विचार

मतदान अधिकृतको लेख : यसकारण ढिला हुन्छ मतगणना

गणेश पौडेल |
जेठ २, २०७९ सोमबार १६:३२ बजे

स्थानीय निकायको निर्वाचन सकिएको तेस्रो दिन हुँदा प्रारम्भिक परिणामहरू आउन थालेका छन् । तर मतगणनाको गति एकदमै ढिलो भएको भन्ने चौतर्फी गुनासो सुनिँदै छ । प्रत्येक मतदान केन्द्रको कार्यस्थलमा मतदान अधिकृतको नेतृत्त्वमा कर्मचारीहरू खटिएका हुन्छन् । उनीहरूले मतदाता नामावलीमा मतदाताको नाम रुजु गर्ने, ठीक भएमा अगाडि बढाई नामावलीमा रेजा लगाउने, नङमा मसी लगाउने, मतपत्र दिने र मतदान गराई बाकसमा खसाल्न लगाउने काम गर्दछन् ।

त्यही स्थलमा उम्मेदवारका प्रतिनिधिहरू पनि बसेका हुन्छन्, उनीहरूले पनि मतदाता नामावलीमा नाम रुजु गर्ने र मतदान कार्य स्वतन्त्र र निष्पक्ष भइरहेको छ छैन निरन्तर अनुगमन गर्ने कार्य गर्छन् । यी दुवै पक्षको सहज सम्बन्ध र तालमेल मिलेको खण्डमा मतदान एकदमै सहज हुन्छ । यदि भएन भने तनाव त्यहीँबाट सुरु हुन्छ, मतगणनामा पनि यही नियम लागू हुन्छ ।


मतदान सकिएपछि मतगणना हुने ठाउँसम्म मतपेटिका ल्याइपु¥याउने कार्य पनि यी दुई पक्षबीचको राम्रो समझदारी र विश्वास भएमा सजिलो हुन्छ । गणनास्थलमा पुर्याइसकेपछि मतदान अधिकृतले मतबाकस निर्वाचन कार्यालयलाई हस्तान्तरण गर्छन् । मतपेटिका आइपुग्न नै धेरै समय लाग्दछ, आइपुगेका मतपेटिका बुझ्ने बुझाउने कार्यले झन् धेरै समय लिन्छ । निर्वाचन कार्यालयले यथोचित कर्मचारीको व्यवस्था गरी छिटो छरितो रूपले बाकस बुझ्ने व्यवस्था मिलाउने हो भने मतगणना कार्य चाँडो थाल्न सकिन्छ । तर ५–६ दिनदेखि निरन्तर दिनरात खटिएर मतदान सम्पन्न गराई मतपेटिका लिएर आइपुगेका मतदान अधिकृतलाई लम्बेतान लाइन लगाएर मध्यरातीसम्म मतपेटिका बुझ्ने बुझाउने प्रवृत्ति अहिले सम्म जस्ताको तस्तै देखिन्छ । यस कारणले निर्वाचनको दिन हम्मेसी मतगणना सुरु हुँदैन । 

राजनीतिक दल, उम्मेदवारका प्रतिनिधि र निर्वाचन अधिकृतबीच बैठक बसेर निर्वाचन आयोगले निर्धारण गरेको निर्देशिकाका आधारमा निश्चित सहमति बनाएर मतगणना कार्य सुरु गरिन्छ । यो कार्य गर्न नै धेरै समय लाग्ने गर्दछ । सामान्यतया मतदानको भोलिपल्ट बिहान राजनीतिक दलहरूको बैठक बसेपछि मात्र मतगणना सुरु हुन्छ ।

स्थानीय निर्वाचन निर्देशिका नियम १३१ मतगणना गर्ने कार्यविधिको बुँदा (२) र (३) मा मतपेटिका खोलेपछि ‘खन्याइएका मतपत्र पट्याइएको अवस्थाबाट सुरक्षित साथ खोली निर्वाचन चिन्ह भएको भाग घोप्ट्याएर चाङ बनाएर राख्नुपर्नेछ र सुविधा अनुसार पचास वा एकसयको ठेली बनाई धागो वा रबरले बाँधिराख्नुपर्नेछ ।’ ‘यसरी बनाइएका ठेली मतगणना अधिकारीले जिम्मामा लिइराख्नुपर्नेछ र प्रत्येक ठेलीबाट क्रमैसँग मतगणना गर्नुपर्नेछ,’ भन्ने व्यवस्था गरेको छ ।

त्यसैगरी नियम १३२ ले ‘निर्वाचन अधिकृत वा निजले खटाएको मतगणना कर्मचारीले मतगणना गर्दा उम्मेदवार वा निजको मतगणना प्रतिनिधिलाई मतपत्र देखाउनुपर्नेछ । त्यस्तो मतपत्र कुनै पनि अवस्थामा निजलाई छुन वा समाउन दिनु हुँदैन ।’ ‘मतगणना प्रतिनिधिलाई मतगणना हुने स्थानमा मतपत्र देखिने गरी अलग्गै बस्ने व्यवस्था मिलाउनुपर्नेछ ।' भन्ने व्यवस्था गरिएको छ ।

आपसी सम्मान र विश्वासको वातावरण भएमा तारजालीको पनि आवश्यकता पर्दैन, मतगणनाको गति पनि तीव्र हुनेछ ।

मतगणना स्थलमा राजनीतिक दलका प्रतिनिधि र कर्मचारीहरू आमनेसामने रहेर मतगणना गरिन्छ । तर, विगतका निर्वाचनमा मतगणना गर्दा केही ठाउँमा दलका प्रतिनिधिले मतपेटिका छुन खोज्ने, मतपत्र नै थुतेर च्यात्ने, नष्ट गर्ने आदि घटना भएकाले मतपत्रको सुरक्षामा विशेष व्यवस्था गर्न थालिएको छ । कतिपय ठाउँमा राजनीतिक दलका प्रतिनिधिलाई धेरै परको दुरीमा राखेर मतगणना गर्ने प्रबृत्ति देखिन्छ भने कतिपय ठाउँमा त गणनास्थलमा तारजालीले घेरेर प्रतिनिधिहरूलाई जाली बाहिर राखेर गणना गर्ने गरेको देखिन्छ ।

यो प्रवृत्तिले कर्मचारी र दलहरूबीच आपसी विश्वास र भरोसा नभएको देखाउँछ । कर्मचारीहरूले पनि आफ्नो राजनीतिक आस्थालाई एकातिर राखेर मतगणनाको कार्यलाई तटस्थ ढंगले गर्नुपर्नेमा कतिपय ठाउँमा पक्षपाती ढंगले काम गर्ने गरेको गुनासो पनि सुन्ने गरिन्छ । यी दुवै अवस्थाले मतगणना कार्य ढीला हुने, बारम्बार विवाद हुने र मतगणना कार्य रोकिने आदि हुनेगर्छ जसले मतगणनाको प्रकृयालाई नै धेरै ढिलो बनाइदिन्छ । 

म आफू मतदान अधिकृतको रूपमा खटिएको केन्द्रको अनुभवमा र अरू साथीहरूले पनि उल्लेख गरेका आधारमा पहिलेको तुलनामा यस पटकको निर्वाचनमा राजनीतिक दलहरू बीच आपसी समझदारी निकै राम्रो देखिएको छ । आपसमा सम्मान, सौहार्दपूर्ण र शिष्ट व्यवहार मात्र होइन कतिपय क्रियाकलापमा सबैको सामन्जस्य र तालमेल देखिएको छ । यसले मतगणना निकै तीब्र गतिमा होला भन्ने विश्वास लागेको थियो तर सोचेजसरी चाँडो गतिमा हुन सकिरहेको छैन।

२०७४ असारमा भएको स्थानीय तहको निर्वाचनमा मैंले २ वटा स्थानीय निकायमा मतगणना अधिकृतको रूपमा काम गर्ने जिम्मेवारी पाएको थिएँ । पहिले सुनसरीको दुहबी नगरपालिकामा मतगणना सम्पन्न गरियो, त्यसपछि धरान उपमहानगरपालिकाको स्थगित मतगणना सुचारु गर्ने जिम्मेवारी आइलाग्यो । दुहबीको मतगणना गर्दा पहिले निकै ढीला भयो किनकी मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नै एक–एक मतपत्र प्रतिनिधिलाई देखाएर मात्र गणना गर्ने निर्देशन थियो ।

२–४ सिफ्ट गणना गरिसकेपछि ‘यो गतिले गर्दा असाध्यै कछुवा गतिमा भयो सर्टिङ गरेर गणना गरौं’ भनेर राजनीतिक दलहरू सँग सहमति बनाइयो । मुख्य निर्वाचन अधिकृतलाई यो तरिका अपनाउन सहमत गराउन निकै व्याख्या गर्नुपरे तापनि केही समयपछि त्यो तरिका स्वीकृत भयो । त्यसपछि एउटै राजनीतिक दललाई मत हालेका मतपत्रहरू छुट्याएर प्रतिनिधिहरूलाई देखाइयो । त्यसपछि मिस्रित भएका मतहरू गणना गरियो । यसरी २ दिनमा दुहबीको मतगणना सम्पन्न गरियो।

यसै बीचमा गणक कर्मचारीहरूले पक्षपातपूर्ण रूपले काम गरेको भन्दै धरान नगरपालिकाको मतगणनामा विवाद भयो र मतगणना रोकियो । त्यहीबेला भरतपुर काण्ड पनि मच्चिएपछि विवाद झन् झन् चर्कियो । मतगणना सुचारू गर्न पुरानो कर्मचारीको सेटलाई पुरै हटाएर नयाँ कर्मचारी ल्याइयो जसमा संयोगवश म पनि परेको थिएँ । धरानमा पनि उही ढिलो गति हुने निश्चित थियो । हामीले यहाँ पनि त्यही रणनीति अपनायौं । मतगणना रोकिएर राजनीतिक दलहरू पनि तनावमै थिए, निर्वाचन आयोगलाई पनि सकेसम्म चाँडो गणना सक्ने हतारो थियो । सबैलाई मान्य हुने र निष्पक्ष रूपमा मतगणना हुनेमा राजनीतिक दलका प्रतिनिधिहरू विश्वस्त भैसकेपछि हाम्रो प्रस्तावलाई वहाँहरूले सजिलै स्वीकार्नुभयो । मुख्य निर्वाचन अधिकृतले पनि पहिलेको भन्दा चाँडै स्वीकृति दिनुभयो यसरी मतगणनालाई सुचारू गरियो । सुचारु भएको १–२ दिनमा नै गणना पनि सकियो।

मतगणनाको अध्यावधिक विवरण प्रकाशित गर्ने वा माइकिङ गर्ने व्यवस्था मिलाई चाँडो चाँडो अध्यावधिक विवरण प्रकाशित गर्दा पनि गणनास्थलमा तनाव कम हुन्छ भन्ने मेरो अनुभव छ । तर कतिपय गणनास्थलमा यी सबै कुरामा ध्यान दिएको पाइँदैन।

निर्वाचनमा खटिएर थाकेका मतदान अधिकृतलाई नै मतगणनामा खटाउँदा पनि अपेक्षित रूपमा मतगणनाले गति लिन नसकेको हुन सक्छ । मतगणना अधिकृत र गणकहरूलाई कसरी मतगणना गर्ने भन्ने छिटो छरितो तरिका सहितको अभिमुखीकरण गर्न पनि त्यत्तिकै जरूरी छ । र सबैभन्दा महत्वपूर्ण कुरा उम्मेदवार वा राजनीतिक दलका प्रतिनिधिहरू जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ त्यसैगरी मतगणना कर्मचारीले पनि तटस्थ भएर काम गर्नु पर्दछ । यी दुई पक्ष बीच आपसी सम्मान र विश्वासको वातावरण भएमा तारजालीको पनि आवश्यकता पर्दैन, मतगणनाको गति पनि तीव्र हुनेछ ।

(पौडेल स्थानीय निकाय निर्वाचनमा इटहरी स्थित महेन्द्र मा.वि. मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हुन् ।) [email protected]


Author

थप समाचार
x