पर्यटन

'सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्नु हुँदैन'

इकागज |
असोज १०, २०७९ सोमवार १४:२३ बजे

काठमाडौँ- ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्नु नहुने बताएका छन् ।

सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष बास्तोलाले यस्तो बताएका हुन् । उनले पछिल्लो समय स्थानीय सरकारले सडक बनाउने नाममा ५० वर्ष पुराना पर्वतीय ट्रेकिङ गन्तव्यलाई अस्तित्व मेटाउने काम भएको जिकिर गरे ।


अध्यक्ष बास्तोलाले ३१ दिनको पर्वतीय ट्रेकिङ गन्तव्य रहेको अन्नपूर्ण राउन्डलाई अहिले सडक बनाउने नाममा भत्काएर अहिले ५ दिनको बनाइएको भन्दै आपत्ति जनाए । उनले सडक आवश्यक भयो भन्दैमा विश्वका १० नम्बरमा पर्ने पर्वतीय ट्रेकिङ गन्तव्यहरूको अस्तित्व मेटाउन नमिल्ने बताए ।

अध्यक्ष बास्तोलाले पछिल्लो समय धेरै पर्वतीय ट्रेकिङ गन्तव्यहरू हराउने क्रममा रहेको गुनासो गरे । उनले विश्वमा प्रचार भएर हजारौं नागरिकलाई रोजगारी दिने पर्वतीय ट्रेकिङ गन्तव्यलाई कायम राखेर वैकल्पिक मार्गबाट सडक बनाउन सल्लाह गर्न आग्रह गरे । उनले स्थानीय सरकारहरूले पर्वतीय ट्रेकिङ गन्तव्य भएको स्थानमा सडक बनाउँदा वा पर्यटन क्षेत्रको विकासको लागि बजेट विनियोजन गर्दा टानसँग सल्लाह गर्नु उचित हुने बताए ।

उनले रोजगारीको सिर्जना लगायत अन्य प्रचुर सम्भावना रहेको सिन्धुपाल्चोककाे जुगल हिमालको प्रचारप्रसार गर्न आवश्यक रहेको पनि बताए । उनले जुगल हिमालमा पर्वतीय गन्तव्यको लागि प्रचारप्रसार गर्न टानले सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।

त्यस्तै,नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको रुपमा मान्यता दिए अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्ने बताइन् । उनले पर्वतीय उद्योग जनशक्ति,व्यवस्थापनदेखि आवश्यक पूर्वाधार स्वदेशी भएको र लगानी गर्न अन्य मुलुकसँग सहयोग माग गर्नु नपर्ने उद्योग हुने उल्लेख गरिन् । उनले पर्वतीय उद्योग अन्य उद्योगको जस्तो कच्चा पदार्थ बाहिरबाट ल्याएर आधा पैसा विदेशमा पठाउने नभइ विदेशीबाट आउने डलरसमेत नेपालमा नै रहने उद्योग भएको बताएन् ।

उनले नेपालमा पर्वतीय पर्यटनको महत्त्व ठूलो रहेको भन्दै सरकारले पर्वतीय पर्यटन क्षेत्रको विकासमा जोड दिनु आवश्यक रहेको बताइन् । 


Author

थप समाचार
x