पर्यटन

नेपालगञ्ज-पोखरा सिधा उडान गर्ने बुद्ध एयरको घोषणा

इकागज |
साउन ९, २०७८ शनिवार २०:२४ बजे

काठमाडौँ : पर्यटन व्यवसायीको संस्था नाट्टा नेपालको पहलमा बुद्ध एयरले नेपालगञ्ज–पोखरा सिधा उडान गर्ने घोषणा गरेको छ । शुक्रबार बुद्ध एयरले सातामा तीन दिन नेपालगञ्ज–पोखरा उडान गर्ने घोषणा गरेको हो ।

साउन १७ गतेबाट सुरु हुने नेपालगञ्ज–पोखरा उडान हप्तामा आइतबार, बुधबार र शुक्रबार हुनेछ । पहिलो उडान पोखराबाट पर्यटकसहितका यात्रु लिएर जहाज नेपालगञ्ज उड्नेछ । त्यसपछि नेपालगञ्जबाट पर्यटकसहित यात्रु बोकेर बुद्ध एयर पोखरा उड्नेछ ।  


स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै जहाज उड्ने पनि बुद्ध एयरले जनाएको छ । नाट्टा बाँकेको अध्यक्ष श्रीराम सिग्देलको पहलमा बुद्ध एयरले यसअघि नै पोखरा–नेपालगञ्ज उडान गर्ने तयारी गरेको थियो । तर कोभिड १९ को दोस्रो लहर आएपछि त्यो उडान रोकियो । महामारी सामान्य अवस्थामा आउन थालेपछि बुद्धले पहिलोपटक नेपालगञ्ज–पोखरा सिधा उडान थाल्ने घोषणा गरेको हो ।

नाट्टाले अहिले सीता एयरको जहाज चार्टर्ड गरेर पर्यटकका लागि नेपालगञ्ज–पोखरा उडान गर्दै आएको छ । अब बुद्धले नियमित उडान थाल्ने भएपछि पोखराका साथै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली र सुदूरपश्चिमका पर्यटकीय क्षेत्रमा पर्यटकको संख्या बढ्ने अनुमान छ । 

'हामीले वर्षौदेखि गर्दै आएको प्रयास अहिले आएर सफल हुन लागेको छ,’ नाट्टा बाँकेका अध्यक्ष सिग्देलले इकागजसँग भने, ‘सीता एयरबाट चार्टर्ड जहाज उडाएर थालिएको प्रयास अहिले बुद्ध एयरले नियमित जहाज उडाउने तयारीसम्म पुगेको छ । यसले पश्चिम नेपालको पर्यटनमा ठूलो टेवा दिनेछ ।

यसअघि पोखरा पुगेका स्वदेशी तथा विदेशी पर्यटक सिधा उडान नहुँदा फेरि काठमाडौँ आएर नेपालगञ्ज वा धनगढी जानुपर्ने बाध्यता थियो । 


Author

थप समाचार
x