पर्यटन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पुस १७ गते पहिलो उडान बनारस हुने, बुद्ध र यतिले गरे डेमो उडान

अतिन आचार्य |
पुस ७, २०७९ बिहीबार १५:२१ बजे

काठमाडौँ- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान बनारसमा हुने भएको छ । पोखराबाट नयाँ बनेको विमानस्थलबाट पुस १७ गतेबाट पहिलो उडान बुद्ध एयरले गर्ने भएको हो ।

नागरिक उड्डयन प्राधिकरण सहायक प्रवक्ता ज्ञानेन्द्र भूलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान बनारससम्मको गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार भारतबाट उडान अनुमतिका लागि प्रक्रिया अगाडि बढिसकेको छ । उडान अनुमति प्राप्त गर्न कूटनीतिक पहल सुरु भइसकेको छ ।


विमानस्थलबाट फागुनको पहिलो सातादेखि नियमित उडान भर्ने गरी काम अगाडि बढिसकेको छ । पोखराबाट चिनका लागि हिमालयन एयरलायन्सले पनि उडान भर्ने तयारी गरिरहेको भूलले जानकारी दिए ।

‘हिमालयन एयरलायन्सका केही जहाज प्राविधिक कारणले ग्राउन्डेड भएका छन् । विमानस्थलबाट नियमित रुपमा उडान भइसकेपछि हिमालयनले एयरलायन्सले उडान भर्नेछ,’ उनले भने,’ चिनको ग्वान्जाउ वा छेन्दुमध्ये कुनै एक सहरमा उडान गर्ने भएको छ ।‘

मङ्सिर ५ देखि २६ गतेसम्म क्यालिब्रेसन उडान भएको थियो । विमानस्थलमा थाइल्याण्डको एरोथाइले क्यालिब्रेसन उडान गरेको थियो । केही सययअघि गरिएको क्यालिब्रेसन उडानको अन्तिम रिपोर्ट एक साताअघि आएको थियो ।

आजबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान भएको छ । बुद्ध र यति एयरलायन्सका दुइटा विमानले उडान गर्ने भएका छन् । बुद्धले ‘डेमोन्सट्रेसन’ उडान र यतिले ‘डेमोन्सट्रेसन’ तथा ‘एयरपोर्ट फेमिलिअराइजेसन’ उडानको अनुमति पाएको छ  । २ देखि ४ बजेसम्म दुई वटा विमानले डेमो उडान भर्ने भूलले जानकारी दिए ।

क्यालिब्रेसन र डेमो उडानको रिपोर्ट आएपछि जनवरी १ तारिखबाट व्यवसायिक उडान हुनेछ । क्यालिब्रेसन उडानको फाइनल रिपोर्ट वेभसाइटमा राखिने सहायक प्रवक्ता भूलले जानकारी दिए । क्यालिब्रेसन र डेमो उडानको फाइनल रिपोर्ट एक सातामा आउने उनले बताए ।

‘हामीले वेभसाइटमा उडान तालिका तथा विमानस्थलमा भएको सम्पूर्ण प्रगति विवरण राखेपछि अन्य मुलुकका एयरलायन्सले नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल थपिएर सुचारु भएको जानकारी पाउँछन्,’ उनले भने,’ वेभसाइटमा उडान सम्बन्धी जानकारी वा क्यालिब्रेसन उडानको रिपोर्ट हालेको ४२ दिनमा नियमित उडान हुन्छ ।‘

चीनको एक्जिम ब्याङ्कको ऋण तथा अनुदान सहयोगमा करिब ३० अर्ब रुपियाँको लागतमा चिनियाँ ठेकेदार कम्पनी सीएएमसी विमानस्थलको निर्माण भएको हो ।

सरकारले विमानस्थल निर्माण क्रममा कूल ३,८९९ रोपनी जग्गा अधिग्रहण गरेको छ ।

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x