पर्यटन

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजीराको पहिलो उडान

इकागज |
जेठ ४, २०७९ बुधवार १७:११ बजे

काठमाडौँ - कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य-पूर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नव निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवात गरेको हो । यसबाट मध्य-पुर्व र युरोप बसोबास गर्ने ठुलो समुदाय नेपालको दक्षिण-पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्नेछन् ।

यो नेपालमा जजीराको दोश्रो उडान सेवा हो जसले नेपालको तराई क्षेत्रमा बढ्दै गइरहेको यात्रुहरूको आवश्यकतालाई सम्बोधन गरेको छ । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा गत जेष्ठ १ गतेबाट उडान सेवा शुरु भएको थियो ।


नयाँ हवाइ रुटको बारेमा बोल्दै जजीरा एयरवेजका भ्वाइस प्रेसिडेन्ट रविन्द्रन भाराथनले भने, 'जजीरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँ/नयाँ गन्तव्यहरु थप्दै गइरहेको छ । यसले गर्दा कुवेत र मध्य(पूर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावन मार्ग) ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ । अब नेपाली एवम् विदेशी पर्यटकहरूलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ । यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ । '

राजधानीको एक होटेलमा नयाँ उडानको जनकारी दिदैं भाराथनले भने 'आजभन्दा ठीक १८ वर्ष पहिले, हामीले हाम्रो यात्रा सुरु गरेका थियौं। आज हामीसँग १७ विमान पुगेका छ। ४५ भन्दा बढी गन्तव्यहरु छन् । हामी साउदी अरबमा तीनवटा नयाँ गन्तव्यहरु सुरु गर्दैछौं।  फ्लाइटको आकार बढ्दै जाँदा, हाम्रो नेटवर्क विस्तार पनि बढ्दै जानेछ। हामीलाई नागरिक उड्डयन प्राधिकरणको भैरहवा एयरपोर्टका लागि उडान प्रस्ताव आयो जसमा हामीले कुनै हिचकिचाहट गरेनौं।' 

आरआर ग्रुप अफ कम्पनीजको भगिनी संस्था सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले भने, '७४ वर्षसम्म काठमाडौँमा मात्र भर परेको अन्तर्राष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठुलो परिवर्तन ल्याउनेछ, साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुऱ्याउनेछ । जसले समग्र नेपालकै आर्थिक विकासमा सरोकार राख्छ । यो हामी सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो' 

‘हामीले यात्रुहरुलाई ७५ हजार रुपैयाँ बस भाडा खर्च गरेर काठमाडौंबाट भैरहवा लगेर उडान शुरु गरेका हौं, सधैं काठमाडौंबाट यात्रु लगेर उडान गर्ने भन्ने हुँदैन । त्यसैले भैरहवाबाटै श्रम स्वीकृती दिने व्यवस्था गर्न सरकारसँग हाम्रो आग्रह छ ।’ उनले भने।

‘श्रम स्वीकृतका कार्यालय आउने समय निश्चित नहुने रहेछ,’ सिंहले भने, ‘त्यसैले विमानबाट भैरहवा लैजाने विषयमा टुंगो लागेको छैन् ।’ भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थललाई सफल बनाउन १ महिनासम्म काठमाडौंबाट यात्रु लगेर भए पनि उडान गर्न आफूहरु तयार भएको सिंह बताउछन्।

 

 

 


Author

थप समाचार
x