पर्यटन

४६६२ मिटरको उचाइमा रहेको मनै लोभ्याउने सुन्दर दूधकुण्ड (फोटोफिचर)

घुम्न जाँदा चौंरीको गोठमा बस्नुपर्ने बाध्यता हट्दै, बन्दै सुविधासम्पन्न होटल

पुष्प श्रेष्ठ |
माघ ४, २०७९ बुधबार १६:१३ बजे

सोलुखुम्बु– समुन्द्र सतहबाट करिब ४६६२ मिटरको उचाइमा रहेको दुधकुण्डमा बस्न अब सहज हुने भएको छ । सुविधा सम्पन्न होटल तथा लज अभावका कारण दूधकुण्डमा आउने भक्तजनहरु फर्कनुपर्ने वा चौरीगोठमा बस्नुपर्ने बाध्यता थियो ।

स्थानीय युवाहरूको लगानी र सक्रियतामा ३८८० मिटर उचाइमा पाँचवटा सुविधा सम्पन्न होटल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सम्पन्न भएपछि दूधकुुण्ड पुगेर सोही दिन फर्कनुपर्ने वा चौंरीगोठमा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको हो ।


कुमु डाँडामा दुई, सहस्रबेनीमा दुई र सरकारी पाटीमा एउटा गरी पाँचवटा सुविधा सम्पन्न होटल निर्माण कार्य अन्तिम चरणमा पुगेको स्थानीय छिरि शेर्पाले बताए । स्थानीय युवालाई जिल्ला वन डिभिजन कार्यालय सोलुखुम्बुले स्वीकृति दिएको थियो । 

सोलुखुम्बुको एक मात्र नगरपालिका दूधकुण्ड नगरपालिकाअन्तर्गत वडा नं १ टाक्सिन्दुमा रहेको नुम्बुर हिमाल र कार्यालुङ हिमालको काखमा रहेको दूधकुण्ड हिन्दु, किराँत, बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहरको रूपमा रहेको छ ।

केही वर्षअघिसम्म जनैपूर्णिमाका दिन पुग्ने भक्तजनहरू पछिल्लो समयमा कुण्डको दृष्यावलोकन गर्न चैतदेखि मँसिरसम्म पुग्ने गरेका छन् । मंसिर अन्न्तिमबाट फागुनसम्म अत्याधिक चिसो हुने भएकाले त्यहाँ धार्मिक पर्यटक फस्टाउन समस्या छ ।

जनै पूर्णिमाको अवसर पारेर जाने भक्तालुहरूको अत्याधिक चाप र बर्षातको कारण ब्यवस्थित रूपमा भक्तालुहरूले दर्शन गरि फर्कन त्यस्तै कठिन थियो । अन्य समयमा जाने पर्यटकहरू पनि भरियालाई खाना सामलको भारी बोकाएर सुत्नेदेखि बस्ने अ‍ोड्ने सबै व्यवस्था गरेर मात्र उकालो चढ्नुपर्ने थियो । 
बाटोमा कहिलेकाहीं भेटिने अस्थायी रूपमा निर्माण गरिएका चौंरी गोठ र ससाना कटेराहरूमा रात काट्न बाध्य भक्तालुलगायत पर्यटकहरूले अब भने यो कठिन परिस्थितिबाट छुटकारा पाउने भएका हुन् । 

शेर्पाका अनुसार स्थानीय सामुदायिक बन, नगरपालिकालगायत जिल्ला अस्पतालको समन्वयमा प्रत्येक निर्माणाधीन होटलमा अक्सिजन कमी हुन नदिने व्यवस्था गरिनेछ ।

यसैगरी आगो ताप्न धुवाँरहित चिम्नी, खाने बस्ने व्यवस्था, सफा शौचालय, पिउनयोग्य तातो चिसो पानी, टेलिभिजन, इन्टरनेट आदि ग्राहकको माग अनुसार थप सेवा सुविधा विस्तार गरिने उनले बताए । 

किंवदन्तीअनुसार करिब एक शताब्दीअघि चौंरी गोठालोले आफ्नो चौंरीलाई चरणका लागि नुम्बुर र कार्यलङ हिमालको फेदीमा पुर्‍याउँदा त्यही गोठभित्रको एक दुहुनो चौंरी गाइले आफ्नो थुनबाट लामो समयसम्म कुण्डजस्तो आकृति भएको एक खाल्डोमा दूध चुहाइरहेको देखे । जब खाल्डो दूधले भरिएर बाहिर बग्न थाल्यो अनि त्यो चौंरी त्यहाँबाट बाहिरिएर त्यही खाल्डोलाई दूधकुण्डको रूपमा मानिँदै आएको छ ।

दूधकुण्डको दर्शन गर्दा पाप कर्म नष्ट हुने, कुण्डको जललाई घरमा अनि परिवारमा छर्केमा सुख शान्ति तथा धन प्राप्त हुने, निःसन्तान दम्पत्तिलाई सन्तान सुख प्राप्त हुने जनविश्वास छ । दूधकुण्डको यात्राको क्रममा गंगा जमुना ताल, भुतपोखरी, आँखेपोखरी ताल महाकुण्डलगायत अन्य थुप्रै स–साना तालहरू देख्न सकिन्छ । 


बिहानी घामको पहिलो किरण नै नुम्बुर र कार्यालुङमा पर्ने भएकाले बिहानको दृष्यावलोकन अति नै मनमोहक हुन्छ । काठमाडाैं, कटारीलगायतका स्थानबाट सडक सञ्जालले सोलुखुम्बुलाई छोएको छ । करिब आठ घण्टाको यात्रामा दूधकुण्ड नगरपालिका सहजै पुग्न सकिन्छ । 

त्यसपछि आरामले एक दिन आधाको यात्रामा दूधकुण्ड पुगेर अपरान्ह फर्कने हो भने करिब ४ देखि ५ दिनको सहज यात्रा गर्ने हो भने दूधकुण्डबाट फर्केपछि बौद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्र प्रख्यात चिवाङ गुम्बासमेत दर्शन गरी फर्कन सकिन्छ । 

काठमाडौंबाट हवाइमार्ग करिब २५ देखि ३० मिनेटको दुरीमा पर्ने फाप्लु विमानस्थल पुग्न करिब ६ हजार रूपैयाँ लाग्छ भने सुमो यात्रामा २ हजारदेखि २३ सय रूपैयाँसम्म पर्छ । 

दूधकुण्डमा पछिल्लो समय नेपालका आन्तरिक धार्मिक पर्यटकदेखि भुटान भारतलगायतका पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । यस्तै युरोप अमेरिका एसियाका पर्यटकहरू पनि सुन्दर हिमाल, डाँडा हरियाली भूमि हेर्न पुग्ने गरेका छन् ।


 


Author

थप समाचार
x