पर्यटन

सगरमाथा आरोहण सुरु, कामीरिताले तोडे आफ्नै कीर्तिमान

इकागज |
बैशाख २४, २०७८ शुक्रबार २०:१४ बजे

काठमाडौंँ : यस वर्षको वसन्त याममा सगरमाथा हिमालको आरोहण सुरु भएको छ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा शुक्रबार साँझ सगरमाथाको चुचुरामा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो । 

डोरी टँगाइ टोली साँझ ६ः०० बजे चुचुरामा पुगेर आरोहणको ढोका खोलेसँगै सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले रोप फिक्सिङसँगै सगरमाथा आरोहण सुरु भएको जनाउँदै आरोहणमा संलग्न टोलीलाई बधाई ज्ञापन गरेका छन् । सेभेन समिट ट्रेक्समार्फत गएको शेर्पा टोलीले सगरमाथा आरोहण खुलाएको हो ।


वसन्त यामको जारी आरोहणमा सगरथाको चुचुरामा २५ औँ पटक पुगेर कामीरिताले आफ्नै यसअघिको २४ पटकको विश्वकीर्तिमान तोडेका छन् । कामीरिताले २५ औँ कीर्तिमान बनाउन सफल भएको निर्देशक आचार्यले बताए । यो आरोहणबाट असहज परिस्थिति भए पनि नेपालको पर्वतारोहण सुरक्षित रहेको सन्देश जानाका साथै सगरमाथाको नयाँ कीर्तिमान थपिएको विभागको बुझाइ छ ।

सन् २०१९ को वसन्त आरोहण वैशाख ३१ गतेदेखि सुरु भएको थियो । उक्त वर्ष ४१ आरोही समूहका तीन सयभन्दा बढीले सगरमाथा आरोहण गरेका थिए । सन् २०१८ मा सगरमाथा आरोहणका लागि ३८  आरोहण समूहका ३६४ आरोहीले आरोहण अनुमति लिएका थिए । सन् २०१७ को वसन्त याममा सगरमाथा आरोहणका लागि ४३ आरोही समूहका ३६६ स्वदेशी तथा विदेशीले सगरमाथा आरोहण गरेका थिए । सन् २०१६ मा ३८  समूहका ३०० भन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए ।

कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा ९३ महिला र ३१५ पुरुष छन् ।   विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएका छन् ।    


Author

थप समाचार
x