पर्यटन

दसैंमा घुमाघाम

पर्यटकको पर्खाईमा सुर्खेतका पर्यटकीयस्थल

काँक्रेविहारदेखि बराहतालसम्मको सुन्दरता

इकागज |
असोज २९, २०७८ शुक्रवार १७:१७ बजे

सुर्खेतको काँक्रविहार । फोटो स्रोत : हरिहरसिंह राठौर

सुर्खेत - दसैं तिहारमा लामो बिदा हुने भएकाले सबैजना केही फुर्सदिलो हुन्छन् । फुर्सदलाई सदुपयोग गर्न धेरैले घुमघामको योजना बनाउँछन् । तर कहाँ घुम्ने भन्ने अन्योल हुने गर्छ । यदि दसैं बिदाको सदुपयोग गर्ने हो भने कर्णाली प्रदेशको राजधानी सुर्खेतका गन्तव्य तपाईंका लागि उपयुक्त हुन सक्छन् । 

सुर्खेतमा पर्यटन व्यवसायीले दसैंमा घुमघामका लागि अफर समेत ल्याएका छन् । स्रिमिक एयरले दसैंका बेला सुर्खेतदेखि बडीमालिका घुम्ने अफर ल्याएको छ । डाइनामिक टुरिजम रिन्युभ्यु कमिटीले भेरी नदीमा र्याफिटङ  अफर ल्याएको छ । सुर्खेतका थारु होमस्टेलगायतले विशेष प्याकेज बनाएका छन् । उनीहरू आन्तरिक पर्यटन विकासलाई जोड दिनेगरी प्याकेज ल्याएका हुन् । 


बुलबुले ताल 

सुर्खेतमा बुलबुले ताल,
लाइगो माया लेउ चिनो रुमाल’ 

बन्धकी फिल्मको यो गीतमा भनेजस्तै सुर्खेतको बुलबुले ताल निकै रमणीय छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको मुख्य भागमा रहेको बुलबुले ताल जमिनमुनिबाट बुल्बुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको हो । यो ताल समुन्द्री सतहबाट लगभग ६५७ मिटर (२१५७ फिट)को उचाइमा अवस्थित छ । 

अहिले सुर्खेतको बुलबुले तालमा बुलबुले ताल क्षेत्रभित्र जलकुण्ड, उद्यान, शौचालय, सडक कालोपत्रे भएका छन् । दसैं तिहारमा यो ताल घुम्नका उपयुक्त समय हो । अहिले पर्यटकलाई लक्षित गरेर तालमा दुई वटा डुंगा संचालनमा छन् । 

रमणीय काँक्रेविहार 

काँक्रेविहार नेपालको एक प्राचीन सभ्यतामध्येको एक स्थान हो । सुर्खेत जिल्लाको वीरेन्द्रनगरपालिका–९ लाटीकोइलीमा अवस्थित यस स्थानमा बौद्ध धर्मसम्बन्धी पुरातात्विक भवन तथा विहार रहेको छ । यो नेपालको सबैभन्दा ठूलो बौद्ध विहार हो । 
काँक्रेविहारको सुर्खेत क्षेत्र तत्कालिन खश साम्राज्य अन्तर्गत पथ्र्यो । यसको निर्माण १३ सय शताब्दीमा भएको इतिहास छ । १९९० सालको भूकम्पले भत्काएपछि अहिले यसको पुनर्निर्माण भएको छ । 

बराहताल

बराहताल गाउँपालिका–४ स्थित बराहताल दसैं तिहारमा घुम्नका लागि उपयुक्त स्थान हो । १६ बिघामा क्षेत्रफलमा फैलिएको ताल जंगलको बीच छ । जंगली जनावार र चराचुरुङ्गीको अवलोकन गर्न यो ताल निकै रोमान्चक रहेको छ । 

पाँच वर्षअघि तालमा पानी सुकेपछि पशुचौपायाको चरनस्थल बनेको थियो । अहिले ताल क्षेत्रको झारपात हटाएपछि पुनः ताल बन्न लागेको छ । तालमा पानी भरिन थालेपछि पर्यटक भित्रिने आशा पलाएको गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले बताए । ‘तालमा जम्मा भएको फोहोर, माटो र रुख बिरुवाहरू हटाएपछि पानी जम्मा हुन थालेको छ,’ उनले भने, ‘पानी भरिने आशा नै मरेको थियो, तर बर्खाको पानी जम्मा भइरहेको छ, आसपासका मुहान पनि फुटेको अनुमान छ ।’

२०७२ सालको भुकम्पपछि तालमा पानी हराउँदै गएको थियो । २०३६ सालदेखि रमणीय र पर्यटकीय गन्तव्यको रुपमा विकास भएको तालमा ४० को दशकयता पर्यटकीय गतिविधि बढेको हो । 

भेरी र कर्णालीमा र्याफिटङ  

सुर्खेतको पन्चपुरी नगरपालिकाको जामुबाट कुईने पुलसम्म भेरी नदीबाट भेरी–कर्णाली दोभान हँुदै कर्णाली नदीको कुईने पुलसम्म ¥याटिङ सेवा नियमित सुरु भएको छ । दसैं तिहारमा सस्तो मुल्यमा नै यो नदीमा र्याफिटङ को आनन्द लिन पाइन्छ । 

डाइनामिक टुरिजम रिन्युभ्यु कमिटीका सन्चालक देवराज जैसीले जामु– कुईने र बिजौरा–कुईने खण्डमा र्याफिटङ  तथा फिसिङ गर्न सकिने बताए । ‘हामीले बिषेश गरेर यहाँको पर्यटन क्षेत्रलाई अगाडी बढाउन र्याफिटङ सहित फिसिङको आनन्द लिन पाउने व्यवस्था गरेका छौं,’ उनले भने । 

हेलिकोप्टरमार्फत बडीमालिका घुम्ने अफर

सिम्रिक एयर प्रालिले सुर्खेत–बडीमालिका दर्शनका लागि हेलिकोप्टर सेवा सुरु गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै प्रालिले घटस्थापनादेखि सुर्खेत बडीमालिका दर्शनका लागि हेलिकोप्टर सेवा सुरु गरेको हो । 

सुर्खेत–बडीमालिका दर्शन उडान सुरु गरेको प्रालिका बजार विभाग प्रमुख योगेश सापकोटाले बताए । ‘सुर्खेत विमानस्थलबाट बढीमालिका पुग्न करिब ४५ मिनेट लाग्छ,’ उनले भने, ‘पाँचजना चढ्न मिल्ने हेलिकोप्टरको दुईतर्फी (आवतजावत) प्रति उडान दुई लाख ५० हजार रुपैयाँ भाडा निर्धारण गरिएको छ ।’

पश्चिमको नगरकोट : गोठीकाँडा 

हरेक शनिबार सुर्खेतबासीको रोजाईमा पर्ने गरेको वीरेन्द्रनगर–१२ को गोठीकाँडा पनि दसैं तिहारको बेला घुमेर आनन्द लिन सकिन्छ । वीरेन्द्रनगर बजारबाट १० किलोमिटर टाढा रहेको गोठीकाँडाबाट सुर्खेत उपत्यका दृश्य अवलोकन गर्न सजिलो हुने भएकाले सुर्खेतबासीको रोजाईमा गोठीकाँडा पर्ने गरेको छ । 

डाँडामा रहेको गोठीकाँडाबाट फराकिलो उपत्यका, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकका लागि यो स्थल आर्कषणको केन्द्र बनेको गोठीकाँडाका होटेल व्यवसायी धनलाल देवकोटाले बताए । ‘शान्त वातावरण, चिसो हावा, स्थानीयस्तरमा उत्पादन हुने दुध, दही र लोकल कुखुरा खान बस्नका उपयुक्त ठाउँ हो,’ उनले भने, ‘पश्चिमको नगरकोटका रुपमा चिन्न थालिएको र गोठीकाँडामा सुर्खेतकै सबैभन्दा बढी पर्यटक आउने स्थान हो ।’

करिब दुई सय वर्ष अगाडी गोठीकाँडा नजिकैको बयलकाँडामा बहादुर शाहको पालामा गढी निर्माण गरिए र त्यो अहिले पनि भग्नावेश भेटिने वडा अध्यक्ष टोपबहादुर दर्लामीले बताए । ‘बहादुर शाहको पालामा निर्माण भएको ऐतिहासिक गढी रहेको छ ।’ उनले भने, ‘त्यो गढीको संरक्षणमा अहिले हामी लागि रहेका छौं ।’ न्युज कारखाना


Author

थप समाचार
x