पर्यटन

खड्कवार होमस्टेमा थारु संस्कृतिकाे टप्पा गीत र नाच

पर्यापर्यटन तथा पर्यटकका लागि खड्कवार क्षेत्र उत्कृष्ट गन्तव्य

इकागज |
साउन २१, २०७९ शनिवार १०:२९ बजे

राँझा- बाँकेको कोहलपुर नगरपालिका–१३ मा सञ्चालित खड्कवार नमूना सामुदायिक घरवास (होमस्टे) पाहुनाको पर्खाइमा रहेको छ । तीन वटा घरबाट करिब पाँच वर्षअघि सुरु गरिएको होमस्टे अहिले सात घरमा सञ्चालन भएको छ । कोहलपुर नजिकै रहेपनि प्रचारप्रसारको कमीले पाहुनाको आगमन न्यून रहेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रानाले बताए ।    
    
उनका अनुसार, खड्कवारलाई होमस्टेको माध्यमबाट नगर तथा सहरी क्षेत्रमा चिनाउन र यस ठाउँको विकास र समृद्धिका लागि होमस्टे सञ्चालन गरिएको हो । नजिकै बाँके निकुञ्जको हात्तीसार रहेको छ । हात्ती सफारीलाई उपयुक्त रहेकाले आन्तरिक पर्यापर्यटन तथा पर्यटकका लागि खड्कवार क्षैत्र उचित गन्तव्य बन्दै गएको छ ।    
    
थारु, जनजाति, बाहुन क्षेत्रीको मिश्रित बस्ती तथा संस्कृति रहेको खड्कवारमा आउने पाहुनालाई थारु संस्कृति र परम्परागत राप्ती भेगमा गाइने टप्पा गीत तथा नाच देखाइने गरिएको अध्यक्ष रानाले बताए । स्थानीय तरकारी, खाद्यान्न, कुखुरा तथा खसीको मात्रै प्रयोग गरिनु खड्कवार हामेस्टेको विशेषता हो ।    
    
कोभिड अघि धेरै चहलपहल हुने गरेको यहाँ अहिले आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् तर, जिल्लाका अन्य होमस्टेमा जस्तो पाहुनाको चहलपहलमा कमी रहेको होमस्टेका सञ्चालक यज्ञबहादुर रानाले बताए । उनले होमस्टे संस्कृति र प्रकृतिको संरक्षणमा समेत जुटेको जानकारी दिए । खड्कवार होमस्टेलाई संस्कृति र प्रकृतिको संरक्षणसँगै आर्थिकरुपमा सबल बनाउन आवश्यक समन्वय गर्दै आएको होमस्टे महासङ्घका केन्द्रीय महासचिव एवं बाँकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए ।    
    
बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन आफूहरू लागिपरेको भन्दै उनले भने, “निकुञ्जभित्र आवश्यक संरचना निर्माण भइसकेको अवस्थामा यहाँ धेरै पर्यटकलाई पाटेबाघलगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउन आह्वान गरिरहेका छौँ ।”    
    
होमस्टेमा घुम्न आउने पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्जमा घुम्न पैदल मार्ग, हात्ती सफारी, बास बस्न घरवास (होमस्टे), राप्ती नदीमा जलविहारलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयार छन् । कोहलपुर नगरपालिका–१३ का पूर्ववडाध्यक्ष ओमप्रकाश ओलीले यो होमस्टे बाँकेकै पर्यापर्यटनको प्रभावकारी गन्तव्य बन्दै गएको बताए । निकुञ्जमा पर्यटन प्रवर्द्धनसँगै १३ नंं लाई हरित वडाका रूपमा अगाडि बढाएर होमस्टेको प्रचार प्रसारमा आवश्यक समन्वय गर्नुपर्ने उनको भनाइ छ ।

कोहलपुर नगरपालिकाले सौर्य उर्जा खरिदमा सहयोग गरेको छ । यसैगरी सामुदायिक होमस्टे सांस्कृतिक भवन निर्माणमा पनि नगरपालिकाले सहयोग गरेको छ । रासस



Author

थप समाचार
x