पर्यटन

प्रयोगमा नआएका नयाँ हिमालहरूमा आरोहण खुला गरिने

इकागज |
साउन २९, २०७९ आइतवार १७:८ बजे

फाइल तस्बिर

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिले प्रयोगमा नआएका नयाँ हिमालहरूमा आरोहण खुला गर्ने बताएका छन् ।

आईतबार नेपाल पर्वतारोहण संघको ३२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारले ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरूमा पर्वतारोहणको लागि अनुमति दिने तयारी गरेको बताएका हुन् । उनले कुन–कुन हिमालहरूमा आरोहण गर्न सकिन्छ र कुन–कुन हिमालहरूमा आरोहण खुल्ला गर्दा पर्यटन आगमन बढेर त्यो क्षेत्रको जनजीवनलाई समेत लाभान्वित बनाउन सकिन्छ भन्ने कुराको समिक्षा गरेर हिमाल आरोहणको अनुमति दिने उल्लेख गरे ।


मन्त्री श्रेष्ठले पर्वतारोहण सम्बन्धी अन्योलमा रहेका ऐन,कानुन र नियमहरु सरकार तत्काल निराकरण गर्न तयार रहेको बताए । उनले सरकारले विगतमा एक वर्षको लागि भ्रमण वर्ष तोकेर काम गर्ने प्रचलन अन्त्य गरी अब एक वर्षको भ्रमण वर्ष भई  २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने जिकिर गरे । मन्त्री श्रेष्ठले नेपाल विश्वको पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले नेपालका हिमाल, पहाड, प्राकृतिक खालका उचाइहरूमा पर्यटन खेलकुदको विकास गर्नु आवश्यक रहेको उल्लेख गरे । मन्त्री श्रेष्ठले एडभेन्चर खेलकुद,पर्यटन वेश खेलकुद र माउन्टेन खेलकुदका रुपमा पर्वतहरूलाई आधार बनाएर खेलहरूको विकास गर्न सके नेपाल पर्यटक गन्तव्यको रुपमा विकास हुने बताए ।

यस्तै मन्त्री श्रेष्ठले नेपालमा पर्यटकहरू प्राकृतिक मनोरम दृश्यहरु अवलोकनको लागि बढी आकर्षित भएर आउने गरेको उल्लेख गरे । उहाँले नेपालको पर्यटन क्षेत्रको विकास गर्न पर्यटकलाई आकर्षित गर्नसक्ने भनेको प्रकृति, शाहसिक खेल र संस्कृति नै रहेको जिकिर गरे ।


Author

थप समाचार
x