पर्यटन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको आर्थिक विकासको केन्द्र : गृहमन्त्री खाण

इकागज |
मंसिर २३, २०७९ शुक्रबार १७:२५ बजे

भैरहवा- गृहमन्त्री बालकृष्ण.खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको आर्थिक विकासको केन्द्र बनाउनेमा लागिरहेको बताएका छन ।

आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाणले विमानस्थल गतिशील र चलायमान गराउन यहाँको उद्योगी व्यवसायी तथा आमनागरिकको जीवनमा परिवर्तन ल्याउनेमा विश्वस्त रहेको बताए । 


विशेष आर्थिक क्षेत्र सेज पूर्ण रूपमा सञ्चालनका लागि केही कार्यविधि बदल्नुपर्ने भएकाले त्यसमा सरकार प्रयत्नशील रहेको उल्लेख गरे । ‘आइसीपी निर्माणका लागि भारतले सुरुवात गरेको छ, नेपाल सरकारले पनि सुरुवात गर्नेछ,' उनले भने । नेपालमा रात्रीकालीन बजारको खासै प्रचलन नभए पनि पर्यटन व्यवसायको प्रवर्द्धनका लागि २४ घण्टा बजार सञ्चालनको अवधारणा ल्याइएको छ । अनुमति लिएर तोकिएको मापदण्ड पूरा गरेपछि २४ सैं घण्टा व्यवसाय सञ्चालन गर्न उनले आग्रह गरे ।

‘राती १२ बजेसम्म पसल सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाउँदैन,’ उनले भने, ‘आर्थिक गतिशीलतालाई मध्यनजर गर्दै १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न दिन सरकार लचिलो छ ।’ खाणले मेला महोत्सवका निम्ति मण्डप निर्माणका लागि आवश्यक जग्गा खोजीका लागि सिद्धार्थनगर नगरपालिकालाई आग्रह गर्दै मण्डप निर्माणका लागि केन्द्रीय सरकारले बजेट व्यवस्थापन गर्ने बताए ।

उद्योगी व्यवसायीले बेहोरिरहेको आर्थिक मन्दीलाई महोत्सवले महत्वपूर्ण सन्देश दिने उनले बताए । उद्योगी र व्यवसायी कुनै पनि मुलुकको मेरुदण्ड रहेकाले उद्योगी व्यवसायीले बेहोर्नुपरेका समस्या समाधान गर्न सरकार गम्भीर रहेको उनकाे भनाइ थियाे ।


Author

थप समाचार
x