पर्यटन

चाँगुनारायण मन्दिर परिसरमा पर्यटकको घुइँचो

इकागज |
मंसिर २७, २०७८ सोमबार १६:२७ बजे

फाइल फोटो

भक्तपुर : भक्तपुरस्थित विश्वसम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर परिसरको क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं ५ स्थित धार्मिक एवं पर्यटकीय महत्वको मुलकोटगढी महाङ्काल त्रिशुल डाँडामा पनि पर्यटकहरुको  भीड लाग्ने गरेको हो । लकडाउनपछि बिदाको दिनमा काठमाडौं उपत्यकाको दृश्यावलोकन र पिकनिक खान आउनेहरूको भीड बढ्दा चाँगुनारायण क्षेत्रमा पर्यटकहरु बढेका हुन् । तर, पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि सडक मार्गको सुधार र उचित प्रचारप्रसारको अभावमा हुँदा पर्यटकीय गन्तव्य ओझेलमा परेको छ । खासगरी लकडाउनपछि सार्वजनिक बिदाको दिन भीड लाग्ने गरेको छ ।

त्यसमा पनि सफा मौसममा यस क्षेत्रबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, जुगल लगायतका हिमश्रङखला देख्न सकिन्छ । साथै उपत्यकाको दृश्यावलोकनका लागि समेत प्रसिद्ध भएका कारण पनि पछिल्लो समय पिक्निक खान र घुम्न आउनेको भीड बढेको स्थानीयहरु बताउँछन् । सम्भवतः ३६० डिग्रीमा काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने यो नै एक मात्र स्थान हो । तर, सरकारले सडक खण्ड स्तरोन्नतिको काममा उचित ध्यान दिन नसक्दा तथा उचित प्रचारप्रसारको अभावमा पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि थप ओझेलमा परेको छ । सडक मार्गको सुधारका साथै पैदल यात्रा रूटको स्तरोन्नति गर्न सके यस क्षेत्र पनि उत्कृष्ट पर्यटकीय गन्तव्य हुने पर्यटकहरु बताउँछन् । उनीहरुले सडक मार्ग कष्टकर र जोखिमपूर्ण रहेपनि त्रिशुल डाँडाबाट देखिने अलौकिक दृश्यहरुले मन मोहक बनाएको प्रतिक्रया पनि दिएका छन् ।


चाँगुनारायणबाट त्रिशुलडाँडा हुँदै तेलकोट भञ्ज्याङ्गसम्म करिव साँढे ५ किलोमिटरको रुट उपत्यकाकै सबभन्दा राम्रो पैदल यात्रा रुटको रुपमा मानिन्छ । नगरकोटसम्म पैदल यात्रा गर्नका लागि पनि प्रसिद्ध छ । यता, कोरोना कहरका कारण दुई बर्षभन्दा लामो समयदेखि व्यवसाय बन्द गरेर बसेका त्यहाँका होटक सञ्चालकहरु पनि आन्तरिक पर्यटकको भिड बढेसँगै आशावादी देखिएका छन् । पर्यटकहरुको चलपलह बढे पनि सडक मार्गको कारण भने थप चिन्तित बनेका छन् । यस वरपरको क्षेत्रमा पिकनिकलगायतका क्रियाकलाप गर्नकै लागि केही होटलहरू सञ्चालमा ल्याइएको छ । कोरोना कहरका कारण बन्द रहेका ती होटलहरू बिस्तारै सञ्चालको तयारीमा जुटेका छन् । पछिल्लो समय बिदाको दिनमा घुम्न र पिकनिक गर्न आउनेको संख्या ह्वत्तै बढे पनि सडक सञ्जालको कारण ओझेलमा परेको स्थानियवासीहरुको पनि गुनासो छ । उनीहरुले सडक पूर्वाधार निर्माणमा ध्यान दिन सरकारलाई आग्रह समेत गरेका छन् ।

त्रिशुलडाँडामा विश्वकै अग्लो (१२१ फिट) को त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर पनि निमार्णको चरणमा रहेको छ । पर्यटकीय पूर्वाधारको विकास गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्नसके यस क्षेत्र पनि उत्कृष्ट धार्मिक एवं पर्यटकीय गन्तव्य हुनेमा कुनै दुई मत नरहेको स्थानीयको भनाइ छ । रासस 


Author

थप समाचार
x