पर्यटन

अन्नपूर्ण आधार शिविर खुल्दै

इकागज |
भदौ २८, २०७८ सोमबार १९:४४ बजे

पोखरा – कोभिड संक्रमण माहामारीका कारण बन्द रहेको अन्नपूर्ण आधार शिविर पदयात्रा खुल्ने भएको छ । कोभिड संक्रमितको दर कम हुन थालेसँगै असोज पहिलो साताबाट आधार शिविर पदमार्ग खुल्ने भएको हो । 

विश्वकै उत्कृष्ट १० मध्येको उक्त  पदमार्गमा पर्ने सो आधार शिविर क्षेत्रमा स्वास्थ्य मापदण्ड बनाएर पदयात्रा  खोल्न लागिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलिप गुरुङले बताए ।


‘पदयात्रामा जानेलाई लक्षित गरी असोज पहिलो साताबाट यो क्षेत्र खुलाउन लागेका हौं,’ उनले भने, ‘पदयात्राका क्रममा पर्यटकलाई कोभिडको आशंका लागेमा छोम्रोङमा एन्टिजेन परीक्षणको प्रवन्ध गर्नेबारे छलफल भइरहेको छ ।’

नजिकैबाट हिमाल नियाल्दै पदयात्रा गर्न पाउनु यो पदमार्गको विशिष्टता हो । यहाँ आउनेलाई पर्याप्त सुविधा उपलब्ध गराउन पर्यटन  पूर्वाधार विस्तार  गर्न व्यवसायी सक्रिय भएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले जानकारी दिए । 

कोभिडले थलिएको पर्यटनलाई विस्तारै पूर्ववत् अवस्थामा फर्काउनुपर्ने वर्तमान अवस्थामा स्वास्थ्य मापदण्डसहित पर्यटकीय गन्तव्य खोल्नुपर्ने पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापाले बताए । ‘विश्व बजारमा मापदण्डसहित पर्यटकीयस्थल खुल्न थालेका छन्, हामीले  पनि अब पर्यटकीयस्थल बन्द गरेर बस्न हुँदैन,’ उनले भने ।


Author

थप समाचार
x