पर्यटन

राहत र खोप दिन कर्णालीका होटल व्यवसायीको माग

इकागज |
साउन १५, २०७८ शुक्रवार ८:२६ बजे

फाइल फोटो

सुर्खेत : सुर्खेतका होटल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहतको माग गरेका छन् । होटल व्यवसायी सङ्घ सुर्खेतले बिहीबार कर्णाली प्रदेश सरकारलाई आफ्नो मागपत्र बुझाउँदै कोभिड १९ ले थला परेको होटल व्यवसायलाई उकास्न राहत माग गरेका हुन् ।

कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकाले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरेको होटल व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष गोरख रावतले जानकारी दिए । “विगत दुई वर्षदेखि हामी थला परेका छौँ, राज्यले पनि हामीबाट कर लिने बेला लिन्छ, तर अहिले हामी समस्यामा पर्दा केही राहत दिन सक्दैन”, उनले भने । 


कोरोना महामारीको यस्तो अवस्थामा खोप दिन पनि कञ्जुस्याइँ गरिरहेको भन्दै अध्यक्ष रावतले व्यवसायीलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरिएको बताए । उनका अनुसार सुर्खेतमा मात्र एक हजार २५० होटलमा पाँच हजार कर्मचारी रहेका छन् । कर्णालीका होटल व्यवसायी र त्यहाँ काम गर्ने कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने मागसमेत गरिएको रावतले जानकारी दिए । 

व्यवसायीको मागप्रति सरकार गम्भीर : मन्त्री बुढाक्षेत्री

प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले होटल व्यवसायीका मागप्रति सरकार गम्भीर रहेको बताए । व्यवसायीको मागपत्र बुझ्दै मन्त्री उनले  कोरोना महामारीको चपेटामा होटल व्यवसाय क्षेत्र पनि परेकाले प्रदेश सरकारले यसलाई माथि उकास्ने खालका कार्यक्रम ल्याउने जानकारी दिए । 

कोरोना भाइरसविरुद्धको खोप होटल व्यवसायीलाई पनि लगाउन मन्त्रालयले पहल गर्ने उनको भनाइ थियो । “अहिले हाम्रो प्राथमिकता भनेको नागरिकको स्वास्थ्य हो, त्यसैले सबै नागरिकलाई खोप लगाउने लक्ष्य छ, सोहीअनुसार स्वास्थ्यकर्मी, सञ्चारकर्मी, ज्येष्ठ नागरिक, सफाइकर्मी र शिक्षकलाई खोप लगाउने काम भइरहेको छ”, उनले भने । 

होटल व्यवसायी र यहाँ काम गर्ने कर्मचारीमा पनि कोरोनाको जोखिम हुने भएकाले केन्द्र सरकारसँग समन्वय गरी खोप लगाउन प्रदेश सरकारले आवश्यक पहल गर्ने उनले जानकारी दिए । रासस


Author

थप समाचार
x