पूर्वाधार र प्रचार–प्रसार अभाव
लय समाउँदै कर्णालीको पर्यटन
दैलेख - कर्णाली प्रदेश सरकारले ठूलो संख्यामा पर्यटक भित्र्याउने उद्देश्यले दुई वर्षअघि ‘भ्रमण वर्ष’ अभियान चलाएको थियो । तर कोरोना महामारीका कारण अभियानले सार्थकता पाएको थिएन । निकै महत्वाकांक्षी अभियान उद्घाटनमै सीमित बन्दा यस क्षेत्रका पर्यटन व्यवसायी निरास बनेका थिए । साथै सरकारले बनाएको योजना फेल हुँदा दुईसम्म कर्णाली सुनसान बनेको थियो । अभियनले सन् २०२० भित्र प्रदेशमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो ।
नेपाल राष्ट्र बैंकको प्रथम अर्धवार्षिक अध्ययन प्रतिवेदनले यहाँको पर्यटन व्यवसाय निकै खस्किएको औंल्याएको छ । केही महिना पहिले सार्वजनिक भएको आर्थिक वर्ष २०७७/०७८ को प्रादेशिक अध्ययन प्रतिवेदनअनुसार पनि कर्णालीमा पर्यटक आगमन ९४ दशमलव ४६ प्रतिशतले घटेको उल्लेख थियो ।
पर्यटकीय चहलपहल घटेसँगै प्रदेशमा स्तरीय होटल तथा लज पनि पलायन हुन थालेका थिए । सिंगो व्यवसाय नै ६ दशमलव ४३ प्रतिशतले घटेको प्रतिवेदनमा जनाइएको छ । अधिकांश समय लकडाउन हुँदा पर्यटकको आगमनमा कमी आएको हो ।
यसै पनि कमै चहलपहल हुने कर्णालीका पर्यटकीय स्थानहरू कोरोनाका कारण थप थला परे । सबैभन्दा बढी मारमा होेटल व्यवसायी परे । तर केही समययता यस क्षेत्रका पर्यटकीय स्थलमा चहलपहल देखिन थालेको छ । कोरोना संक्रमणदरमा कमी आएपछि पर्यटकीय गतिविधि बढ्न थालेका हुन् ।
कर्णालीमा कोरोना संक्रमण १० प्रतिशतभन्दा कम
कर्णाली प्रदेशमा अहिले कोरोना संक्रमणदर १० प्रतिशतभन्दा तल झरेको छ । जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार जिल्लामा अहिले दैनिक २५ जना भन्दा कम मात्रै सक्रिय संक्रमित छन् । कार्यालय प्रमुख चेतननिधि वाग्लेले संक्रमणको जोखिम भने कायमै रहेको बताए । कोरोनाविरुद्धको खोप अभियानले नागरिकमा त्रास हटाउँदै लगेपछि सबै क्षेत्र सहज बन्दै गएका छन् । सुर्खेतमा हालसम्म खोपको लक्षित समूहमध्ये ५१ प्रतिशतले पहिलो मात्रा र ४३ प्रतिशतले दोस्रो मात्रा पाइसकेका छन् ।
पर्यटन व्यवसायी चिन्तामणि शर्मा पनि सहज वातावरण बनेसँगै पर्यटकीय गतिविधि बढ्न थालेको बताउँछन् । बाह्य पर्यटक कमै भए पनि आन्तरिक पर्यटक घुमफिरमा निस्कन थालेको उनको अनुभव छ । होटल व्यवसाय समेत सञ्चालन गर्दै आएका शर्मा भन्छन्, ‘तुलनात्मक रूपमा पहिलेभन्दा चहलपहल बढेको छ । पर्यटन र होटल व्यवसाय विस्तारै लयमा फर्कदै छन् ।’ होटेलमा बस्न आउने पर्यटकहरूको संख्यामा वृद्धि भएको उनले जनाए । ‘कोरोना त्रास कम हुँदै जाँदा संघ–संस्थाहरूले होटलमा कार्यक्रम गर्न थालेका छन् । पहिलेभन्दा २० प्रतिशतले कारोबार बढेको छ,’ उनले भने ।
होटेल व्यवसायी संघ सुुर्खेतका अध्यक्ष तर्कबहादुर शाहीले थला परेको व्यवसायले विस्तारै गति लिन थालेको बताए । उनी भन्छन्, ‘अहिले केही राम्रो हुँदै गएको छ । संक्रमण दर ओरोलो लागेसँगै प्रदेश राजधानी वीरेन्द्रनगरसहित प्रदेशका अन्य जिल्लामा रहेका होटल तथा होमस्टे व्यवसायमा कारोबार राम्रो हुन थालेको हो । वीरेन्द्रनगर–१० नयाँ गाउँस्थित थारु होमस्टे सञ्चालन गर्दै आएका जीतबहादुर चौधरीले कारोबार बढ्दै गएको जनाए । ‘आजभोलि दैनिक ७०–७५ जनाभन्दा बढी ग्राहक आउने गरेका छन्,’ दुई वर्षदेखि होमस्टे व्यवसाय गरेका उनले भने, ‘गएको एक वर्ष त पुरै व्यापार ठप्पै भयो ।’
कर्णालीमा घुम्न र हेर्न लायक थुप्रै ठाउँहरू छन् । तर ति मध्ये धेरैजसो स्थानमा पर्यटक पुगेकै छैनन । त्यसमा पनि बाह्य पर्यटकको संख्या झन न्यून छ । बाहिरबाट घुम्न आउनेहरूको आकर्षण बन्न नसक्दा प्रदेशको पर्यटन क्षेत्रले अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान गर्न सकेको छैन । अधिकांश पर्यटकीय स्थलहरूमा आधारभूत सेवा–सुविधा नै छैनन् । आवश्यक पूर्वाधारको विकास हुन सकेको छैन । जसका कारण यो क्षेत्र खुम्चिएको हो ।
यातायातको सहज पहुँच छैन
प्रदेशमा रहेका प्राकृतिक, धार्मिक तथा साँस्कृतिक महत्वका स्थानसम्म जान यातायातको सहज पहुँच छैन । खान बस्नका लागि व्यवस्थित होटलको अभाव छ । कतिपय पर्यटकीय स्थलको प्रचार–प्रसारसमेत भएको छैन । कर्णालीमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न विभिन्न अभियान थालिए पनि अपेक्षाकृत प्रगति हुन नसकेको हो । रारा, से–फोक्सुण्डो, लिमी उपत्यका, पञ्चकोशी, सिञ्जा, त्रिपुरासुन्दरी र काँक्रेविहारलगायतका क्षेत्र विदेशी पर्यटकका लागि मुख्य गन्तव्य अझै बन्न सकेका छैनन् । कर्णालीमा पर्यटनको अथाह सम्भावना रहे पनि पूर्वाधार विकासमा ध्यान नदिँदा ओझेलमा परेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया