पर्यटन

‘करको दरका कारण पर्यटन क्षेत्र धराशायी’

इकागज |
जेठ २६, २०८० शुक्रबार १५:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- पर्यटन सम्बद्ध संस्थाहरूले सरकारले आगामी वर्षको बजेटमा लगाएको करको दरका कारण यस क्षेत्र नै धराशायी हुने जनाएका छन् । शुक्रबार काठमाडौँको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उनीहरूले बजेटमा घोषणा भएका करका दलहरूले पर्यटन क्षेत्रमा पार्न सक्ने नकारात्मक असरका बारेमा चिन्तित बनाएको भन्दै साे जनाएका हुन् ।

ट्रेकिङ तथा टुर प्याकेज सम्बन्धी सेवालाई हटाई पूर्ण रूपमा करको दायरामा ल्याउने, हवाई टिकटमा भ्याट लगाउने, पाँचतारे वा सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोटहरूले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता शुल्क लगाउने लगायतका व्यवस्थाका कारण नेपाल आउने पर्यटकहरू अन्य गन्तव्यमा जाने र सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य हासिल हुन नसक्ने उनीहरूले जनाएका छन् ।


त्यस्तै सरकारले पर्यटन क्षेत्रबाट प्राप्त गर्ने गरि राखिएका कर संकलनका लक्ष्य पनि प्राप्त हुन नसक्ने अवस्था सिर्जना भएको ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले बताए । उनले पर्यटनलाई उद्योगको मान्यता नदिँदा राज्यबाट पाउनुपर्ने सहुलियतपूर्ण ब्याजदर तथा बिजुली शुल्क आदिबाट पर्यटन क्षेत्र वञ्चित हुनुपरेको बताए ।

उनीहरूले पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउनका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संघ संगठन सम्मीलित विज्ञ समूह बनाएर गहन अध्ययन गरी कम्तीमा १ वर्षपछि मात्रै लागू हुने गरी करका नयाँ दरहरू लागू गर्न सरकारलाई सुझाव दिएका छन् ।


Author

थप समाचार
x