पर्यटन

पाइलटलाई सुताउन कार्गाे अफलोड

निगमलाई ३५ लाख घाटा

इकागज |
असोज ८, २०७८ शुक्रवार १७:५८ बजे

फाइल फोटो

काठमाडौं - पाइलट तथा क्याबिन क्रूलाई सुतेर ल्याउने बन्दोबस्ती मिलाउँदा नेपाल वायुसेवा निगमलाई बिनसित्ति ३५ लाख रुपैयाँ घाटा परेको छ । निगमले केही ‘आफन्त’ लाई सुविधाजनक तवरले फर्कने जाँचोपाँजो मिलाउने क्रममा लोड हुन लागेको कार्गाे झार्दा यस्तो घाटा परेको हो ।

निगमले हिजो बिहीबार एक सय १२ जना यात्रुलाई लिएर जापान जाने एउटा वाइड बडी (एएलजेड) जहाजलाई सूचीमा राख्यो । यो जहाजमा LDMCR (Lower Deck Mobile Crew Rest) छ । यसलाई झिक्न र राख्न मिल्छ । कार्गाे भएका बखत कार्गाे र नभएका बखत पाइलट तथा क्याबिन क्रू सुतेर आउन मिल्छ ।


यही जहाजमा निगमले १६ टनको कार्गाे पनि बुकिङ गरिसकेको थियो । एक केजी कार्गाेको भाडा दुई अमेरिकी डलर तय भएको थियो । यसअनुसार कार्गाेबाट निगमले करिब ३५ लाख रुपैयाँ आम्दानी गर्नेवाला थियो ।

तर फ्लाइट अपरेशन विभागले अन्तिम समयमा आएर कार्गाे बोक्न नमिल्ने जहाज (एएलवाई) उडाएर कार्गाे एयरपोर्टमै छाडिदियो । हिजो राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइट नं. आरए ४३३ जापानको नारिता विमानस्थलका लागि उडेको थियो । ‘उड्ने बेलामा विभागले जहाज परिवर्तन गरिदियो,’ निगम स्रोतले भन्यो, ‘कार्गाे अफ लोड भयो ।’

निगमले आजभोलि क्याबिन क्रू डबल सेट (दुई समूह) मा लैजाने गर्दै आएको छ । एक सेट सुतेर जाने र अर्काे सेट सेवा प्रदान गर्ने र जाँदा सेवा प्रदान गरेकाहरु फर्कँदा सुतेर आउने र सुतेर गएकाहरु सेवा प्रदान गर्ने थिति छ । यसो गर्नुको पछाडि क्याबिन क्रूहरुलाई होटलमा बस्न नपरोस् भनेर हो । होटलमा राख्दा खर्च धेरै हुने भएपछि सेट नै लिएर उडाउने गरिएको छ ।  

सोही जहाज आज साँझ काठमाडौं फर्कंदैछ । २७४ यात्रु बोक्ने सिट क्षमता भएको उक्त जहाजमा २४१ यात्रु आउँदैछन् । यसमा पाइलट र क्याबिन क्रूको संख्या २० छ । 

निगमको न्यारो बडी बिमानमा क्याबिन क्रूलाई सुत्ने वाइड बडी (एएलजेड) को जस्तो सुविधा छैन । न्यारोबडीमा पनि क्याबिन क्रूहरु यात्रुको सिटमै सुतेर आउने÷जाने गर्दै आएका छन् । ‘न्यारो बडीमा बंकर हुँदैन, क्रूहरु जहाजको सिटमै सुतेर आउँछन्,’ स्रोतले भन्यो, ‘एएलजेडको यात्रु सिटमै क्याबिन क्रूहरु आउन सक्ने स्थिति हुँदाहुँदै कार्गाे अफ लोड गर्नु उचित थिएन ।’

तर निगमका फ्लाइट अपरेशन विभागका डाइरेक्टर दिपुराज ज्वार्चनले भने नागरिक उड्डयन प्राधिकरणले नियमनअनुसार कार्गाे अफ लोड गर्नुपरेको बताए । उनका अनुसार क्याबिन क्रूले १५ घण्टाभन्दा बढी काम गर्नु (ड्यूटी) हुँदैन । जापान पुग्नै १६ घण्टा लाग्ने र यताउति गर्दा २१ घण्टासम्म सुत्न पाएको हुँदैन । 

‘प्राधिकरण र अन्तर्राष्ट्रिय स्थापित नियमले पनि १५ घण्टाभन्दा बढी काम गरेका क्रूहरुले सुतेरै आउनुपर्ने हुन्छ,’ ज्वार्चनले शुक्रबार इकागजसँग भने, ‘जापानबाहेक अरु देशमा १५ घण्टाको उडान हुँदैन, ती दूरीका उडानमा यात्रु सिटमै सुतेर आउँदा पनि हुन्छ, तर जापानको हकमा भने मिल्दैन ।’

कार्गाे अफ लोड गरेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले पनि छानबिन गर्ने भएको छ । मन्त्रालयका सचिव यादव कोइरालाले उक्त घटनाका सम्बन्धमा विस्तृत रुपमा आफूले बुझ्ने बताए । ‘अब हामी छानबिन गर्नेछौं,’ सचिव कोइरालाले शुक्रबार इकागजसँग भने । 
 


Author

थप समाचार
x