पर्यटन

नेपाली स्वाद

युरोप निर्यात हुने पोखराको ब्राण्ड ‘असला माछा’

धनबहादुर गुरुङ |
माघ १, २०७८ शनिबार १७:४८ बजे

पोखरा : पोखरा मासबारकी लक्ष्मी पौडेलले गत मंसिरमा बाग्लुङ गलकोटबाट असलाको सुकुटी बोकेर आइन् । अहिले पुस माघमा सुप खान गज्जब भएको छ, उनलाई । मर्दीको असला माछा खाएर हुर्किएकी उनलाई जाडोमा तरकारी के खाने भन्ने चिन्ता छैन। असला माछाको स्वाद र महत्व राम्रो सँग बुझेकी उनलाई मंसिर त्यही माछाको सुकुटी पाउन मुस्किल पर्‍यो ।  बल्ल तल्ल सोधीखाजी गरेर जोहो भयो र एक किलो ९ हजार तिरेर लिएर पोखरा हिडेकी थिइन् । 

लक्ष्मी जस्तै धेरैको रोजाईमा पर्छ, बाग्लुङ गलकोट, दरमखोलाको असला माछा । त्यहाँको असला देश विदेशमा उत्तिकै चर्चित छ । चर्चा र महत्व बढी भएकै कारण आलो माछा र सुकुटीको अत्याधिक माग बढेको गलकोटकी बी एण्ड बी होटलको सञ्चालिका कौशिला घर्तीले बताइन् । सबैको रोजाइमा पर्न थालेसँगै खोलामा माछाको संख्यामा कमी आएको स्थानीय बताउँछन् । माग बढेपछि यसको मूल्य विगत केही वर्ष यता ह्वात्तै बढेको उनको भनाइ छ । अहिले ताजा माछाको प्रति किलो एक हजारदेखि १ हजार १ सय रुपैयाँ पर्छ । 


पछिल्लो समय सुकुटीको माग बढ्न थालेको स्थानीय व्यवसायी बाबुराम केसीले बताए । दरमखोलाका माछा जापान, अमेरिका, बेलायतलगायत युरोपका विभिन्न मुलुकहरूमा निर्यात हुने गरेका उनी बताउँछन् । बिदेश पठाउनका लागि सुकुटीको माग थेग्न गाह्रो परेको उनले सुनाए । सुकाएको माछाप्रति किलो १० हजार रुपैयाँको हाराहारीमा बिक्री हुन्छ । 

अरुले १२ हजारसम्म दिएपनि बढी लगेमा केसीले ९ हजार सम्ममा दिने गर्छन् । माछा खाएका जो कोहीले पनि कोसेलीको रूपमा लिएर जान वा विदेश बढाउन जती रकम तिरेर भए पनि माछा किन्ने प्रचलन बढेपछि माछाको मूल्य पनि बढेको हो । व्यवसायिक रूपमा माछा विदेश निर्यात नभए पनि कोसीलीको रूपमा विदेश पठाउने चलन रहेको छ । 

खोलामा माछा कम पाइने र सुकुटी विदेश जाने भएपछि दरमखोलाको असला माछा खानकै लागि गलकोट आउनेहरुलाई पुर्‍याउन धौ–धौ हुने गरेको होटल सञ्चालिका घर्ती बताउँछिन् । मध्यपहाडी लोकमार्ग खुलेपछि विभीन्न ठाउँबाट यात्रा गर्नेहरूले पनि दरमखोलाको माछा किनेर लैजाने गरेका छन् । पछिल्ला समय बम हान्ने, विष हाल्ने, करेण्ट प्रयोग गर्ने जस्ता अवैधानिक रूपमा माछा मार्दा पनि असलाको संख्या घटेका छन् । 

गलकोटको चिनारी असला माछा बचाउन तर्फ ध्यान दिनुपर्ने बेला आएको उनले बताइन् । यसका लागि केही प्रयास पनि भइरहेका छन् । जलारी, स्थानीय सरोकारवाला निकाय, नगरपालिकाले अवैध रुपमा माछा मार्न प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनले पनि अनाधिकृत रूपमा माछा मार्ने कार्यलाई रोक्न निगरानी बढाएको छ । 

गलकोटलाई अरु ठाउँमा चिनाउने असला माछाको प्रतिमा बनाउने गरी नगरपालिका अघि बढेको गलकोट नगरपालिकाका मेयर भरत शर्माले जानकारी दिए । यससँगै माछा संरक्षण र यसको संख्या वृद्धिका लागि नगरपालिकाले विभिन्न योजना बनाईरहेको छ । ‘गत वर्ष असलाका भुरा छाड्ने भनेर बजेट छुट्याएका थियौं कोभिडले गर्दा हामीले कार्यान्वयन गर्न सकेनौं,’ मेयर शर्माले भने, ‘गलकोट छिर्ने बित्तिकै सबैले देख्नेगरी असलाको प्रतिमा बनाउने भन्दै बजेट बिनियोजन गरेका थियौं त्यो पनि भएन ।’ 

पछिल्ला दिनमा खोलामा पानीको मात्रा कम भएकाले पनि समस्या परेको उनी बताउँछन् ।  असला संरक्षण र प्रचारप्रसारका लागि थप बजेट छुट्याएर आगामी योजना तय गर्ने मेयर शर्माले जानकारी दिए । 


Author

थप समाचार
x