पर्यटन

पर्यटन प्रचार गर्न मनाङमा ‘साइक्लिङ’

इकागज |
कात्तिक ५, २०७८ शुक्रवार १६:५९ बजे

फाइल फोटो

चामे - लामो समय कोभिड– १९ को सङ्क्रमण न्यूनीकरणपश्चात् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको ‘नेचर लभर साइक्लिङ ग्रुप लेकसाइड’ पोखराका सदस्यहरु मनाङको भ्रमणमा आएका छन् । उक्त समूहका सदस्यले बेमौसमी वर्षाका बाबजुद पनि बिहीबारदेखि यात्रा थालेका हुन् । अन्नपूर्ण पदमार्गको प्रवद्र्धनका साथै भ्रमण गरी पर्यटकलाई यात्राका बारेमा जानकारी दिने र आवश्यक प्रचारप्रसार गर्ने उद्देश्यले यत्रामा निस्किएको समूहका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए । 

उनका अनुसार सबैभन्दा अग्लो स्थान (४९१९ मिटर)मा रहेको तिलिचो तालसम्म साइकलका माध्यमबाट नै पुग्ने योजना रहेको छ । उनीहरुले १३ दिने प्याकेज बनाएर तिलिचो ताल र अन्नपूर्ण पदमार्गको भ्रमणमा निस्किएका हुन् । 


पहिलो दिनमा पोखराबाट यात्रा सुरुआत गरी लमजुङको बेंसीशहर हुँदै स्यागेमा पुगेर रात बसेको र दोस्रो दिन स्यागेबाट धारापानीसम्मको यात्रा भइरहेको पौडेलले बताए । उक्त समूह शुक्रबार हिमाली जिल्ला मनाङको धारापानीमा पुगेर बस्ने उनले बताए । 

“बेमौसमी वर्षाले मनाङका सडकमा धेरै समस्या रहेको छ । पर्यटन आउने मौसममा नै सडकको समस्याले धेरै असर गरेको छ । जिल्लामा भित्रिने पाहुनालाई सहज बनाउनका लागि जिल्लावासी र सम्बन्धित निकाय सजग हुनुपर्ने देखिएको छ”, संयोजक पौडेलले भने, “पदमार्गसँगै सडकमा पैदलयात्रा गर्नसमेत समस्या भएको पायौँ, सायद मौसममा सुधार भएमा सहज हुनेछ भन्ने अपेक्षा छ ।”

पोखराका १२ साइकलयात्री साइकल यात्रामा निस्किएका हुन् । उनीहरु शनिबार धारापानीबाट मनाङको सदरमुकाम चामे आइपुग्नेछन् । आइतबार चामेबाट मनाङ गाउँ पुग्ने तालिका रहेको छ । त्यस्तै सोमबार मनाङ गाउँबाट तिलिचो बेसक्याम्प, मङ्गलबार तिलिचो बेसक्याम्पबाट याक खर्कसम्मको यात्रा गर्नेछन् । 

त्यसैगरी बुधबार बेसक्याम्पबाट थोराङ्ला पास, बिहीबार थोराङ्ला पासबाट मुक्तिनाथको यात्रा तय गर्ने योजनासहित साइकलयात्रीको समूह भ्रमणमा निस्किएको अर्का संयोजक धरमबहादुर लामिछानेले जानकारी दिए । 

उनका अनुसार शुक्रबार मुक्तिनाथदेखि मार्फा, शनिबार मार्फादेखि तातोपानी, आइतबार तातोपानीदेखि गोडेपानी र सोमबार गोडेपानीदेखि पोखरा पुगेर यात्राको समापन गर्ने योजना रहेको छ । 

मौसममा केही सुधार भएपछि मनाङमा पर्यटनलाई तिलिचो तालसम्म जान दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।  आन्तरिक तथा बाह्य पर्यटक आउने मौसम भएकाले पनि मौसमको अनुकूलताअनुसार पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पाससम्म गर्न दिइएको उनले बताए ।  

“मौसम अनुकूल भएको अवस्थामा पर्यटकलाई आवतजावत गर्न दिइएको छ । सुरक्षा व्यवस्था पनि गरिएको छ । सबै स्थानमा सडक सहज नभए पनि सुरक्षित यात्रा गर्ने वातावरण बनाउनतर्फ लागिपरेका छौँ । मौसम सुधार भएपछि भने सडकको पनि मर्मत गर्ने तयारीमा रहेका छौँ”, प्रजिअ आचार्यले भने । रासस
 


Author

थप समाचार
x