पर्यटन

नगर प्रमुख प्रजापतिबाट ह्वों ह्वों पाटी शिलान्यास

इकागज |
साउन ९, २०७८ शनिबार १९:५६ बजे

भक्तपुर - भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार सल्लाघारीस्थित रानी पोखरी (न्हु पुखु) को दक्षिण भागमा रहेको ह्वोँ ह्वोँ पाटीको शिलान्यास गरेका छन् । नगर प्रमुख प्रजापतिले भक्तपुरको रानी पोखरी पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको समेत बताए । 

२०७६ जेठ १५ गतेबाट सुरु भएको रानी पोखरी पुनःनिर्माण सुरू भएको थियो । साथै भक्तपुरको रानीपोखरीलाई पुनर्जीवन दिने प्रयासमा नगरपालिका अग्रसर रहेको उल्लेख गर्दै पुराना प्रमाणको आधारमा पोखरी पुनःनिर्माणको काम अघि बढाइएको पनि उनले बताए । 


‘पुर्खाले सिर्जेको सम्पत्तिलाई मौलिक शैलीमा संरक्षण गर्न भक्तपुर नगरपालिका जुटेको छ,’ उनले भने, ‘इतिहास, भूगोल, संस्कृतिलगायतका जनशक्ति उत्पादन गर्ने उद्देश्यले ती विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्तिको समेत व्यवस्था गरेका छौँ ।’ 

नगरपालिकाले मन्दिर, पोखरी, पाटीपौवालगायतका सांस्कृतिक सम्पदा संरक्षण र जीर्णोद्धार गरी सम्पदालाई पुनःर्जीवन दिने काम गरिरहेको को वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताए । उनले भने, ‘सर्वसाधारण, आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि खुल्ला गर्ने गरी पोखरी पुनःनिर्माण कार्य छिटो सम्पन्न हुने गरी काम अगाडि बढाएका छौँ ।’ 

त्यस्तै इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले पोखरीको दक्षिणभागमा अवस्थित ह्वों ह्वों पाटी २०५६ सालमा भत्केको बताए । भक्तपुर नगरपालिकाले इतिहास ब्युँताउन गरेको पुनःनिर्माण कार्य सदास्मरणीय हुने समेत उनले सुनाए । साथै रानीपोखरीको निर्माण नेपाल संवत् ७५० अर्थात् वि.सं.१६८७ मा मल्ला राजा जगज्योती मल्लले गरेको कार्यक्रममा बताए । 

‘रानीपोखरीको दक्षिणमा रहेको ह्वों ह्वों पाटीमा रहेको शिलालेखअनुसार सो पोखरीको नामाकरण ‘पुष्करणी’ भनी उल्लेख गरिएको पाइएको छ,’ उनले भने, ‘रानी पोखरीको निर्माण पाँच महिनाको छोटो अवधि बनेको इतिहास छ ।’ यो पाटी पुनःनिर्माणको लागत इस्टिमेट ६१ लाख रूपैयाँ रहेको नगरपालिकाले जनाएको छ । 
 


Author

थप समाचार
x