पर्यटन

वायुसेवा निगमलाई करोडौं घाटा, विश्वसनीयतामा आँच

महाप्रबन्धकले जहाज नउडाउँदा उडान नै रद्द

इकागज |
असार १७, २०७९ शुक्रवार १४:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल वायुसेवा निगमले ठूलो जहाज आएपछि तीन वर्षको अवधिमा पहिलोपटक एउटा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । 

हिजो (बिहीबार) काठमाडौँबाट बेंगलोर र बेंगलोरबाट काठमाडौँ आउनुपर्ने आरए २२५ उडान नं. रहेको वाइडबडी जहाज पाइलट अभावमा उडान नै रद्द भएको हो । यसबाट निगमलाई करोड रुपैयाँभन्दा बढी घाटा भएको छ ।


निगम स्रोतका अनुसार न्यारोबडी जहाज उडाउने ११ जना पाइलटमध्ये ७ जनाको मासिक उडान अवधि सय घण्टा पुग्न लागेकाले उनीहरुले उडाउन पाएनन् । एकजनालाई कोभिड–१९ भएको छ भने अर्का एकजना पाइलट आफै निगमका महाप्रबन्धक दिपुराज ज्वार्चन छन् । बाँकी दुई पाइलटमध्ये एकजना दुबई गए भने अर्काे मलेसिया । उताबाट फर्केर आएपछि पाइलटहरुलाई १२ घण्टासम्म आराम गर्न दिनुपर्ने नियम छ ।

अन्तर्राष्ट्रिय नियमअनुसार कुनै पनि पाइलटले एक महिनामा मासिक सय घण्टाभन्दा बढी उडान गर्न पाउँदैन । निगमका सातजना पाइलटको गत जून महिनाको कूल उडान अवधि ९६, ९७ घण्टा पुगिसकेको थियो ।

निवर्तमान पर्यटन मन्त्री प्रेम आलेले महाप्रबन्धक बनाउने कसरत सुरु गरेदेखि ज्वार्चनले जहाज उडाउन छाड्दा निगमको अन्तर्राष्ट्रिय उडान तालिका भद्रगोल हुन पुगेको छ । 

हिजो आरए २२५ को उडान संख्या रहेको जहाजले काठमाडौंबाट एक सय ३९ यात्रु लिएर बेंगोलर जाने तयारीमा थियो, टिकट सबै काटिसकेका थिए । उताबाट सोही जहाज (आरए २२६) ले एक सय १२ यात्रु लिएर आउने कार्यक्रम थियो ।

उडान नै रद्द भएका कारण काठमाडौं र बैंगलोरका यात्रुहरुमध्ये कोहीलाई दोब्बर भाडा तिरेर अरुको जहाजबाट उडाएको थियो, कोहीलाई होटलमा राखेको थियो । तत्काल टिकट काट्दा दोब्बर भाडा तिर्नुपर्ने हुन्छ । ‘न्यारोबडीका क्याप्टेन दिपुराज नउड्दा निगमको सबै उडान तालिका भद्रगोल बन्न पुग्यो,’ निगमका एक अधिकारीले इकागजलाई भने, ‘उडाउने पाइलट नभएका कारण दुईवटा जहाज हिजो दिनभरि घाम तापेर बसे ।’

पाइलट नभएकै कारण सानो जहाज (न्यारोबडी) का यात्रुलाई ठूलो जहाज (वाइडबडी) मा राखेर हिजो दिल्ली जानुपरेको ती अधिकारीले बताए । १ सय ८७ यात्रु लिएर सवा एक बजे जानुपर्ने उक्त जहाज साँझ ७ बजे उडेको थियो । ‘सानो जहाजका यात्रुलाई ठूलो जहाजमा लैजानुपर्दा निगमलाई ठूलो घाटा हुन्छ,’ उनले भने, ‘घाटा त भयो नै, त्योभन्दा पनि ठूलो घाटा महाप्रबन्धक नउडेर निगमको छवि र विश्वसनीयतामा ठूलो क्षति पुग्यो ।’

यता महाप्रबन्धक ज्वार्चनले निगमको ६५ औं वार्षिकोत्सवको सुखद उपलक्ष्य भन्दै अधिकांश पत्रपत्रिकामा ‘महाप्रबन्धकको प्रतिबद्धता’ नामक विज्ञापन छपाएका छन् । हिजो उडान रद्द गराएका ज्वार्चनले हिजै छाप्न पठाएको र आज प्रकाशित भएको प्रतिबद्धता पत्रमा भनेका छन्, ‘निगमको उडानको विश्वसनीयता, नियमितता र सुरक्षित उडानको सूचांक निरन्तर प्रगति उन्मुख राखेर निगमसँग भएका विमानहरुको उडान घण्टा क्रमशः वृद्धि गर्दै अधिकतम उपयोगतर्फ प्रयास गरिनेछ ।’
 


Author

थप समाचार
x