पर्यटन

सुस्तायो बागलुङको पर्यटन

इकागज |
माघ ११, २०७८ मंगलबार १८:४९ बजे

गलकोट–यसो त कोरोनाका कारण दुई वर्षदेखि पुरानो लयमा पर्यटन व्यवसाय फर्कन सकेको छैन । कोरोनाले थलिएको पर्यटन विगत तीन महिनादेखि जुरमुराउन थालेको थियो । कोरोनाको पहिलो र दोस्रो लहरले ठप्प बनेको पर्यटन  तेस्रो लहरका कारण पुनः प्रभावित बनेको छ ।

दोस्रो लहरको सङ्क्रमण घटेपछि प्रत्येक शनिबार एक हजार आन्तरिक पर्यटक आउने पञ्चकोट पुनः सुनसान देखिन थालेको छ । शनिबार र मङ्गलबार धार्मिक पर्यटकहरुको घुइँचो लाग्ने बागलुङ भगवती मन्दिर परिसमा शनिबार दर्शनार्थीको कम सहभागिता रहेको थियो । कुस्मा बलेवा बन्जी पुलमा अहिले बन्जी गर्न आउने पर्यटकहरु खस्ँिकदै गएका छन् । यस्तै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा मुक्तिनाथ पुग्ने दर्शनार्थी र भारतीय पर्यटकको प्रमुख आकर्षणका रुपमा रहेको बागलुङ नगरपालिका–४ कुडुँलेस्थित शालग्राम सङ्ग्रहालयमा समेत ओमिक्रोनको प्रभाव परेको देखिन्छ ।


विश्वकै लामो दाबी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको पाङ जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलमा अवलोकनका लागि आउने पर्यटकहरु ह्वातै घटेका छन् भने बलेवा कुस्मा बन्जी जम्पका लागि पर्यटकहरु नगन्य मात्रमा आउने गरेको देखिएको छ । शनिबार र अन्य बिदाको दिन झन्डै एक हजार पर्यटक आउने पञ्चकोट, दैनिक पाँच सयको हाराहारी पर्यटक आउने शालीग्राम सङ्ग्रहालय, शनिबार र मङ्गलबार दुई हजारभन्दा बढी दर्शनार्थी आउने कालिका मन्दिरमा ओमिक्रोनको प्रभाव देखिएको छ । कारोनाको तेस्रो लहरका कारण पञ्चकोट र शालीग्राम सङ्ग्रहालय आउने पर्यटकमा कमी आएको पञ्चकोट विकास समितिका अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिए।

 “दोस्रो लहरमा घरमै सीमित भएका पर्यटक अवलोकन भ्रमणका लागि अत्यधिक रुपमा आउनुभयो, शनिबार त एक हजार हाराहारीमा यहाँ पर्यटक आउँथे, पञ्चकोटमा सवारीको चाप उस्तै थियो, एक हप्ता भयो पञ्चकोट र शालीग्राम सङ्ग्रहालय सुस्ताउँदै गएको छ,” उनले भने, “जिल्ला प्रशासन कार्यालयले मङ्गलबारदेखि लागू हुनेगरी धार्मिक तथा पर्यटकीय क्षेत्रमा भिडभाड नगर्न आग्रह गरेको छ, अब पञ्चकोटमा पर्यटक ठप्प हुने अवस्था छ ।” कोरोनका कारण जिल्लाको पर्यटकीय गतिविधि ठप्प हुने अवस्थामा पुगेको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए उनले कोरोना बढ्नासाथ प्रत्यक्ष मार पर्यटकीय क्षेत्र र होटेलमा पर्ने बताउँदै बन्दको विकल्प खोज्नुपर्ने बताए।

 “खोपको प्रबन्ध गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनेलगायतका काममा सरकारको ध्यान जान आवश्यक छ”, उनले भने, “बन्दको विकल्प बन्द होइन, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकीय गतिविधि गर्न आवश्यक छ, नत्र कोरोना यसै गरी फर्केर आउने हो भने पर्यटन व्यवसाय उठ्नै नसक्ने गरी थला पर्नेछ ।” जिल्लाको चर्चित पर्यटकीय गन्तव्य ढोरपाटन, भकुण्डे, निसीखोला, गाईघाट झरना, सहस्रधारा झरना, घुम्टे लगायतका स्थानमा केही वर्षयता आन्तरिक पर्यटक बढ्दै गएका थिए । तर कोरोना महामारीका कारण नयाँ पहिचान गरिएका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा समेत कोरोनाले समस्या निम्त्याएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

कोरोनाले थला पर्ने अवस्थामा पुगेका बागलुङका होटेलहरु ठूला राजनैतिक दलको अधिवेशन, सभा समारोह, शैक्षिक भ्रमण तथा मेला महोत्सवले भरिभराउ भए पनि ओमिक्रोनका कारण पर्यटकहरु होटेल आउन छोडेको व्यवसायीहरुले बताएका छन् । जिल्लाको पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ४१२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले माघ मसान्तसम्म शैक्षिक, धार्मिक तथा पर्यटकीय क्षेत्र बन्द गर्न निर्देशन गरेको छ ।

धार्मिक क्षेत्रमा भीडभाड नगरी नित्यकर्म मात्रै गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयको निर्देशन छ । माघ मसान्तसम्म आमसभा, जुलुस तथा भीडभाड हुने कुनै गतिविधि नगर्न आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिए । जिल्लामा धार्मिक तथा पर्यटकीय गतिविधिसँगै सिनेमा हल, पार्क, फुटसल, खेलकुदस्थल, जिमखाना, हाटबजारसमेत सञ्चालन नगर्न निर्देश गरेको छ । विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम र अन्य शैक्षिक गतिविधिसमेत नगर्न र प्रशासनको निर्देशन नमानेमा कारबाही गर्ने चेतावनी दिएको छ ।
रासस


Author

थप समाचार
x