पर्यटन

नेपाल वायुसेवा निगमको अस्थायी महाप्रबन्धकमा कनिष्ठ

इकागज |
असार ९, २०७९ बिहीबार १६:२ बजे

काठमाडौँ- पर्यटन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धक जिम्मेवारी निगमका सबैभन्दा कनिष्ठ (नौ तह) का पाइलट दिपुराज ज्वार्चनलाई दिलाएका छन् । उनको सिफारिसमा आज बसेको मन्त्रिपरिषद् बैठकले निगमको अस्थायी महाप्रबन्धकको जिम्मेवारी दिएको हो ।

निगममा हाल १० तहका चार वरिष्ठ अधिकारीहरू छन् । तिनमा व्यापारिक विभागका जनक कालाखेती, गुणस्तरका निर्देशक विक्रम केसी, इन्जिनियरिङ विभागका प्रज्वल श्रेष्ठ र अपरेशन विभागका क्याप्टेन रविन्द्रकुमार शेरचन छन् ।


ज्वार्चनलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिने दौडधुपमा हिजो बिहान नयाँ दिल्ली जाने निगमको जहाज  (९एन–एकेएक्स ए–३२०) २ घण्टा १८ मिनेट ढिलो उडेको थियो । आज बिहान ८ बजे उड्नुपर्ने उक्त जहाज १०: ४० मात्रै उडेको थियो । 

उक्त जहाजमा क्याप्टेन च्वार्चनले उडाउने तय भएको थियो । ‘तर ज्वार्चनको दौडधुपका कारण अरु पाइलट खोज्ने क्रममा जहाज ढिलो उड्यो,’ निगम स्रोतले भन्यो, ‘सम्भवतः ज्वार्चनले आज जिम्मेवारी पाउँछन् ।’ 

जहाजमा एक सय ४४ यात्रु थिए । नयाँ दिल्ली उड्ने जहाज ढिलो हुँदा आन्तरिक र बाह्य गरी २२ वटा ‘कनेक्टिङ फ्लाइट’ हरु प्रभावित भएका थिए । 
निगममा प्रबन्ध निर्देशक १२ तहको हुने गर्छ । यो पदमा अक्सर पर्यटन मन्त्रीले चाहेका व्यक्तिलाई राजनीतिक नियुक्तिमार्फत पूर्ति गरिन्छ । यसअघि निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेललाई पर्यटन मन्त्री आलेले हटाएका थिए । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई मन्त्रिपरिषद्ले निलम्बन गरेपछि निगम मुखियाविहीन थियो ।

हाल निगममा ११ तहका कुनै पनि कर्मचारी छैनन् ।


Author

थप समाचार
x