विकासका कारण नासिए सम्पदा
फाइल फोटो
गलेश्वर - विगत एक दशकयता धौलागिरि क्षेत्रमा सडक विस्तार र भौतिक पूर्वाधार निमार्णले जनतालाई सुविधा दिलाएको छ तर विकासकै कारण कैयौं सम्पदा मासिनाका साथै कतिपय रैथाने सीप र पुख्र्यौली विराशत पनि नासिएर गएका छन् । धौलागिरि क्षेत्रका म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका अधिकांश ठाउँ छुटृै मौलिकता र प्राकृतिक सुन्दरताले युक्त छन् । यी चार जिल्लाका एक दुई ठाउँबाहेक प्रायः सबै स्थानीय तहमा सडकको पहुँच पुगेपछि ऐतिहासिक, धार्मिक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिएका सम्पदा भने नासिने क्रम तीव्र रुपमा बढेको छ ।
पदमार्गको नामोनिसान छैन । जताततै मोटर गुड्न थालेपछि पैदल यात्रुको थकाइ मेटाउने चौतारी तथा बिसाउनी नासिएका छन् । कुवा, धारो र पँधेरा देखिन छोडेका छन् भने पर्यावरणीय दृष्टिकोणले समेत उपयुक्त मानिएका र लागत कम लाग्ने घुमाउने घर पनि विस्थापित भएका छन् ।
केहीवर्ष अगाडिसम्म म्याग्दीको ज्यामरुककोट र अर्मन, बागलुङको ढोरपाटन, ढिकीचौर, बलेवालगायत विभिन्न स्थानमा थुप्रै सङ्ख्यामा ढुङ्गा र माटोले बनाएका र चेप्टा ढुङ्गा वा खरले छाएका घुमाउने घर देखिन्थे । रातो र सेतो कमेरोले पोतिएका घर गाउँभरी देख्न पाइन्थे । झ्यालढोकाका काठमा कलात्मकशैलीमा बनाइएका विभिन्न आकृतिले धेरैलाई आकर्षण गथ्र्यो तर अहिले ती घर लोप हुँदै गएका छन् ।
यस्ता घर ग्रामीण भेगमा बढी देख्न सकिन्थ्यो । पछिल्लो समय यस्ता मौलिक घर देख्न मुस्किल पर्न थालेको छ । मगर र गुरुङ समुदायको पहिचान बनेको घुमाउने घर संरक्षण अभावमा लोपहुँदै गएका छन् । परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर सङ्कटमा पारेको म्याग्दीका चन्द्रबहादुर कार्कीले बताउनुभयो । ‘केहीवर्ष अघिसम्म गाउँका धेरै स्थानमा घुमाउने घर भए पनि अहिले एक÷दुई वटा पनि भेट्याउन मस्किल छ’ उनले भने ।
“पहिले त गाउँभरी घुमाउने घर देख्न सकिन्थ्यो, अहिले त सबै भत्किए, बुढा पुरानाले संरक्षण गरेर राखेका थिए पहिले त, अहिलेका पुस्ताले यस्तो घर मन नपराउने र पक्की घर रोज्ने हुँदा घुमाउने घर लोप भए,” कार्कीले भने, “‘यस्ता घर संरक्षण गर्नसके हाम्रो मौलिक संस्कृति बच्ने थियो होला, बुढा पुराना मरेपछि त त्यस्ता घर पनि भत्किएर सकिए ।”आफू पनि घुमाउने घरमै जन्मे हुर्केको हुँ भन्दै उनले पछिल्लो समय गाउँमा भएका एक/दुईवटा त्यस्ता घर पनि जीर्ण भइसेको बताए । त्यस्ता घरलाई संरक्षण गर्न सके बाहिरी पर्यटकको रोजाइँमा पर्नसक्थ्यो भन्दै गाउँमा जीर्ण अवस्थामा रहेका यस्ता घर संरक्षणमा स्थानीयवासी लाग्नुपर्नेमा सरोकार व्यक्तिले बताए ।
“घुमाउने घर त हाम्रो संस्कार, संस्कृति र पहिचानसँग जोडिएको छ, अहिले गाउँमा धेरै त्यस्ता घर त छैनन् तर पनि जति छन् त्यसको मर्मत सम्भार र संरक्षणमा हामीहरू लाग्नुपर्छ, घुमाउने घर त पर्यटकको रोजाइँमा पनि पर्ने गरेकाले पनि यसको संरक्षण जरुरी छ, अहिलेका मान्छेले घुमाउने घर कस्तो हुन्छ भन्ने पनि थाहा पाउँदैनन् गाउँमा सबै फरक शैलीमा निर्माण भएका घर छन् ।
घुमाउने घरप्रति आकर्षण घट्यो
घुमाउने घरको भित्र अँध्यारो हुनाका साथै धेरै कोठा नहुने र वर्षैपिच्छे छानो छाउन पनि झण्झट हुने भएकाले यसकोे आकर्षण घट्दै गएको हो । त्यसो त ग्रामीण क्षेत्रमा समेत आधुनिक सुविधा सम्पन्न घर बनाउने चलन बढेकाले परम्परागत घर लोपहुँदै गएको पाइन्छ ।
केही वर्षअघिसम्म म्याग्दीका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एकाध मात्र देखिन्छ । हरेक गाउँका बासिन्दा सहरबजारतर्फ आकर्षित हुन थालेपछि र गाउँगाउँमा यातायात सुविधा पुगेपछि अहिले आधुनिक घर बन्न थालेका हुन् ।
केही वर्षअघिसम्म गाउँमा अधिकांश घुमाउने घर थिए तर अहिले सबैले ती घर भत्काएर फरक प्रकृतिका बनाउन थालेका छन् । घुमाउने घर बस्न न्यानो र स्वास्थ्यको दृष्टिले लाभदायक हुने भए पनि पछिल्लो समयमा धेरै कोठा भएको आधुनिक घर बनाउने प्रचलन आएकाले त्यस्ता घर लोप हुँदै गएको बेनी नगरपालिका–२ ज्यामरुककोटका बृद्ध रणबहादुर कार्कीले बताए ।
‘‘सयवर्ष पहिलेका घर अहिले लोप भइसकेका छन्, भएका केही घर पनि उपयोगमा नल्याइएकाले जीर्ण भइसकेका छन्” उनले भने । मानिसले उज्याला, फराकिला र आरामदायी घरमा बस्न रुचाउन थालेकाले घुमाउने घर लोपहुँदै गएको मङ्गला गाउँपालिका–४ का हरिकृष्ण पौडेलले बताए । जस्तापाता सुलभरूपमा पाइने र एक पटक छाएपछि बीसौँ वर्ष रहने हुनाले यसको प्रयोग व्यापक हुनाका साथै पुराना घर उपयोगविहीन हुन थालेको उनको भनाइ थियो ।
‘‘दुई दशकअघिसम्म म्याग्दीका विभिन्न ठाउँमा सयौँ घुमाउने घर थिए । अहिले औँलामा गन्न सकिने मात्र छन्,” बगरफाँटका बृद्ध बेदप्रसाद उपाध्यायले भने । सबै क्षेत्रमा यातायातको सुविधा पुगेपछि सिमेन्ट, बालुवा र रड सजिलै उपलब्ध हुने भएकाले गाउँमा पक्की घर निर्माण गर्ने प्रचलन बढेको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया