पर्यटन

कौडीको भाउमा बेचिन लागेको नेपाल एयरलाइन्स जोगाएँ : पर्यटनमन्त्री आले

शिद्धेश्वर मन्दिर विकासका लागि बजेट दिने घोषणा

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १८:४९ बजे

ओखलढुंगा - नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले आगामी आमनिर्वाचनमा आफ्नो पार्टी सबै जिल्लामा विजयी हुने दाबी गरेका छन् । ओखलढुंगाको लिखु गाउँपालिकामा आयोजित माटेबेंसी बाला चतुर्दशी मेला महोत्सवको शुक्रबार उद्घाटन गर्दै आलेले यस्तो बताएका हुन् ।

‘आगामी निर्वाचनमा हाम्रो पार्टीले चुनाव जितेर देखाउँछ । वर्तमान सत्ता गठबन्धन चुनाव पछिसम्म रहन्छ,’ उनले भने, ‘हाम्रो पार्टीले सबै जिल्लामा जित हासिल गर्छ । म आफैं पनि चुनाव जितेर देखाउँछु ।’


सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका उनले रोजगारी सिर्जनाका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् । ‘रोजगारी सिर्जना नहुने हो भने पर्यटनका नाममा हुने लगानीको अर्थ हुन सक्दैन,’ उनले भने ।

उनले आफूले थुप्रै सुधारका काम थालेको पनि बताए । उनले कौडीको भाउमा बेचिन लागेको नेपाल एयरलाइन्स जोगाएको पनि दाबी गरे । विमानस्थलमा यात्रुमाथि भइरहेको ठगी रोक्न निस्शुल्क ट्याक्सीको व्यवस्था गरेर सुधारका काम थालिएको उनले बताए । विदेश जानेहरूका लागि पीसीआर परीक्षण २ हजारबाट १ हजार २ सय रूपैयाँ तोकिएको उनको भनाइ छ । 

उनले रेमिट्यान्सको सम्मान र सदुपयोग नभएकोमा दुःख व्यक्त गरे । ओखलढुंगाको लिखु स्थित वडा नम्बर ६ माटेमा रहेको प्रथम माटेबेंसी शिद्धेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न बजेट दिने पनि घोषणा गरे । 


Author

थप समाचार
x