पर्यटन

अयोग्यलाई वायुसेवामा अपरेशन प्रमुख

नियुक्त हुने, गर्ने र गराउनेलाई कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस

विकास थापा |
असार २३, २०७८ बुधबार २०:२ बजे

काठमाडौँ ः कुनै पनि विमान कम्पनीको अपरेशन विभागलाई अति संवेदनशील निकायका रुपमा लिइन्छ । यो विभाग अन्तर्गतका सबै कर्मचारी दक्ष, योग्य र नियमावलीले उल्लेख गरेका शर्त पूरा गरेको हुनुपर्छ । यो विभागले प्राविधिक तथा सञ्चालनसम्बन्धी कुराहरुको समन्वय गर्ने, मौसम, उडान अनुमति, रुट प्लानिङ, विमानको कार्यक्षमता जाँच्ने, एयरपोर्टको पूर्वाधार हेर्ने, विमानको प्राविधिक अवस्था पत्ता लगाउने र विमानलाई आवश्यक पर्ने तेल व्यवस्थापन आदि पर्छन् । 

यस्तो विभागमा कानुनले निर्धारण गरेको योग्यता नपुगेको, सबैभन्दा कनिष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणले दण्डित गरेको व्यक्ति दिपुराज ज्वार्चनलाई निगम व्यवस्थापनले नियुक्त गरेको पाइएको छ । अझ नियामक निकाय उड्डयन प्राधिकरणको समेत मिलेमतोमा गैरकानुनी कार्य भएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानले देखाएको छ । प्राधिकरणका यी र यस्ता अवैध कार्यकै कारण अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र युरोपियन यूनियन (इयू) ले नेपाललाई लामो समयदेखि कालोसूचिमा राखेका छन् ।


निगमका पाइलट ज्वार्चनलाई गैरकानुनी तवरले फ्लाइट अपरेशन विभागको डाइरेक्टर पदमा नियुक्ति गरेकाले यो प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाएको छ । 

कायम मुकायम मुकर्ररदेखि नै धाँधली

निगमले ज्वार्चनलाई २०७६ असार ३१ गते ६ महिनाको लागि अपरेशन विभागको निर्देशक (दशौं तह) मा कायम मुकरर गर्‍यो । नेपाल वायुसेवा निगमको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली, २०५८ को विनियम ३३ मा कायम मुकायम मुकरर गर्न सकिन्छ । सोही विनियमको उपविनियम (३) मा कायम मुकयाम मुकरर गर्दा सम्बन्धित सेवा, समूह वा उपसमूहको पदमा कार्यरत कर्मचारीहरुमध्येबाट जेष्ठता, योग्यता तथा कार्य क्षमताको आधारमा कायम मुकायम मुकरर गरिने पदभन्दा एक तह मुनिको कर्मचारीलाई गर्नुपर्ने उल्लेख छ । 

तर ज्वार्चनको ज्येष्ठता न्यारोवडी जहाज (ए ३२०) का पाइलटको हिसाबमा १३ औं स्थानमा रहेको निगमको कागजातबाट देखिएको केन्द्रले आफ्नो प्रतिवेदनमा लेखेको छ । सन् १९८४, सन् १९८८ तथा सन् १९९१ मा भर्ती भएका पाइलटभन्दा सन् २००७ मा जागिर खाएका ज्वार्चनले विभागीय प्रमुखको जिम्मेवारी व्यवस्थापनले दिएको देखिन्छ ।

त्यसैगरी निगमले गत २०७७ माघ ७ गते अन्तिम बढुवा भई तह ९ मा रहेका क्रू मेम्बरहरुको ज्येष्ठताअनुसारको नामावलीमा ज्वार्चन सबैभन्दा कनिष्ठ (१९ औं नम्बर) मा पर्छन् । 

ज्वार्चनका लागि अपरेशन म्यानुअल नै परिर्वतन गरियो

अपरेशन निर्देशकको नियुक्ति सम्बन्धमा साविकको अपरेशनम्यानुअलको दफा १.३.१ मा निम्नानुसार व्यवस्था छ :

अपरेशन निर्देशक हुन,

क) उचित सेवा गरेको हुनुपर्ने

ख) वायुसेवामा २० वर्षभन्दा बढी काम गरेको हुनुपर्ने

ग) निगम वा नेपाल नागरिक उड्डय प्राधिकरणबाट दण्डित भएको हुन नहुने ।

अपरेशन म्यानुअलसम्बन्धी यी शर्तले ज्वार्चनका लागि अपरेशन निर्देशक हुन रोक्थ्यो । किनभने ज्वार्चनले २० वर्ष सेवा गरेका थिएनन र उनी नागरिक उड्डयन प्राधिकरणबाट दण्डित भएका थिए । प्राधिकरणले सन् २०१७ फेब्रुअरी १४ तारिखका दिन ज्वार्चनलाई पाँच हजार रुपैयाँ जरिवाना तिराएर दण्डित गरेको थियो ।

ज्वार्चनले सन् २०१६ डिसेम्बर १ तारिखमा भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा न्यारोवडी विमान (एकेडब्लू, उडान संख्या आरए २०५) अवतरण गराउँदा ‘क्याट २’ प्रकृतिको ल्याण्डिङ गराएका थिए । ‘क्याट २’ भनेको विमानका यात्रु र विमानलाई नै जोखिममा पारेर विमानको यन्त्र उपकरण उपयोग गरी (आइएलएस) गरिने अवतरण हो । मौसम बिग्रेका बेला दक्ष पाइलटले क्याट २ प्रकृतिको अवतरण गराउने नियम छ । 

प्राधिकरणले ज्वार्चनसहित सोही उडानका क्रू एस पौडेललाई क्याट २ को तालिम नलिएको पाइएपछि कारबाही गरेको थियो । उनीसँगै क्याप्टेन विजय लामालाई पनि अदक्ष क्रूका साथ क्याट २ को अवतरण गराएको अभियोगमा पाँच हजार रुपैयाँ जरिवाना गरिएको थियो । प्राधिकरणले दुई पाइलटसहित निगमलाई पनि योग्य पाइलटको रोस्टरमा नराखेकाले पाँच हजार जरिवाना गरेको थियो । 

कामको अनुभव र प्राधिकरणको जरिवानाका कारण ज्वार्चन फ्लाइट अपरेशन विभागको कमाण्ड सम्हाल्न अयोग्य थिए । तर यो अयोग्यतालाई चिर्न निगम व्यवस्थापनले २८ अगष्ट २०१९ मा उक्त म्यानुअल नै संशोधन गरिदिएको थियो । 

सेवा अवधि नपुगेपछि ‘उडान सुरक्षा  तथा गुणस्तर विभाग’ मा पाँच वर्ष काम गरेको भए पनि हुने र प्राधिकरणबाट एक वर्षभित्र कारबाहीमा परेको हुन नहुने गरी म्यानुअल संशोधन गर्‍यो । ज्वार्चनले उक्त विभागमा पाँच वर्ष काम गरेका थिए र उनी प्राधिकरणको कारबाहीमा परेको एक वर्ष कटिसकेको थियो । 
यसरी म्यानुअल संशोधन गर्दा कमिटी बनाई निगमको महाप्रबन्धकबाट स्वीकृत गराई संशोधित म्यानुअलको नागरिक उड्डयन प्राधिकरणको पनि सहमति लिनुपर्ने नियम छ । ‘अपरेशन म्यानुअल संशोधन गर्दा कमिटी बनाई उक्त कमिटीले  अध्ययन गरी आफ्नो रायसहित पेश गरी सोअनुसार प्रक्रिया अपनाउनुपर्नेमा सो गरेको पाइएन,’ केन्द्रको प्रतिवेदनले औंल्याएको छ ।

प्रतिवेदन अगाडि भन्छ, ‘यसैगरी कुनै पनि नियम, कानुन, कार्यविधि संशोधन गर्दा अपनाउनुपर्ने तोकिएको कार्यविधिगत प्रक्रियाको पालना नगरी गरिएको संशोधन, थपघट गरेको कुरा वैधानिक नदेखिंदा उक्त कार्यविधिको १.३.१. डाइरेक्टर, अपरेशन विभागको संशोधन तथा नियमविपरीतको नियुक्ति वैधानिक देखिएन ।’

‘साथै निगमको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली, २०५८ को विनियम ३३ मा कायम मुकामयसम्बन्धी भएको व्यवस्थाविपरीत कार्यविधिमा निज ज्वार्चनको योग्यतासँग मिल्ने गरी गरिएको संशोधन तथा सोही संशोधनको आधारमा दिपुराज ज्वार्चनको अपरेशन विभागको प्रमुखको नियुक्ति गरेको विषयसमेत गैरकानुनी देखिन्छ’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई केन्द्रले पठाएको प्रतिवेदनमा छ । 

केन्द्रले आयोगलाई दिएको प्रतिवेदनमा ‘नागरिक उड्डयन प्राधिकरणबाट कारबाहीसमेत भएको अवस्थामा ज्वार्चनको अपरेशन विभागको प्रमुखमा भएको नियुक्ति वैधानिक नदेखिएकाले निजलाई नियुक्ति गर्ने पदाधिकारी, नियुक्त हुने पदाधिकारी, ज्वार्चनका लागि मिल्ने खालको प्रावधान राखी नियमविपरीत कार्यविधि नपुर्‍याई कार्यविधि संशोधन गरी अपरशेनको जिम्मेवारी प्रदान गर्ने पदाधिकारी र गैरकानुनी संशोधनलाई प्रमाणित गर्ने प्राधिकरणका पदाधिकारीलाई पनि कानुनबमोजिम कारबाही गर्नपर्ने’ उल्लेख छ ।

यसैगरी सतर्कता केन्द्रले ज्वार्चनका लागि गैरकानुनी तवरले म्यानुअल संशोधन गर्ने नागरिक उड्डयन प्राधिकरणका कर्मचारीलाई कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । फ्लाइट अपरेशन विभागको प्रमुख नियुक्त गर्नुअघि निगमले प्राधिकरणको पूर्व समर्थन लिनुपर्ने नियम छ । अपरेशन म्यानुअलविपरीत अघिल्ला महाप्रबन्धक मदन खरेलले ज्वार्चनलाई गरेको नियुक्तिलाई प्राधिकरणले अन्तरर्वाता लिएर सदर गरिदिएको थियो । केन्द्रले नियमविपरीत बढुवा भई लिएको रकमसमेत सम्बन्धित पदाधिकारीबाट असुलउपर हुनुपर्ने केन्द्रले लेखेको छ । 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x