पर्यटन

पश्चिम नेपाल

नेपालगञ्जमा पर्यटन मार्ट गर्ने घोषणा

कोभिडले थलिएको लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पर्यटन उकास्ने उद्धेश्य

इकागज |
कात्तिक ६, २०७८ शनिवार २२:४ बजे

काठमाडौँ - बाँकेको नेपालगञ्जमा मंसिर २८ गतेदेखि तीन दिनसम्म पश्चिम पर्यटन मार्ट गर्ने घोषणा भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना र नाट्टा, हान लगायत संस्थाको संयोजनमा मंसिर २८, २९ र पुस १ गते ‘वेष्टर्न टुरिजम मार्ट (डब्लुटीएम)’ गर्ने घोषणा गरिएको हो ।

शनिबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर मार्ट आयोजना गर्ने घोषणा गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा हुने कार्यक्रम डिसेम्बर १४, १५ र १६ तारिखमा हुनेछ । कोभिड १९ महामारीले थलिएको पर्यटन क्षेत्र उकास्न मार्ट गर्न लागिएको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।


पत्रकार सम्मेलनमा पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मीले पश्चिम नेपाल अर्थात लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पर्यटनलाई उकास्न मार्ट गर्न लागिएको बताए । पहिलेदेखि नै पर्याप्त संरचना नहुँदा पश्चिम नेपालको पर्यटन माथि उठ्न नसकिरहेका बेला कोभिडले झन थला परेको भन्दै यसको असर न्युनिकरण गर्दै पर्यटन विकासलाई तीव्रता दिन मार्ट गर्न लागिएको उनले बताए ।

पत्रकार सम्मेलनमा बोर्डका अन्य सदस्य, नाट्टाका केन्द्रीय अध्यक्ष अच्युतकृष्ण गुरागाई, नेपालगञ्ज महानगरपालिकाका मेयर धवल शम्शेर राणा लगायत पर्यटन व्यवसायीको उपस्थिती थियो । मार्टमा सातै प्रदेशका पर्यटन सरोकारवाला तथा व्यवसायीको उपस्थिती रहनेछ । खासगरी कर्णाली र सुदूरपश्चिमलाई केन्द्रित गरेर आयोजना गरिएको मार्टले कोभिडपछिको पश्चिम नेपालको पर्यटन उकास्ने उद्धेश्य राखेको छ ।


Author

थप समाचार
x