पर्यटन

के छ पर्यटकको चाप हुने भोजपुरको सुन्तले बाघखोरमा ?

इकागज |
भदौ २, २०७९ बिहीबार १८:१८ बजे

भोजपुर । भोजपुरको सुन्दर पर्यटकीय क्षेत्र सुन्तले बाघखोर पर्यटकको रोजाइमा परेको छ । सदरमुकामबाट नजिकै रहेको स्थान पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको हो ।    
    
प्राकृतिक दृश्यको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनको लागि यहाँ दैनिक दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । जिल्ला सदरमुकाम र दिङङ्ला सडक खण्डमापर्ने यी स्थानमा पुग्नको लागि पर्यटकलाई सहजता छ । खास गरेर सहरी जीवनको व्यस्तताबाट थोरै समय लिएर घुम्न जानेको लागि सबै भन्दा उपयुक्त गन्तव्य बनेको छ । सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय यहाँ चहलपहल पनि बढ्न थालेको देखिन्छ ।    
    
सदरमुकामबाट करिब १० किलोमिटर दूरीमा सुन्तले र १२ किलोमिटरको दूरीमा बाघखोर पर्दछ । यी क्षेत्रको स्थानीय तहले पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेका छन् । समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा रहेको छ । सगरमाथा, मकालु कञ्चनजङ्घा, गौरीशङ्खरलगायत हिमशृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङडाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर खोटाङको सिमानाको चखेवाभञ्जाङको सुन्दर दृश्यावलोकन गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् । पर्यटकलाई लक्षित गरेर यहाँ भ्यू टावरसँगै, वन भोजस्थलसमेत निर्माण गरिएको छ ।

खास गरेर यहाँ राई, शेर्पा र तामाङ समुदायको बसोबास रहेको छ । स्थानीय परिकारले पनि पर्यटकलाई लोभ्याउने माध्यम बनको छ । यहाँ आउने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको बाघखोरमा व्यवसाय गर्दै आएका स्थानीयवासी गणेश तामाङले बताए । यो क्षेत्रको अझ विकास गर्न सके पर्यटकको सङ्ख्या बढ्ने तामाङको भनाइ छ ।    
‘‘सुन्तले, बाघखोर पर्यटकीय क्षेत्रको रुपमा स्थापित भइरहेको छ’’ उनले भने,‘‘यहाँ दैनिक रुपमा दर्जनौँ पर्यटक आउँछन् । खास गरेर यहाँको मनोरम दृश्य र स्थानीय परिकारले पर्यटकलाई लोभ्याउने गर्दछ ।’’प्रायः भोजपुर आएका मानिस एक पटक सुन्तले पुग्ने गरेको तामाङको भनाइ छ । पर्याप्त पूर्वाधार नभएको कारण धेरैको सङ्ख्यामा पर्यटक आए भने व्यवस्थापनमा कहिलेकाहीँ समस्या हुने गरेको स्थानीयवासी तामाङको भनाइ छ ।    
    
नगरपालिकाको सहयोगमा बाघखोरमा बुद्धको मूर्ति, बाघको मूर्ति निर्माण भएको छ । यो पनि यहाँको आकर्षणको केन्द्रको रुपमा रहेको छ । असोज महिनापछि पर्यटकको आवगमन झन् बढ्ने तामाङको भनाइ छ । लोकल कखुरा र कोदोको ढिँडो, तोङ्वा, सुकुटी तथा अन्य स्थानीय परिकारको स्वाद लिन पर्यटक रुचाउने गरेका छन् ।


पर्यटकलाई लक्षित गरेर घोडा चडेर (हर्ष राईडिङ) घुम्ने व्यवस्थासमेत गरिएको छ । घोडा चडेर आनन्द लिन पनि पर्यटक पुग्ने गरेका छन् । यहाँ धूपी, चाइनिज गुलाफ, चाँप, लालिगुराँस लगायतका गरी एक हजार बिरुवा रोपिएको छ । त्यस्तै चिया खेती विस्तार गर्ने लक्ष्य रहेको तामाङको भनाइ छ । पुस, माघमा हुने हिमपातको मनोरम दृश्यावलोकन गर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।     
    
सदरमुकामको नजिकैको पर्यटकीय क्षेत्र तथा उत्तरको व्यापारिक केन्द्र दिङला बजार जोड्ने सडक यही क्षेत्रबाट गएकाले पर्यटकलाई पुग्न सहज रहेको तामाङको भनाइ छ । देशभित्रका आन्तरिक पर्यटकको सङ्ख्या बढे पनि बाह्य पर्यटकको आवागमनलाई बढाउन सकड विस्तारसँगै पूर्वाधारको विकासमा जोड दिनुपर्ने स्थानीयवासी सूर्य गोले(तामाङ)ले बताए । पर्यटकलाई लक्षित गरेर भोजपुर, सुन्तले, साल्पापोखरी हुँदै सोलुसम्म सडक तथा पदमार्ग निर्माण गर्न सके बाह्य पर्यटक ल्याउन सहज हुने तामाङको भनाइ छ ।

‘‘सुन्तले, बाघखोर पर्यटकको धेरै सम्भावना बोकेको ठाउँ हो’’ उनले भने,‘‘आन्तरिक पर्यटकको आवागमन राम्रो छ । हामीले विदेशी पर्यटकलाई लक्षित गरेर पनि काम गर्न आवश्यक छ । यसका लागि सडक वा पैदलमार्ग र यहाँको पूर्वाधार विकासमा जोड दिनुपर्छ । यहाँ पर्यटकलाई आकर्षित गर्ने प्रयाप्त ठाउँ छन् ।’’     
    
पर्यटकलाई लक्षित गरेर यहाँ लालिगुँरासलगायत बिरुवा रोप्ने काम भइरहेको उनको भनाइ छ । बाटो आपसासमा रहेको झाडीलाई पन्छ्याएर २५० बोट गुराँस रोपेको स्थानीयवासी तामाङले बताए । अझै पाँच सय त्यस्ता बिरुवा थप योजना रहेको उनको भनाइ छ । ‘‘हामी स्थानीयस्तरबाट यहाँको विकासका लागि जुटेका छौँ। बजेट अभावले कतिपय योजनामा रहेका काम गर्न सकिएको अवस्था छैन । यहाँको थप विकासका लागि स्थानीय तथा केन्द्र र प्रदेश सरकारले ध्यान दिए हुने थियो।’’  उनले भने ।
    
विगतमा पानी, विद्युत् तथा सडकको समस्या भए पनि अहिले त्यस्तो समस्या नरहेको स्थानीयवासी मचिन्द्र राईले बताए । वर्षात् समयमा भने कच्ची सडक भएको कारण आवतजावतमा समस्या हुने उनको भनाइ छ । सडकको स्तरउन्नोतिसँगै होमस्टे (घर बास)सञ्चालनमा सरकारले सहयोग गरे टेवा पुग्ने स्थानीयवासी राईले बताए ।    
    
‘‘पहिला यो ठाउँमा धेरै समस्या थियो’’ उनले भने,‘‘अहिले, पानी, विद्युत्, इन्टरनेट केहीको समस्या छैन । सरकारले सडकको कालोपत्र र सामूहिक होमस्टे सञ्चालनमा पहल गरे आउने पर्यटकलाई धेरै सहज हुने थियो । मौसम राम्रो भएको समयमा घुम्न तथा पिकनिक खान दैनिक चार/पाँचवटासम्म बसमा मानिस यहाँ आउँछन् ।’’    
    
सुन्तलेमा २० र बाघखोरमा आठ घर स्थानीयवासीको बसोबास रहेको स्थानीयबासी राईको भनाइ छ । प्रशस्त घाँसे मैदान भएका कारण यहाँका मानिसले पर्यटनसँगै पशुपालन गर्दै आएका छन् । यसबाट उनीहरुले दूध, घ्यू, छुर्पी लगायतको उत्पादन गर्दछन् । रासस


Author

थप समाचार
x