पर्यटन

सुनको अवैध चाेरी पैठारीमा मुछिए पर्यटन बोर्डका सीईओ रेग्मी

इकागज |
माघ २, २०७८ आइतवार २०:५८ बजे

काठमाडाैँ – पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मी सुनको अवैध चाेरी पैठारीमा मुछिएका छन् । रेग्मीले अवैध सुन ल्याएर जरिजाना तिरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले  पुष्टि गरेको हो ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सीईओ रेग्मीमाथि लागेकाे विभिन्न आराेपमा छानबिन गरिरहेको छ, साेहीक्रममा भन्सार कार्यालयले रेग्मी सुनको अवैध चाेरी पैठारीमा दोषी ठहर भएको जानकारी गराएको हो ।


भन्सार कार्यालयले मन्त्रालयलाई लेखेको पत्रअनुसार रेग्मीले ७ पुस २०७४ मा कतार एयरवेजको उडान नम्बर क्यूआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारका तीन थान सुन ल्याएका थिए, जसमध्ये ३० ग्राम सुन अवैध थियो ।

भन्सार ऐनअनुसार सुन चोरी पैठारी गरी ल्याएकोमा जफत गरिएको उल्लेख गरिएको छ । साथै १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ पनि विगो तिराइएको उल्लेख गरिएको छ ।  

गत २३ कात्तिकमा बेलायतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई हातपात गरेको आरोप सीईओ रेग्मीमाथि लागेको थियो । त्यही आरोपमा छानबिन गर्ने क्रममा मन्त्रालयले उनलाई निलम्बन गरेकाे थियाे । तर उनलाई निलम्बन नगर्न सर्वोच्च अदालतले आदेश दिएकाे थियाे ।

त्यसपछि मन्त्रालयले उनका थप कमजोरी र आरोपमाथि छानबिन गरिरहेकाे थियाे । साेही क्रममा रेग्मीले सुनको चोरी पैठारीमा संलग्न रहेको पाइएको हो ।

 


Author

थप समाचार
x