहरू स्वयं स्थायी रूपमा पदासीन हुन मरिहत्ते गर्छन् । म छक्क पर्छु । 

नागरिकको कर खाएर नागरिकलाई नै यातना दिइरहने परिपाटी कहिले फेरिन्छ ? मैले अहिलेसम्म काम गरेका संस्थामा मलाई तलब–भत्ता दिने मालिक कहिल्यै हेपिएको, दबिएको, पिल्सिएको देखेको छैन । तर, सरकारी संस्थामा कर्मचारीलाई तलबभत्ता खुवाउने मालिक अर्थात् सेवाग्राही करदाता आमनागरिक सधैँ हेपिएको पाउँछु, यस्तो किन हुन्छ ? कहिलेसम्म हुन्छ ? 

तलदेखि माथिसम्मका यावत् शासक–प्रशासकको हर मोेजमस्ती, भोजभतेर, देशदेशावर यात्रा, उपचार पर्यटन, कार्पेटदेखि हेलिकप्टर सयरसम्मका सबै खर्च हामी नागरिकको पैसाबाट चल्छ भन्ने चक्र हामी जन्तोलाई राम्ररी बुझाइएको छैन, किन ? टाउकेहरूले आफ्नाहरूको नाउँमा देश–विदेशका बैंकमा चाङ लगाएको पैसा सबै हाम्रै हो, थुपारेको जग्गाजमिन सबै हाम्रै हो, सबको साझा हो । त्यो कहिले खोसिन्छ, कसले खोस्छ ? 

श्री पशुपतिनाथमा दैनिक के त्यति दानभेटी झर्छ र ? त्यसको हजार गुणा बढी भेटी बुढानिलकण्ठ, बालकोट, खुमलटार, बालुवाटारहरूमा चढ्छ । पशुपतिनाथमा त त्यही शिवरात्रिमा लाइन होला, तर यी दरबारका देवतासामु भक्तालु दर्शनार्थीहरूको घुइँचो सदाबहार छ । पशुपतिका देवता र यी दरबारका देवतामा एउटै फरक छ, दरबारका देवता आफ्ना भक्तालु उर्फ बिचौलियाहरूको घर–घरमा पुगेर आशीर्वादसमेत दिन्छन् । ‘फरक छुट्याऊ’ भनेर बालपत्रिकामा एकातिर बिचौलिया र अर्काेतिर शासक÷प्रशासकको चित्र थियो । सानो छोरोले ती चित्र विचित्र मानेर हेर्यो र दिनभरि हेर्दा पनि एउटै फरक छुट्याउन नसकेपछि ऊ पिलपिल रोयो । अनि म नि रोएँ ।  

पचासौँ वर्ष राजनीतिको केन्द्रमा बसेर एउटै गतिलो छाप छोड्न नसकेका यी यस्ता ‘महानायक’ हुन्, जसले सयौँ फिलिम खेलेको छ, तर न अभिनय गतिलो छ, न कुनै फिलिम नाउँ लिन लायक नै छ ।

चुनावपछि पनि केही नयाँ, नौला, नवीन नहुने प्रस्टै छ । कहीँ यस्तो पनि हुन्छ, जहाँका ग्राहकलाई सडेगलेको दुर्गन्धित खानाको विकल्प छैन । ग्राहकलाई सकस पनि कस्तो, मेन्यूमा छ– बासी तथा सडेगलेको, आलोकाँचो कचल्टिएको, आत्ममुग्ध मैमत्त, भ्रष्टाचारी, दुराचारी । 

१) अलिकति राम्रो २) राम्रो ३) अति राम्रो । यी बीचबाट कोही एउटा छनौट गर्न पाइँदैन भने त्यो चुनाव मुला के चुनाव ?

१) अलिकति नराम्रो २) नराम्रो ३) अति नराम्रो । यी बीचबाट नराम्रै मात्र छनौट गर्नुपर्ने बाध्यात्मक प्रणालीको नाउँ कसरी चुनाव भयो ? यस्तो झुरेस्ट चुनावलाई चुनौती दिने नयाँ चुनावी प्रणाली के होला, चुनाव गरौँ ।

चुनावको संघार मतदाता फकाउने समय हो । तर, अब त समय यस्तो आयो कि उम्मेदवारहरू उल्टै मतदाता–करदाताहरूलाई थर्काउँछन् बा ! जातीय, क्षेत्रीय, लैंगिक, धार्मिक विष फ्याँक्नेहरूबाट अमृतपानको आशा राख्नु आश्चर्य हो । धाक र धम्कीको पिरो धुवाँ फ्याँकिरहने यी उम्मेदवार को हुन् ? संघीयता भनेको छ, शक्तिमान स्थानीय तह छ तर माथिबाटै जहिल्यै आदेश, निर्देशन, कारबाहीको फर्मान जारी गर्ने यी को हुन् ? 

जहानियाँ राणाविरुद्ध लडेको पार्टीको मुली अब जहान राणालाई पहिलो महिला प्रधानमन्त्री बनाउन चाहन्छ । वंशाणुगत शासनविरुद्ध युद्ध लडेको भन्ने पार्टीको मुली अब आफ्नै वंश, सन्तान, दरसन्तानबाहेक अरु देख्नै नसक्ने भएको छ ।  दुई–दुई चोटि संसद्को शिर झुकाउने कमरेड मैमत्तको अभिमान र अहंकारको प्रशंसामा लेख्न शब्दकोशमा शब्दै छैन । माधव नेपाल, रामचन्द्र पौडेल, झलनाथ, कमल थापा, महन्थ ठाकुरहरूको के कुरा गर्ने, यिनीहरूसँग कुनै राजनीतिक ह्याउ छैन, यिनीहरू ढ्याउ र म्याउँ गर्न मात्र जन्मेका हुन् । 

पचासौँ वर्ष राजनीतिको केन्द्रमा बसेर एउटै गतिलो छाप छोड्न नसकेका यी यस्ता ‘महानायक’ हुन्, जसले सयौँ फिलिम खेलेको छ, तर न अभिनय गतिलो छ, न कुनै फिलिम नाउँ लिन लायक नै छ । खैर, यो देशै यस्तै रहेछ औसतभन्दा त...लकाहरू नै हर क्षेत्रमा सदाबहार प्रभावशाली हुन्छन् । प्रतिभाशाली नभई प्रभावशाली भइरहने देश, मेरो देश ।  

स्वार्थी जनता भएको ठाउँमा नेता चाहिँ खतरै आइदिनुपर्ने, कसरी होला र ? 

सय वर्षअघि सती प्रथा, दास प्रथा अन्त्य भयो भनियो । तर, टोलटोलमा दासहरूको झण्डा र झुण्डको कुनै कमी छैन । चुनावको मुखमा घरघरमा आउने नेतालाई प्रश्न सोध्न कोही तयार छैन, उल्टै फूलमाला पहिराएर धुपबत्ती बालेर जयजयकार गरिदिइरहेछन् । कार्यकर्तालाई दास भन्ठान्ने नेताहरू शुभेच्छुक मात्र हैन, सब नागरिकलाई दास ठानिरहेछन् । 

उम्मेदवारहरूमा विनम्रता, करुणा, क्षमा, स्वीकारभाव, सेवा, इमान, प्रतिबद्धताको अंश मात्र भए पनि होस् न । तर, यहाँ त उम्मेदवारहरूको बोलीवचन–व्यवहारमा अहंकार, दम्भ, घमण्डको तीनपत्र मोसो मात्र देखिन्छ । चुनाव जित्न अर्बाैं खर्च गर्ने उम्मेदवारले जितेपछि त्यो पैसा ब्याज, स्याज, प्याजसहित फिर्ता ल्याउन लागिपर्छ, राम्ररी कामै गर्दैन, यति पनि नबुझी हामी कसरी उनीहरुलाई नै मत दिन्छौँ ? पैसा लिऊँ, कोसेली लिऊँ कि, तर मतै त नदिऊँ न हो मतदाताज्यू। 

जसले पटकपटक पद पाउँदा भ्रष्टाचारबाहेक केही गरेन, उसले केही गतिलो गर्ला भनेर पत्याउनेहरूको बीचमा बाँच्नु परिरहेछ, मलाई । बाँच्नै मुस्किल छ यहाँ मलाई, तिमी हाँस्ने कुरा गर्छाै । 

सपना र योजनाशून्य उम्मेदवारले चुनावलाई आशा र उत्साहशून्य बनाएका छन् । चुनावको मुखमा समेत मतदातालाई माया गरेको अभिनय नै नगर्नेले जितेपछि त गर्ने पनि अभिनय मात्र न हो ।  फेरि कोही नयाँ हुँ, नयाँ गर्छु भन्दै भटाभट आएका छन् । तिनमा राजनीतिप्रति रौद्र भाव त छ तर भरोसा गरिहाल्ने वातावरण अझै छैन । रुटिन निस्केपछि मात्र परीक्षाको तयारी गर्ने हडबडे विद्यार्थी जसरी तिनमा निरन्तर खटिने शक्ति दैखिँदैन । चुनावी परीक्षा दिनुअघि र पछि तिनले लगातार धैर्य, लगन, अनुशासनको परीक्षा पास गर्नु जसरी छ । नेपाली मतदाताले कुहेका आलुहरूको विकल्प नखोजेको हैन । तर, वैकल्पिक भनिनेहरू पुराना दलभन्दा ठग बनेर निस्केपछि मतदाता मःमतिरै लाग्ने सम्भावना बढी छ । 

एकपल्टको चुनावी हारले नै आत्तिने उम्मेदवारले हारेकै राम्रो । जितेमा ऊ झन् छिटो मात्तिने सम्भावना उत्तिकै हुन्छ । चुनाव हारेको भोलिपल्टै मतदातालाई गालीगलौज गर्न थाल्नेको पसलमा को ग्राहक छिरोस् ! साइनबोर्ड बदलिरहने पसलेले देशको मुहार बदल्छ ? विधान मिचिरहने नेताले संविधान मिच्दैन ?  

विद्रोही र बागी, स्वतन्त्र र अटेरी । यस्ता उम्मेदवारीप्रति मेरो सम्मान छ । नमागेरै म उहाँहरूलाई उपदेश दिन्छु । चुनाव हार्नुभयो भने गालीगलौजमा नउत्रिनुस् । नागरिकको दुःख–सुखमा सँगै रहेर निरन्तर खटिनुस् । पहिला प्रेसर ग्रुपका रूपमा पहिचान बलियो बनाउनुस् अनि पार्टीका रूपमा तपाईंको सामर्थ्य कसैले खोस्न सक्नेछैन । 

खराब काम गरेर चुनावसम्म जान त १० वर्ष कुर्नुपरेको इतिहास छ भने असल काम गरेर चुनावसम्म पुगेर सफलता हासिल गर्न १० महिना–दिनले पुग्दैन । उसै पनि खराबभन्दा असल कर्मको प्रभावको बाटो लामो हुन्छ । र, प्रभावकारी पनि ।

हामी चुनावको मुखमा छौँ । मेरो गनगन अझै सकिएको छैन । म भन्छु, अब सारा मतदाता नेता बन्नुपर्छ । नेता जस्तो बन्न सक्नुपर्छ । मतदाता सब नेता जस्तो बनेका दिन म आशावादी हुनेछु । मेरो अनुरोध छ, सबै मतदाता नेता बनौँ । ढाँँटौँ । ढाँट्नु ढाँटौँ । सकारात्मक नतिजाका लागि गरिने खराब काम पनि असल कर्म हो भनेर उसै पनि शास्त्रमा लेखिएकै छ । ढाँटौँ ।

मतदान गोप्य हुन्छ भन्ने हामीले भुल्यौँ कि पत्याएनौँ ? कसैले पनि मतदान स्थल खिचिरहेको हुँदैन र पाउँदैन । अनि गोप्य रूपमा गरिने कर्म त मनले खाएकोलाई, राजीखुसी नै हुनुपर्यो नि । माया जोसँग बसे पनि वीर्यदानको कर्म राजीखुसीमै गोप्यतामा हुन्छ, उसरी नै मतदान मनले खाएकोलाई हुनुपर्छ । र, मतदान गोप्य, अति गोप्य नै हुन्छ । त्यसैले मत दिन्छु सबैलाई भने पनि मत एक जना यस्तो उम्मेदवारलाई दिऊँ जसप्रति तपाईंलाई भरोसा छ । 

उम्मेदवार आफन्त हो, आफ्नो पुर्खा–परिवारको पार्टी हो भनेर मनले खराब भनेकोलाई मत किन दिने ? मान्छे त राम्रै हो, हार्नेलाई दिएर मत किन खेर फाल्ने ? यस्तै भनेर हामीले हर चुनावमा मत खेर फालिरहेछौँ । जितोस् वा हारोस्, आफ्नो अमूल्य मत खराब लागेको पात्रले पाउनु त भएन नि । राम्रो पात्रले राम्रै भोट ल्याएर हार्यो भने पनि राम्रै हुन्छ त । जमानत जफत हुनुपर्ने भ्रष्ट, दुष्ट, मैमत्तहरूको हो । तर हामी सादगी, त्यागी, बागी पात्रहरूलाई रुवाउँछौँ । र, मलाई भन्न कर लाग्छ -चुनाव ‘चोर’हरुलाई चाबी सुम्पिने चाड हो । 

चुनाव ‘चोर’हरूलाई चाबी सुम्पिने चाड हुनु हुँदैन । यो त ‘चोर’हरूबाट चाबी खोस्ने चाड पो हो । हामीलाई आफ्नो सानोभन्दा सानो सामानको कति माया लाग्छ ? हामी आफ्नो घरको–दराजको चाबी जो पायो उसलाई बुझाउँछौँ ? मीठामीठा गफ दियो भन्दैमा दुई दिन आएको पाहुनालाई घरको चाबी दिन्छौँ ? अनि आफ्नो पालिका आफ्नै त्यत्रो स्रोत, साधन, जिम्मेवारी कसरी जो पायो उसलाई सुम्पिने ? सामान हरायो भने ‘चोर’लाई जानाजानी चाबी दिने मालिकको दोष हैन र ? 

विद्रोही र बागी, स्वतन्त्र र अटेरी । यस्ता उम्मेदवारीप्रति मेरो सम्मान छ । नमागेरै म उहाँहरूलाई उपदेश दिन्छु । चुनाव हार्नुभयो भने गालीगलौजमा नउत्रिनुस् । नागरिकको दुःख–सुखमा सँगै रहेर निरन्तर खटिनुस् । पहिला प्रेसर ग्रुपका रूपमा पहिचान बलियो बनाउनुस् अनि पार्टीका रूपमा तपाईंको सामर्थ्य ​ कसैले खोस्न सक्नेछैन । 

म कठोरतापूर्वक भन्छु, चुनाव नसुध्री केही पनि सुध्रिन्न । मतदानलाई हल्का रुपमा लिइन्जेल हामीले पाउने भनेकै तीन थोक मात्र हो- दुःख, दुःख र दुःख ।     

यो स्थानीय सरकार भनेको स्वायत्त सरकार हो । शक्तिशाली सरकार हो । आफ्नो पालिका कस्तो बनाउने, सर्वाधिकार पालिकालाई नै छ । हामी पछि पर्यौँ भनेर ‘माथि’कासँग गनगन गर्नलाई यो एकात्मक नेपाल होइन । संघीय नेपाल हो ।  

पालिका बिग्रेभत्केमा माथिकाले कुनै जिम्मा लिनुपर्दैन भने पालिकाको माली को बन्ने भनेर माथिकाले कसरी उर्दी दिन पाउँछ ? उर्दी जति सब धरधरी उधारौँ । लोकतन्त्रमा उर्दी जारी गर्ने यी नेता हुन् कि संकटकालका बर्दीधारीे ? 

माथिका नेताहरुलाई पैसा बुझाएर टिकट पाउनेहरुको पैसा मज्जाले बुझ्नुस् अनि उसलाई हराएर विवेकको पाठ सिकाउनुस् । माथिका मान्छेको आदेशपालकलाई मतदाताले किन टेर्ने ? मतदाताले बुझ्नुपर्ने कुरा के हो भने जो माथिको आदेशपालक बन्छ उसले जित्यो भने उसले अनुरोध हैन, आदेशकै भाषा बोल्छ । 

जो सक्षम छ, जो सृजनशील छ, जो सक्रिय छ, जो शालीन छ, जो सांस्कृतिकचेतयुक्त छ, जो वैचारिक छ, जो विज्ञहरूका सल्लाह सुन्छ, जसले अवसर पाउँदा पहिले पनि राम्रो काम गर्यो, उसलाई छान्ने । 

योग्य उम्मेदवार जिताएर वरपरका पालिका अघि बढ्लान्, आफू अक्षम मालीको फेला परेर रोएरै बस्नुपर्ला नि फेरि !

‘नेताहरूले देश बर्बादै पारे । नेताहरूले देश लुटे ।’ यस्तो मात्रै भनिरहनुभएको छ भने अलिकति आत्मकेन्द्री हुनुस् । ‘देश’को ठाउँमा ‘पालिका’ राख्नुस् । संघीयतामा कुनै पालिका बर्बाद हुन सक्छन्, कुनै पालिका गज्जप । तपाईंले देशै बर्बादै पारे भनेको सुनेर राम्रो पालिकाका नागरिकले भन्न सक्छन्— आफ्नो पालिका झुरेस्ट भयो भन्दैमा देशै बर्बाद भयो भन्नी ? हामी देश हैन र, हामी त ठीकठाक छम् त !

लोकतन्त्रमा हामी नागरिक सर्वशक्तिमान हुन्छौँ । किनकि हामीसँग पास/फेल गराउने सामर्थ्य   छ । 

प्रत्येक नागरिकले आफ्नो शक्ति बुझ्न जरुरी छ । हाम्रो विवेक नै राजनीतिमा प्रतिविम्बित हुने हो । हामी नै लोभी र स्वार्थी भइदिँदा नेता पनि त्यस्तै चुनिन्छ, अनि हामीलाई ज्वरो आउँछ । खराब खाना सेवन गरेपछि हामी बिरामी पर्नु कुन अनौठो भयो त ? सडेगलेको फोहोर खाइरहेपछि बिरामी परियो भनेर रोइकराई गर्नुको अर्थ पनि छैन ।

खराबको कुुरा धेरै गरियो । खराब कसरी चिन्ने त ? साथी चिन्ने आपत्मा हो भनेझैँ आपत्मा ऊ कहाँ थियो ? आपत्‌विपत्‌मा कस्तो व्यवहार देखायो ? कुर्सीमा पुगेपछि उसले कस्तो काम गर्यो ? कुर्सी पाउन ऊ कति कति खराब कर्म गरिरहेछ ? यतातिर विचार गर्नुपर्छ ।  

यो चुनावमा हामी भ्युटावर बनाउनुभन्दा पुस्तकालय खोलौँ, पुस्तकालय राम्ररी चलाऔँ भन्छौँ कि भन्दैनौँ ? स्कुलमा, कलेजमा दलीय भागबन्डा नगरौँ भन्छौँ कि भन्दैनौँ ? बलात्कारीलाई कारबाही गर्न दबाब दिन्छौँ कि चुप बस्छौँ कि बलात्कारीकै पक्ष लिन्छौँ ? जातीय अहंकारमा तपाईं कहाँ उभिनुहुन्छ ? 

पानीका मूल सुक्ने गरी, पुरिने गरी डोजर चलाउँछौँ कि चलाउँदैनौँ ? सबैभन्दा पिँधमा पारिएको वर्गलाई सजिलो हुने गरी नीति–कार्यक्रम ल्याउन भन्छौँ कि भन्दैनौँ ? सानोभन्दा सानो समस्यामा उपचार गर्न गाउँ–जिल्ला–देशबाहिर जानुपर्ने अवस्था छ, गाउँमै राम्रो स्वास्थ्यसेवा चाहियो भन्छौँ कि भन्दैनौँ ? 

जग्गाजमिन बाँझो नराखौँ भन्छौँ कि भन्दैनौँ ? खेतापाती गर्नेलाई सम्मानजनक सुविधा, इज्जत, सहुलियत दिनुपर्छ भन्छौँ कि भन्दैनौँ ? नदीनाला, जङ्गल, ताल, पोखरी, झरना, चौर, चौपारी कसरी जोगाउनुहुन्छ भनेर सोध्छौँ कि सोध्दैनौँ ? स्थानीय रहनसहन, भाषा, भेष, कला, संस्कृति, साहित्य कसरी जोगाउनुहुन्छ भनेर सोध्छौँ कि सोध्दैनौँ ? पालिकामा दासहरूको संख्या कम होस् भन्नका लागि बौद्धिक कर्म, अध्ययन, अनुसन्धानलाई कसरी प्रवद्र्धन गर्नुहुन्छ भनेर सोध्छौँ कि सोध्दैनौँ ? हरेक हर–हिसाब माग्छौँ कि माग्दैनौँ ? 

मतदाताज्यू, आफ्नो शक्ति चिनौँ, शोकबाट मुक्त होऔँ । फोहोरपेटिकामा खसाल्नुपर्ने कसिंगरलाई मतपेटिकामा नखसालौँ ।

भोट माग्न हिँडिरहेको उम्मेदवार लोकसेवा आयोगमा अन्तर्वार्ता दिन हिँडिरहेको उम्मेदवार जसरी डराएको, सचेत भएको, तयारी गरेको हुनुपर्ने हो । तर, हामी उम्मेदवारलाई कुनै प्रश्न नै सोध्दैनौँ । ‘ला, यत्रो वर्ष अवसर पाएर पनि मैले केही गरिनँ, वाचा सब भुलेँ, मतदातासँग कसरी अनुहार देखाउनु, कसरी प्रश्न फेस गर्नु’ भनेर उम्मेदवार डराइरहेको हुनुपर्ने हो । तर यहाँ त मतदाताहरु नै राजालाई जसरी अनेक निजी विन्ती चढाइरहेका, जयजयकार गरिरहेका देखिन्छन् । स्वार्थी जनता भएको ठाउँमा नेता चाहिँ खतरै आइदिनुपर्ने, कसरी होला र ? 

संविधान, विधानमा नटेक्नेलाई आफ्नो घरमा पाइला टेक्नै लाज लाग्ने गरी प्रश्न गरेका छौँ ? आफूले आस्था राख्ने दल, त्यसको नेताले जतिसुकै खराब गरे पनि राम्रो ? कमिसनको चक्करमा खुला ठाउँ मासेर भूमाफिया बन्ने शासकलाई रेड कार्पेट ? सधैँका लागि रेड कार्ड दिनुपर्नेलाई रेड कार्पेट ओछ्याउने हामी मतदाता सन्चै त छौँ ?

जुन देशमा दलेहरूले आफूहरूले शक्ति प्रदर्शन गर्ने ठाउँ खुलामञ्च, टुँडिखेल, मैदान, तालतट, नदीकिनारहरू नै बाँकी राखेका छैनन्, दिनभर बाटो छेकेर सडकमा साँढे जसरी मैमत्त डुक्रिन्छन्, तिनीहरूबाट के आशा बाँकी छ र मत दिन्छौ यार ?  

प्रश्न खै हामीसँग ? नेताहरूले प्रश्न फेस नगरेको कति भयो ? 

काम गरीखान पनि नदिने, सधैँ बन्द, हड्ताल गर्ने दललाई चुनावमा पराजित गरेर बन्दै गरिदिने चेतावनी दिन्छौँ कि दिँदैनौँ ? सत्तामा हुँदा सिन्को पनि नभाँच्ने, सत्ताबाहिर हुँदा चाहिँ ठूल्ठूला कुरा गर्ने नेताहरूलाई ऐना देखाउँछौँ कि देखाउन्नौँ ? ५०/६० वर्षदेखि राजनीतिलाई पेवा बनाएका, पटकपटक मन्त्री, प्रधानमन्त्री भएका स्खलित नेताहरूलाई बाईबाई भन्छौँ कि अझै हाईहाई गर्छौँ ? 

लोभी–स्वार्थी पार्टी/नेतालाई सधैँ सत्तामा चढाउने पनि हामी, अनि देश बर्बादै भयो भनेर रुवाबासी गर्ने पनि हामी । नेताजीहरूबाट जवाफ नमाग्ने, उनीहरूबाट खालि आश्वासन र भाषण सुन्ने र यिनैमा ताली बजाउने नागरिक हुँदासम्म हाम्रो रोग निको हुँदैन । 

हामीले बुझ्नुपर्ने कुरा के हो भने, देशको रोगको उपचार हामी नागरिकसँगै छ । लोकतान्त्रिक व्यवस्थामा नागरिक जति शक्तिशाली कोही र केही छैन । अनि यति शक्तिशाली नागरिक सधैँ निरीह भएर बस्ने ? रुन्चेपिन्चे भएर बस्ने ? चम्चेहरुले घेरिएर बस्नेलाई चुनावबाट किन नचेताउने ? नातावाद, खातावाद, कृपावादबाट उठेकालाई किन नथेचार्ने ? 

मतदाताज्यू, आफ्नो शक्ति चिनौँ, शोकबाट मुक्त होऔँ । फोहोरपेटिकामा खसाल्नुपर्ने कसिंगरलाई मतपेटिकामा नखसालौँ ।  स्खलितहरूलाई जिताएर थप उत्तेजित नबनाऔँ । 

नोट : पीडा कम गर्न लेख्छु । तर समय यस्तो आयो, लेखेपछि झनै पीडा थपिन्छ । 

 

 

 
 


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x