पर्यटन

च्याङ्ग्रे पोखरी : जुन एकै दिन फरक तीन रङकाे देखिन्छ

पर्यटकीय सम्भावना बोकेको गन्तव्य भए पनि अझै ओझेलमा

इकागज |
साउन २६, २०७९ बिहीबार १५:९ बजे

भोजपुर । पौवादुङमा गाउँपालिकाको प्रमुख सौन्दर्यको रूपमा रहेको च्याङ्ग्रे पोखरी संरक्षण गर्न थालिएको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर आर्थिक स्रोतका रुपमा जोड्न दुई करोडभन्दा बढी लागतमा संरक्षण गर्न लागिएको हो । सिङ्गो गाउँपालिकाको आकर्षण केन्द्रको रूपमा रहेको यो पोखरीलाई जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य मान्न सकिन्छ । पोखरीको बृहत्तर विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर थप विकास गरिरहेको छ ।    
    
पोखरीको मौलिकतालाई यथावत राख्दै आधुनिक प्राविधि प्रयोग गरेर विकासको काम गरिरहेको गाउँपालिकाले जनाएको छ । क्रमागत योजनाअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा पोखरी थप विस्तार तथा संरक्षणको काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । सम्झौताअनुसार विसं २०८० को चैत महिनासम्म पूर्णपमा सम्पन्न गर्ने गरी रु दुई करोड १९ लाख ९९ हजार दुई सय २४ मा काम भइरहेको उनको भनाइ थियो । यो काम थालनी भएको दोस्रो वर्ष हो । हालसम्म ४० प्रतिशत काम सकिएको छ ।    
    
प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भने, “मन्त्रालयसँगको लागत साझेदारीमा पोखरी संरक्षणको काम भइरहेको छ । हालसम्म ४० प्रतिशत काम सकिएको छ । पोखरी संरक्षणको काम तीव्रगतिमा गरिरहेका छौँ । विसं २०८० सम्ममा सक्ने सम्झौता छ ।” धेरै मिहेनतपछि केन्द्रीय सरकारबाट बजेट विनियोजन भएपछि काम गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए। अहिले पोखरीलाई पर्खालले घेर्ने, वरिपरि पाँच मिटरको बगैँचा निर्माण गर्ने, बालबालिकाका लागि पार्क बनाउने, बीचमा पानीको फोहोरा (माउटेण्ड फल्स) राख्ने र बोटिङ गर्न सक्ने गरी संरचना बनाइने उनले बताए ।    
    
“गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्धरूपमा लागेका छौँ”, अध्यक्ष राईले भने, “यहाँका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको डिपिआर बनाइसकेका छौँ तर स्थानीय सरकारलाई आएको बजेटबाट काम गर्न निकै समस्या छ । त्यसैले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर काम गरिरहेका छौँ । यस्ता क्षेत्रको विकासले गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने हामीले आशा लिएका छौँ ।”    

गाउँपालिकाको अर्को पर्यटकीयस्थल अरुणडाँडाको विकासका लागि पनि काम भइरहेको गाउँपालिकाले जनाएको छ । यस्ता क्षेत्रको विकास तथा प्रचार–प्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई बढाउने लक्ष्य लिइएको छ ।    


यो पोखरी पर्यटकीय सम्भावना बोकेको गन्तव्य भए पनि ओझेलमा परेको छ । पोखरीको प्राकृतिक सुन्दरता अवलोकन गर्न आन्तरिक पर्यटकहरु पुग्न गरे पनि बाह्य पर्यटक भने कमै मात्र आउने गरेका छन् ।    

परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने, दिनभर त्यतै आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामाकरण गरिएको स्थानीयवासीको कथन छ । पोखरी बनेदेखि नै पानी जुनसुकै खडेरीमा पनि सुकेको छैन । स्थानीय चन्द्रबहादुर खत्रीले भने, “एउटा धार्मिक महत्वको प्रसिद्ध पोखरी हो तर प्रचार नहुँदा छायाँमा परेको छ । गाउँपालिकाले यसको विकासका लागि काम थालनी गरेकामा हामी खुसी छौँ ।”    
    
यही पोखरीको नामबाट यहाँ च्याङ्ग्रेबजारसमेत लाग्ने गरेको छ । अहिले यो बजार पौवादुङमा गाउँपालिकाको मुख्य बजारका रूपमा विस्तार भएको छ । च्याङ्ग्रे घुम्न आउने जोकोहीको गन्तव्य नै यो पोखरी हो । विश्राम गर्ने, घुम्ने, डुल्ने, तस्वीर लिने, दृश्यावलोकनको भरपुर आनन्द उठाउन आन्तरिक पर्यटक त्यहाँ पुग्छन् । विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तालुको ठूलो जमघट हुन्छ । ऐतिहासिक र धार्मिक महत्वको पोखरीमा पर्यटन प्रवद्र्धन गर्नसके पर्यटन व्यवसायबाटै आर्थिक टेवा पुग्ने स्थानीयवासीको भनाइ थियो । स्थानीय लीला सुनारले भने, “यो महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र हो । यहाँ विभिन्न समयमा मेला लाग्छ । मानिसहरूको आवतजावत वृद्धि हुँदा व्यापार व्यवसायमासमेत टेवा पुग्छ ।” पोखरीमा बिहान, दिउँसो र साँझ फरक–फरक रङ देख्न सकिने स्थानीयवासीले बताए ।    
    
पोखरीलाई विशेष आकर्षण दिएर पर्यटकको आवागमन बढाउनका लागि संरक्षणको काम थालिएको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन्। “यसको विकास तथा प्रचारमा गाउँपालिका लागिपरेको छ । उनले भनिन्, “बृहत्तर विकासका लागि डिपिआरअनुसारको काम गर्छौँ । यसलाई जिल्लाको एक आर्कषण केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य छ ।” रासस


Author

थप समाचार
x