पर्यटन

सर्वसाधारणले कहिले चढ्‍न पाउँछन् धरहरा ?

प्राधिकरण भन्छ- कम्तीमा नौ महिना

इकागज |
बैशाख ११, २०७८ शनिबार १७:३८ बजे

काठमाडौं : नयाँ धरहराको उद्घाटन हुने खबर बाहिर आएसँगै मानिसहरू दिनहुँ धरहराको गेटमा पुग्ने गर्छन् । गेटमा बसेकाले ‘धरहरा अहिले नै चढ्न पाइँदैन’ भनेपछि निराश भएर फर्कन्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहराको उद्घाटन गरे पनि सर्वसाधारणले अझै नौ महिना धरहरा चढ्न नपाउने राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सहप्रवक्ता एवं सूचना अधिकारी मनोहर घिमिरे बताउँछन् ।


‘धरहराको मात्रै पुनःनिर्माण सकिएको हो । वरपरका संरचना बन्न बाँकी नै छ’ उनी भन्छन्, ‘सबै संरचना पुससम्ममा बनिसक्छ । अनि मात्रै सर्वसाधारणको लागि खुला हुन्छ ।’ 

के के बाँकी छ निर्माण हुन ? 

निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले निर्माणस्थलमा काम गरि नै रहेको छ । जेबीले तयार गरेको स्केच पुरातत्व विभागलाई २०७३ चैतमा हस्तान्तरण गरेको थियो । डिजाइन अनुसार धरहराको काम सकिएको छैन । 

प्रधानमन्त्री ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहराः म बनाउँछु’ अभियान सुरुवात गरेका थिए । उक्त कार्यक्रममा धरहरा ढलेर मृत्यु भएकाहरुको सम्झनामा स्मारक राख्ने र संग्रहालय बनाउने ओलीले बताएका थिए । तर त्यस्तै स्मारक र संग्रहालय बन्नै बाँकी छ । भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास)ले छोपेर राख्ने काम नै बाँकी छ । 

नवनिर्मित धरहराले गोश्वारा हुलाक कार्यालय र टक्सार कार्यालय रहेको क्षेत्रलाई समेत समेटेको छ । ४२ रोपनी क्षेत्रफलमा बन्ने नयाँ धरहराको वरिपरि गाडी पार्किङ गर्न सकिने तीन तले अत्याधुनिक पार्किङ र अत्याधुनिक तथा सुविधासम्पन्न संग्रहालयसमेत बनाउने योजना थियो । 

अहिले नयाँ धरहरा तयार भएको छ । तर बगैँचा, संग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पसललगायत निर्माण गर्न बाँकी छन् । त्यस्तै पार्किङसहित रेष्टुराँ, पुस्तकालय लगायत सुविधा हुनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाउने योजना छ । 

उद्यानभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुने डिजाइनमा छ । धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक तीन तले सवारी पार्किङ स्थल पनि बन्ने छ । त्यस्तै दुई तला मुनि गएर लिफ्टबाट माथिल्लो भागमा जान सकिनेछ ।
 


Author

थप समाचार
x