विचार

चुनावी डकारका बाछिटामा तरंगित मत परिणाम

जगदीशराज बराल |
जेठ २, २०७९ ९:५२ बजे

मुलुक स्थानीय निर्वाचन २०७९ को मत परिणाममय छ, अनेकन् कोणबाट व्याख्या–विश्लेषण हुँदै छ । मतदाताहरूले आफूहरूप्रति गैरउत्तरदायी दल तथा उम्मेदवारलाई तह लगाउने माध्यम पनि हो, चुनाव । अनि जनताले मतपत्रको माध्यमबाट आफ्नो जिम्मेवारी विवेकपूर्ण तवरले निभाउने सहभागितामूलक औजार पनि हो, चुनाव ।

लोकतन्त्रमा चुनिएर शासनको बागडोर सम्हाल्न पाएपछि अग्रजहरूले स्थापित गरेको सिद्धान्त, विचार, आदर्श मूल्य मान्यतालाई तिलाञ्जलि दिएकै हुन् । तिनले हैसियत एवं हुकुमी प्रवृत्ति देखाउँदै विरासत कायम गर्ने लालसाले रातारात करोडपति हुन पाइने कुशासनको जग बसाउन लालायित हुने प्रवृत्ति नेपाली लोकतन्त्रको आवरणमा देखापर्छ । जसरी पनि चुनाव जित्न जे बोले पनि हुन्छ जे गरे पनि हुन्छ भन्ने मान्यता स्थापित भएको छ । चुनावी अभियान देश र जनताका ‘मुद्दा’ भन्दा ‘माहौल’को बोलवाला हुन्छ । 


निर्वाचन त्यो सम्भावित सर्त हो जहाँ मतदानमा सहभागी हुँदै मतदाताले मूल्य–मान्यताबाट विचलित नभएर सदाचार र समर्पण भएर उमेदवारले विजयी भएपछि देश तथा जनताका लागि काम गरून् भनेर विवेकपूर्ण सर्त व्यक्त गरेका हुन्छन । तर, जब उमेदवारले जितेपछि यी जनमनका स्वाभाविक सर्त बिर्सेर हैसियत बनाउनतिर लाग्छन् अनि मतदाता समाज पनि बिस्तारै यस्तै हैसियतको पछि लाग्न थाल्छन्, तब उम्मेदवार पनि मतदातालाई आफ्नो हैसियतको प्रदर्शन एवं बखान गर्दै निर्वाचन नतिजामा प्रभावित पार्नतिर लाग्छन् ।  

लोकतन्त्रले चुनावी माध्यमद्वारा सही राजनीतिक संस्कार भएको उम्मेदबार चयन गराएर यथार्थ खोजेको हुन्छ । सदाचारी उम्मेदवारलाई चयन गराएर इमानदारी चाहेको हुन्छ । यथार्थ र इमानदारीको प्रभावबाट नै मतदातामा पत्यार पार्न सकिन्छ । यसको अभावमा सिद्धान्त तथा विचारको लोकतन्त्र हैन कि हैकम उन्मुख चुनावीतन्त्र हाबी हुन्छ । दक्षिण एसियाली देशहरूलगायत अतिकम, अल्पविकसित देशहरूमा लागेको यो रोग नजानिँदो किसिमले विकसित देशहरूमा पनि सल्किँदै छ । त्यहीकारण हुनुपर्छ, विश्वमा लोकतन्त्रको मृत्युबारे बहस सुरु भएको छ ।          

चुनावी सभाका विवादित डकार
चुनावी पूर्वसन्ध्याका सभामा चितवन र डडेलधुरा जिल्लामा नेताबाट आएको अभिव्यक्ति चार वर्षअघि भारतीय आमचुनावताका उत्तर प्रदेशको अमिठी र रायबरेली जिल्लासँग जोडिएको सुलतानपुर जिल्ला र उत्तर प्रदेशकै लखनऊ सुनिएको थियो । भारतको उन्नाव जिल्ला चुनावी अभियानमा भारतीय नेताहरूले माहौल बनाउन जनतालाई घुक्र्याउने, दम्स्याउने, धम्क्याउने किसिमबाट व्यक्त मन्तव्यले विवाद उत्पन्न गरेको थियो ।

सुल्तानापुरको मुश्लिम बाहुल तुरवखानी गाउँमा भाजपाकी महिला तथा बालविकास मन्त्री मेनका गान्धीले अप्रिल १२, २०१९ को लोकसभा चुनावी अभियानमा भनेकी थिइन्, ‘म जित्दै छु, जनताकै मद्दतले र मायाले चुनाव जित्छु । तर मुश्लिमविना मैले जितेमा तब त मलाई धेरै राम्रो लाग्ने छैन, किनकि यति म भन्छु कि मेरो मन अमिलो हुनेछ । जब मुस्लिम कामका लागि आउँछन्, फेरि म सोच्छु कि हैन भैगो वास्ता नगर्नुस्, केही फरक पर्छ र ? आखिर नोकरीमा पनि त सौदाबाजी त हुन्छ नि ! मैले सही कुरा गरेको हो हैन ल भन्नुस त ? हामी सबै महात्मा गान्धीको छैंटौं सन्तान हौं भन्ने कुरा हैन जसले दिँदै जाने तर आफू चाहिँ चुनावमा हार खाँदै जाने ? तपाईंहरूको सहयोग पाए पनि नपाए पनि मेरो जित त हुन्छ । यो कुरा सबैतिर फैलाउनु पर्छ । मेरो कुरा त यहाँहरूले त बुझ्नुभयो होला नि ?’

अर्कोतर्फ १२ अप्रिलकै दिन उन्नावमा भाजपाकै साक्षी महाराजले पनि चुनावी सभामा भनेका थिए, ‘एउटा सन्यासी भिक्षा माग्न तपाईहरूको ढोकामा आउँछन्, तर तपाईहरूले सन्यासीको कुरा मानेर भिक्षा दिनु भएन भने घरको सबै पुण्य सौभाग्य खिचेर लानेछन् । त्यसको बदला पापको भारी दिएर जाने छन् । म धन सम्पत्ति जमिन माग्न आएको हैन ।’

दुवै अभिव्यक्ति विवादको घेरामा प¥यो । दुवैले घुमाउँरो तरिकाले मतदाता थक्र्याएका थिए । स्थानीय निर्वाचन प्रचार अभियानको सन्दर्भमा वैशाख २२ मा चितवनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र डडेलधुरा प्रधानमन्त्री पत्नी आरजु देउवाले मतदातालाई धम्क्याएको दृश्य सर्वत्र आलोचित बन्यो ।   

दाहालका शब्द थिए, ‘हँसिया–हथौडामा भोट हाल्दिनँ भन्नुभयो भने मलाई आशंकाले हेरेर गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँ–बायाँ गर्दिनँ, तर देश दुर्घटनामा पर्ने खतरा छ । त्यसको जवाफ यो गठबन्धनको विरोधमा भाषण गर्नेहरूले दिनुपर्नेछ ।’ चितवनमा कांगे्रसका मतदाताहरूले हँसिया हथौडामा भोट नहाल्ने भनी फैलाइएको हल्लाप्रति लक्षित गर्दै परोक्ष रूपमा भरतपुर मेयरमा आफ्नी छोरी रेणु दाहाललाई जसरी पनि जिताउनुपर्ने आसय प्रकट गरेका थिए ।

उता प्रधानमन्त्री पत्नी, कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा राणा डडेलधुरा सदरमुकाम अमरगढी नगरपालिकामा आयोजित चुनाव सभामा भनिन्, ‘जहाँ हाम्रो मेयर नै हुन्न भने यहाँ हामी किन पैसा पठाउँछौं ? कसले पैसा पठाउने ? पार्टी सिष्टम छ, पाँच दलको गठबन्धन छ, भोलि विकास बजेट आवश्यक पर्यो भने करुवावाला (बागी समूहको चुनाव चिह्न) को फोन कसले उठाउँछ ? कसले मान्छ, उनीहरूले भनेको ? कांग्रेसले जित्यो भने शेरबहादुर दाइ, आरजु भाउजूलाई फोन गरेर समस्या भन्न सक्नुहुन्छ तर करुवावालाको फोन कसले उठाउने ? उनीहरूलाई कसले पत्याउने ? कांग्रेसले उनीहरूले भनेर बजेट हाल्दैन, जहाँ कांग्रेसको मेयर हुँदैन त्यहाँ हामीले बजेट किन हाल्ने ? कांग्रेसलाई मत दिनुहोस्, विकास हामी गर्छौं.... ।’ राणाले सिँधै उम्मदेवारलाई थक्याइन् र मतदातालाई प्रभावित पार्न खोजिन् ।

अभिव्यक्तिको प्रतिरक्षा 
उताका मेनका, साक्षी तथा यताका आरजु र दाहालका भाष्यमा कुनै फरक थिएन । पछि निर्वाचनलाई प्रभावित पर्ने उद्देश्यले भाषणको आशयलाई बंग्याइएको टिकाटिप्पणी आए । मेनका–साक्षी वा प्रचण्ड–आरजु विरुद्ध प्रचारबाजी गरिएको आरोप लगाउन कुनै कसर बाँकी राखेनन् । आफ्नो गलत मनसाय नभएको, आफूले भन्दै नभनेको र मिडियाले पो गलत व्याख्या बिश्लेषण गरेका भन्दै आ–आफ्ना अभिव्यक्तिको प्रतिरक्षा पनि गरेकै थिए । 
यता पनि र उता पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेर कलाविहीन नाटकको मञ्चन पनि गरेकै हुन् । उता र यता पनि उही शैलीमा ‘सञ्चार माध्यमले पो अतिरञ्जित गरेर गलत व्याख्या गरेकै हुन्’ भनी उल्टै मिडियालाई दोषारोपण गरियो । अनि मध्य दिउँसोलाई रात पार्दै पानीमाथि ओभानो हुन खोजेकै हुन् ।

बजेटको आश वा त्रास
परोक्ष रूपमा धम्क्याएर वा प्रलोभन आशा देखाएर हैन मतदातालाई रिझाएर, पत्यारमा पारेर निर्वाचन जित्नुपर्छ  । बजेटको आश वा त्रास मतदातालाई दिनुको कुनै अर्थ थिएन । हिजो प्रधानमन्त्री हुँदा डा. बाबुरामले गोरखामा, प्रचण्डले चितवनमा, केपी ओलीले झापाको दमकमा जति बजेट ओइर्‍याए त्यो नेपालको तत्कालीन बजेटको झण्डैँ बीस अंश बराबरको थियो । 

पूर्व प्रमहरू गिरिजाप्रसादलाई र मनमोहनलाई एक पटक सुनसरी र मोरङका मतदाताले ‘खै त हजुरहरूले आफ्नो जिल्ला बनाउन मनग्गे बजेट नै हाल्नु भएन त ?’ भनेर जिज्ञाशा राख्दा उहाँहरूले ‘मेरो लागि सबै जिल्ला, चुनावी क्षेत्र र सबै जनता बराबर हुन्’ भनी एकै आशयका जवाफ दिनुभएको चर्चा पनि गरिन्छ । नेपालका ठूला अझ सत्ताधारी दलका नेताले बोलेका उपरोक्त विबादित कुराहरू हल्का रूपमा लिन सकिँदैन ।

अभिव्यक्तिपछिका बाछिटा 
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै घर वडा डडेलधुरा, गन्यापधुरा–१ मा करुवा चुनाव भएको चिन्ह विजयी भएको छ, रुख चिन्हलाई पराजित गर्दै । बागी–विद्रोही या नेपाली कांग्रेस (बीपी) ले ६७३ र रुखवाला ५४४ कांग्रेसलाई  पराजित गरिसकेका छन । यता देउवा निवास काठमाडौंकै बुढानिलकण्ठमा पनि कांग्रेस पराजित भएको छ । एउटा सेलीब्रेटीले मत परिणाममा अग्रता कायम गरेर स्थापित दलहरू र प्रचलित संघप्य व्यवस्थाका नाइकेहरूलाई खुई खुई पारिएको अवस्था छ ।

यस्ता असहज कुराहरू सुन्दा त रमाइलो लाग्ला या अरु प्रतिस्पर्धी दललाई विरोध गर्ने मसला मिल्ला । तर, यो मामिला यतिमा सीमित रहन्न, यसबाट मतदातालाई आफ्नै दलको मात्र पछि लाग्ने गरी दास ठान्ने–बनाउने प्रवृति झाङ्गिने, अरु विचारको अपहेलना गर्ने, हैसियत प्रर्दशन गर्दै कसैलाई लाखा र पाखा पार्ने, जनताले तिरेको करलाई आफ्नै सम्पत्ति ठानेर विकास, प्रगति र वितरणमा असमानता र अन्यायोचितको सिर्जना हुन जाने, क्षेत्र, राज्यलाई आफ्नो स्वार्थका लागि जानजान पक्षपाती बनाउने, समाज र देशमा विभाजन, विखण्डन र बिद्रोह र हिंसा हुन सक्ने  र अन्त्यमा व्यवस्था नै समाप्त हुने छ । 

गृहसचिव तथा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, एसपी, डिएसपीहरू, निर्वाचन सुरक्षा संयन्त्र र स्वयं निर्वाचन निकाय एवं पदाधिकारीहरू अझ बढी सर्तक सावधान भएर, निर्वाचन सुरक्षा नीतिमा थप बुँदा पनि थपेका थिए होलान । हतार–हतार थप सुरक्षा बैठक राखेर गम्भीर छलफल पनि चलाए होलान् ।

सत्ताधारी गठबन्धनको गोटी बन्नुपर्ने पो हो कि भन्न पिरलोमा पनि बाँचे होलान् । ‘कुसल व्यवस्थापकले पेशागत मर्यादा, आचरण, सीप, कुशलता देखाएर निष्पक्ष र धाँधलीरहित चुनाव गराउने छन्’ भन्ने जनताको विश्वास र अपेक्षामा तुषारापात त हुने हैन भन्ने त्राशमा पनि परेका थिए होलान् । सत्ताधारी गठबन्धन जसरी पनि निर्वाचन जित्ने षड्यन्त्रमा लागेका छन् भन्ने चर्चाहरू त्यसबेला नै  सतहमा आइसकेका थिए ।  

आफूलाई राजनीतिको असल संस्कारमा राख्न नसक्नेले अभिव्यक्तिका अराजनीतिक डकार गर्दै अरुलाई प्रतिगमन वा कुसंस्कारी वा यस्तो उस्तो भनी होच्याउने नैतिकता गुमाएको हुन्छ नै । फेरि अर्को आमनिर्वाचन आउँदैछ । सबैलाई चेतना भया !



Author

जगदीशराज बराल

(लेखक नेपाल सरकारका पूर्व सहसचिव तथा पूर्वसिडिओ हुन् ।)


थप समाचार
ad
x