पर्यटन

कोभिडले थला परेको पर्यटन उकास्‍न टिकटक 'गेम चेन्‍जर' बन्‍न सक्‍छ !

अनिष भट्टराई |
भदौ ५, २०७८ शनिवार ११:१३ बजे

पुम्दीकोटमा निर्मित विशाल महादेवको मूर्ति । तस्‍बिर सौजन्‍य:एसटु क्रिएसन

पोखरा - शुक्रबार दिउँसो पोखराको आकाशे पुलमा युवायुवतीदेखि वृद्धवृद्धा आ-आफ्नै धुनमा थिए । कोही पुलमा बसेर तल सडकमा हुँइकिएका गाडी हेरिरहेका थिए, कोही फोटो भिडियो खिचाउँदै । कोही टिकटक बनाउन गीत बजाएर नाचिरहेका थिए । यही हुलमा भेटिइन्, स्याङ्जाकी सुस्मिता पौडेल । सुस्मिता पूरानो नेपाली गीतमा टिकटक बनाइरहेकी थिइन् । ‘बोलबोल हृदय खोलेर, केही हुँदैन मसँग बोलेर’ गीतमा टिकटक बनाइरहेकी थिइन् । 

उनलाई भिडियो बनाउन सिकाइरहेकी थिइन्, साथी रञ्जिता । टिकटकमा आकाशे पुल ‘भाइरल’भएपछि आफूलाई आउन मन लागे पनि घरको काम मिलाएर आउन ढिला भएको उनले बताइन् । ‘यहाँ सबैले टिकटक बनाएर हाल्छन् । यहाँ आउन एकदमै मन थियो, तर समय मिलेको थिएन । एकदम रमाइलो लागेको छ,’ उनको प्रतिक्रिया थियो । 


गत मंगलबार तनहुँ शुक्लागण्डकीका बिनित श्रेष्ठ र उनका ३ साथी पोखरा घुम्न आए । लामो समयको बन्दाबन्दी र कोभिड कहरकै माझ घरमै बस्न बाध्य भएका उनीहरू पोखरा आएपश्चात् फेवा ताल घुमे । डुंगा सयर गरे । फेवा ताल र पोखराका मुख्य पर्यटकीय स्थल यसअघि नै घुमिसकेका उनीहरूलाई नयाँ ठाउँ जाने इच्छा लाग्यो । 

तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनमा निर्मित ट्रि हाउस तस्‍बिर: कृष्ण न्यौपाने

अनि उनीहरू लागे पुम्दीकोटको विशाल महादेव मूर्ति अवलोकन गर्न । पुम्दीकोट जाने बेला सृजनाचोकको नवनिर्मित आकाशे पुल पनि चढे । यी ठाउँ उनीहरूका लागि नयाँ थियो । नदेखेका भने होइनन् । सामाजिक सञ्जाल टिकटकमा बिनितको टोलीले यी ठाउँ देखेको थियो । ‘घर लामो समय बस्दा बोर भएपछि पोखरा गयौँ । डेभिस फल, फेवा ताल त पहिले नै गएका थियौं, त्यो भन्दा बरु पुम्दीकोट, आकाशे पुलमा गयौं,’ बिनित भन्छन् । 

बिनितको टोलीले त्यहाँ गएर टिकटक बनाए, सेल्फी खिचे । फेसबुक, टिकटकमा पोस्ट गरे । आफूले पोस्ट गरेको टिकटकबाट अरु साथीहरूलाई पनि नयाँ ठाउँ अवलोकन गर्ने इच्छा जाग्न सक्ने उनको अपेक्षा छ । ‘हामी पनि टिकटकबाट नै देखेर आयौं । १५ सेकेन्डको भिडियो हालेपछि छोटो मिठो भिडियोले मन तान्छ । नयाँ साथी पनि घुम्न आउँछन्, टुरिजम पनि बढ्छ,’ उनले भने । 

भिमाद नगरपालिका–९ मोहोरियास्थित ‘घाङ्च ल्हुङ’। तस्‍बिर: कृष्ण न्यौपाने

तनहुँका अमर शाही ठकुरीलाई भिमादको मोहरियमा रहेको पार्कबारे जानकारी थिएन । टिकटकमा उनले मोहरियाबारे बुझे । शुक्लागण्डकी ७ भिमादचोकबाट ३ किलोमिटरभित्र जंगलमा अवस्थित मोहरिया उनलाई निकै मनमोहक लाग्यो । अनि लागे त्यसतर्फ । यस्तै दमौलीको ट्रि हाउस पनि अहिले टिकटकमा भाइरल छ । अमर त्यहाँ पनि पुगे । ‘घरबाट धेरै टाढा त छैन, तर मलाई ठाउँको बारे थाहा थिएन, टिकटकबाट नै चिनेर घुम्न गएँ,’ अमरले भने । 

टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालले अहिले आन्तरिक पर्यटनको विकासमा भूमिका खेलेको देखिन्छ । अहिले नयाँनयाँ ठाउँ घुम्ने र यस्ता सञ्जालमा छोटो भिडियो हालेर पोस्ट गरेपछि हजारौंले हेर्न सक्ने भएपछि नयाँ पर्यटकीय गन्तव्य पनि पहिचान भएका छन् । पुम्दीकोटको महादेवको मुर्ति, आकाशे पुल, पोखरा २२ रानीवनको मेवा खोला, कृस्ति रिसोर्ट, मेथलाङ जस्ता ठाउँका भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छन् । 

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई अहिले सामाजिक सञ्जालका कारण नयाँ पर्यटकीय गन्तव्यको विकास भइरहेको बेला सरकारी र निजी क्षेत्रले योजना बनाएर बढ्नुपर्ने बताउँछन् । ‘सरकारी क्षेत्रबाट भन्दा पनि अहिले व्यक्ति विशेष गएर नयाँ ठाउँबारे पोस्ट गर्ने ट्रेण्डले नयाँ ठाउँहरू पहिचान भएका छन्,’ भट्टराई भन्छन्, ‘पोखराबाहिरका हामीलाई नै थाहा नभएका ठाउँहरू पनि पहिचान भएका छन्, अब संस्थागत प्लान बनाएर बढे आन्तरिक पर्यटनमा एक स्टेप अघि हुन्छौं ।’

अहिले सबैको हातमा मोबाइल भएका बेला टिकटकको ट्रेन्डलाई ‘डिजिटल मार्केटिङ’को रूपमा हेरिनुपर्ने भट्टराईको मत छ । कोभिडबाट थला परेको पर्यटन क्षेत्रलाई उठाउन यस्ता टिकटकका यस्ता ट्रेन्ड ‘माइलस्टोन’ बन्ने उनले बताए । 

पोखरा २२ रानीवनमा अवस्थित मेवा खोला ।तस्‍बिर: दीपक परियार

पुम्दीकोटमा होटल पुम्दी भ्यु चलाइरहेका सुमन बराल अहिले पुम्दिकोट टिकटक र सामाजिक सञ्जालमा भाइरल भएपछि व्यवसायले गति लिएको बताउँछन् । २ वर्ष अघि होटल खोलेका बरालको व्यवसाय महादेवको मूरु्ति भाइरल नहुँदासम्म जेनतेन चलेको थियो । तर ठाउँको प्रवर्द्धनपछि भने उनको व्यवसाय अहिले लोभलाग्दो ढंगले अघि बढेको छ । 

‘२ वर्षअघि होटल खोले यता केही मान्छे आइरहन्थे । पुम्दिकोट अहिले भाइरल भएपछि गति लिएको थियो । फेरि अहिले कोभिडले बन्द गरिएको छ, त्यही पनि मानिसको फ्लो धेरै घटेको छैन,’ उनले भने । पुम्दिकोट बन्द नहुँदासम्म बरालको होटलमा दिनको २० जना जति पाहुना बस्ने गरेका थिए । अहिले यो संख्या घटेपनि फेरि पुम्दिकोट खुलेपछि व्यवसाय राम्रो हुनेमा उनी आशावादी छन् । ‘२० जनासम्म पाहुना राखें बन्द नहुँदा । अब फेरि खुल्यो भने व्यवसाय झनै अघि बढ्ला,’ उनले भने ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x