पर्यटन

भ्रमण दशकको रणनीतिक कार्ययोजना तयार

इकागज |
पुस ८, २०७९ शुक्रबार ६:५१ बजे

फाइल तस्बिर

काठमाडौँ - सरकारले सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य लिएको छ । नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको सरकारले आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना बनाएको छ ।

यस्तै पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै आगामी दुई वर्षभित्र पर्यटन क्षेत्रलाई कोरोना सङ्क्रमणकालभन्दा पूर्ववत् अवस्थामा पुर्‍याउने कार्ययोजनामा उल्लेख छ ।


रणनीतिक कार्ययोजनाको रूपरेखा तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई बुझाएको हो । नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना तयार गर्न पर्यटन विज्ञ प्रचण्डमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो ।
     
कार्ययोजनामा नेपालमा सबै मौसम र वर्षैभरि पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आगामी १० वर्षसम्म हरेक वर्ष सम्पन्न गरिने भनिएको छ । कोभिड महामारीका कारण विगत तीन वर्षमा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएकाले दीर्घकालीन सोचसहितको पुनरुत्थान आवश्यक भएकाले पर्यटन दशकको अवधारणा ल्याइएको मन्त्री श्रेष्ठले बताए । 

उनले नेपाल पर्यटन दशकले विश्वपर्यटन बजारमा नेपाललाई अग्रणी स्थानमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपालको भौगोलिक, प्राकृतिक, वातावरणीय, सामाजिक, सांस्कृतिक, धार्मिक विविधतालाई पर्यटन क्षेत्रसँग आबद्ध गर्ने, पर्यटकीय सम्भाव्यताको आधारमा विशेष पर्यटकीय क्षेत्र घोषणा गरी त्यस्ता क्षेत्रमा बहुपक्षीय पूर्वाधारको विकास गर्ने कार्ययोजनामा उल्लेख छ । पर्यटकको आगमनलाई अभिवृद्धि गर्न हवाई सेवालाई थप व्यवस्थित, नियमित र गुणस्तरीय बनाउँदै अन्य मुलुकका वायुयानसँगको अन्तर सञ्जालमा आबद्ध गर्ने कार्ययोजनामा समेटिएको छ ।
     
पर्यटन प्रवर्द्धन र क्षेत्रको विकास गर्न सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रको सहकार्य एवं साझेदारीमा वृद्धि गर्ने, आन्तरिक, क्षेत्रीय एवं विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रभावकारी बजारीकरणका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने तथा नयाँ पर्यटकीय क्षेत्रको पहिचान तथा प्रचारप्रसार गरी प्रदेश सरकार र स्थानीय सरकारको प्रत्यक्ष सहभागितामा पर्यटनको लाभ स्थानीय समुदायसम्म पुग्ने कार्यक्रम सञ्चालन गरिने कार्ययोजनामा उल्लेख छ ।


Author

थप समाचार
x