पर्यटन

नेपालगञ्ज लकडाउन भएपछि पर्यटन गतिविधिमा धक्का

होटल बन्द हुँदै, पर्यटकको संख्या स्वात्तै घट्यो

इकागज |
बैशाख ८, २०७८ बुधबार १४:३४ बजे

फाइल फोटो : रारा ताल

काठमाडौँ : कोभिड-१९ को दोस्रो लहरसँगै नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउन सुरु गरेपछि पश्चिम नेपालको पर्यटनमा गम्भीर धक्का लागेको छ । नेपालगञ्जमा बुधबारसम्म कोभिड-१९ संक्रमितको संख्या सात ३५ पुगेको छ । संक्रमितले गर्दा नेपालगञ्जका धेरैजसो अस्पतालका बेड भरिएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपहानगरपालिकामा लकडाउन घोषणा गरेपछि पर्यटन गतिविधि रोकिएका हुन् । संक्रमणको जोखिमले होटल बन्द हुँदै गएका छन् । भारतबाट आउने पर्यटक रोकिएका छन् । यद्यपी हवाई उडान र लामो दूरीका यातायातका साधन भने सञ्चालनमा रहनेछन् । 


लकडाउनका कारण नेपालगञ्ज भएर बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णालीको रारा ताल र सुदुरपश्चिमको खप्तड जाने पर्यटक अन्योलमा परेका छन् । रारा जाने पर्यटकको संख्या स्वात्तै घटेको छ । 

कोभिड १९ जोखिम र लकडाउनका कारण नेपालगञ्जका होटल बन्द हुन थालेका नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए । उनका अनुसार नेपालगञ्ज भएर बाँके, बर्दिया, सुर्खेत रारादेखि सुदुरपश्चिमका विभिन्न ठाउँमा जाने पर्यटकले बुकिङ रद्द गर्न थालेका छन् ।

‘नेपालगञ्जमा लकडाउन भएपछि पर्यटन गतिविधि रोकिन थालेका छन्’ उनले भने, ‘केही होटल पनि बन्द हुन थालेका छन् । अब कोभिडको यो दोस्रो लहरले पर्यटनमा थप समस्या निम्त्याउँछ । तर यसको समाधान पनि खोज्नुपर्छ ।’

गएको वर्षको कोभिडले ठप्प भएको पर्यटन बाँके र बर्दियामा नाट्टाको पहलमा भएका गतिविधिले उकासिएको थियो । टुर दी ठाकुरद्वारा अभियान लगायतका कार्यक्रमले नेपालगञ्ज-पोखरा सिधा उडान सुरु भएको थियो । 

यस्तै रारा र खप्तडका लागि पनि पर्यटक बोक्ने उडान बढेका थिए । तर कोभिड-१९ को दोस्रो लहरले भने यो समस्या थप बढेको छ । नाट्टाले सुरु गरेको पोखरा–नेपालगञ्ज उडान अर्को हप्तादेखि के गर्ने ? भन्ने अन्योल थपिएको सिग्देलले बताए ।

कोभिड-१९ जोखिमका कारण बुद्ध एयरले सुरु गर्ने भनेको नेपालगञ्ज–पोखरा उडान सुचारु गर्न सकेको छैन । 


Author

थप समाचार
x