पर्यटन

जुगल हिमालको आरोहण खुलाउन पहल

इकागज |
पुस १२, २०७९ मंगलबार २१:५० बजे

फाइल तस्बिर

मेलम्ची- सिन्धुपाल्चोकमा पर्ने जुगल हिमशृङ्खलाका विभिन्न उचाइको हिमचुलीहरू पर्वतारोहणका लागि खुला गर्ने माग गरिएको छ ।

बैठकले पर्वतारोहणका लागि प्रस्ताव गरिएका हिमचुलीको नामाकरण गर्न अनुरोध गरेको छ । जुगल–१ (६५९१ मि), जुगल–२ (६५१८ मि), जुगल–३ (६१८४ मि) र जुगल–४ (६१२० मि) नामाकरण गर्न अनुरोध गर्ने निर्णय भएको प्रतिनिधिसभा सदस्य सापकोटाले जानकारी दिए । प्रतिनिधिसभा सदस्य माधव सापकोटा, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, पर्यटन विभागको महानिर्देशक होमप्रसाद लुइँटेलसहितको उपस्थितिमा ती हिमालको नामाकरण गरी आरोहणका लागि अनुमति माग्ने निर्णय गरेको हो ।


बैठकमा सिन्धुपाल्चोकमा अवस्थित जुगल हिमाश्रृङ्खलाका विभिन्न उचाइको हिमचुली पर्वतारोहणका लागि खुला गर्ने सम्बन्धमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको नेतृत्वमा भएको अध्ययन प्रतिवेदनमाथि छलफल भएको थियो ।

प्रतिवेदनमा समावेश गरिएका हिमाल पहुँचका दृष्टिले राजधानीबाट नजिक रहेको, पर्वतारोहणका लागि सहज पदमार्गको पहिचान भएको र मुलुकको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने देखिएकाले आरोहणका लागि खुला गर्न पर्यटन विभागमार्फत नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णयमा भनिएको छ । 

छ हजार एक सय ५१ मिटर उचाइको जुगल हिमशृङ्खलाअन्तर्गत ग्याल्जेन पिक यसअघि दुईपटक आरोहण भइसकेको छ । पहिलो पटक २०७५ चैत २६ मा सफल आरोहण गरिएको थियो । सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा पहिलो पटक आरोहण भएको थियो । दोस्रो पटक २०७७ कात्तिकमा आरोहण गरिएको थियो ।


Author

थप समाचार
x