विचार

सोच्‍नुस्, सोध्‍नुस्- अपांगता भएको कोही वञ्‍चित भयो कि ?

पार्वती केसी |
चैत १३, २०७७ १२:४८ बजे

मानव सभ्यताको विकास र विस्तारसँगै अनेकौँ चुनौती एवं प्रकोपले मनुष्य जगत्को अस्तित्वमाथि पटकपटक प्रश्न चिह्न तेस्र्याउने गरेको तथ्य हामीमा जगजाहेर नै छ । हाल विश्वलाई महामारीको अखडाका रूपमा परिणत गरेको कोभिड-१९ (कोरोना भाइरस)ले विश्वका अधिकांश राष्ट्रको समृद्ध भविष्य तहसनहस मात्र पारेको छैन, मानव जनसमुदायकै महत्‍वपूर्ण हिस्साका रूपमा रहेको र सामाजिक विभेदको सिकार बनेको अपांगता जगत्का व्यक्तिको जनजीवन झन् कष्टप्रद भएको छ । अझ त्यसमाथि पितृसत्ताले सधैँ दासत्वको बन्धनमा बाँध्न यत्न गरेको महिला र त्यसमा पनि अपांगता भएका महिलामा त झन् कोभिड-१९ अभिशाप साबित भएको छ ।

विश्व बैंक, विश्व स्वास्थ्य संगठनलगायतका निकायको अनुसन्धानात्मक प्रतिवेदनले औँल्याएको तथ्यांक विश्लेषण गर्दा प्रत्येक पाँच जना महिलामध्ये एक महिलामा कुनै न कुनै प्रकृतिको अपांगता रहेको पाइएको छ । जसमध्ये तीन चौथाइ अपांगता नेपालजस्ता विकासोन्मुख मुलुकका महिलामा रहेको अध्ययनको निचोड छ । यस तथ्यलाई हृदयंगम गर्दा चेतनाको स्तर कमजोर भएका, गरिबीले पिसिएका चेतनाको अभावले थिचिएका र आधारभूत स्वास्थ्य सेवाको पहुँचको अभाव रहेका मुलुकमा अपांगताले एकाधिकारी अधिनायकत्व जमाएको पुष्टि हुन्छ । ती मुलुकका अपांगता भएका महिलालाई हाल वैश्विक आतंककारी महामारीका रूपमा रहेको कोरोना भाइरसले थप प्रताडित बनाएको कुरा मध्याह्नको रविसरि छर्लंग छ । 


२०१९ डिसेम्बरदेखि वुहानलाई मुहान बनाएर उत्पत्ति भएको कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न २०७६ चैत ११ देखि नेपाल सरकारले मुलुकमा बन्दाबन्दीको कार्यक्रम कार्यान्वयन गर्‍यो । द्रुत गतिमा परीक्षण र शंकास्पद एवं लामो दूरीबाट यात्रा गरेका व्यक्तिलाई क्वारेन्टाइनमा राख्‍ने बन्दोबस्त मिलाइयो । अपांगता भएका महिला पनि अन्य व्यक्तिसरह बन्दाबन्दीको पालना गर्दै क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्‍न थाले । यस क्रममा झेल्नुपरेका अनेकौँ समस्याले अपांगता भएका महिलामा विविध किसिमका प्रभाव देखिन थाल्यो । 

कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि व्यवस्थित गरिएको क्वारेन्टिनमा अपांगता भएका महिलामैत्री भौतिक एवं सञ्चार सेवासुविधाको अपर्याप्तताका कारण अनेकौँ जटिल, अवरोधजन्य समस्या एवं विभेदजन्य प्रवृत्तिसँग महिलाहरू पौँठेजोरी खेल्दै अगाडि बढ्नुपर्‍यो । अपांगतामैत्री शौचालयको अभावमा दिसापिसाब गर्नेदेखि वैयक्तिक सरसफाइ गर्ने कार्यमा समस्याका पर्खाल खडा भए । त्यसमाथि क्वारेन्टिनका कर्मचारीको विभेदकारी चिन्तन र अझ अपांगता भएका दलित महिलामाथिको बहिष्करणले मानसिक रूपमै विचलन देखापर्न थाल्यो ।

अपांगता भएका महिलाको मानसिक स्वास्थ्य र मनोवैज्ञानिक चिन्तन पद्धति कमजोर भयो । मानसिक स्वास्थ्यमा परेको प्रतिकूल असरले आत्मविश्वास खस्कियो । आत्मसम्मानमा ठेस पर्न गई भावनात्मक आघातले मन आहाल बन्‍न पुग्यो । चिन्तन शैलीमा नकारात्मकताको बढोत्तरी हुन गई आत्महत्याजस्तो कायर बाटो रोज्‍नसमेत पछाडि परेनन्, कतिपय अपांगता भएका महिला । 

सुरक्षित, मर्यादित र आत्मविश्वासी जीवन व्यतीत गर्न अपांगता भएका महिलाले अनेकौँ जटिलतासँग साक्षात्कार गर्नुपर्ने स्थिति छ ।

क्वारेन्टिनमा बसेका अपांगता भएका महिलामाथि कर्मचारी संयन्त्रका हर्ताकर्ता भनिने शैक्षिक खलनायकद्वारा भएका बलात्कार, बलात्कार प्रयास एवं यौन दुर्व्यवहारजन्य कुकृत्यले अपांगता भएका महिलाको मनोवैज्ञानिक सहनशीलतालाई थप कमजोर बनाउन थाल्यो । सांकेतिक सञ्चार पद्धतिको अभाव र दोभाषेको अभावले श्रवण अपांगता भएका महिलाको क्वारेन्टिन बसाइ नारकीय बसाइभन्दा कम रहेन । ह्विलचेयर नगुड्ने पहुँचविहीन भौतिक संरचनाले शारीरिक अपांगता भएका महिलाको आवागमनमा बाधा उत्पन्‍न गर्‍यो । भौतिक दूरी कायम गर्नुपर्ने विवशता र गाइडिङ ब्लकलगायतका पहुँचयुक्त संरचनाको अभावमा दृष्टिविहीन महिलाले भोग्‍नुपरेको परिस्थितिजन्य समस्याको कथाव्यथा कम कारुणिक छैन । त्यसमाथि मनोसामाजिक अपांगता भएका महिला थप हिंसाको सिकार हुनुपर्‍यो । 

पितृसत्तात्मक अहंले जकडिएको पुरुषप्रधान समाजमा महिलाहरू घरेलु हिंसाको सिकार बन्दै आएको तथ्य खोज्‍न लालटिन बालेर हिँडिरहनु जरुरी छैन । गाउँछिमेक र टोलसमुदायमा पुनरावृत्ति भइरहने यी घटना कोभिड-१९ को समयमा थप बढेर गएका छन् । अझ अपांगता भएका महिला अन्य महिलाको तुलनामा थप बढी घरेलु हिंसाको सिकार बन्‍नुपरेको छ । घरपरिवारकै सदस्यद्वारा लगाइने नानाथरीका लाञ्छना विभेदजन्य अभिव्यक्ति र शारीरिक एवं मानसिक दुर्व्यवहारले जीवनचर्या झन् दयनीय र कष्टप्रद भएको छ ।

गरिबीले पिल्सिएका अपांगता भएका महिलाहरू राहत सामग्री लिन जानसमेत नसक्ने र उपलब्ध राहतसमेत व्यक्तिगत लाचारीका कारण पाउन नसक्दा भोको पेटले रात गुजार्नुपर्ने दर्दनाक विवशता पनि कोभिड-१९ का कारण सिर्जना भएको अर्को पाटो हो । 

कोभिडका कारण सुरक्षित, मर्यादित र आत्मविश्वासी जीवन व्यतित गर्न अपांगता भएका महिलाले अनेकौँ जटिलतासँग साक्षात्कार गर्नुपर्ने स्थिति सिर्जना भएको छ । नियमित रूपमा औषधिको उपभोग गर्नुपर्ने अपांगता भएका महिलाका निम्ति त झन् कोभिडको सुरुवाती समय प्रलयका रूपमा देखापर्‍यो । आवश्यक औषधि प्राप्त गर्न कठिनाइ उत्पन्‍न भयो । स्पाइनल कर्ड इन्जुरी भएकादेखि दुर्घटनाका कारण दीर्घकालीन अशक्तताको समस्या झेलिरहेका महिला थप प्रताडित हुनुपर्‍यो । अपांगता भएका गर्भवती महिला पनि सुरक्षित मातृत्वको अधिकार उपभोग गर्न पाउनुपर्ने हकबाट वञ्चित रहे । 

गरिबीले पिल्सिएका अपांगता भएका महिलाहरू राहत सामग्री लिन जानसमेत नसक्ने र उपलब्ध राहतसमेत व्यक्तिगत लाचारीका कारण पाउन नसक्दा भोको पेटले रात गुजार्नुपर्ने दर्दनाक विवशता पनि कोभिड-१९ का कारण सिर्जना भएको अर्को पाटो हो ।

अपांगता र गरिबी अन्तरसम्बन्धित विषयवस्तु हुन् । कतिपयले यसलाई एकै सिक्काका दुई पाटाका रूपमा समेत व्याख्या गरेको पाइन्छ । जहाँ अपांगता हुन्छ, त्यहाँ गरिबी पनि अन्योन्याश्रित रूपमा जोडिएर आउने गर्छ । प्रायः अपांगता भएका महिलाको पारिवारिक आर्थिक स्थिति सबल हुन सकेको हँुदैन । फलतः सेवा तथा सुविधाको उपभोगमा स्वतः चुनौतीसँग जम्काभेट हुनुपर्छ । जस्तो, सिकाइ क्रियाकलापलाई लिऔँ । बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेका विद्यालय एवं शिक्षण संस्थाले पाठ्यक्रमले तोकेको समयमा पाठ्यपुस्तकको अध्यापन कार्य सकाउने उद्देश्यले इन्टरनेटमा आधारित भई दूरशिक्षा कार्यक्रम सञ्चालन गरे । तर, त्यसमा अपांगता भएका महिलाले प्रभावकारिताका साथ सहभागिता जनाउन भने नसकेको पाइयो । प्रविधिमा गर्नुपर्ने लगानीको अभावदेखि, पहुँचयुक्त सूचना तथा सञ्चार प्रविधि सञ्चालनसम्मको दक्षताको कमीका कारण शिक्षाको उज्यालो किरण प्राप्त गर्ने मौलिक हकबाट समेत कोभिड प्रभावित अपांगता भएका महिला वञ्चित हुनुपर्‍यो । यसले अपांगता भएका महिलाको तत्कालीन शैक्षिक उपलब्धि मापन प्रक्रियामा त कमजोर नतिजा दिन्छ, भविष्यमा समेत प्रतिस्पर्धी जनशक्ति बन्‍न व्यवधान उत्पन्‍न गर्ने खतरा त्यत्तिकै टड्कारो छ । फलतः अपांगता भएका महिलाको रोजगारी र जीवनस्तरको सवाल थप कमजोर हुने त होइन ? भन्‍ने गम्भीर प्रश्नचिह्न खडा भएको छ । 

अपांगतालाई मानव विविधताका रूपमा स्वीकार्न नसक्ने समाजका अपांगता भएका महिलाको जीवनस्तर कोभिड-१९ ले नराम्रोसँग प्रभावित पारेको कुरा उल्लिखित तथ्य तथा यथार्थबाट पुष्टि हुन्छ । तसर्थ अपांगता भएका महिलाको जीवनस्तरमा कोभिड-१९ ले पारेको प्रभाव न्यूनीकरणका निम्ति सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता टड्कारो छ ।

पितृसत्तात्मक अहंले जकडिएको पुरुषप्रधान समाजमा महिलाहरू घरेलु हिंसाको सिकार बन्दै आएको तथ्य खोज्‍न लालटिन बालेर हिँडिरहनु जरुरी छैन ।

मानसिक स्वास्थ्य सबल बनाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, लक्षित व्यक्तिहरूलाई मनोपरामर्श सेवा निःशुल्क र प्रभावकारी ढंगले प्रवाह गर्ने, सामाजिक पुनःस्थापनाको कार्यलाई द्रुत गतिमा अगाडि बढाउने, भौतिक तथा सञ्चार सेवासुविधालाई थप पहुँचयुक्त बनाउँदै अपांगता भएका महिलामैत्री सेवा प्रवाहको सुनिश्चितता गर्ने, दिगो विकास लक्ष्यको १० नम्बरको लक्ष्यअनुरूप अपांगता भएका व्यक्तिको अर्थपूर्ण सहभागिताका आधारमा सामाजिक एवं स्वास्थ्य कार्यक्रम सञ्चालित गर्नेलगायतका कार्यलाई तदारुकताका साथ अगाडि बढाई कोभिड-१९ ले अपांगता भएका महिलामा थोपरेका समस्या न्यूनीकरण गर्न सकिन्छ ।

यस्तै जनचेतनाको प्रभावकारी विस्तारमार्फत अपांगता भएका महिलामाथि गर्नुपर्ने व्यवहारबारे समाजलाई सही ढंगले प्रशिक्षण प्रदान गर्नाले समेत सो समाधान निराकरण हुनसक्छ । अपांगतालाई समस्याका रूपमा नलिई एक अधिकारमुखी अवधारणाका रूपमा विकास गरी अपांगता भएका महिलाको हकहित संरक्षणमा सम्बन्धित पक्षले बुलन्दताका साथ वकालत एवं पैरवी गर्नु आवश्यक देखिन्छ । अपांगता भएका महिलामाथि कोभिड-१९ ले पारेको प्रभावका विषयमा लगत संकलन र अनुसन्धान गरी सोको सही व्यवस्थापन गर्न आवश्यक पहलकदमी चाल्नाले अपांगता भएका महिलाको सामाजिकीकरण र सशक्तीकरणमा पक्कै सकारात्मक टेवा पुर्‍याउने अपेक्षा राख्‍न सकिन्छ । (दृष्टिविहीन केसीको यो लेख प्रयत्न नेपालले आयोजना गरेको निबन्ध प्रतियोगितामा छानिएको थियो ।) 


Author

थप समाचार
ad
x