पर्यटन

नेपाल एयरलाइन्सद्वारा उडान संख्य थप

इकागज |
पुस १२, २०७९ मंगलबार २१:५७ बजे

सुर्खेत- सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ ।

नेपाल एयरलाइन्स क्षेत्रीय केन्द्र नेपालगंजका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान संख्या थप गरिएको हो । यात्रुहरूको चाप वृद्धि हुनु तथा सडक यातायात सहज नभएका कारण उडान थप्नु परेको श्रेष्ठले बताए ।


हुम्लाको सिमकोटका लागि सातामा दुई उडान हुने गरेकोमा हाल तीन उडान सुरु गरिएको छ। अब आइतबार, सोमबार र मंगलबार उडान हुनेछ। भाडादर ९ हजार १७० रुपैयाँ निर्धारण गरिएको छ । चार्टर उडानको १३ हजार २२० रुपैयाँ लाग्ने छ। यसअघि सिमकोटका लागि शनिबार र आइतबार मात्रै उडान भर्ने गरिएको थियो ।

त्यसैगरि जुम्लामा नेपालगंजबाट सोमबार र मंगलबार उडान हुनेछ । भाडादर पनि ६ हजार २८० रुपैयाँ तोकिएको छ । त्यस्तै, मुगुको ताल्चाका लागि आइतबार र मंगलबार उडान तालिका रहेको छ भने भाडादर ७ हजार ४०० रुपैयाँ तोकिएको छ। डोल्पाको जुफालका लागि हप्तामा दुई दिनमा सोमबार र बुधबार उडान हुनेछ । भाडादर नेपालगंजबाट डोल्पाका लागि ६ हजार ८०५ रुपैयाँ निर्धारण गरिएको छ ।

बाजुराको कोल्टी विमानस्थलका लागि सातामा सोमबार र बुधबार उडान हुनेछ भने भाडा ६ हजार ९७५ रुपैयाँ कायम गरिएको छ । नेपाल एयरलाइन्सले चार्टर उडान नभइ सेड्युल उडान भर्ने भएका कारण भाडादर पनि सस्तो पर्ने गर्छ ।

यी जिल्लामा उडान भर्नका लागि यसअघि नेपाल एयरलाइन्सको जहाज हप्तामा एक रात नेपालगंजमा नाइट स्टे गर्ने गरेकोमा अहिले भने तीन दिन बस्दै आएको छ । उडान पनि नियमित रुपमा भइरहेको र यात्रुलाई पनि भाडादरमा सहज भएको नेपाल एयरलाइन्सले जनाएको छ । जिनी प्रदायक कम्पनीले उडान भर्ने गरे पनि भाडा दर चर्को रहेको छ । हिमाली जिल्लामा सडक पहुँच सहज नहुँदा यहाँका सयौँ यात्रुहरू हैरानी खेप्दै आएको गुनासो आएपछि उडान संख्या थप गरिएको हो । हुम्ला सडक सञ्जालसँग जोडिएको छैन ।

हिमाली जिल्लामा चिसोसमेत भारी मात्रामा बढेको स्थानीयबासीले बताएका छन् । चर्को रकम तिरेर पनि जहाज चढन नपाएको भन्दै हिमाली जिल्लामा नागरिक आक्रोष व्यक्त गरिरहेका छन् । अब सरकारी स्वमितत्वको कम्पनीले उडान दर बढाएपछि यात्रुलाई सहजता भएको मुगुकी स्थानीय रामदेवी खड्काले बताइन् ।हेमन्त केसी/न्युज कारखाना


Author

थप समाचार
x