पर्यटन

जुम्लाको सिंजा सभ्यताको मस्यौदामाथि सुझाव सङ्कलन

इकागज |
असोज ९, २०७८ शनिबार २१:५० बजे

फाइल फोटो

जुम्ला - ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माथि सुझाव सङ्कलन गरिएको छ । जुम्ली एकता सेवा समाजद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित मस्यौदामाथि सिंजा सभ्यतासँग सरोकार राख्ने यहाँका विज्ञ, कर्मचारी, युवा, अधिकारवादी तथा पत्रकारबाट सुझाव लिइएको छ ।

उक्त छलफल तथा सुझाव सङ्कलन कार्यक्रममा मस्यौदाको अवधारणा एवं परिकल्पनाबारे कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वकानुनमन्त्री नरेश भण्डारीले प्रस्तुत गरे । सभ्यताको उद्गमस्थल सिंजा हुँदा पनि नहुँदाको जस्तो पीडा कर्णालीले भोगिरहनुपरेको यथार्थता उजागर गर्दै उनले सिंजाको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय संरक्षण तथा विकास गर्न ऐन ल्याउने उद्देश्य राखेर मस्यौदामाथि छलफल र सुझाव सङ्कलन गरिएको बताए । 


मन्त्री भण्डारीले भने, “नेपालको मूल सभ्यताको उद्गमस्थल सिंजा र त्यससँग सम्बन्धित यहाँको प्राकृतिक, सांस्कृतिक, पुरातात्विक सम्पदा तथा भाषा र कलाको प्रवद्र्धन गरी आर्थिक समृद्धि हासिल गर्न विधेयकको मस्यौदा तयार गरिएको छ । यसलाई समृद्ध बनाउन विभिन्न क्षेत्रका विज्ञहरूबाट सुझाव लिएका छौँ । यो गैरसरकारी विधेयक हो । भोलि नै प्रदेशसभा सचिवालयमा दर्ता गर्छौँ ।”

कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष पदमबहादुर रोकायले नागराजदेखि शोभान शाहीसम्मले राज्य गरेको गौरवशाली विरासत बोकेको खस साम्राज्य र त्यसअन्तर्गतका सभ्यता, संस्कृति, कला, भाषा संरक्षण तथा प्रवद्र्धनमा यो ऐनले सहयोग पुर्‍याउने बताए । यसका लागि प्रदेशसभा सचिवालयमा दर्ता गरेर सदन चल्नेबित्तिकै पेश गरिने अध्यक्ष रोकायले जनाए । 
 


Author

थप समाचार
x